२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

वारि नारीवाद पारि नारीमुक्ति

हरेक नारीवादीले सकेसम्म संगठित राजनीतिमा सहभागी भएर, नभए लेखेर, बोलेर वा अन्य तरिकाले हस्तक्षेप गर्नु जरुरी छ ।
सरिता तिवारी

दस वर्षअघि अघिल्लो पुस्ताका नाम चलेका वामपन्थी लेखकले एक भेटमा पंक्तिकारलाई भनेका थिए, ‘अर्थोक जेसुकै हुनू तर नारीवादी नहुनुहोला ।’ यस्तै सुझाव अरू केही थान (पुरुष) लेखकले पनि दिएका हुन् । अहिले पनि दिन्छन् । नारीवादी नहुनू है भन्नेमा प्रगतिशील तप्काका लेखक उत्ति छन्, प्रजातान्त्रिक तप्काका उत्ति ।

वारि नारीवाद पारि नारीमुक्ति

आदिम भानुभक्त आचार्यको आलम्बमा आजका ‘क्लोन’ भानुभक्तहरूतर्फ संकेत गरेर बहस गर्न कोसिस गर्दा चितवनका एक बुज्रुक ‘प्रजातान्त्रिक’, स्वघोषित ‘मठाधीश’ लेखकले झन्डै पाखुरी सुर्कन खोज्दै भनेका थिए, ‘म त वधूशिक्षाको फेवरमा छु !’ यी महाशयसँग रिस उठेन, दया लाग्यो । विचारको भिन्नता स्विकार्ने नाममा विवेकहीनता र अन्यायिक तर्कलाई ठीक मान्न सकिँदैन तर जीर्ण सामन्तवादी चेतनाका ‘रोगी’ सँग आमनेसामने बहस गर्नु समय र ऊर्जाको बरबादी मात्रै हो । मार्क्सवादी छातामुनि बस्न रुचाउने कतिपय लेखकहरू सिफारिस गर्छन्– नारीवाद होइन, नारीमुक्ति आन्दोलन पछ्याउने हो । नारीमुक्तिको राजनीतिक वैचारिकी पछ्याउनेमा दुईमत नै छैन, तर नारीवादप्रति एकोहोरो उपेक्षा या नारीवाद गलत हो भन्ने सोलोडोलो निष्कर्षमा सहमत हुन सकिन्न ।

सारमा माथि चर्चा गरिएका दुवै थरी विचारका पुरुषको चिन्ता एकै हो– स्त्रीहरू अधिकार–सचेत र लडाकु भएर निस्के भने आफ्नो सनातन सहुलियतको स्थानमान (हाइरार्की) खोसिन्छ । यिनले हामीलाई जित्छन् । हाम्रा छातीमा टेकेर हामीमाथि ‘राज’ गर्छन् । यी दुवै थरीका दिमागमा डेरा जमाएर बसेको कुरा हो– नारीवाद केवल पुरुषविरोधी तर्क हो । प्रोपगान्डा हो । ‘ट्याउँट्याउँ’ हो ।

000

निश्चय पनि, नारीवाद आलोचनाबाहिर छैन तर विद्रोह र आक्रोशको सैद्धान्तिकीसँगै नारीवादले स्त्री इतिहासलाई उत्खनन गर्न, भाषा र मनोविज्ञानका क्षेत्रमा स्थापित प्रभावशाली विचारलाई खण्डन गर्न, सांस्कृतिक शक्ति संरचनाको आधारभूत स्वरूप थाहा पाउन गरेको मिहिनेतलाई बेवास्ता गर्नु असम्भव छ । हो, विभेदका अनेक रूपविरुद्ध कडा आक्रोश प्रकट हुँदा त्यसले (प्रायः व्यक्तिगत र निश्चित घेराको स्तरमा) विद्रोह र परिवर्तनको आग्रहचाहिँ गर्छ । तर संरचनात्मक विभेदहरूको राजनीतिक र व्यावहारिक समाधान कस्तो हुन सक्छ भन्ने खाका र चिन्तन भने यसमा भेटिन्न । त्यसैले नारीवाद लेखन र विमर्शमै बढी सीमित भएको छ ।

