कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

जो अतुल्य थिए

सम्पादकीय

भनिन्छ, फुटबल यो संसारकै सबैभन्दा बढीले बुझ्ने विश्वभाषा हो । र, यो खेललाई यति व्यापक बनाउने श्रेय कसैलाई जान्छ भने निःसन्देह तिनमा अर्जेन्टिनाका डिएगो म्याराडोना अग्रस्थानमा पर्छन् । त्यही भएर त, बुधबार विश्व फुटबलका सर्वाधिक लोकप्रिय यी खेलाडीको हृदयाघातका कारण निधन हुँदा पूरै संसार शोकाकुल बन्यो ।

जो अतुल्य थिए

विश्वकै लोकप्रिय खेलका अति लोकप्रिय यी हस्तीलाई ६० वर्षकै अल्पायुमा गुमाउनुपर्दा जगतै स्तब्ध भयो । यिनको निधनमा अर्जेन्टिनाले त तीनदिने शोक नै मनाउँदै छ । विश्वभरबाट पनि फुटबललगायतका विभिन्न खेलका हस्ती र राष्ट्र/सरकार प्रमुखहरूले दुःख व्यक्त गरिरहेका छन् । यो युगका एक महान् खेलाडीलाई यतिबेला जोकोही खेलप्रेमीहरूले सम्झिरहेका छन् ।

परोक्ष नै सही, अर्जेन्टिनाबाट १० हजार माइल टाढाको नेपालमा पनि फुटबल अति लोकप्रिय हुनुमा म्याराडोनाकै खास देन छ । सन् १९८६ मा मुलुकमा पहिलोपटक विश्वकप फुटबल नेपाल टेलिभिजनमार्फत देखाइएको थियो । र, उक्त प्रतियोगितामा म्याराडोनाले विश्व फुटबल नै परिवर्तन गरिदिएका थिए । पहिलोपटक टेलिभिजनमा फुटबल हेर्न पाउनु, त्यो पनि सर्वकालकै उत्कृष्ट मानिएका खेलाडीको खेल– नेपालीलाई म्याराडोनाको जादुले नतान्ने कुरै थिएन । यही कारण, नेपालमा अझैसम्म पनि अर्जेन्टिनाका प्रशंसक निकै धेरै छन् । कतिसम्म भने, म्याराडोना विवादले घेरिएर प्रहरी नियन्त्रणमा पर्दा नेपालमा उनको समर्थनमा जुलुससमेत निस्किएको थियो । यसरी नेपालमा पनि फुटबलको लोकप्रियतालाई शिखर चढाउनसमेत योगदान पुर्‍याएका यी विश्व खेलाडी नेपालीको स्मृतिमा सधैं रहिरहनेछन् ।

विश्व फुटबललाई एउटा सुन्दर लय दिएका यिनको व्यक्तिगत जिन्दगी भने सलल बगेको थिएन । यसको कति असर उनको खेलमा पनि परेको थियो । नियमित लागूऔषध दुर्व्यसनका कारण उनी पटक–पटक रोगले थलिएका थिए, घरीघरी विवादमा पनि तानिन्थे । लागूऔषधकै नशामा उनले पत्रकारलाई गोलीसमेत हानेका थिए । ‘डोपिङ टेस्ट’ मा असफल भएपछि अमेरिकामा सन् १९९४ मा भएको विश्वकपबाट उनलाई घर फर्काइएको थियो । सन् १९९१ मा कोकिन सेवन गरेको पाइएपछि १५ महिना प्रतिबन्ध लगाइएको थियो । तैपनि म्याराडोना यति लोकिप्रय रहे कि, यी भूलहरूलाई उनका प्रशंसकहरूले केवल पादटिप्पणीका रूपमा मात्र लिइदिए, उनको योगदानको कदर गर्न कहिल्यै चुकेनन् ।

