कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

नेकपामा नयाँ पुस्ताको सजीव अवसान !

अहिले नेकपा निहित स्वार्थ समूहहरूको महासंघजस्तो भएको छ । विचार बनाउने टाउकाहरू अलग, क्रिया–प्रतिक्रिया गर्ने शरीरहरू अलग, गतिशील हुने खुट्टाहरू पनि अलगअलग दिशातिर फर्केका !
श्याम श्रेष्ठ

डबल नेकपामा अहिले आरोप–प्रत्यारोपको शृंखला यसरी मञ्चन भइरहेछ, त्यो क्रम चल्दै जाँदा कसैको शरीरमा कुनै लुगा बाँकी रहने छाँटकाँट छैन । पहिले पनि त्यहाँ अस्वस्थ झगडा त हुन्थ्यो तर मिल्ने ठाउँ थोरै बाँकी राखेर राजनीतिक कुस्ती चल्थ्यो ।

नेकपामा नयाँ पुस्ताको सजीव अवसान !

यसपालिको द्वन्द्व गुणात्मक तवरले पृथक् देखिन्छ । यति बेला फेरि पछाडि फर्कने पुल नै भत्काएर द्वन्द्वरत दुवै थरी प्रस्तुत भइरहेछन् । दुवै थरीका आरोप–प्रत्यारोपको प्रकृति नियाल्दा यस्तो प्रतीत हुन्छ, यो पार्टीलाई लामो समय जोडिराख्न सकिन्छ भनेर दुवै थरी शीर्ष नेताहरूले आस मारिसकेका छन् । खालि फुटको कुन हदको दोष अर्को पक्षमाथि कसरी थोपर्न सकिन्छ भनेर हिसाबकिताब चलिरहेको छ ।

यस्तो देखिन्छ, यो पार्टीको फुटको बीउ यसको एकताकालमै रोपिसकिएको थियो । सिद्धान्त, विचार र दह्रिलो राजनीतिक जगमा खडा नभएको पार्टी एकताको महललाई निजी स्वार्थ र अहंकारको टक्करको ससानो झोक्काले समेत गर्ल्यामगुर्लुम ढालिदिन सक्छ । अहिले डबल नेकपामा त्यही परिस्थिति देखा पर्दै छ । आसन्न संसदीय चुनाव जसरी पनि जित्ने उद्देश्यले विचारमा पूर्वपश्चिम फर्केका दुई अध्यक्षले सत्ताको गणितीय बाँडफाँटका आधारमा त्यति बेला हतारहतार पार्टी एकता भएको घोषणा गरे । त्यति बेलाको त्यो असैद्धान्तिक अर्थहीन हतार आज डबल नेकपाको घाँटीमा माछाको काँडा बनेको छ । निल्नु पनि हुँदैन, ओकल्नु पनि हुँदैन !

प्रधानमन्त्री ओलीले चुनावी घोषणापत्रबमोजिम भटाभट जनताको मन जित्ने अग्रगामी काम गर्दै लान सकेका भए सम्भवतः अहिले विश्वव्यापी महामारीका बीचमा यसरी राजीनामा माग्ने नैतिक आँट कसैको हुन सक्दैनथ्यो । उनले त्यस्तो गर्न सकेनन् । उनले पद, अवसर र जिम्मेवारीको न्यायोचित वितरण गरेर आफ्नै दलभित्रको भिन्न मतलाई सँगसँगै समेटेर लान सकेका भए पनि अहिलेको जस्तो आपसी सम्बन्ध शत्रुतापूर्ण स्वरूपमा विकसित हुन सक्दैनथ्यो । तर उनको अहंकारी तथा हठी स्वभाव, असमावेशी र असहिष्णु चरित्र अनि बरफजति आफ्नो पक्षलाई, सिन्काजति भिन्न मत पक्षलाई गर्ने नीतिले गर्दा यस्तो पनि हुन सकेन । दोस्रो तहका नेताहरूको क्रियाशीलतामा यसअघि पटक–पटक भएका सहमतिलाई उनले अक्षरशः पालना गरेका भए पनि अहिलेजस्तो विस्फोटक रूपमा यो द्वन्द्व विकसित हुन सम्भव थिएन । तर कुनै पनि सहमति पालना गर्ने उनको स्वभाव नै रहेन । त्यसैले धेरैचोटि थाङ्नामा सुतेका भिन्न मत पक्षका नेताहरूको उनीप्रति कुनै विश्वास नै बाँकी रहेन । समयसमयमा पार्टीको उपल्लो अंगको बैठक राखेर समस्या र असन्तोषलाई त्यहाँ अभिव्यक्त हुन दिइएको भए र त्यसलाई लोकतान्त्रिक विधिमार्फत बेलैमा सम्बोधन गरिएको भए पनि संकट यो हदसम्म चुलिन पाउँदैनथ्यो । तर म नै पार्टी हुँ र म नै राज्य हुँ भन्ने अहंकार जागेका उनमा लोकतान्त्रिक विधिप्रति कुनै आस्था बाँकी रहेन । अहिले जुन ढंगले नेकपामा फुटको हदसम्म द्वन्द्व चुलिएको छ, त्यो उपर्युक्त कारणहरूको संयुक्त प्रतिफल हो । यो एकै दिनमा चुलिएको द्वन्द्व होइन, धेरै समयपछि समस्या र संकट पाक्दा–पाक्दा मनै फाट्ने स्थितिमा पुगेको मात्र हो ।

