नेकपाको नाभिमा विस्फोटक चार्ज- विचार - कान्तिपुर समाचार

नेकपाको नाभिमा विस्फोटक चार्ज

शक्तिशाली सरकारको निर्विवाद नेतृत्व पाउँदा पनि आफ्नै खुट्टामा बन्चरो हान्न प्रधानमन्त्री ओलीलाई केले प्रेरित गरेको होला ?
युग पाठक

तपाईं ईश्वर भएको भए शून्यबाट ब्रह्माण्डको रचना कसरी गर्नुहुन्थ्यो ? दर्शनशास्त्र लामो निद्रामा रहेका बेला यो प्रश्नमा केही दशकदेखि भौतिकशास्त्रीहरू माथापच्ची गरिरहेका छन् । यो प्रश्नको जवाफ खोज्न सर्वप्रथम एउटा स्पेस (दिक् वा स्थान) को परिकल्पना गर्नुपर्छ ।

स्पेस बनाउनेबित्तिकै समयको घडी चल्न थालिहाल्छ । त्यहाँबाट एउटा ब्रह्माण्डिकी (कस्मोलोजी) को निर्माण हुन्छ र त्यसको मुटु धड्किन थाल्छ । यहाँ ब्रह्माण्डिकीको प्रसंग नेकपा–संकटको विश्लेषण गर्न ल्याइएको हो । यो प्रसंगमा गहिरिनुअगाडि के भनिहालूँ भने, नेकपामा अहिले देखिएको संकट पुराना नेताहरूबीचको व्यर्थ कचिंगल मात्र होइन । यो पनि थपिराखूँ, त्यसो हुन्थ्यो भने यो कचिंगलमा नागरिक समाज टाइटल भिरेर काठमाडौं स्थापत्यको कुलीन तप्का घुस्ने थिएन । अरू शक्तिकेन्द्रहरूको रुचि पनि उजागरै छ ।

ब्रह्माण्ड विज्ञानमा झैं राजनीति विज्ञानमा पनि गुरुत्वकेन्द्रहरू हुन्छन् । तर ब्रह्माण्डका पिण्डहरूले पैदा गर्ने गुरुत्व क्षेत्रको समयजस्तो समाजको समय लामो हुँदैन । त्यसैले राजनीतिमा गुरुत्वकेन्द्रहरू बन्ने, भत्किने र नयाँ बन्ने क्रम सापेक्षित रूपमा छिटोछिटो हुन्छ । आयु नै छोटो भएको मान्छेले निर्माण गर्ने राजनीतिक केन्द्रहरूको आयु लामो हुने प्रश्नै भएन । राजनीतिक र नैतिक मूल्यमान्यताको हिसाबकिताब आफ्नो ठाउँमा छ, वस्तुगत सत्यचाहिँ के हो भने, पछिल्लो निर्वाचनबाट नेपाली राजनीतिको ठूलो गुरुत्वकेन्द्र नेकपा बन्यो । त्यसैले समग्र मुलुकको समयरेखा उसैको गुरुत्वकेन्द्रमा चल्नु र प्रतिगमनको घर्षण पनि उसैभित्र देखिनु स्वाभाविकै हो ।

समयरेखाको तत्त्वबोध

राजनीतिक समयरेखा मान्छेको सामूहिक पहलले बनाउने जिनिस हो । नौलो र धेरै मान्छेलाई तान्न सक्ने वैचारिकीले इतिहासको जुनसुकै कालखण्डमा राजनीतिक समयरेखा बनाउन सक्छ । अढाई सय वर्षअघि पृथ्वीनारायण शाहले पच्चीस वर्षसम्म छापामार युद्ध गरेर त्यस्तै एउटा समयरेखा निर्माण गरेका थिए । जंगबहादुरले पनि सत्ताकब्जा गरेर आफ्नै प्रकारको राजनीतिक समयरेखा बनाए । त्यसै गरी २००७ सालको क्रान्तिले राणाशासन फालेर अर्को समयरेखातर्फ मुलुकको राजनीतिलाई मोडिदियो ।

