यदुवंशी लडाइँमा को जित्छ ?- विचार - कान्तिपुर समाचार

यदुवंशी लडाइँमा को जित्छ ?

विभाजनको फलले पद, पैसा, प्रतिष्ठाजस्ता निजी स्वार्थलाई घाटा पार्ने देखिएमा डबल नेकपाको यो अध्यक्षीय तमासा छिट्टै महान् पार्टी एकतामा रूपान्तरण हुन सक्छ ।
राजेन्द्र महर्जन

पञ्चतन्त्रको कथाको विचित्र पन्छीको नाम हो— भारुण्ड । भारुण्ड विचित्र पन्छी हुनुको विशेष कारण हो—उसका दुईवटा मुख र एउटा पेट हुनु । मिथकीय पन्छी भारुण्डले कोरोनाकालमा वास्तविक जीवन पायो भने डबल नेकपाका रूप पाउने रहेछ ।

लगभग दुईतिहाइको सरकार चलाउने डबल नेकपाको ज्यान पनि भारुण्ड पन्छीकै जस्तो छ—एउटै पेट, तर दुइटा मुख । तिनै दुई मुख एक–अर्काको खोइरो खन्न मुखाले भएका छन् अचेल ।

उनन्तीस महिनाअघिसम्म दुइटा मुख, दुइटै पेट थिए । एकातिर, नेकपा एकीकृत माक्र्सवादी लेनिनवादीका अध्यक्षको मुख, अर्कातिर नेकपा (माओवादी केन्द्र) का अध्यक्षको मुख ।

दोस्रो संविधानसभाको निर्वाचनपछि राजनीतिक परिस्थितिले कोल्टे फेर्‍यो र टुप्पी जोड्न बाध्य भए । दुवै अध्यक्षलाई पनि लाग्यो— अब एक्लाएक्लै सत्ताको कुर्सीमा चढ्न सकिँदैन, एकले अर्काको काँधमा नटेकी सुक्खै छैन । त्यसपछि टुप्पी–जोडाइसँगै राजनीतिक लेनदेन सुरु भयो, घिउ–बेचुवा र तरबार–बेचुवाको शैलीमा । र, दुईवटा कम्युनिस्ट पार्टीको महान् एकीकरणको ब्यानरमा जोडियो दुई अध्यक्षको लगनगाँठो ।

‘एकता–फल’ देखि ‘विभाजन–फल’ सम्म

दुईवटै मुखले एकसाथ दुई पार्टी एक गर्ने भने, पार्टी एकीकरण भयो । दुईवटा जिब्राले एक पार्टी : दुई अध्यक्ष हुने भने, द्वि–अध्यक्षात्मक प्रणाली बन्यो । यसरी नै दुईवटा टाउकाले पार्टी र सरकारका प्रमुख पद बाँडीचुँडी लिने सहमति पनि गरे, मार्सी भात र अन्य खानपिनमा आपसमा भव्य एकता देखाए । जब एक अध्यक्षले खान्कीमा प्रभुत्व जमाए, अर्का अध्यक्षलाई रिस उठ्यो । जब अध्यक्ष–कम–प्रधानमन्त्री एक्लैले अमृत–फल आफ्नै आसेपासेलाई मात्रै खुवाए, अर्का कम–कार्यकारी अध्यक्षले अमृत–फलको बाँडफाँटका लागि दबाब बढाए । दबाबकै कारण अन्तद्र्वन्द्व कति चर्कियो भने दुवै अध्यक्ष एकअर्कामाथि ‘फुट–फल’ खान खोजेको आरोप–प्रत्यारोपमा व्यस्त भए ।

करिब तेइस सय वर्षअघि पं. विष्णु शर्माद्वारा लिखित भारुण्ड पन्छीको कथाबाट डबल नेकपाका दुवै ब्राह्मण अध्यक्ष पक्कै पनि अनभिज्ञ छैनन्, चाहे उनीहरूमध्ये एक कुमाई बाहुन, अर्को पूर्वीया बाहुन नै किन नहोऊन् ।

