१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

युरियाको ‘कमाल’ !

युरियाजस्ता कृत्रिम मल र झार तथा हानिकारक सूक्ष्मजीव र कीरा मार्न भन्दै कृत्रिम तरिकाले बनाइएका रसायन नै समग्र प्रकृति र मानिसका लागि सबैभन्दा विषालु छन् ।
कृष्णप्रसाद पौडेल

यस वर्ष पनि रासायनिक मल, खास गरी युरिया मलको अभावले किसानहरू अतालिए । कोभिड–१९ को कारण देखाउँदै मल ल्याउने ठेकेदारहरू पन्छिए भने, यसको व्यवस्थापन गर्ने जिम्मा लिएको निकाय पनि तिनैलाई कारबाहीको सिफारिस गरेर उम्कियो ।

युरियाको ‘कमाल’ !

तर धान पसाउने बेलासम्म पनि मल आउने छाँट नदेखिएपछि मन्त्री र प्रधानमन्त्रीसमेत अतालिए । सरकारले हतारहतार बंगलादेशबाट युरिया सापटी ल्याउने निर्णय र प्रचार त गर्‍यो, तर ल्याउन सकेन । अहिले फेरि किनेरै ल्याउने भनेको छ । युरिया गहुँ लगाउने बेलासम्म आउँछ कि आउँदैन, अझै निश्चित छैन ।

यसैबीच कृषि मन्त्रालयले मलको दीर्घकालीन समाधान खोज्न भन्दै युरिया मल कारखाना खोल्ने सम्भाव्यता अध्ययन गर्न मन्त्रालयका सचिवको नेतृत्वमा एउटा समिति बनायो, जसले चारबुँदे निष्कर्षसहित एउटा प्रतिवेदन बुझायो । त्यसमा यसअघि लगानी बोर्डले खर्चिलो र परनिर्भर बनाउने भनेका (क) बायोमास ग्यासिफिकेसन र जलविद्युत्को हाइब्रिड प्रविधि, अनि (ख) इलेक्ट्रोलाइसिस विधि वा इलेक्ट्रोलाइसिस र हार्बर बोचमा आधारित सास प्रविधिको अवलम्बन गर्न सकिने सिफारिस गरिएको छ । यी दुई विकल्पमध्ये कुन रोज्ने भन्न थप अध्ययन गर्नुपर्ने सुझावसमेत दिइएको छ । यो सिफारिससमेत ख्याल नगरी फेरि तीन मन्त्रीलाई मल कारखाना खोल्न आवश्यक तयारी गर्ने जिम्मा दिइएको छ । यी सबै पक्षले युरिया मल, यसको कारखाना र यस्तो कृत्रिम मलले माटो, प्रकृति र मानव स्वास्थ्यमा पार्ने असरवरिपरि बहसहरू बाक्लिएका छन् ।

के हो युरिया मल ?

युरिया मानिसको पिसाब र अन्य जनावरमा प्राकृतिक रूपमै पाइन्छ । यस्तो जैविक युरिया (नाइट्रोजन लगायत अन्य तत्त्व रहेको पिसाबमा पाइने यौगिक) आजभन्दा १९२ वर्षपहिले सन् १८२८ मा जर्मन रसायनशास्त्री फ्रडेरिख ओलरले कृत्रिम तरिकाले प्रयोगशालामा बनाए । यो नै केवल रसायनको प्रयोगबाट कृत्रिम तरिकाले जैविक यौगिक बनाउने पहिलो खोजसमेत थियो । यही खोजका आधारमा बोटबिरुवालाई चाहिने मुख्य खाद्यतत्त्व नाइट्रोजन, फोस्फोरस, पोटास र अन्य सूक्ष्म तत्त्वहरूको सहज आपूर्ति गर्न कृत्रिम मल बनाउने तरिका विकसित भएको हो । यस्तो मलको औद्योगिक उत्पादनको विस्तार भने उन्नाइसौं शताब्दीबाट मात्र भयो । अहिले यस्ता कृत्रिम युरिया (चिनी मल) र अमोनियम नाइट्रेट (दाना मल) का यौगिकसँगै बिरुवालाई नभइनहुने फोस्फोरस, पोटास र अन्य सूक्ष्म तत्त्व मिलाएर विभिन्न नामका कृत्रिम रासायनिक मल बनाइन्छन् ।

