समानुपातिक समावेशिता ‘तारेभीरको रातागेडी’- विचार - कान्तिपुर समाचार

समानुपातिक समावेशिता ‘तारेभीरको रातागेडी’

रणेन्द्र बराली

यो मौसममा सत्ता सरकार पुनर्गठन, संवैधानिक आयोगहरूमा पदपूर्ति, राजदूत नियुक्ति लगायतले सलबलाएको छ । प्रायः ठूला दलहरूका बैठक, भेला र सम्मेलनले तथा महाधिवेशनको चर्चाले पनि रापताप बढाइरहेको छ । मन्त्रीलगायत संवैधानिक अंगहरूको रंगमञ्चमा प्रहसन गर्न धेरैलाई मंसिरको मुसालाई भन्दा चटारो भएको छ ।

आफ्नो निसाना चुक्ला भनेर कतिपय नेताले त सरकार र दलका अशोभनीय काम र अदूरदर्शी निर्णयमा पनि ताली बजाइरहेका छन् । जातीय छुवाछुतका कारण व्याप्त जघन्य हत्या, बाल यौनशोषण र बलात्कारपछिका हत्या, प्रशासनिक ज्यादतीविरुद्ध न्यायिक संघर्षमा उत्रन भने तिनले खुट्टा कमाइरहेका हुन्छन् । सरकार र पार्टी नेतृत्वको अपारदर्शिताले गर्दा सिर्जिएका कैयौं जटिल समस्याबारे प्रतिरोध गर्न त परै जाओस्, चुइँक्क बोल्दैनन् तिनीहरू । पादतलदेखि शिखातलसम्मका नेता धेरैजसो पदीय प्रतियोगिताको धावनमार्गमा प्रतिस्पर्धा गरिरहेका छन् । आ–आफ्ना कुम्लो बोकेर सबै ठिमीतिर दौडनुको मूल कारण हो– संविधानले किटान गरेको समानुपातिक समावेशिताको ग्यारेन्टी नहुनु, पदीय प्रतिनिधित्वका लागि वरीयताको मानक नबन्नु र राजनीतिक भ्रष्टाचारको उन्मूलन नहुनु ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू पहिलोपटक प्रधानमन्त्री भएकै बेला २०६५ मा व्यवस्थापिका–संसद्को चौथो अधिवेशनलाई सम्बोधन गर्दै भनेका थिए, ‘संवैधानिक आयोगले एकैचोटि छप्पर फाडेर काम गर्नेछ ।’ समानुपातिक समावेशिताको सवालमा अन्तरिम संविधानले छप्पर फाड्ने जमर्को नगरेको होइन । त्यसकै बलमा इतिहासले कल्पनै नगरेका विभिन्न जनसमुदायका मानिस सत्ताको सिंहासनमा किनाराका साक्षी बन्न नपुगेका पनि होइनन् । अब राज्य पुनःसंरचनाको नयाँ माहोलले पुरातन लक्ष्मणरेखा भत्काउने भयो भनेर जनतामा आशा जागिरहेका बखत नेपालको संविधान, २०७२ जारी हुँदा समावेशीका केही विषय पजनी भएर आए । अझै त्यसलाई कार्यान्वयन गर्न कानुन बनाउने घडीसम्म आइपुग्दा त फाडिएको छप्पर पुरानै ठाउँमा जमेर जब्बर हुन खोजेको आभास भएको छ ।

राष्ट्रिय दलित आयोग पाँच वर्ष भयो नेतृत्वविहीन भएको, दलित समुदायका हितका लागि अर्बौंको बजेट परिचालन गरेर शिक्षा र रोजगारीमा समेत टेवा पुर्‍याउने संस्था आफैं बेरोजगार भएर थन्केको छ । नेपाल सरकारबाटै परिचालित ‘उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति’ त अझ भीरको चिन्डो बनेको छ । उत्पीडित वर्ग, जाति, लिंग, क्षेत्रलाई थान्को लगाउन बनेका प्रायः आयोग आफैं थान्को लागेका छन् । राजनीतिक नियुक्तिबाट परिचालित हुने राज्यका विभिन्न अंग र थुप्रै आयोग– जसमा समानुपातिक सहभागिताका आधारमा पदपूर्ति गरिने संवैधानिक प्रावधान छ– खास दलित उत्पीडित समुदायका लागि ‘तारेभीरको रातागेडी’ भएका छन् ।