समयरेखाहरू दिक्–कालसापेक्ष नै निर्माण हुन्छन् र भत्किन्छन् । त्यसमा विशिष्ट विचार र गतिको पहलचाहिँ अनिवार्य तत्त्व हुने भयो । यस हिसाबले इतिहास सीधा प्रगतिमा हिँडिरहने मेसिन होइन, बरु विभिन्न समयरेखा हुँदै गुजुल्टिएर गुज्रिने यात्रा हो । मानिसहरूले कति धेरै समयरेखा रच्छन् र समाजलाई रचनात्मक तथा समतामूलक बनाउन पहल लिन्छन् भन्ने कुराले समाजको गति निर्धारण गरिरहेको हुन्छ । २०४६ को आन्दोलन र जनयुद्धले पनि आफ्नो गच्छेअनुसारका नयाँ समयरेखा बनाएका थिए ।

२०६२–६३ को जनआन्दोलनपछि बनेको राजनीतिक समयरेखामा नेपाली समाज अहिले हिँडिरहेको छ । यो समयरेखाको परिचय गणतन्त्र, संघीयता, समावेशिता आदिले बनाएको छ । जनयुद्धभन्दा अघि र पछिका अखबार, विविध पार्टीका विचार र दस्तावेज आदि अध्ययन गर्ने हो भने प्रस्ट हुन्छ— जनयुद्धले राजनीतिको वैचारिकीलाई नै बदल्दिएको थियो । दोस्रो जनआन्दोलनपछि त्यही वैचारिकीले समग्र मुलुकको मस्तिष्कलाई सहमतिको एउटा विन्दुसम्म पुर्‍यायो । अन्तरिम संविधानमार्फत त्यसले आमसहमति हासिल गर्‍यो । त्यसअघि र पछिका अखबार मात्रै हेर्दा पनि सामाजिक मस्तिष्कको विचारै नयाँ प्रवाहमा बगेको स्पष्ट देखिन्छ ।

ओली–तत्त्वको अज्ञान

पृथ्वीनारायणले सैन्यबलले बनाएको मुलुकको एउटा समयरेखा भयो । पृथ्वीनारायणले तत्कालीन नेपाल उपत्यका जितेर गोरखा साम्राज्य बनाउने महत्त्वाकांक्षालाई गति नदिएका भए त्यो समयरेखा बन्ने थिएन । पृथ्वीनारायणको त्यही चेतबाट निर्मित ब्रह्माण्डिकीभित्र एउटा समयरेखा गतिमान भयो । त्यसैको सीमाभित्र जंगबहादुरले १९१० को मुलुकी ऐनमार्फत हिन्दुकरणको औजारले समरूप समाज व्यवस्था निर्माण गर्न खोजे । हारका बावजुद गोरखाली सत्ताले बनाएको समयरेखामा चल्न नमान्ने विभिन्न समुदाय र पराजित राज्यहरूले भने आफ्नै समाज/संस्कृतिभित्र फरक खालको ब्रह्माण्डिकी कायम राखे । त्यसले गर्दा गोरखाली शासनको समयरेखाभित्र असहमत र सीमान्तकृत विविध समयरेखाहरू चलायमान नै रहे ।

महेन्द्रले एकपटक फेरि कथित ‘राष्ट्रियता’ बलियो पार्ने परियोजनालाई युरोपेली आधुनिक शिक्षाको जगमा संस्थागत गर्ने प्रयत्न गरे । महेन्द्रपथको पचास वर्ष लामो अभ्यासपछि पनि गोरखाली सत्ताको समयरेखामा सरहदभित्रकै अरू समयरेखाहरू मर्ज भएनन् । त्यसपछि यो समयरेखालाई नै उल्टाउने पहल जनयुद्धले लियो । राज्य पुनःसंरचनाको परियोजना संविधानसभामार्फत सुरु भएपछि गोरखाली दरबारको विरासत नै अन्त्य भयो र मुलुक गणतन्त्रमा प्रवेश गर्‍यो । दरबारको विरासत समाप्त भए पनि यसले गोरखाली सत्ताको समयरेखा भने उल्टाइसकेको थिएन । त्यही विन्दुबाट पुराना शक्तिहरूले प्रतिगमनको झन्डा केपी ओलीको हातमा थमाए ।