कृत्रिम युरियाको खेतीपातीमा प्रवेश

सम्पूर्ण जीवको जैविक वृद्धिका लागि नाइट्रोजनलगायत अन्य प्राकृतिक तत्त्वहरू नभई हुँदैनन् । यी तत्त्वहरू हावा, पानी र प्रकृतिमा विभिन्न अवस्थामा हुन्छन् । जीवन ऊर्जाको सबैभन्दा मुख्य तत्त्व नाइट्रोजन हो, जसको उपयोगले सूर्य ऊर्जाको सहायताबाट बोटबिरुवाले आफ्नो वृद्धिका लागि चाहिने खाना आफैं बनाउँछन् र सम्पूर्ण सृष्टि थामिन्छ । हावामा दुईतिहाइभन्दा बढी पाइने यो नाइट्रोजन बोटबिरुवाले विभिन्न प्राकृतिक तथा जैविक माध्यमबाट प्राप्त गर्छन् । माटोमा यसको जगेर्ना गर्न र बोटबिरुवालाई उपलब्ध गराउन ब्याक्टेरिया लगायतका अन्य सूक्ष्म जीव सक्रिय हुन्छन् भने यी जीवलाई आश्रय दिएर भटमास, क्लोभर, अल्फा अल्फाजस्ता कोसेबाली र हरियो एल्गीले माटोको माथिल्लो सतहमा राख्न सघाउँछन् ।

तर मानिसको खानेकुराको जोहो गर्ने खेतीपाती सघन र एकल हुँदै जाँदा माटोमा यस्तो नाइट्रोजनको मात्रा घट्दै जान्छ र बोटबिरुवाको वृद्धिमा ह्रास आउँछ । यो समस्या हटाउँदै खेतीपातीबाट धेरै उत्पादन लिन यसको आपूर्ति माटोमा सहजै गर्न कारखानामा बनेको कृत्रिम युरियाको प्रयोग गर्न सुरु भएको हो ।

अब चर्चा गरौं, युरिया वा कृत्रिम रासायनिक मलले के गर्छ । पहिलो, यसले माटोमा हुने जैविक प्रक्रिया तहसनहस पार्छ । कृत्रिम मल हालेको माटोमा नाइट्राइट नाइट्रेट, नाइट्रिक एसिड, अमोनियम फस्फेट, पोटासियम सल्फेट, अमोनियम नाइट्रेट र नाइट्रेट क्लोराइडजस्ता यौगिकको मात्रा बढी हुन्छ । योसँगै, अधिकांश कृत्रिम युरिया बनाउन प्रयोग हुने पेट्रोलियम हाइड्रोकार्बनको मिश्रणमा घोलिएर लेड, मर्करी, आर्सेनिक, क्याडियम, बेरियम, क्रोमियम, निकेल, बेरिलियम, डाइअक्सिनजस्ता हानिकारक तत्त्वहरू आउने पाइएको छ । चट्टानको फोस्फोरसबाट क्याडियमजस्तो विषाक्त खनिज र पोटासियममा भएको क्लोराइडले नाइट्रेटसँगको प्रतिक्रियामा क्लोराइडजस्तो विषालु ग्यास बनाउँछ । यी सबैले माटोमा रहेका सूक्ष्म र अन्य जीव मार्छन्, माटोलाई मुर्दा बनाउँछन् ।

दोस्रो, यी कृत्रिम मलका यौगिकहरू हावामा उडेर र खेतबारीबाट चुहिएर वातावरण अनि खोलानाला र जमिनमुनिको पानीमा पुग्छन् । पानीमा आधारित जैविक प्रक्रिया ध्वस्त हुन्छ । पानीको स्रोत हुँदै यी मानिस तथा अन्य जीवका शरीरमा समेत पुग्छन् । यी कृत्रिम मलले गर्दा माटोमा अम्लीय तत्त्व, हरित ग्यास बढेसँगै जलवायु परिवर्तनको असर बढेको छ ।

तेस्रो, यी कृत्रिम मलले सबै प्राणीको शारीरिक प्रक्रिया बिगार्छन र नसर्ने दीर्घरोग निम्त्याउँछन् । युरिया र अन्य कृत्रिम मल हालेर उब्जेका खानेकुरामा माथि उल्लिखित यौगिकको मात्रा बढी हुन्छ भने आइरन, जिंक, क्यारोटिन, भिटामिन सी, कपर र प्रोटिनको कमी । । माटो, हावा र पानीको बाटो हुँदै हाम्रा शरीरमा भित्रिने यी विषका कारण हाम्रो शारीरिक–मानसिक जटिलता विकराल बन्दै गएको छ । अहिले संसारभरि मोटोपना, ख्याउटे, पुड्के, अपांगता, सुस्त मनस्थिति, चिनी रोग, मस्तिष्काघात, मुटुरोग, मिर्गौलाको समस्या, थाइरायड, रक्तचाप र क्यान्सर महामारीका रूपमा फैलिएका छन् ।