अहिले नेकपा निहित स्वार्थ समूहहरूको महासंघजस्तो भएको छ । विचार बनाउने टाउकाहरू अलग, क्रिया–प्रतिक्रिया गर्ने शरीरहरू अलग, गतिशील हुने खट्टाहरू पनि अलगअलग दिशातिर फर्केका तर सत्तास्वार्थको मसिनो धागो माथि टुप्पीमा र पार्टी फुटेर छँदाखाँदाको सरकार पनि जाला, सारा अवसर पनि जाला, पद पनि जाला भन्ने डरको नाम मात्रको डोरीले एउटा–एउटा खुट्टामा बाँधिएको भरमा त्यो पार्टीको एकता मुस्किलले बचेको छ । त्यो मसिनो धागो र डोरी चुँडिनेबित्तिकै पार्टी एकता कुनै पनि क्षण भताभुंग हुने स्थिति छ । नेकपाका शीर्ष नेताहरू सबैजसोको यतिखेरको मूल प्रवृत्ति पार्टी फुट नै देखिएको छ । परन्तु कार्यकर्ताको मूल प्रवृत्ति भने अझ पनि पार्टी एकताकै पक्षमा देखिन्छ । तथापि यसका दोस्रो र तेसो तहका सारा नेता–कार्यकर्ताहरू यति बेला औधी निरीह र निष्क्रिय देखिएका छन् । माथिको फुटको असर तलसम्म सर्दै छ । यो परिस्थितिमा सर्वशक्तिमान केन्द्रीय समिति सक्रिय भएमा बाहेक डबल नेकपाको पार्टी एकतालाई जोगाउने तागत अरू कसैको छैन । विडम्बना, अध्यक्ष ओली यही केन्द्रीय समितिको बैठक जसरी पनि टार्ने प्रयत्नमा देखिएका छन् ।

प्रधानमन्त्री ओली अकारण त्यसो गर्दै छैनन् । उनलाई दुईमध्ये एउटा पद छोड्न बाध्य पार्ने उद्देश्यले भ्रष्टाचारको मूर्त उदाहरणसहितको जुन आरोपपत्र प्रचण्ड–माधव समूहले सचिवालयमा प्रस्तुत गरेको छ, त्यो यति संगीन छ, त्यसलाई अब त्यो समूहले फिर्ता लियो भने पद र अवसरको भागबन्डासित नैतिकता साटियो भन्ने चर्को आरोप उसमाथि तेर्सिन सक्छ । फिर्ता लिएन र पार्टीको केन्द्रीय समितिमा तथा संसदीय दलमा दर्ता भयो भने र सत्तारूढ दल वा संसदीय दलको बहुमतले त्यसलाई सही ठहर्‍याएको स्थितिमा नैतिकताका आधारमा प्रधानमन्त्री एक छिन पनि पदमा रहिरहनु मिल्दैन । आफूले पद छोड्नुपर्‍यो भने त्यो पार्टी पनि फुट्ने र प्रधानमन्त्रीको कुर्सीमा अर्को कोही बस्न नसक्ने पार्ने प्रधानमन्त्री ओलीको अठोट जताततैबाट सार्वजनिक भइरहेकै छ । यो जगजाहेर छ, केन्द्रीय समिति र संसदीय दलमा प्रचण्ड–माधव समूहको सुस्पष्ट बहुमत रहेको दाबी गरिन्छ । सायद यही हुनाले प्रधानमन्त्री ओली संसदीय दल वा पार्टीको स्थायी समिति वा केन्द्रीय समितिको बैठकजस्तो लोकतान्त्रिक विधि र प्रक्रियामा जानसमेत अनिच्छुक देखिन्छन् ।