दलित, महिला, जनजाति, मधेसी, थारू, मुस्लिम आदि आयोगहरू, बादी विकास बोर्ड, दलित विकास समितिहरू, समावेशी आयोग, भूमिसम्बन्धी समस्या समाधान आयोग, प्राकृतिक स्रोत तथा वित्त आयोग, योजना आयोग, अख्त्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोग, निर्वाचन आयोग, लोक सेवा आयोग र सीटीईभीटी लगायत राजनीतिक नियुक्तिका लागि आवश्यक जति निकायहरू छन्, तिनमा दलित समुदायलाई समानुपातिक हैसियतले समावेश गर्न केले छेकेको छ ? के आवश्यक योग्यता पुगेका व्यक्ति उत्पीडित समुदायमा छैनन् ? जत्ति पनि छन् । राज्य संरचनाको हरेक क्षेत्र, निकाय र अंगमा विशेष अधिकारसमेतको समानुपातिक सहभागिता हुने सिद्धान्त र नाराका आधारमा मुक्ति वा मृत्युलाई रोजेर हजारौंले जनसंघर्षमा प्राणाहुति दिए । सामाजिक बहिष्करणको पीडाले इखिएका दलित बौद्धिकहरू अहिले पनि निरन्तर जातीय तथा सामाजिक मुक्ति आन्दोलनमा लागिपरिरहेका छन् । ती हजारौं योद्धाको राष्ट्र निर्माणमा भएको बलिदान त्यही दलित आयोगका पाँच थान सिटका लागि हो त, जुन पुलिन्दा देखाएर आज मुखमा बुजो लगाइरहने काम भएको छ ? जति विज्ञ–विशेषज्ञ भए पनि राज्यका सारा संरचनामा समाहित हुन उत्पीडित समुदायमा जन्मेकै नाताले झन् वञ्चित हुनुपर्ने ? कहाँ गयो दलितका लागि समानुपातिक सहभागिता र विशेष व्यवस्था ?

राजनीतिक दलतर्फको कुरा गर्दा भनिन्छ, ‘प्रजातन्त्रवादी, सर्वहारावादी पार्टी भनेकै शोषित, उत्पीडित जाति र वर्ग समुदायको अग्रदस्ता हो । पार्टी लिडर भनेका विशेष धातुले बनेका आम जनताका प्रतिनिधि हुन् । यहाँ सबै जात, लिंग, क्षेत्रकै व्यक्ति हाराहारीमा उभिनुपर्छ भन्नु आफ्नो पार्टी र सिद्धान्तमा विश्वास नगर्नु हो ।’

तर, ती सब भुलभुलैया साबित भए । अब यस्ता आदर्शका कुराले थुमथुमिने दिन गए । राजनीतिक दलका सबै तहमा कृपाले मात्र समेट्ने प्रावधानभन्दा माथि उठेर समानुपातिक सहभागिताको अधिकारलाई पार्टीको विधानमै स्थापित गर्नुपर्ने हुन्छ । निर्वाचन आयोगमा समानुपातिक समावेशितारहित दललाई दर्ता नगर्ने कानुनसम्मत विधि बन्नु जरुरी छ । हाम्रो देशमा एउटा राष्ट्रिय रोग छ– ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा दिन जान्ने तर समृद्ध नेपाल बनाउन दक्ष नेपालीलाई सम्मान गर्न र अवसर दिन नजान्ने, जसको सिकार कुलमान घिसिङजस्ता मान्छेसमेत हुनुपरेको छ । जतिसुकै प्रतिभाशाली, विज्ञ, विशेषज्ञ, सर्वदक्ष भए पनि व्यक्तिविशेष कुन पार्टीको हो, पार्टीभित्र पनि कुन लबीको हो, त्यसमा पनि आदेशपालक हो कि विधि र नियमको जस्ता यक्षप्रश्नमा ऊ उत्तीर्ण हुनुपर्ने हुन्छ । प्रथमतः पार्टी नेतृत्वले यो रोगको सैद्धान्तिक उपचार गर्नु नितान्त आवश्यक छ ।