अहिले विश्व नै यस्ता कृत्रिम रसायनको सिकार भएको छ । यसो हुनुमा मुख्यतः विभिन्न लोभलालचमा स्वास्थ्य क्षेत्रका विज्ञले जैविक मल र कृत्रिम रसायन जेसुकै भए पनि बिरुवाले लिने तत्त्व एउटै रासायनिक प्रक्रियाबाट आउने हो भन्नु नै कारक रहेको छ । रसायनको विघटन क्रिया, प्रतिक्रिया एवं माटो, प्रकृति र मानिसको शरीरमा हुने रसायनको मात्राको तहमा हेर्दा यो कुरा ठीकै देखिन्छ, तर ठूलो मात्रामा यस्ता यौगिक र विषाक्त तत्त्वहरू माटो, प्रकृति र खाना हुँदै शरीरमा पुग्छन् र शरीरले सम्हाल्न सक्दैन ।

अझ यस्ता विषाक्त रसायनबाट थपिएका विकृति र जटिलता हटाउने भन्दै औषधिका नाममा (भिटामिन, हर्मोन, खनिज) का रसायनको मात्रा थपिन्छ । यो नै अहिलेको जनस्वास्थ्यको मूल समस्या हो । यो यथार्थ आधुनिक स्वास्थ्य विज्ञानका शोधकर्ता र अध्येताले बिस्तारै उजागर गर्दै छन् र यसलाई सच्याउने प्रयाससमेत भैरहेका छन् । हाम्रो धेरैजसो बौद्धिक जमात, राजनीतिक र प्रशासनिक नेतृत्व कृत्रिम रसायनको यस्तो असरबारे बेखबर छ भने, जानकारी हुनेमध्ये धेरैले बिचौलियाको दबाबमा बुझ पचाएका छन् । त्यसमाथि विज्ञताको अहंकारले विवेक र बौद्धिकता दुवै गुमाउन पुगेका खेतीपातीका बिचौलिया परामर्शदाताले अल्पज्ञानी नेतृत्वलाई झन् कुहिरोको काग बनाइरहेका छन् । त्यसैले त यिनीहरू यस्ता रसायन र विषादीका आधारमा गरिने व्यापारिक खेतीपातीको पक्षपोषण गर्दै आम मानिसलाई विषाक्त खानेकुरा खान बाध्य बनाइरहन उद्यत छन् ।

यस्तै, कृत्रिम विषादीहरूको उत्तिकै बिगबिगी छ । मलेरिया उन्मूलन गर्ने भन्दै छरिएको डीडीटी, झार मार्न प्रयोग हुने ग्लाइकोफस्फेट, अर्ग्यानो फस्फेट, कीरा मार्ने इन्डोसल्फान जस्ता रसायन क्यान्सर र अन्य शारीरिक–मानसिक जटिलताका कारक रहेको भनेर आधिकारिक रूपमा प्रतिबन्धितसमेत भैसकेका छन् । तर नयाँ ब्रान्डसँगै यिनको औद्योगिक उत्पादन भने रोकिएको छैन । योसँगै नसड्ने प्लास्टिक, हर्मोन र भिटामिनको बिगबिगी पनि छ । यसरी हेर्दा, बोटबिरुवा हुर्कन, फल लाग्न र पोषिलो बनाउन भन्दै नाइट्रोजन, फोस्फोरस, पोटास र अन्य सूक्ष्म तत्त्व माटोमा थप्न बनाइएका युरियाजस्ता कृत्रिम मल एवं झार तथा हानिकारक सूक्ष्म जीव र कीरा मार्न भन्दै कृत्रिम तरिकाले बनाइएका रसायन नै समग्र प्रकृति र मानिसका लागि सबैभन्दा विषालु छन् । मुख्यतः यिनैका भरमा उत्पादन गरिने खानेकुरा नै मुख्य समस्या हुन् । तर यसको लेखाजोखा र विश्लेषण नगरी हचुवाकै भरमा मल कारखाना खोल्ने प्रस्ताव आफैंमा खेदपूर्ण छ ।

प्रकाशित : मंसिर ९, २०७७ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?