दोस्रो तहका नेताहरू पूरै निष्क्रिय छन् भन्ने होइन । उनीहरू द्वन्द्वरत दुवै पक्षका बीच सुलह गराउन बेलामौकामा थोरै सक्रिय भइरहेकै छन् । पार्टी एकता त हुनुपर्छ तर त्यो सही सिद्धान्त र राजनीतिसहितको हुनुपर्छ भन्नेमा दोस्रो तहका नेताहरूको ध्यान पटक्कै नजानु नेकपाको यति बेलाको दुःखान्त हो । उनीहरू निरपेक्ष पार्टी एकताको दौडमा छन् जुन संसारमा कतै टिकाउ भएको देखिँदैन । समाजवादी सिद्धान्त, संस्कृति र राजनीतिको पूरापूर नोक्सानीमा पार्टी एकता निरपेक्ष रूपमा जसरी पनि बचाउने कुराले नेकपालाई ‘नेअपा’ मा मात्र रूपान्तरित गर्छ । नेअपा अर्थात् नेपाल अवसरवादीहरूको पार्टी ।

थुप्रै यक्षप्रश्न प्रचण्ड–माधवको समूहमाथि पनि खडा नभएका होइनन् । भ्रष्टाचार र विधि/प्रक्रियाको उल्लंघनको जुन आरोप उनीहरूले लगाएका छन्, त्यो आजको घटना होइन । यदि त्यो सत्य हो भने त्यसरी आरोपित व्यक्तिलाई नै पाँच वर्ष निष्कण्टक प्रधानमन्त्री चलाउन दिने निर्णय किन र कसरी हुन सक्यो ? आफ्नो बहुमत रहेको भनिएको केन्द्रीय समिति र संसदीय दलको बैठक डाकेर बेलैमा त्यसको छिनोफानो गर्ने काम किन भएन ? यसले देखाएको छ, पद र जिम्मेवारीको भागबन्डा मिल्यो भने त अहंभन्दा अहं मुद्दामा त्यो पक्ष पनि चुप बस्ने रहेछ । त्यस पक्षले पनि महामारीको यो समयमा खोजेको मुख्य कुरा पद नै रहेछ । अतः नेकपामा नैतिकता, संस्कृति र सिद्धान्तको अनिकाल एकातिर मात्र देखिँदैन, यो त्यहाँको आम समस्या हो । खालि मात्रा र जोड–कोणको मात्र भिन्नता हो ।

नेकपालाई सिंगो देशमा क्रान्तिकारी रूपान्तरण गर्ने एउटा ठूलो ऐतिहासिक अवसर प्राप्त भएको थियो । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतासहितको पुँजीवादी लोकतान्त्रिक क्रान्तिलाई आर्थिक–सामाजिक क्रान्तिले परिपूर्ण बनाएर देशलाई समाजवादतिर डोर्‍याउने एउटा अभूतपूर्व मौका दैलोमै आएको थियो । पहिलो आधा कार्यकालमा देशको वर्गीय आर्थिक संरचना बदल्ने तात्त्विक महत्त्वको काम केही पनि नगरेर, अझ उल्टो–उल्टो काम गरेर नेकपाको सरकारले यो अवसर अनाहकमा गुमाएको छ । बिचौलिया दलाल र भुइँफुट्टा नवधनाढ्य वर्गको दलमा रूपान्तरित भएर अहिले यो पार्टी समाजवाद त टाढा रह्यो, पुँजीवादको समेत नेतृत्व गर्न अक्षम देखिइरहेको छ । आजको दुनियाँमा पुँजीवादले पनि विद्यालय शिक्षा र आधारभूत स्वास्थ्यलाई राज्यको मुख्य जिम्मेवारी ठान्छ । तर यसले त नाफाखोर निजीलाई सार्वजनिक विद्यालय शिक्षाको जिम्मेवारी लिइदिन खुलेआम आह्वान गरिरहेको छ, त्यो पनि प्रधानमन्त्री स्वयम्‌को मुखारविन्दबाट ।