राजनीतिमा शून्यबाट ब्रह्माण्डको रचना भैरहन्छ । जनयुद्ध र दोस्रो जनआन्दोलनको शक्तिले एउटा नयाँ ब्रह्माण्डिकीको रचना गरिसकेको थियो । गोरखाली सत्ताले अढाई सय वर्षसम्म आम जनताको भागमा गरिबी, अपमान, हिंसा मात्र थोपरेको इतिहासलाई बदल्ने नयाँ समय चलायमान भैसकेको थियो । प्रतिगमनका विभिन्न प्रयासलाई मधेस आन्दोलन एवं आदिवासी जनजाति, दलित, थारू आदिका आन्दोलनहरूले रोक्ने कोसिस पनि गरेकै हुन् । त्यसैले गणतन्त्र, संघीयता, समावेशिता आदि सारतत्त्वलाई बोकेजस्तो नाटक गर्दै ओली राजनीतिक रजतपटमा उदाए । ‘मुखमा गणतन्त्र, बगलीमा महेन्द्रपथ’ ओलीको विशेषता थियो । प्रधानमन्त्री हुनासाथ उनको महेन्द्रपथ छताछुल्ल हुन पुग्यो ।

भौतिकशास्त्रका अनुसार सिद्धान्ततः प्रतिगमन सम्भव छ । उदाहरणका लागि, भुइँमा बजारिएर फुटेको गिलासलाई सिद्धान्ततः उल्टाएर जस्ताको तस्तै हातमा ल्याउन सकिन्छ । सर्त के भने, समयको रेखामा पछि फर्किन सक्नुपर्‍यो । अर्थात्, फुटेको हरेक टुक्रा तथा परमाणुसम्मलाई जुन गति (भेलोसिटी) मा फुट्दा उछिट्टिएको हो, औंस पनि फरक नपर्ने गरी, त्यही गतिमा समयको विपरीततिर दौडाउन सक्नुपर्‍यो । भौतिकशास्त्रमा सम्भव छ भने सिद्धान्ततः राजनीतिमा पनि उल्टो गति सम्भव छ । यहाँ पनि सर्त भने लागू हुन्छ ।

अघिल्ला बीस वर्षमा भएका सम्पूर्ण बहस र आन्दोलन, तिनले मानिसहरूका जीवनमा उमारेका सपना र निर्माण गरेका संगठन, प्रतिरोध तथा रिसराग भए त्यो पनि, जनजनको मस्तिष्कमा बनेका चेतना, पार्टीहरूभित्र भएका बहस, दस्ताबेज सबैसबै जिनिसलाई गणितीय हिसाबले ती जति गतिमा चलेका थिए त्यति नै गतिमा उल्टाउन सक्नुपर्‍यो । यसका निम्ति वैचारिकी र जनपरिचालनको विशिष्ट गति निर्माण गर्न जरुरी हुन्छ । कहिले होलीवाइन पिएर पश्चिमा शक्तिकेन्द्र रिझाउने, कहिले चुच्चे नक्सा प्रकाशित गरेर भारतसँग निहुँ खोजेजस्तो गर्ने, फेरि गुप्तचर प्रमुखसँग समकक्षीसँगझैं वार्ता गर्नासाथ सुपरभाइजरले जस्तो भारतीय परियोजना निरीक्षण गरेर भारत रिझाउन खोज्ने, कहिले चीनसँग लहसिएझैं पनि गर्ने– यस्तो गोलचक्करबाट गति कसरी पैदा हुन्छ त ?

