कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

स्कुलमा यौनशिक्षा

तीन दशकअघि ठमेलको एउटा होटलमा नौ वर्षकी बालिका बलात्कृत भइछन् । घटना सार्वजनिक भएपछि केही महिलाहरू महिला सुरक्षा हुनुपर्‍यो भन्ने ज्ञापनपत्र लिएर गृहमन्त्री योगप्रसाद उपाध्यायकहाँ गएछन् ।

स्कुलमा यौनशिक्षा

ज्ञापनपत्र हेरेर गृहमन्त्रीले ‘बलात्कार नहोस् भन्न खुर्सानीको ढुटो बोक्ने र लामो नङ पालेर हिँड्ने’ जवाफ फर्काएपछि महिलाहरू निकै आक्रोशित भएछन् । फलस्वरूप ‘महिला सुरक्षा दबाब समूह’ गठन गरिएछ ।

उपर्युक्त प्रसंग मैले पत्रकार/लेखक अमृता लम्सालले एउटा अनलाइनसँग गरेको कुराकानीबाट थाहा पाएकी हुँ । पत्रकार लम्सालले देखे–भोगेको घटना रहेछ यो । त्यो कुराकानी पढिरहँदा म आफ्नै बाल्यकालतर्फ फर्कें, किनभने त्यतिबेला म पनि नौ वर्षकै थिएँ । आमाबाबुको काखमा लुटुपुटु गरिरहेकी थिएँ होला । ‘बलात्कार’ शब्द सायद मैले सुनेकी थिइनँ । सुन्तले चकलेट र फूल मिठाई बोकेर तल्लो घर माथ्लो घर गर्थें होला । ती बालिकाको पनि त त्यही उमेर थियो । उनी त्यो उमेरमा कसरी त्यो होटलमा पुगिन् होला ? गृहमन्त्रीले किन त्यस्तो ठट्यौली उत्तर दिए होला ? आफ्नै परिवारका छोरीचेली त्यो घटनामा परेका भए पनि उनले त्यस्तै उत्तर दिन्थे होला ?

बलात्कारलाई सरकारले त्यही बेला गम्भीरतापूर्वक लिएर अपराधीविरुद्ध कठोर कदम चालेको भए यी अट्ठाइस वर्षमा यससम्बन्धी केही न केही नतिजा त पक्कै आउने थियो । हालै सम्झना विकको बलात्कारसम्म पनि स्थिति उही छ । शिक्षालाई संकुचित घेराबाहिर ल्याउने प्रयत्न गरेको भए पनि केही हदसम्म प्रभावकारी हुने थियो । पुरुषहरूले स्कुले जीवनदेखि यौन र प्रजननबारे बुझ्न नसकेकै कारण पनि यस्ता डरलाग्दा घटनाहरू भइरहेका हुन् । चौध वर्षको किशोरले चार वर्षकी बालिकालाई किन बलात्कार गर्छ ? यौनशिक्षाको अभावकै कारण यस्तो भएको हुन सक्छ ।

स्कुलमा यौनशिक्षा त दिइन्छ तर हाम्रो पाला र अहिले खासै परिवर्तन आउन सकेको छैन । म ग्रामीण परिवेशमा हुर्किएँ । पहिलोपटक महिनावारी हुँदा मलाई घरमा यसबारे भन्न निकै कठिन परेको थियो । आमाले बुझिदिनुभए हुन्थ्यो भनी वरपर घुमेर बाहिरफेर नै बसेकी थिएँ म । तर आमाले बुझिदिनुभएन र कालोनीलो हुँदै, काम्दै मैले उहाँलाई सुनाएकी थिएँ । यस्तो किन भयो त ? संकुचित शिक्षाका कारण । हामीले स्कुलमा पढ्दै महिनावारी हुनु प्राकृतिक नियम नभएर लाजैमर्दो कुरा हो भनेर बुझ्यौं ।

महिनावारी हुँदा कसैले थाहा पाउँछ कि भनेर निकै डर लाग्थ्यो । जनस्वास्थ्य पढाउने सर कक्षामा पस्दा हामी कालोनीलो हुन्थ्यौं । पुरुष सहपाठीहरू हामीतिर हेर्दैनथे । सरको पनि उही हाल हुन्थ्यो । आफ्ना शरीरका अंगहरूको नाम लिनुपर्दा सर मरेतुल्य बन्नुहुन्थ्यो । महिनावारीको कुरा आउँदा त हामी पानीपानी नै भइहाल्थ्यौं । त्यही भएर कतिपय पढाइ टालटुलमै सकिन्थ्यो । जनस्वास्थ्य शिक्षकले कहिल्यै हामीलाई फलानो थोक भनेको यस्तो हो, यो यस्तो हुन्छ भनेर अर्थ्याउन सक्नुभएन । यही कारण हामीमा एक प्रकारको जिज्ञासा र लाज रही नै रह्यो ।

अहिले मलाई लाग्छ, हाम्रा जनस्वास्थ्य शिक्षकलाई तालिमको अभाव थियो । उहाँले हक्की भएर हामीसँग आँखा जुधाएर पढाउनुभएको भए हाम्रो लाज, संकोच र जिज्ञासा केही कम हुने थियो । यो भयो ग्रामीण परिवेशको, बाइस–चौबीस वर्षअगाडिको कुरा । अर्कातिर, सहरमै जन्मे–हुर्केका हाम्रा छोराछोरीसमेत यौनबारे खुलेर बोल्न सक्तैनन् ।

फरक यति छ, उनीहरूलाई इन्टरनेटका माध्यमबाट सबैजसो थाहा छ । हामीचाहिँ पूरै अनभिज्ञ थियौं । हाम्रा छोराछोरी यौनबारे खुलेर बोल्न नसक्नुको कारण हो– स्कुले यौनशिक्षामा पहिले र अहिलेमा खासै फरक छैन । जुन विषय जति छोपिन्छ, त्यसबारे त्यति नै जिज्ञासा बढ्छ । जिज्ञासा बढेपछि अपराध बढ्छ । अनि सुन्नुपर्छ बालिका बलात्कारका घटना ।

अहिले बलात्कारीलाई मृत्युदण्डको सजाय हुनुपर्ने आवाज उठिरहेको छ । बलात्कार रोक्ने अन्तिम उपाय यही हो त ? मृत्युदण्ड दिँदैमा बलात्कार घट्ला ? सायदै घट्ला । बलात्कारीलाई हदैसम्मको कारबाहीचाहिँ हुनैपर्छ । तर सजाय भनेको पछिको कुरा भयो, बलात्कार नै हुन नदिन पहिले यसबारे चेतना र शिक्षा गाउँगाउँमा पुर्‍याउनुपर्छ ।

[email protected]

प्रकाशित : मंसिर १२, २०७७ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?