सर्वोच्च अदालतले सशक्त हस्तक्षेप नगरेको भए कोरोना महामारीको स्वास्थ्य उपचारको जिम्मेवारीसमेत यो सरकारले नागरिक स्वयम्लाई घोषित रूपमा सुम्पिसकेको जगजाहेर छ । ‘वामपन्थी सरकार’ को दक्षिण फर्केको नाक धन्न अदालतले जोगाइदियो । चुनावी घोषणापत्र मुताबिक मात्र काम गरेको भए पनि यसको वामपन्थ थोरै बच्थ्यो । तर सरकारले त्यही घोषणापत्रलाई पनि धोबीखोलामा मिल्काएपछि यसको लोकप्रियताको बखान गर्ने आफ्नै सानो भजन मण्डलीसिवाय कोही रहेन । आफ्नै सचिवालय पनि रहेन । यो सरकार सिंहदरबार बदल्नलाई भनेर सत्तामा आएको थियो । परन्तु सिंहदरबारको राज्ययन्त्रको वर्गचरित्र र स्वरूप जस्ताको तस्तै छ, सिंहदरबारको बनीबनाउ राज्ययन्त्र र त्यसको भ्रष्टाचारमुखी वर्गचरित्रअनुकूल यो आफैं रूपान्तरित भएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको ताजा रिपोर्टअनुसार एसियामै सबैभन्दा भ्रष्ट नेपालको सरकार नै ठहरिएको छ । त्यसमा प्रधानमन्त्रीको नामै किटेर उनलाई भ्रष्ट व्यक्तिको प्रतिरक्षामा उत्रने शीर्ष राजनीतिक नेता भनेर इंगित गरिएको छ । यस्तो घटना नेपालको राजनीतिक इतिहासमा पहिलोपटक भएको हो, जुन ज्यादै लाजमर्दो हो ।

तर पार्टीमा जस्तोसुकै प्रतिगामी र दलाल पुँजीवादी चरित्र छाउँदा पनि दोस्रो र तेस्रो तहका सारा नेता–कार्यकर्ता मौन देखिन्छन् । कुनैकुनै नेता–कार्यकर्ताले थोरै आलोचनात्मक शब्द बोलिहाले पनि उनीहरूले त्यही बेला त्यही परिस्थितिमा त्यही पँधेरोको पानी मजाले खाइरहेको देखिन्छ, जहाँ यी सबै अनुचित घटना निष्कण्टक भइरहेका छन् । कतै सशक्त विरोध वा विद्रोहको प्रवृत्ति देखिँदैन । कतै अर्थपूर्ण आलोचना र टिकाउ फरकमत देखिँदैन । के पद र पैसाको लोभले नै उनीहरूको मुख यसरी थुनिरहेको हो ? अथवा, अहिले पाएको र भविष्यमा पाउन सक्ने अवसर जाने डरले उनीहरूको क्रियाशीलता र जागरुकता मारिरहेको हो ? दुःखसाथ भन्नुपर्छ, राजनीतिक रूपमा डबल नेकपामा दोस्रो तथा नयाँ पुस्ताको सजीव मृत्यु भएसरह छ । किनकि त्यहाँ मसानघाटको शान्ति छाएको छ ।

मृत्यु पनि कहिल्यै सजीव हुन्छ ? जीवन बाँकी रहँदासम्म मृत्यु नै हुँदैन; जब कोही मर्छ, ऊ जीवित रहँदैन । प्राकृतिक जीवनमा यो सत्य हो । तर राजनीति यस्तो क्षेत्र हो जहाँ शरीर कुँजो भएर केही हुँदैनÙ आलोचनात्मकता, क्रियाशीलता र जागरुकताको मृत्यु भयो भने त्यो सामाजिक रूपमा मृत्युभन्दा चर्को हुन्छ । यही हिसाबले नेपाल नामक धरतीको एउटा सानो टुक्रामा डबल नेकपा नामक दलको राजनीतिक जीवनमा सजीव मृत्युको घटना आँखाअगाडि भइरहेछ । त्यो पनि एक जनाको होइन, सिंगै एउटा युवा राजनीतिक पुस्ताको । त्यो पुस्ताको शिक्षा उच्च छ, तर नराम्ररी बाटो बिराएका अगुवाहरूलाई तहमा ल्याउन उसको बुद्धिविवेक कतै प्रयोगमा आएको देखिँदैन । युवाहरूका हातगोडा तगडा छन्, तर पथभ्रष्ट नेताहरूको ढोका ढकढक्याउन ती आवश्यक मात्रामा क्रियाशील भएका देखिँदैनन् ।

प्रकाशित : मंसिर १४, २०७७ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?