प्रतिगमनको कोसिस तत्कालीन राजा ज्ञानेन्द्रले पनि गरेका थिए । नयाँ समयरेखाले गति पक्रिसकेका बेला गरिएको त्यो कोसिस पनि त्यस्तै अपरिपक्व थियो । भौतिक संसारमा झैं राजनीतिमा पनि सतहमा देखिने रूप वा प्रक्रिया सम्पूर्ण सत्य हुँदैन । गतिको प्रवाह मूलतः सतहमुन्तिर चल्छ । नयाँ समयरेखालाई चिनेर त्यसैको नेतृत्व गर्ने हिम्मत गर्नासाथ, असफल भैसकेको गिरिजाबाबुको राजनीतिक जीवनले सफलतामा पुगेर विश्राम लियो । जसरी सतहमा सम्पूर्ण शक्तिशाली देखिने ज्ञानेन्द्रले गतिको नियम चिन्न नसक्दा आफ्नो शक्ति मात्र होइन दरबारिया विरासत नै गुमाए, ओली पनि त्यसरी नै चकनाचूर हुने ठाउँमा पुगेका छन् ।

नेकपाको नाभि

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता आदि नयाँ समयरेखाका सारतत्त्वलाई ओली–तत्त्वले खारेज गर्न चाह्यो । चाहनु निरपेक्ष रूपमा राम्रो वा नराम्रो हुँदैन । महेन्द्रपथ ठीक लाग्नेले आफ्नो सिद्धान्तअनुरूप त्यसो गर्न खोज्नु आफैंमा खराब होइन । त्यसो हो भने गणतन्त्रको राष्ट्रपति, प्रधानमन्त्री बन्न खोज्नु हुन्न । पहिला गति उल्टाएर ब्रह्माण्डको नियमानुसार नै सत्ता लिए भैहाल्थ्यो । संघीयता ध्वस्त पार्ने कोसिस गर्दा आफैं कोरोना विश्वव्याधिको सामना गर्न नसकेर जनताका अघिल्तिर एकपछि अर्को भ्रष्टाचार र दुराचार काण्डमा फस्दै गए ।

गणतन्त्रको प्रधानमन्त्री भएर राजाझैं सम्पूर्ण शक्ति बालुवाटारमा केन्द्रीकृत गर्दा आफ्नै मन्त्रालयहरू पेन्डुलम भए । एउटा शक्तिशाली सरकारको निर्विवाद नेतृत्व पाउँदा पनि आफ्नै खुट्टामा बन्चरो हान्न प्रधानमन्त्री ओलीलाई केले प्रेरित गरेको होला ? हो, प्रतिगमनको विचारले । प्रचण्डले दस्तावेजमा लगाएका आरोप उहिल्यै जनताको मनको बहीखातामा दर्ज भैसकेका छन् । प्रचण्डको दस्तावेजबाट आत्तिनुपर्ने केही होइन । तर प्रतिगमनको खेलाडी भएर अरूले निर्माण गरेको समयरेखामा हिँड्न खोज्दा चाल नमिल्नु, रिँगटा लाग्नु स्वाभाविकै हो । उनको घनचक्करले नेकपाको नाभिलाई नै विस्फोटक बनाइदियो । ओली आफैं मात्र डुब्छन् कि नेकपालाई पनि साथै लिएर डुब्छन्, हेर्न अब यत्ति बाँकी छ ।

yugnew@gmail.com

प्रकाशित : मंसिर १०, २०७७ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्

जीवनको दारुण नक्सा

मरुभूमिमा कम्पास हराएको मानिसजस्तो अन्धाधुन्ध हिँडिरहेको छ देश ।
युग पाठक

सरकारी मूर्खताको दर्शक भैरहँदा गान्धीजीका तीन बाँदरको याद आउँछ । गान्धीजीका तीन बाँदरले दुष्ट कुरा नसुन्न, नबोल्न र नहेर्न क्रमशः कान, मुख र आँखा छोप्छन् ।

त्यसको ठीकविपरीत नेपाल सरकारले भने जनजीवनको संकट नसुन्न र नहेर्नका लागि कान र आँखा छोपेको छ भने, जनतालाई सान्त्वनासम्म नदिनका लागि मुखमा ताल्चा मारेको छ । त्यति गर्दा पनि मिडिया र जनताले देख्न सक्छन्, सुन्न र बोल्न सक्छन् भन्ने उसलाई थाहा छ । त्यसैले ऊ कहिले अध्यादेशको रडाको झिकेर छेक्न खोज्छ त कहिले चुच्चे नक्साले तिनीहरूका आँखा–कान ढाकिदिन र मुखमा बुजो लाइदिन खोज्छ । तर नक्साले घाम छेकिँदो रहेनछ ।