संस्कृत नीतिकथाअनुसार, एक मुखले अमृत–फल आफ्नी प्रियसीलाई खान दिएपछि अपमानित र तिरस्कृत ठानेको अर्को मुखले अपमानको बदला लिन विष–फल खाइदिन्छ र एकै ज्यानको भारुण्ड मृत्युको मुखमा पुग्छ । र, नेपाली राजनीतिको नवीन प्रहसनमा भने डबल नेकपाका डबल अध्यक्षहरू एकले अर्कालाई पार्टी नै फुट्ने–फुटाउने गरी ‘विभाजन–फल’ खाएको दोष आरोपित गर्दै छन् । ‘विभाजन–फल’ को परिणाम कस्तो हुन्छ, समयक्रमले देखाउनेछ ।

एकता : सत्ता–शक्तिको बाँडफाँट

एकअर्कामाथि फ्याँकिएका दोषारोपण–पत्र हेर्दा आम मान्छेलाई लाग्छ : दुवै अध्यक्ष शासन–सत्तामा हुँदा–नहुँदा अनेक फल खान अभ्यस्त रहेछन् । आरोप–प्रत्यारोपका लामा–लामा सूचीले उनीहरूले आपसमा बाँडेर खान पाएका र नपाएका विभिन्न फलाहारको फेहरिस्त नै छताछुल्ल पारेका छन् ।

उनीहरूको प्रेम, अंकमाल, पार्टी एकता, अध्यक्षद्वयका दोषारोपण वा मानसिक विभाजन सबै सत्ता–शक्तिको बाँडफाँटसँग जोडिएका रहेछन् । अत: राजनीतिक सत्ता–शक्तिको बाँडचुँडको बहीखाताले दुईवटा दलको चुनावी एकता र पार्टी एकीकरण आखिरमा द्वि–अध्यक्षीय राजनीतिक समीकरणसँग सालनाल जोडिएको रहेछ भन्ने तथ्य खुलस्त पारेको छ । खासमा अध्यक्ष पदको बाँडफाँट, प्रधानमन्त्री र कार्यकारी अध्यक्षको लेनदेन, मन्त्री–न्यायाधीश–आयुक्त–राजदूतहरूको भागबन्डा, आसेपासे पुँजीपति र बिचौलिया नेताहरूको पोसाइ आदि–इत्यादि एमाले–माओवादी पार्टी एकीकरणका सारभूत एजेन्डा हुन् भने ‘दुईवटा कम्युनिस्ट पार्टीको महान् एकता’ चाहिँ रूप पक्ष मात्रै ।

कार्यकर्ता–समर्थकलाई भ्रमको स्वर्गमा पुर्‍याउने ‘महान् एकता’ को बलमा, ‘दुईतिहाइको सरकार : सुख, समृद्धि, स्थिरता, स्थायित्व र समाजवाद’ को लोक लोभ्याउने नारामा देश र जनताको अपार दोहन एवं सत्ता–शक्तिको स्वर्गीय उपभोग कमै निर्वाचित शासकको भाग्यमा लेखिएको होला ।

यी सबैको भोगका बावजुद पार्टीका विपक्षी समूहलाई पित्को बाँड्नसम्म कन्जुस्याइँ गर्नु भनेको आफ्नै सिंहासनमा बन्चरो हान्नुबाहेक के होला ? आफू बसेको हाँगा नै काट्ने प्राचीन कवि कालिदासको मूर्खतालाई आधुनिक आशुकविले पनि दोहोर्‍याउँदै राजनीतिक तमासालाई रोचक बनाउँदा टुक्काबाजीको न्यास्रोपना कम भएकै होला । कोरोना–कालले फैलाएको त्रासदीबीच फोक्सो नै मज्जासँग फुक्ने गरी हाँस्न पाइने निर्वाचित शासकबाट प्राप्त योभन्दा ठूलो कोसेली अर्को के होला ?