यसलाई स्त्री–पुरुष समानतामा आधारित वैकल्पिक सामाजिक ढाँचासहितको राजनीतिक परियोजनामा जोड्न नसक्ने हो भने नारीवाद बौद्धिक विलास मात्रै बन्ने भय सधैं रहन्छ । व्यापक स्त्रीसमुदाय (र अन्यसमेत) लाई लामबद्ध गर्ने मुक्ति आन्दोलनको राजनीतिक कार्यक्रम र कार्यदिशाबिना नारीवाद राजनीतिक भएर पनि गैरराजनीतिक छलफल मात्रै भैदिन्छ । तर अर्को महत्त्वपूर्ण कुरा के छ भने, नारीमुक्तिको परियोजनात्मक विचारले पनि प्रयोगका स्तरमा कैयौं असफलता झेलेको छ । ती असफलताका कारक के–के हुन् ? अथवा, प्राप्त आंशिक सफलताबाट के–के कुरा सिक्ने ? यसमाथि गम्भीर हुनु आवश्यक छ ।

‘नारीवाद’ शब्दको पहिलो प्रयोग समाजशास्त्री चार्ल्स फ्युरिएले गरे, सन् १८३७ मा । तर सिद्धान्ततः नारीवाद सन् १९६० पछि नै जन्मेर चल्तीमा आएको हो । नारीवादी दर्शनको खाता खोल्ने मेरी उल्स्टोक्राफ्टको पुस्तक ‘अ भिन्डिकेसन अफ द राइट्स अफ उमन (१७९२)’ का साक्ष्यमा भन्नुपर्दा यसले २२८ वर्षको आयु खाइसकेको छ । उल्स्टोनक्राफ्ट फ्रान्सेली क्रान्तिले स्थापित गर्न खोजेको स्वतन्त्रता, समानता र भ्रातृत्वको पुरुष सापेक्षित व्याख्या र व्यवहारलाई चुनौती दिँदै पुँजीवादी क्रान्तिभित्र नारीमुक्तिको प्रस्ताव गर्ने जुझारु भौतिकवादी अभियन्ता थिइन् । एकैसाथ राजतन्त्र, चर्च र कुलीनतन्त्रको समाप्ति नभई सामाजिक समानता सम्भव छैन भन्ने वस्तुगत निष्कर्ष दिने यी लेखकलाई समाजवादी मजदुर आन्दोलनले आदरपूर्वक आफ्नो वैचारिक पूर्वज मान्यो । परिणामतः यो पुस्तक महिला मुक्ति आन्दोलनको समेत एउटा महत्त्वपूर्ण दस्तावेज मानिएको छ ।

यसरी नारीवाद र नारीमुक्ति आन्दोलनको लहरो एउटै जराबाट विकसित भएको हो भन्नु अत्युक्ति हुँदैन । यद्यपि यी दुईका सैद्धान्तिक भुइँ, प्रयोग र बहसमा व्यापक अन्तर छन् । यी अन्तरमा प्रवेश गर्नुअघि कम्युनिस्ट क्रान्ति र नारीमुक्ति आन्दोलनको उतारचढावबारे एउटा दृष्टान्त पेस गरौं । मार्क्सवादी विचार/दर्शनको प्रभाव फैलिएर युरोपमा चलेको समाजवादी (कम्युनिस्ट) आन्दोलनको एउटा हाँगाका रूपमा बीसौं शताब्दीको सुरुमै नारीमुक्ति आन्दोलनको दुन्दुभि बज्यो । अन्तर्राष्ट्रिय (श्रमिक) महिला दिवसको खाँबो गाड्ने स्त्री–मजदुरहरूको अभूतपूर्व सहभागितामा थालिएको समान ज्यालाको आन्दोलनको तरंग विश्वव्यापी बन्न पुग्यो । जनविद्रोहको अग्रदस्ताका रूपमा महिलाहरूको कुशल र सम्मोहनकारी नेतृत्व रहेको रुसी क्रान्ति संसारभरकै महिलाको सामूहिक संघर्षका लागि जादुयी प्रेरणा बन्यो । यसको प्रभाव कालक्रममा भारतीय, चिनियाँ, क्युबाली, पेरुभियन, फिलिपिनी, नेपाली महिला आन्दोलनसम्मै फैलियो ।