दुई सय वर्षदेखिका अनेक सन्धि, सम्झौता र अलिखित समझदारीले जेलिएको र पचास वर्षदेखि भारतीय सेना बसिरहेको क्षेत्रको सीमाविवादलाई कागजी नक्सा र दुईपैसे हुँकारले होइन, विवेकपूर्ण र संयमित वार्ताले मात्र टुंगोमा पुर्‍याउन सक्छ । तर नेकपा सरकारको नक्सा–प्रपञ्च समस्या सुल्झाउनका लागि थिएन । त्यसो हुन्थ्यो भने संसद्मा जवाफ दिन रोस्ट्रममा कुर्सी राखीराखी बसेका प्रधानमन्त्री खड्गप्रसाद ओलीको एउटा हातमा चुच्चे नक्सा र अर्को हातमा एमसीसी पारित गरिछाड्ने हठको पुलिन्दा हुने थिएन । भारतसँग जमिनको दाबी गर्ने नक्सा र भारतलाई नै महत्त्वपूर्ण पार्टनर बनाउने अमेरिकी एमसीसी अनुदानको भिक्षा एउटै थालीमा कसरी अटाउँछ ? मच्चिने–मच्चिने र थच्चिनेबाहेक यसको उपादेयता छैन ।

मिडिया र जनताको आलोचक चेतनालाई तह लगाउने उद्देश्यले ल्याइएको नक्सा–प्रपञ्चले मिडियाका आँखामा भने केही समय जालो लाउन सफल भयो । सफलतापूर्वक विषयान्तर गरेर अपराध छोप्ने काम सम्पन्न गरियो । अन्धवेगको त्यही अवधिमा सप्तरीमा मलर सदा र सिंहदरबारको ढोकैनजिक कीर्तिपुरमा सूर्यबहादुर तामाङले भोकका अघिल्तिर प्राण समर्पण गरे । बर्दियाका मजदुर जोद्दी गोडियाले पनि भोकभोकै क्वारेन्टिनमा मृत्युवरण गरे । पाँच दर्जन महिलाले प्रसववेदनामा ज्यान गुमाउनुपर्‍यो । डायलसिस गर्न नपाएर दर्जन बिरामीको इहलीला समाप्त भैसक्यो । उपचार नपाएर मर्नेहरूले गुनासो गर्नसम्म पाएका छैनन् । मरणोपरान्त कोरोना पोजिटिभ प्रमाणपत्र थमाउन सरकारलाई पटक्कै अप्ठ्यारो लाग्दैन । त्यस्तो प्रमाणपत्र पाउनेहरूको संख्या अझै बढ्दो छ । के यी सबै केवल सूचना हुन् ? यी सूचनाभित्रको शासकीय विषवृक्षलाई फगत नक्साले छोप्न सक्छ ?

लकडाउन बजेट

लकडाउनपछि लकडाउन थपिरहने सरकारसँग राष्ट्रपति भवनमा नयाँ कार्पेट हाल्ने निम्छरो चेतना अवश्य छ, तर जनजीवनमा छाँद हालिरहेको कहर पर्गेल्ने चेतना छैन । यसको प्रत्यक्ष प्रमाण हो— बजेट । कोरोना विश्वव्याधिका कारण विश्व अर्थतन्त्र शताब्दीकै ठूलो संकटतिर लम्किरहेको तथ्य बासी भैसक्यो । यस बखत समय यति द्रुत छ, पूरा वर्ष एक महिनामा समेटिइरहेको छ । तर यो ग्रहमा नेपालको सरकार मात्र यस्तो सरकार हो, जसलाई यो समयको कुनै ज्ञान र पर्बाह छैन । तीन महिनासम्म बिनाकुनै योजना जनतालाई लकडाउनमा थुनेर ऊ कछुवाको चालमा अत्यन्त प्रतिगामी र कर्मकाण्डी बजेट ल्याउँछ ।