दुईवटै दोषारोपण–पत्र हेर्दा अब त नेकपागणलाई पनि लाग्दो होला— अब अध्यक्षद्वयले एकले अर्कामा देखाएका गल्ती, कमजोरी र अपराधलाई आत्मसमीक्षा र आत्मालोचनामार्फत शुद्धीकरण गर्न सकिँदैन । अध्यक्ष–कम–प्रधानमन्त्रीले भनेका अनेक ‘पाप’ लाई सुनपानी छर्केर पतिया गर्न सकिँदैन, अब त कुनै एक व्यक्तिलाई अध्यक्षच्युत गर्दै, चार पाटा मुडेर पार्टीबाट निष्कासन गरेमा मात्रै सिंगो पार्टी शुद्ध र पवित्र होला ।

अध्यक्ष–कम–प्रधानमन्त्रीका विपक्षी अध्यक्ष लाचार द्वितीय अध्यक्ष पदको थाङ्नामा सुत्न तयार भएमा वा शूद्र वर्णमा बस्ने हदसम्मको शक्ति–सम्बन्ध स्विकार गरेमा जबजको सुनपानी छर्केर शुद्धीकरण गर्न कठिन छैन । यसै क्रममा अध्यक्षद्वयले एकले अर्कालाई लगाएका सही र संगीन आरोपको एउटा विशुद्ध पक्ष हो— आफूलाई चाहिँ कुनै पनि गल्ती, कमजोरी र अपराधबाट मुक्त ठान्नु; सबै पाप, अधर्म, दुष्कर्मबाट स्वतन्त्र मान्नु; पवित्र, श्रेष्ठ र सर्वाेत्तम नेताका रूपमा जाहेर गर्नु । त्यसैले शक्ति–संघर्षमा जो विजयी हुन्छन्, उनले विपक्षी अध्यक्षले थोपरेका सबै सही र संगीन आरोपबाट स्वत: सफाइ पाउँछन् ।

यदुवंशी लडाइँमा कथित वाम

यस शक्ति–संघर्षको विशिष्ट पक्ष के हो भने, दुवै अध्यक्षले आरोपको वर्षाका लागि कम्युनिस्ट सिद्धान्त, विचार र राजनीतिको टेको लिएका छैनन् । तर पनि कम्युनिस्ट साइनबोर्डधारी दलका अध्यक्षद्वयका कारण सबैभन्दा बेसी बदनामी कम्युनिस्ट सिद्धान्त र राजनीतिकै भइरहेको छ । बेकम्मा सरकारका अकर्मण्य प्रमुखको बादशाहीका कारण वामपन्थी विचार र शक्तिकै बदख्वाइँ भइरहेको छ ।

यी सबै बदनामी र बदख्वाइँभन्दा माथि उठेका दुवै अध्यक्ष प्रस्ट छन्— यो कुनै जनकेन्द्रित सिद्धान्त र विचारसँग जोडिएको राजनीतिक लडाइँभन्दा बेसी सत्ता–शक्तिकेन्द्रित राजनीतिक बाँडफाँटको संघर्ष हो । सत्तापक्षले आफ्नो राजनीतिक दलभित्र र दलको नेतृत्वमा रहेको सरकारभित्रको सत्ता–शक्तिमाथि पकड कायम गरिराख्ने रणनीति र अरूलाई ढिम्किनै नदिने कार्यनीति अँगालेको छ ।

विपक्षले चाहिँ केही थान आरोप, केही थान भूतपूर्व प्रधानमन्त्री र उपप्रधानमन्त्रीको बलमा केन्द्रीय समितिसम्म छलफलबाट निर्णय गराउने रणनीति अख्तियार गरेको छ । तर, अन्तरसंघर्षका क्रममा दुवै अध्यक्ष यदुवंशीहरूजस्तै युद्धमैदानमा उभिएका छन्, एकले त्यागको भाषा बोल्दै छन् भने अर्काले धम्कीको भाका । आधुनिक यदुवंशीहरूको झैझगडा आजसम्म राजनीतिक आत्महत्या–उन्मुख नै छ । विभाजनको फलले पद, पैसा, प्रतिष्ठाजस्ता निजी स्वार्थलाई घाटा पार्ने देखिएमा यो अध्यक्षीय तमासा महान् पार्टी एकतामा छिट्टै रूपान्तरण हुन सक्छ ।

त्यसो त कार्यकारी अध्यक्षको ‘फिलिङ’ गर्न नपाएर खुम्चिँदै बसेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्तरसंघर्षका क्रममा विधि–विधानको पक्षपोषणसँगै बेकम्मा सरकारको विरोधमा जनताका केही आवाजलाई मुखर पारे । तर, ती आवाज पनि कार्यकारी अध्यक्ष प्लस प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको घुमाइमा पटक–पटक परेपछि निस्केको पीडादायी चिच्याइबाहेक अरू केही सुनिँदैन ।