क्लारा जेट्किन, अलेक्जेन्डर कोलोन्ताई, रोजा लग्जेम्बर्गलगायत महिला नेताहरू समाजवादी बहसमा उच्च कोटिका बौद्धिकका रूपमा उदाए । अक्टोबर क्रान्तिको सफलतालगत्तै सोभियत रूसमा धमाधम यस्ता कानुन बनाइए जुन विश्वमै संरचनात्मक लैंगिक विभेदलाई परास्त गर्ने सर्वथा पहिलो पहल थिए । मताधिकारदेखि कार्यक्षेत्र रोज्ने, जीवनसाथी छनोट गर्ने, सम्बन्धविच्छेद, गर्भपतन लगायतका प्रगतिशील अधिकारले सुसज्जित गर्दै सोभियत रुसले महिलाका पक्षमा अद्भुत घोषणाहरू गर्‍यो । महिलालाई घरेलु दासत्वबाट मुक्त गर्दै सार्वजनिक स्पेसमा ओर्लन प्रेरित गर्ने अनेक कार्यक्रम र नीतिहरू ल्याइए । यसले परम्परागत लैंगिक शक्ति संरचनाको व्याकरण फेरिने प्रशस्त आधार तयार गर्‍यो । तर लेनिनको मृत्युपछिको एक दशक नबित्दै मातृत्व र स्त्रीत्व रक्षाका नाममा कतिपय कानुन र नीतिहरू भकाभक फेर्ने काम भए । जोसेफ स्टालिनकै पालामा थालिएको कानुन उल्ट्याउने क्रम निकिता ख्रुस्चेवसम्म आइपुग्दा पुँजीवादी पुनःस्थापनाको चरणतर्फ संक्रमित हुन पुग्यो । ‘आमा नायिका पुरस्कार’, ‘मातृत्व पदक’ जस्ता विभूषणका लेपन लगाउने बकम्फुसे ‘महानता खेती’ थालिए । कम्युनिस्ट क्रान्तिपछिको समाजवाद पनि आखिर महिलाका पक्षमा नहुँदो रहेछ भन्ने निष्कर्षमा पुगिने बदनाम बहानाको उदाहरण बन्यो सोभियत समाजवाद ।

यो कम्युनिज्मको दोष होइन, राज्य पितृसत्तामा निहित शासकीय गद्दारीको परिणति हो भन्ने कुरो अहिलेसम्मै बुझाउने यत्न गरिएको देखिन्न । हाम्रै घरेलु अनुभवमा पनि त यस्तैयस्तै भएको छ । आज पार्टी पितृसत्ता र राज्य पितृसत्ताको कोपले जनयुद्धका लडाकु महिलाको बलिदान, गरिमा र निर्णायक अधिकारको कुन हदसम्म तेजोवध गरिरहेको छ, हामीलाई थाहै छ । नारीमुक्ति आन्दोलनलाई वर्गमुक्ति आन्दोलनसँगै जोडेर बहादुरी र सौर्यको इतिहास रचेका महिलालाई पुनः घरेलु दासताकै चौघेरामा फर्काइएको दृश्यले नारीमुक्तिको परियोजना पनि गफै त रहेछ भन्ने पर्न गएको छ ।