आज मुलुकलाई यहाँसम्म ल्याइपुर्‍याउन प्रमुख पार्टी र नेतृत्वको भूमिकालाई कम आँक्न मिल्दैन । पार्टीकै नेतृत्वमा भएको संघर्षमा जनताले दिएको असाध्य ठूलो बलिदानको उपज नेपालको संविधान, २०७२ मा थुप्रै टेक्ने–समात्ने ठाउँहरू पनि छन् । त्यसैको एउटा कडी हो– समानुपातिक सहभागिताको सिद्धान्त । तथापि यसमा ‘जसको बिहा उसैलाई नजिक नल्या’ भनेजस्तै भएको छ । सम्बधित समुदायले यसलाई सधैं ‘हेर्दा ऐना छाम्दा छैन’ का रूपमा अनुभूति गरेर बस्नुपर्ने ? यस्तो कुरा द्वन्द्ववादको नियमभित्र पर्दैन । यस्तै स्थितिले कुनै पनि गतिशील क्याडरलाई बाध्यतावश वैकल्पिक संघर्षको बाटो खोज्ने ठाउँमा पुर्‍याउँछ । यो इतिहाससिद्ध तथ्य हो । शोषित, उत्पीडित वर्गलाई मुक्तिको नाउँमा नित्य प्यादा बनाउने परम्परागत परिपाटीले न राष्ट्रको हित हुन्छ न त कुनै पनि दलकै ।

प्रकाशित : मंसिर ९, २०७७ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्

जातीय विभेदको ‘मैदारो’

दलित समुदायको वेदना बोकेको, मर्मस्पर्शी विषय समेटिएको, रसिक ढाँचामा लेखिएको साहित्य हो, भूपिनको उपन्यास ‘मैदारो’ ।
रणेन्द्र बराली

आख्यान होस्, काव्य विधा वा चलचित्रका कथावस्तुमै किन नहोस्, दलितका मुद्दामा कलम चलाउने सर्जकहरूको सघनता अहिले बढेको छ । यिनमा कतिपय सिर्जना गोहीको आँसु झार्ने वा आत्मरति पूरा गर्नेमा सीमित छन् ।

कतिपयले साँच्चै नै दलित समाजको अन्तर्यबोधसहित जर्जरान्ध समाज परिवर्तनमा टेवा पुग्नेसम्मका जिम्मेवारी निर्वाह गरेका छन् । यस्तै दलित समुदायको वेदना बोकेको, मर्मस्पर्शी विषय समेटिएको, रसिक ढाँचामा लेखिएको साहित्य हो, भूपिनको उपन्यास ‘मैदारो’ ।

परिचय

कुनै पनि कामको समाप्तिलाई मैझारो भनिन्छ । पश्चिम नेपालतिर बोलिने यही शब्दको अपभ्रंश ‘मैदारो’ लाई उपन्यासको नाम दिनु यो पुस्तकको नौलो चिनारी हो । एउटा विख्यात चित्रकारले बनाएको उल्टो चित्रको अर्थ खोलिएको कथा वस्तु हो– ‘मैदारो’ । दुर्गमको अँधेरी गाउँमा जन्मेको दीनदु:खी दलितको छोरोले राजधानी पुगी फाइन आर्टमा स्नातक गरेर कमाएको प्रसिद्धिको विशेषता थियो, उल्टो चित्रको अभिव्यञ्जना । हाम्रा देवीदेवता, राजा, समाजका ठूलाबडालाई उल्टो चित्रमा झुन्ड्याएर धर्म र राज्यव्यवस्थालाई नै उल्टो साबित गर्न चेष्टा गर्ने, देशद्रोही भनेर पक्राउ पर्ने, यातना, मुद्दा र ज्यान मार्ने धम्कीसम्म खेप्न बाध्य भएको ‘नदिन’ नामक सार्की युवक यो उपन्यासको मूल मात्र हो । नदिनकै गाउँका छिमेकी बिष्ट काहिँला क्षेत्रीकी छोरी, अखिल विद्यार्थीको संगतले विज्ञान र परिवर्तनमा विश्वास गर्ने कला नामकी युवती अर्की मूलपात्र हुन् । जसले कठोर संघर्ष गरेर बालसखा नदिनसँग अन्तरजातीय विवाह गरिन् ।