ओलीसँग चोचोमोचो मिलेसम्म सबै निर्णय, फैसला र आदेश अध्यक्षद्वयको बार्दलीबाट फर्मान गरेको र अरू नेतालाई ओलीकै शैलीमा बेवास्ता गरेको इतिहासले देखाउँछ— चतुर शक्तिशाली शासक वा धूर्त रणनीतिकारहरूको लात नखाएका भए उनको रोदन पनि गलाबाट निस्कने थिएन । कोरोनाको महाव्याधिमा रोग, भोक, प्याससँगै शासकीय बेथितिबाट आक्रान्त जन–जनको दुखेसोलाई अलिकति मात्रै मुखरित गरेका भए पनि उनको रोदनमा जनताको सहानुभूति हुने थियो, बालुवाटारमै हराउँदैनथ्यो ।

आन्तरिक प्रतिपक्ष : रणनीतिक चालबाजी

२००८ सालमा आफ्ना दाजु तथा नेपाली कांग्रेसका अध्यक्ष मातृकाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा बीपी कोइरालाले लेखेका थिए— आफ्नै सरकार सत्तासीन हुँदा पनि उसले जनमुखी काम गरेन भने पार्टीले सदन र सडकबाट प्रतिपक्षीको भूमिका खेल्नुपर्ने हुन्छ । उनको स्पष्ट भनाइ थियो, ‘सरकारको नीति कुनै खास प्रश्नलाई लिएर देशको हितका विरुद्धमा छ भने हामी सरकारविरोधी आन्दोलन पनि गर्न सक्छौं ।

हाम्रो संस्था (पार्टी) सरकारी प्रचार विभाग होइन ।’ डबल नेकपाका नाममा सरकारमाथि प्रभुत्व जमाएर बसेका प्रधानमन्त्री ओलीको जनविरोधी विचार, आसेपासे पोस्ने व्यवहार र निकम्मा शासन, विशेषत: महाव्याधिलाई पटक्कै सम्बोधन नगर्ने बेकामे प्रशासनविरुद्ध अन्तरसंघर्ष चलाउन सकिन्थ्यो, आन्तरिक प्रतिपक्षीयताबारे बीपी–सूत्र समात्दै । महाव्याधिले मर्माहत जनतासँग कहीँकतै नजोडिएको अवस्थामा आफ्ना आसेपासेलाई पोस्न स्वास्थ्य सामग्रीमा भ्रष्टाचार गर्ने प्रशासन र मन्त्रीलाई आशीर्वाद दिने सरकार–प्रमुखलाई तारो हान्दा पनि जनता विश्वस्त देखिएका छैनन् । आम जनतामा आशंका छ, अहिलेको तारो–हनाइ पनि रणनीतिक चालबाजी मात्रै त होइन ?

ओलीका रणनीतिकार र प्रचारकहरूको भाषामा ‘आरोपपत्र’ नै सही, प्रचण्डको प्रस्तावले थोरबहुत आन्तरिक प्रतिपक्षको भूमिका खेलेको छ । उनका आरोपलाई तथ्यका आधारमा खण्डन र राज्यस्तरमा छानबिन गर्ने हिम्मत गर्नुको सट्टा ओली प्रत्यारोपको हतियार नै सबैभन्दा सशक्त प्रतिरोधको शास्त्र र शस्त्र हो भन्दै लडाइँको मैदानमा निस्केका छन्, नैतिकता र इमानदारीको ओभरकोट त्याग्दै ।

नैतिकता र इमानदारी भएको भए कुनै प्रधानमन्त्रीले बालुवाटार जग्गाकाण्डदेखि आसेपासे पोस्ने अनेक भ्रष्टाचार काण्डको अभियुक्तलाई बचाउने वा पक्षपोषण वा मन्त्रीपदबाट पुरस्कृत गर्दैनन्, बरु अनुसन्धानको प्रक्रिया चलाउँछन् । महामारीसँग सम्बन्धित स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारमा मन्त्रालयसँगै मन्त्री र सल्लाहकारका पुत्र संलग्न रहेको पोल खुल्दा कारबाहीको प्रक्रिया बढाउँथे, पीसीआर टेस्ट र कोरोनाका बिरामीलाई नि:शुल्क उपचारका लागि सर्वाेच्च अदालतले सरकारलाई पटक–पटक हप्काउँदा नैतिकतावश राजीनामा दिइसक्थे ।