नेपालकै उदाहरण हेर्ने हो भने पनि नारीमुक्ति आन्दोलनको सर्वोपरि महत्त्व र भूमिका कसैले नकार्न सक्दैन, भलै आजका दिनमा यो आन्दोलन पार्टी पितृसत्ताको छायामुनि टाक्सिएको छ । राणाविरोधी अभियान र आन्दोलनदेखि पञ्चायतविरुद्धका भूमिगत क्रान्ति र प्रजातन्त्रकालसम्मै पनि माओवादी जनयुद्धसमेतले नेपाली महिलाको चेतनामा ल्याएको तरंग चानचुने होइन । आज महिला संगठन टाक्सिए, आफ्नो हुती र सामर्थ्य प्रदर्शन गर्न सकेनन् भन्नुको अर्थ नारीमुक्ति आन्दोलनको रिले अभियान समाप्त भयो भन्ने होइन ।

000

दोस्रो विश्वयुद्धपछि नारीवाद युद्धोत्तर चेतनाले चलायमान समाजको अभिव्यक्तिका रूपमा मात्रै होइन, कम्युनिस्ट पार्टीभित्र अन्तरप्रवाहित नारीमुक्ति आन्दोलनका प्रायोजित सीमाहरूको समेत उपोत्पादका रूपमा स्थापित भएर फैलियो । बेट्टी फ्रिडन, जर्मेन ग्रियर, सुलामिथ फायरस्टोन, केट मिलेट लगायतका घोषित नारीवादी बौद्धिकहरू एकपछि अर्को गर्दै उदाए । यता मार्क्सवादी शिविरमा एभलिन रिड एक्लैले जीव विज्ञान र सौन्दर्य मिथहरूका सामन्तवादी (पुँजीवादीसमेत) अधकल्चा र अनैतिहासिक तर्कको खण्डन गरिरहिन् । प्रशस्त विमर्शहरू भए, अनेकौं किताबहरू आए । र, रमाइलो कुरा के भने, नारीवाद एक रहेन अनेक बन्यो । अर्थात्, यो नारीवाद(हरू) बन्यो । ’९० को दशक आइपुग्दासम्म अभिजात गोरा बौद्धिकहरूले खिचेको एक–नस्लीय नारीवादको नक्सा नाघ्ने ‘ब्ल्याक फेमिनिज्म’ को बहस हुन थाल्यो । बेल हुक्सको ‘एन्ट आई अ उमन’ जस्ता पुस्तकले नारीवादभित्रै बहुलवादको स्वीकार किन हुन सकेन भन्नेमा बहसको गजबार खोल्दिए ।

यो नारीवादको अघोषित लक्ष्मणरेखामाथिको ठूलो प्रश्नसमेत थियो । अहिलेसम्म आइपुग्दा वैयक्तिक नारीवाददेखि, मार्क्सवादी नारीवाद, पर्यावरण नारीवाद, उत्तरनारीवाद लगायत लैंगिक, जातिगत, धार्मिक आदि अस्मिताका मानक र शाश्वत ठानिएका सीमाविरुद्ध उभिने चेष्टाहरूसमेत समेटिएका छन् । एलजीबीटीक्यू जस्ता परालैंगिक पहिचानका बहस किनारीकृत गर्नै नमिल्ने गरी उपस्थित भइसकेका छन् । लेखन र बहसमा भर्खरै प्रवेश गरेको पुस्ता होस् या लेखि/बोलिरहेको स्थापित समूह, दुवै थरीमा बनेका कतिपय भ्रमपूर्ण निषेध (ट्याबु) हरूले यी विचारहरू बुझ्ने र पर्गेल्ने उद्यममा तगारो लगाएका छन् । हुँदाहुँदा वास्तविक कुरै नबुझी, वास्तविक बहसमै नउत्री नारीवादी र नारीमुक्ति पक्षधर भन्ने शत्रुतापूर्ण रेखाजस्तो केही खिचिएको महसुस हुँदै छ ।यसले छलफल र निष्कर्षतर्फ जाने बाटो निर्देशित गर्दैन, बरु विषयका गहनताको उपेक्षा गर्दै आरोप–प्रत्यारोपको अप्रिय दलदलतर्फ लैजान सक्छ ।