त्यसै कारण सामाजिक तिरस्कार र स्वयम् आफ्ना मातापितासमेतबाट बहिष्करणमा परेपछि रूढिग्रस्त समाज चिर्न र परिवर्तन गर्न उनले जनयुद्ध रोजिन् । क्रान्तिलाई एकमात्र विकल्प ठहर गरेर तीनमहिने छोरी श्रीमान्को जिम्मा लगाएर जनमुक्ति सेनामा सामेल हुन्छिन् कला । उनले बेनीको भीषण आक्रमणमा सहादत प्राप्त गरेको खबरले नदिनको जिन्दगी चकनाचुर हुन्छ । शोकले अर्धचेत हुँदै गाउँ फर्केका नदिनलाई कलाका बाबाले ‘हाम्री छोरीलाई युद्धमा होमेर मार्ने हत्यारा, तँ कुजात किन टेक्छस् हाम्रो आँगन ?’ भन्दै रगताम्मे हुने गरी कुटपिट गर्छन् । पीडाले भाउन्न भएका नदिनले आत्महत्या गर्ने निधो गर्छन् । अनि लेख्छन् सुसाइट नोट– ‘ए जिन्दगी मलाई माफ गर ! मैले आत्महत्याको बाटो रोजेँ ।’ त्यसलाई पाटेभीरको टाकुरामा ढुंगाले च्यापेर छंगाछुर काली गण्डकीको भुमरी ताक्दै हावामा बाँकटे हान्छन् नदिन ।

घरगाउँका सबै मिलेर हप्तौँ खोज्दा पनि घडी र चप्पलबाहेक केही निसाना नपाएपछि नदिनलाई नदीले बगाएको ठहर्‍याएर परिवारले क्रियाकर्म गरिसकेको हुन्छ । तर नदिन भने हाम फाल्दा रूखमा अल्झिएर हाँगैसित लछारिँदै पाटेभीरेको बीच ओढारमा अड्किएका हुन्छन् । कैयौँ दिनपछि होस खुल्दा आफूलाई ओढारनजिक हाँगाले च्यापिएको अवस्थामा पाउँछन् । त्यहाँबाट निस्कन त के, चाहेर पनि फेरि हाम फाल्नसम्म नसक्ने गरी घाइते भएका उनले स्मरण गरेका जीवन–जगत्का आरोह–अवरोह नै उपन्यासको कथावस्तु हो ।

अनकन्टार गुफामा मिल्किएको नदिनको तन्द्रामा गाउँको भँडुवा बाजेले जमानामा सुनाएको एउटा घटना आएर नाच्दछ । त्यही गाउँका बाहुन युवा हरिनारायण र गाइने (गन्दर्भ) युवती कान्छी प्रेमको पोखरीबाट निस्कन नसकेपछि डाँडै काटेर भागेका थिए । पछि लागेका आफन्तले भेटेपछि ‘तिमीहरूको विवाह गरिदिन्छौं’ भन्दै घर फर्काए । विवाह पनि गरिदिए रे । तर जबरजस्ती अर्काअर्कैसँग । यो पीडाले पाकेर उनीहरू एउटै डोरीले बाँधिई त्यही पाटेभीरबाट हाम फालेका थिए ।