लकडाउन सुरु हुनुभन्दा एक महिनाअगाडिदेखि नै पर्यटन उद्योग धराशायी भैसकेको थियो । पर्यटन उद्योगको लगानी र रोजगारी दुवै डुबिसकेको छ अनि कम्तीमा अरू दुई वर्षसम्म यो शीतकालीन सर्पजस्तो ‘हाइबरनेसन’ मा जानेछ । यसले रेस्टुरेन्ट, यातायात लगायतका तमाम व्यवसायमा सीधा हानिसकेको छ । करिब एकतिहाइ गार्हस्थ्य उत्पादन धान्ने रेमिटान्सले बैंक, बजार र तमाम सेवा व्यवसायको रौनक पनि धानेको थियो । विश्वकै अर्थतन्त्र धराशायी भैरहँदा रेमिटान्स स्वाट्टै घट्ने मात्र होइन, कम्तीमा २० लाख युवा बेरोजगार भएर घर फर्कने निश्चितप्रायः छ । यसको चक्रीय प्रभावले देशभित्रकै व्यवसाय र रोजगारीमा पनि गम्भीर नकारात्मक असर पार्ने तथ्य स्वतः स्पष्ट छ । बाँदर धपाउने प्रधानमन्त्री रोजगार कार्यक्रमले यो संकटको सामना गर्न सक्दैन, ताजा इतिहास साक्षी छ । त्यसमाथि पेट्रोलियम, किताब, कृषिमल लगायतमा कर थपेर, बजारभाउ बढाइदिएर पहिल्यै संकटग्रस्त सर्वसाधारणको ढाड भाँच्ने सोच कुन दराजबाट झिकेको होला !

क्वारेन्टिनमा देश

प्रधानमन्त्री ओलीलाई यति बेला भ्रमण गराउनुपर्ने ठाउँ हो— क्वारेन्टिन । किनभने उनले शासन गरिरहेको देश भेटिने ठाउँ ठीक त्यही हो । बारीका पाटा, रूखको फेद, वस्तुभाउका गोठ, बेन्च जोडेर खटिया बनाइएका स्कुलका कोठा । याने कि क्वारेन्टाइन ! विश्व स्वास्थ्य संगठनको मापदण्डको कुरै छाडौं, यही सरकारले तय गरेको मापदण्डअनुसार पनि ती क्वारेन्टिन कहलाउनलायक छैनन् । महामारीबाट जोगाउन क्वारेन्टिन बनाइने हो, तर यहाँ क्वारेन्टिनका नाममा मृत्युशाला बनाइएका छन् । अचम्म त के भने, युद्धको विभीषिकामा मानवाधिकार खोज्नेहरू क्वारेन्टिनमा मानवाधिकार खोज्न चासो देखाउँदैनन् । अनि सरकार क्वारेन्टिनमा एकछत्र यातना–उत्सव मनाइरहेको छ ।

वास्तवमा यतिखेर देश लिम्पियाधुराको नक्सामा होइन, क्वारेन्टिनमा दिनदिनै मरिरहेको जीवनको नक्सामा छ । भुजा चपाएर प्राण धानिरहेको, लामखुट्टे वरिपरि भन्काएर सुतिरहेको, सुन्निएका खुट्टा खेतमा तेर्स्याएर भोकै पल्टिरहेको जीवनको नक्सामा छ । लकडाउनको कहरबीच बलात्कृत भैरहेका र रूखमा झुन्ड्याइएका नारीको दारुण मृत्युको नक्सामा छ । अनि प्रेम गरेको निहुँमा जात खोजीखोजी नरसंहार गरेर फालिएको भेरी नदीको भेलमा छ जीवनको दारुण नक्सा । र, वास्तविक देशको नक्सा यही हो । नेकपा सरकारले शासन गरिरहेको देशको यथार्थ नक्सा यही हो ।