कम्युनिस्ट शिविरका लेखक, बुद्धिजीवीले नारीवाद(हरू) भन्नासाथ त्यसलाई ध्वंसात्मक र अराजकतावादी मात्रै देख्नु र आफूनजिकका महिला लेखकलाई नारीवादी नबन्न चोरऔंला ठड्याउनु जति हास्यास्पद हो, गैरकम्युनिस्ट नारीवादी शिविरले कम्युनिस्ट आन्दोलनभित्र अन्तर्भूत भएकैले (गहिरो सैद्धान्तिक असहमति र तर्कले होइन) नारीमुक्तिको विचारधाराप्रति शत्रुतापूर्ण धारणा राख्नु, मार्क्सवादमाथि सतही खोइरो खन्नु त्यति नै केटाकेटीपन हो ।नारीवादी हुनु पुरुषविरोधी हुनु हो या नारीमुक्ति आन्दोलनविरोधी हुनु हो भन्ने भय पाल्ने महिला–पुरुष जोकसैले बुझे हुन्छ– नारीवाद समानतातर्फ पाइलो चाल्ने चेतनाको पहिलो संक्रमण हो । नारीवादी नभई मुक्तिको काल्पनिकी सम्भव नै छैन । तर यो काल्पनिकीलाई साकार रूप दिन राजनीतिक रूपले स्पष्टतासहितको नारीवादी बन्नुचाहिँ बढ्ता जरुरी छ । वास्तविक अर्थमा नारीवादीलाई ‘गैरराजनीतिक भद्रता’ को सुविधा नै हुँदैन । जसले यस्तो ‘सुविधा र शालीनता’ को तर्क गर्छन्, ती नारीवादका पेसेवर व्यापारी हुन् भनेर बुझे हुन्छ ।

अब यसरी हेरौं— नारीवाद र नारीमुक्ति वारिपारि छन् । हामीलाई पारि पुग्नु छ तर बीचमा छ भ्रम, अन्योल र राजनीतिक असाक्षरताले बनेको गहिरो गल्छी । पारि पुग्न चाहने हो भने हरेक नारीवादीले सबैभन्दा पहिले आफूलाई राजनीतिक रूपमा साक्षर बनाउनु जरुरी छ । तिनले व्यक्तिगत स्वतन्त्रताका लागि विद्रोहको भाषा सिक्नु जति जरुरी छ, अखण्डित सामूहिक स्वतन्त्रता र समानताका लागि सामाजिक ढाँचाको व्यापक समाजवादी पुनर्गठन कसरी गर्ने होला भनेर सोच्न त्यति नै जरुरी छ । पारि पुग्न चाहने हो भने आफ्नो एक्लो र खण्डित मुक्तिको होइन, समग्र उत्पीडित महिलाको सांस्कृतिक–जातीय–लिंगीय–वर्गीय स्थितिबाट एकीकृत मुक्तिको परियोजनामा समाहित हुनु जरुरी छ । सारमा, हरेक नारीवादीले सकेसम्म संगठित राजनीतिमा सहभागी भएर, नभए लेखेर, बोलेर वा अन्य तरिकाले हस्तक्षेप गर्नु जरुरी छ । अन्ततः नारीमुक्ति आन्दोलनको राजनीतिक लडाकु बन्न नसक्ने हो भने ‘नारीवादी’ मात्रै हुनु अधुरै हुनु हो, आधा हुनु हो ।

प्रकाशित : मंसिर ९, २०७७ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?