झल्याँस्स तन्द्रा खुल्दा नदिनका अगाडि त्यही प्रेमिल जोडी आकारको ढुंगा एकअर्कालाई अँगालो मारेर बसेजस्तो देखिन्छ । त्यो ढुंगालाई पूर्णाकारको चित्र बनाउने अठोट गर्छन् उनले । सकीनसकी घिस्रँदै चराका अण्डा, झारपात र अँगार मिलाएर रंग बनाउँछन् । रूखका मसिना हाँगाको टुप्पो थिचेर ब्रसको रूप दिन्छन् । त्यसैबाट ढुंगाको क्यानभासमा उतारेको आकृति नै उनको चित्रकारिताको ‘मैदारो थियो । यसरी बुनिएको कथामा जातीय, वर्गीय, लिंगीय विभेदले समाजमा निम्त्याएको दर्दनाक परिघटनाको वर्णन नै ३५२ पृष्ठको उपन्यास ‘मैदारो’ हो ।

उद्देश्य

यस कृतिले नेपाली समाजमा विद्यमान छुवाछूतसम्मको जातीय विभेदलाई अविलम्ब हाम्रै पालामा हामीले नै ‘मैदारो’ गर्नुपर्छ भन्ने उद्देश्य बोकेको छ । स्वाभिमानको सपना बोकेर जनयुद्धमा लागेका र जातीय विभेदको पीडा असह्य भएर आत्महत्या गर्ने हजारौँ दलितको प्रतिनिधित्व गरेका छन्, यस उपन्यासका पात्रले । छुवाछुत मुक्तिका लागि सचेतना जगाउन राजनीतिक, सांगठनिक र सामाजिक अभियानका शृंखला रसपूर्वक जोडिएका छन् ।

खासगरी यसमा समेटिएको बागलुङको अँधेरी खोला र अँधेरी गाउँले सिंगो मुलुकको प्रतिनिधित्व गरेको छ । गरिब दलितको छोराले पढ्दाका बखत भोग्नुपर्ने जातीय असमता र आर्थिक विषमता, स्कुल पास गरेपछि पनि उच्च शिक्षा आर्जन गर्ने गक्ष नहुँदा मुगलान भासिनुपर्ने यथार्थ, कसैका जीवनमा एकादुई दातृ–संस्थाको सदाशयले अघि बढ्न पाएका अवसरलाई मर्मस्पर्शी ढंगले चित्रण गरिएको छ ।

बाहुनी केटीसँग प्रेमविवाह गरेको नदिनले जातकै कारण डेरा नपाउने, अझ दलितबाटै छुवाछुत भोगेर गरेर डेरानिकाला गरिनेजस्ता जीवन्त समस्या सान्दर्भिक तबरले उजागर गरिएको छ । नदिनको पहिलो चित्र किन्ने यादा पराजुली, वाममन्थी विचारको बीजारोपण गर्ने परी थापा दिदी, पढाइमा अब्बल देखेर उच्चशिक्षा (फाइन आर्ट) पढ्न अवसर दिलाइदिने रमन दाइ, पहिलो काम दिने रोहिणी थापा, पोखराका आर्टिस्ट आकाश गुरुङ, आर्ट ग्यालरीमा स्व. नदिनको एकल चित्र प्रदर्शनीमा उल्टो चित्र झुन्ड्याइएको देखिएपछि जिज्ञासापूर्वक पूरै कथावस्तुको रहस्य उद्घाटन गर्ने अभियन्ता हुन् स्मरण गुरुङ ।

त्यस्तै दलित संघर्षका इतिहासबोध गराउने मनवीरे सार्कीजस्ता पात्रहरूलाई मथेर उद्देश्य प्राप्तिका आधार स्तम्भ निकालिएको छ । वर्तमान सामाजिक राजनीतिलाई सूक्ष्म किसिमले पीडित जनताका आला घाउप्रति ध्यानाकर्षण गराउने र मुक्तिमार्गमा बत्ती बाल्ने उद्देश्य बोकेर कलात्मक शैलीमा पस्किइएको यो रचनाले केही अलग पहिचानसमेत बोकेर आएको छ ।