जीवनको अर्को दारुण चित्र जनस्वास्थ्यको सरकारी नक्सामा देख्न पाइन्छ । गरिब र निम्नमध्यम वर्गले ९० प्रतिशतभन्दा ठूलो हिस्सा ओगटेको मुलुकमा अस्पताल, स्वास्थ्यचौकीहरू त्यो ठूलो जनसंख्याको पहुँचभन्दा धेरै पर पुगिसकेका छन् । ठेलागाडामा बिरामी राखेर डायलसिस गर्न लगिरहेका परिवारजनलाई सोधे हुन्छ । टेस्टमा पहुँच नहुँदै वा अस्पताल नै नपुगी मर्ने वा टेस्टको परिणाम कुरेर छटपटाइरहने वा क्वारेन्टिनमा बिनाआहार बिनाउपचार छटपटाइरहेका जनता जिउँदो साक्षी छन् । निजी स्वास्थ्य संस्थालाई १५ हजारमा टेस्ट गर्न अनुमति दिने सरकारसँग सेनाले सामान ल्याइसक्दा पनि एक छेउ नपुग्ने टेस्ट सामग्री मात्र छ । संक्रमितको संख्या हजार नाघ्नासाथ थला नपरेका बिरामीलाई घरैमा उपचार गर्ने उर्दी जारी गरेर ढुक्क छ नक्साबाज सरकार ।

सिंहदरबारको सयल

मरुभूमिमा कम्पास हराएको मानिसजस्तो अन्धाधुन्ध हिँडिरहेको छ देश । सरकारले संकटको आकलन र पार लाउने कुनै प्याकेज ल्याउला भनेर पर्खने जनतालाई बजेटको कोर्रा प्राप्त भयो । ७ प्रतिशत आर्थिक वृद्धिको हावादारी गफ र बजेटको एउटा प्रमुख स्रोत नै एमसीसी देखेपछि यो कुन धरातलमा उभिएको छ, भनिरहनुपरेन । घरघरमा पसिसकेको आर्थिक संकटले छिट्टै तरलता अभावमा पुर्‍याउने स्थिति नदेख्न प्रतिबद्ध सरकार तत्काल उपचार नपाइरहेका जनतालाई यस्ता र उस्ता पूर्वाधार बनाइनेछ भन्ने बासी गफ सुनाइरहेको छ ।

ओम्नीको बेकामे आरडीटी बेच्ने कारिन्दामा घटुवा भैसकेका स्वास्थ्यमन्त्री एवं किसानका तरकारी र दूध नष्ट गरिएको दृश्य टुलुटुलु हेरेर कृषि क्रान्तिको तुइनमा झुन्डिइरहने कृषिमन्त्रीको सरकार हो यो । सामुदायिक विद्यालयलाई निजीको जिम्मा लगाउने नीतिगत निर्णय बजेटमा परेको थाहा पाएपछि मात्र निद्राबाट ब्युँझने शिक्षामन्त्री र मेडिकल सामग्री खरिद गर्न सेनालाई जिम्मा लाउने रक्षामन्त्रीको सरकार हो यो । भारतले नचाहुन्जेल आफ्नै नागरिकका लागि नाकाबन्द गर्ने र भारतले नाकाभित्र धकेलिदिएपछि लाचार भएर पानीसम्म पिउन नपाउने क्वारेन्टिनमा आफ्ना जनतालाई ‘डम्प’ गर्न नहिचकिचाउने परराष्ट्रमन्त्री र चुच्चे नक्सा नेताकहाँ होम डेलिभरी गरेर नाकमा घिरौंला जोड्ने भूमिमन्त्रीको सरकार हो यो । अझ भनौं, भोकैप्यासै मरिरहेका जनतालाई पौष्टिक खाना खाने टिप्स दिएर उपहास गर्ने प्रधानमन्त्रीको सरकार हो यो । जीवनको दारुण नक्सामाथि निर्दयी शासन थोपरेर कागजी नक्साले निर्ममता छोप्न खोज्ने नेकपाको सरकार हो यो । सिंहदरबार यिनका लागि जिम्मेवारी होइन, सयलखाना हो । त्यसैले यो जनताको सरकार होइन ।

yugnew@gmail.com

प्रकाशित : जेष्ठ २५, २०७७ ०९:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×