विवादबीच पनि म्याराडोना नायकै भइरहनुको कारण एउटै थियो– मैदानभित्रको प्रदर्शनमा उनलाई ‘भगवान्’ नै मानिन्थ्यो । यसको प्रमुख कारण उही १९८६ को विश्वकप अर्जेन्टिनालाई जिताउनु नै हो । फुटबल सामूहिक खेल हो, तर म्याराडोनाले त्यो विश्वकप एकल प्रयासमा जिताएका थिए भन्दा पनि फरक पर्दैनथ्यो । यसरी उनले फुटबलमा विशेष रौनक भित्र्याएका थिए । उनको त्यही प्रदर्शनले फुटबललाई एउटा स्वरूपमा ल्याएको थियो । सन् १९८६ मा मेक्सिकोमा भएको उक्त विश्वकपमा अर्जेन्टिनाले १४ गोल गरेकोमा ५ गोल म्याराडोना एक्लैले गरेका थिए, थप ५ गोलका लागि पास उपलब्ध गराएका थिए । यसपछिका दिनमा उनी फुटबल मन पराउनेका लागि ‘देवतुल्य’ रहे । त्यसो त, प्रशंसकहरूले उनलाई भगवान्का रूपमा हेर्नुको कारण अर्को पनि छ । त्यही विश्वकपमा इंग्ल्यान्डविरुद्ध हेड गर्ने क्रममा उनले हातले गोल गरेका थिए, जसलाई उनी स्वयंले ‘भगवान्को हातले गरेको गोल’ भन्थे ।

इंग्ल्यान्डविरुद्ध त्यही खेलमा गरेको उनको अर्को गोल विश्वकपकै उत्कृष्टमा गनिएको थियो । मध्यभागबाट बललाई एक्लै अगाडि बढाउँदै उनले अंग्रेज खेलाडीहरू र गोलरक्षकलाई छक्याउँदै गरेको उक्त गोललाई विश्व फुटबल महासंघ (फिफा) ले शताब्दीकै उत्कृष्ट भनेर पुरस्कृत नै गरेको थियो । फिफाले ब्राजिलका पेले र म्याराडोनालाई एकै ठाउँमा राख्दै बीसौं शताब्दीको उत्कृष्ट खेलाडीमा चुनेको थियो । यिनै म्याराडोनाको नेतृत्वमा अर्जेन्टिनाले १९९० को विश्वकप फाइनल पनि खेलेको थियो । गोलका लागि भोको रहने, उत्कृष्ट मौका सिर्जना गर्ने र विपक्षीलाई सजिलै बुझ्ने भएका कारण म्याराडोना खेलाडीको रूपमा सदैव उदाहरणीय रहे, सर्वकालिक महान् फुटबलर बने । जतिले उनको खेल हेरे, ती सबैलाई उनले लठ्ठै पारे । मजाले बल ‘ड्रिब्लिङ’ गर्ने उनको खुट्टामा छुट्टै जादु थियो । बलमाथि उनको नियन्त्रण बेजोड रहन्थ्यो । उनले लगाएकै कारण १० नम्बर जर्सीको महत्त्व नै अर्को बन्यो । उल्लेखनीय के भने, म्याराडोनाको जादु त्यतिखेर चम्किएको थियो, जतिखेर अर्जेन्टिनामा सैनिक शासन थियो । तानाशाही शासनका कारण जनताले दुःख पाइरहेका बेला उनैले फुटबलमार्फत मुलुकवासीलाई नयाँ आयामसमेत दिएका थिए ।

यता, युरोपमा बार्सिलोनाको असफल यात्रापछि म्याराडोना इटालीको नेपोली आएका थिए । नेपोली फुटबलमा एउटा सानो क्लब मात्र थियो । म्याराडोना आएपछि नेपोलीलाई दुई सिरी ‘ए’ र एक युरोपियन कपको उपाधि दिलाएका थिए । त्यहाँ पनि उनले एकल प्रदर्शनजस्तै गरे । नेपोली फुटबल सहरको रूपमा मात्र चिनिएन, फुटबल टोलीका रूपमा पनि स्थापित भयो । त्यसकै गुन तिर्न अब नेपोलीका मेयरले सान पाब्लो रंगशालालाई डिएगो अरमान्डो म्याराडोना रंगशालाका रूपमा नामकरण गर्ने जनाएका छन् ।

म्याराडोना फुटबल खेल्दा आफूलाई अनौठो शान्ति मिल्छ भन्थे । अहिले उनको भौतिक जिन्दगीले नै शान्तप्रस्थान रोजिसकेको छ । उनको निधनपछि फुटबलका अर्का सर्वकालिक विश्व खेलाडी पेलेले आफ्नो प्रिय साथी गुमाएकोमा दुःख व्यक्त गर्दै भनेका छन्, ‘म आस गर्छु, एक दिन हामी आकाशमा सँगै फुटबल खेल्नेछौं ।’ यसबाटै थाहा हुन्छ, म्याराडोना र फुटबलको सम्बन्ध कति अन्योन्याश्रित छ । यो युगका यी महान् खेलाडीलाई हाम्रो श्रद्धाञ्जली !

प्रकाशित : मंसिर १२, २०७७ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?