विशेषता

उल्टो चित्रले बोलेको कथानक परिदृश्य नै यस उपन्यासको अलग पहिचान र विशेषता बनेको छ । एक दिन एकान्तमा क्यानभास कोरिरहेका नदिनको नजिक आएर प्रेमिका कलाले भन्छिन्, ‘आज पनि उल्टै चित्र ?’ नदिनले सहज उत्तर दिन्छन्– ‘आफूले देखेको जे छ त्यसलाई जस्ताको तस्तै उतार्नु, त्यो नै सुल्टो हो ।’ उल्टो प्रचलनलाई सुल्टो देख्नेहरू जति छन् ती सबै उल्टा हुन् भन्ने भाव उनको हुन्छ । ‘मानिस बचाउन बनेका धर्म मान्छे मार्ने उद्यममा छन्, ती उल्टा । मानिसलाई जोड्न बनेका संस्कृतिले मानिस विभक्त गरिरहेछन्, ती उल्टा । कानुन दुरुस्त छन्, कार्यान्वयन उल्टा । मुक्तिका मार्ग दुरुस्त छन्, परिणाम उल्टा । गाउँमा सबैभन्दा श्रम गर्ने, बढी अन्न उब्जाउने, ऊ सधैं भोको, यो चलन उल्टो । जसले मन्दिर र मूर्ति बनाउँछन्, उनैले छुन पाउँदैनन्, यो चलन उल्टो । पशु घरभित्र, मान्छे बाहिर, यो चलन उल्टो । अरू त अरू, सबैभन्दा पवित्र प्रेम गर्ने मानिस सबैभन्दा अपमानित छन्, यो चलन उल्टो । लाग्छ, सभ्यता नामको रूखका हाँगाहरू चमेराझैं उल्टो झुन्डिरहेछन् ।’ (पृ.२०७) यसरी समाजको विकृति–विसंगतिलाई उल्टो चित्र बनाएर विद्रोह गर्नु फरक विशेषताको उपज हो ।

यो कृतिले जोड गरेको अर्को विषय हो– चित्रकलाको मध्यमबाट मानव इतिहास निर्माण हुन्छ । सामाजिक क्रान्ति हुन्छ । यतिसम्म कि चित्रकलाको संवेदनशीलताले मान्छेलाई आत्महत्यासम्म गराउँछ र स्वयम् कलाकारसमेतले आत्महत्या रोज्छन् । यसको उदाहरण ‘ह्विट फिल्ड विथ क्रोज’ शीर्षकको चित्र बनाएको दुई हप्तामा विश्वविख्यात कलाकार म्यान गगले आत्महत्या गरे । यस्तै अर्का महान् कलाकार गडवार्डले ‘न्युड अन द बिच’ रचना गरेको एक महिनापछि १९२२ मा आत्महत्या गरेका थिए । (पृ.३१९) उपन्यासको मूल पात्रका बारेमा पनि यही कुरा लागू हुन्छ ।

लेखकले यो उपन्यासमा प्रयोग गरेका आञ्चलिक भाषा अहिलेसम्म प्रयोग गरिएका जनजिब्रोको प्रस्तुतिमध्ये अघिल्लो पंक्तिमा पर्छ भन्दा अत्युक्ति नहोला । पश्चिमी गाउँघरमा बोलिने आञ्चलिक भाषाको मिठासले पाठकलाई सम्मोहित गराइदिन्छ ।

खड्केका केही कुरा

मानवीयताको अमुक विषयलाई नयाँ शैलीमा शिल्पकलाको मसला पुर्‍याएर पकाइएको चौरासी व्यञ्जनयुक्त यो उपन्यासको केही परिकारमा नुनचुक नमिलेको आभास हुन्छ । कला भन्छिन् ‘समाजमा जरो गाडेको बर्बर संस्कार र संस्कृति उखेलेर फाल्न सानो युद्धले सम्भव छैन ।’