बेइमान र अनैतिक शासक जनताका पीरमर्का, नागरिकका विरोध, मिडियाको टिप्पणी, पार्टीभित्रका आलोचनाबाट पर अलग्गै टापुको बासी भएर बस्छ, जुन कुरा बालुवाटारवासी प्रधानमन्त्री ओलीले प्रमाणित गरेका छन् । बहुमतको दम्भ र शासकीय अहंकारले भरिएका प्रधानमन्त्री ओली आफ्नै पार्टीका अध्यक्ष र नेताहरूले नांगेझार पार्ने गरी लगाएको आरोपसमेत सहजै खारेज गर्न हिच्किचाउँदैनन् । यसबीच उनीहरूले प्रधानमन्त्री प्लस अध्यक्ष ओलीसँग पटक–पटक ‘त्याग’ को माग गरेका थिए ।

उनले अरू सबै माग र आरोपलाई पहिलो दृष्टिमै खारेज गरे, तर एउटा माग भने पक्कै पूरा गरे, लज्जाको ‘त्याग’ गरे । ‘गोरु नांगै हिँड्यो भन्दैमा मलाई लाज लाग्दैन’भन्ने उक्तिका रचनाकारलाई जनतासामु सर्वांग नांगिइसक्दा पनि लाज लाग्दैन । र त कुनै पनि मूर्ख र अयोग्य मान्छेले नदेख्ने नयाँ लुगा लगाएर बादशाह शैलीमा नांगै शोभायात्रा गर्न पनि सरम मान्दैन । उक्तिकारलाई राम्ररी थाहा छ, ‘एकं लज्जा परित्यज्य सर्वत्र विजयी भवेत्’ । अर्थात्, एउटा लाज पचाएपछि संसार जितिन्छ !

ट्वीटर : @rmaharjan72

(मंगलबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : मंसिर १५, २०७७ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्

नक्कली नोट छाप्‍ने सामग्रीसहित ३ जना पक्राउ

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुर प्रहरीले नक्कली नोट छाप्‍ने सामग्रीसहित ३ जनालाई पक्राउ गरेको छ । महेन्द्रनगर बजार क्षेत्रमा नक्कली नोटको कारोबार गरिरहेकै अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले आइतबार साँझ एक भारतीयसहित २ जना र अघिल्लो दिन साँझ एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ भगतपुर बस्ने दिपक नाथ, सोहि ठाउँ बस्ने रितिका बम, भारतको बरेली घर भई भीमदत्त नगरपालिका –१८ बस्ने अनुज शर्मा रहेका छन् । उनीहरुलाई प्रहरीले सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

नाथलाई शनिबार साँझ भीमदत्त नगरपालिका–४ गोबरियास्थित एक पसलमा नक्कली रुपैयाँको कारोबार गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । बम र शर्मालाई आइतबार साँझ महेन्द्रनगर बजारकै गल्ली नम्बर २ मा कारोबार गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरु बस्ने कोठाबाट नक्कली नोट छाप्ने कलर प्रिन्टर मेसिन, ल्यापटप, कागज, कैंची र १ हजार १३६ थान नक्कली नोटहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासिनीले बताए । उनका अनुसार तिनै जनाले प्रिन्टरबाट नक्कली नोट छाप्ने र बजारमा वृद्धवृद्धा तथा बालबालिकाहरुसँग कारोबार गर्ने गरेको खुलेको छ ।

‘राम्ररी नोट चिन्न नसक्नेहरुसँग कारोबार गरिएको कुरा खुल्न आएको छ,’एसपी मरासिनीले भने,‘लागूऔषधको प्रयोगकर्ताहरुसँग बढी कारोबार भएको देखिन्छ ।’ उक्त समूहले कहिलेदेखि नक्कली नोट छाप्‍ने र कारोबार गरिरहेको छ भन्ने कुरा अझै खुलेको छैन । पछिल्लो समय यो समूहबाट नक्कली नोट पाएका स्थानीयहरु सम्पर्कमा आउन थालेको मरासिनीले बताए ।

प्रकाशित : मंसिर १५, २०७७ १९:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×