नदिन भन्छन्, ‘ध्वंस–हिंसालाई प्रेम गर्न सकिन्न, यी घृणाका लायक छन् । यसरी भकाभक निर्दोष मान्छे मारेर गरिने कुनै पनि युद्धलाई क्रान्ति मान्दिनँ म ।’(पृ.२५५)

यो भनाइ विरोधी वर्गको पात्रले भनेको भए सुहाउँथ्यो । सामाजिक परिवर्तनको पक्षधर नदिनले यसो भनिरहँदा के जनयुद्धको उद्देश्य भकाभक निर्दोष मान्छे मार्ने नै थियो होला त ? अथवा कुनचाहिँ युद्ध हुन्छ हिंसारहित भन्ने प्रश्न उठ्ने ठाउँ रहेको पाइन्छ ।

बागलुङको ऐतिहासिक दलित आन्दोलनको प्रसंगमा विश्व सर्वजन संघ खोलिएको २००३ हुनुपर्नेमा २००४ भएको छ । स्थान भालुमारे चौतारो हो, ओमप्रकाश चौतारो भएको छ । (पृ.१५०) नाम र ठाउँ कि पूरै काल्पनिक कि पूरै यथार्थ हुँदा जाती होला ।

यो समाजको सारतत्त्व बोकेको आख्यान भएकाले विश्वसनीयताको आवश्यकता हुन्छ । नदिन घाइते अवस्थामा ओडारमा वर्षौं बसेको देखाइएको छ । उसले घाइते ज्यान कसरी उपचार गर्‍यो ? के खाएर बाँच्यो । खासै खुलाइएको छैन । काठ, ढुंगाबाट आगोको उद्भव, तप्केनी सँगालेर भए पनि पानीको जोहो, गुफामा पाइने चरा–चमेरोको सिकार, कन्दमूल आदिको आहारविहार गरेर बाँचेको बनाएको भए पनि मिल्थ्यो कि ? एक–दुई हप्तामै कथान्त गरेको भए पनि सुहाउँथ्यो होला कि । गुफाबाट निस्केर घर पुग्दा आफ्नै आमाले नचिन्ने गरी दाह्रीकपालले ढाकेको अस्थिपञ्जर मात्र हुन्छ । एक–दुई हप्ताको परिवेशमा त्यस्तो कहाँ हुन्छ र ?

यस्तै अपत्यारिलो छ नदिनकी आमाले अँध्यारैमा पानी भर्न गएका बेला देखेका भूत र मसानको प्रसंग । ती कुरा वास्तविक जीवनमा नभई छिटो पानी भर्न जाने सोचमा निदाएका बेला देखेको सपना वा कसैले सुनाएको कथाको सन्दर्भमा भए राम्रो हुन्थ्यो । यस्तो तर्साउने कुरा गाउँघरमा धेरै सुनाइन्छ तथापि वास्तविकता त होइन नि ।

गाडीमा एक–दुई पार्टपुर्जा अल्टर परेजस्ता केही कुरा खड्कनुबाहेक प्रस्थानविन्दुबाट गन्तव्यसम्म अविरल गतिमा हुनहुनाएर यात्रा तय गरेको छ, यो ‘मैदारो’ नामक वाहनले ।

समकालीन साहित्यका उदीयमान् स्रष्टा भूपिनजीले प्राध्यापन, साहित्य र सञ्चारको क्षेत्रमा कार्यरत रहनुका साथै विभिन्न सिर्जना प्रकाशित गर्दै आउनुभएको छ । कविता र निबन्ध फाँटमा स्थापित भइसक्नुभएको छ । यो कृतिले औपन्यासिक जगत्मा पनि भूपिनको कद उचालिने नै छ ।

रसिला र भरिला सिर्जनाले जन–साहित्यको भकारी भर्न मैदारो (मैझारो) नगरी लागिरहनुहुनेछ भन्ने विश्वासका साथ आगामी दिनमा यसरी नै नयाँ, नौला आयाम बोकेर साहित्याकाशमा चम्किरहनुहोस् । शुभकामना छ ।

प्रकाशित : श्रावण ३१, २०७७ १४:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×