२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सोसल मिडिया स्क्रोलिङको लत

‘संसारमा दुइटा मात्र उद्योग छन्, जसले आफ्ना ग्राहकलाई ‘प्रयोगकर्ता’ नाम दिएका छन् । पहिलो, अवैध लागूऔषध र दोस्रो सफ्टवेयर ।’ र, यदि तपाईंले कुनै पनि उत्पादन प्रयोग गर्दा पैसा तिर्नुहुन्न भने सम्झनुहोस्, तपाईं नै ‘उत्पादन’ हो ।
लीना दुवाडी

तपाईं दैनिक कति समय मोबाइल ‘स्क्रोल’ गर्नुहुन्छ ? बिहान उठ्नेबित्तिकै, चिया पिउँदै, खाना खाने बेला, दिउँसो यत्तिकै बस्दा, खाजा खाँदा, बेलुका खाना खाँदा, टीभी हेर्दै गर्दा, राति सुत्नुअगाडि ?

सोसल मिडिया स्क्रोलिङको लत

डेढ वर्षअगाडि मलाई टिकटकको लत लागेको थियो । बिहान आँखा खुलेपछि फोन हातमा लिनासाथ दाहिने हातको बूढीऔंला टिकटकमा पुगिहाल्थ्यो । एकपछि अर्को भिडियो स्क्रोल गर्दै जाँदा एक घण्टा कति बेला बित्थ्यो, पत्तै हुन्थेन । कुनै काम बित्न लागेको चाल पाउँदा मात्रै म टिकटक छाड्थें । त्यहाँ भएका हजारौं भिडियोमा खै के रस थियो ? राम्रा लागे पनि नलागे पनि म हेरिरहन्थें । काममा व्यस्त भएका बेला पनि मलाई टिकटककै तलतल लागिरहेको हुन्थ्यो । तिनमा ज्ञानबर्द्धक र आफूलाई काम लाग्ने कन्टेन्ट भए पनि प्रायः म नाचगान नै स्क्रोल गरिरहेकी हुन्थें । तीन–चार महिना टिकटकका अर्थहीन भिडियोहरूमा समय खेर फालेपछि मैले टिकटक एप्लिकेसन फोनबाट हटाएँ र कहिल्यै फेरि ‘इन्स्टल’ गर्दिनँ भनेर आफैंसँग वाचा गरें ।

टिकटकको लत छुटेको केही समयपछि मैले इन्स्टाग्राममा आवश्यकताभन्दा बढी समय बिताउन थालें । दिनहुँ चार–पाँच घण्टा म इन्स्टाग्राम नै स्क्रोल गरिरहेकी हुन्थें । आफूलाई मन पर्ने कुराका लागि त जति समय पनि निस्कने रहेछ । धेरै फोन स्क्रोल गरिरहँदा मेरो दाहिने बूढीऔंला एकदमै दुखिरहन्थ्यो । सोसल मिडियामा आफूले समय बरबाद गरेको चाल पाउँदापाउँदै पनि मैले आफ्नो बानी परिवर्तन गर्न सकेकी थिइनँ । आफ्नो मानसिक र शारीरिक स्वास्थ्य तथा काममै असर पुगेको महसुस हुन थालेपछि मैले त्यो बानी छाडें । लागेको बानी छुटाउन केही समय लाग्यो तर मैले इन्स्टाग्राममा व्यतीत गर्ने समय नब्बे प्रतिशतले घटाएँ ।

यो मेरो मात्र कथा होइन, लाखौं इन्टरनेट प्रयोगकर्ताको अनुभव हो । सायद तपाईंको पनि कथा हो । यो लेख नै पनि तपाईंले फोनमै पढिरहनुभएको हुन सक्छ । एउटा भिडियो हेर्छु भनेर युट्युबमा पसेपछि हामी कम्तीमा दस वटा भिडियो हेरेर मात्र निस्कन्छौं । झुक्किएर फेसबुकको नीलो बटनभित्र छिरेपछि कम से कम आधा घण्टा स्क्रोलिङको दुनियाँमा हराउँछौं । हामी इन्स्टाग्राममा कुनै सेलिब्रेटीको प्रोफाइल खोलेपछि उनीहरूले कहाँ, कसरी, के लुगा लगाएर फोटो खिचाएका छन्, एक घण्टा लगाएर त्यसको पोस्टमार्टम नगरी छाड्दैनौं । यसमा गल्ती तपाईं–हाम्रो मात्र छैन । र, सोसल मिडियाको लत कुनै संयोग होइन । तपाईंले यो लेख पढ्दै गर्दा ‘इन्टरनेट जायन्ट’ भनेर चिनिने गुगल, फेसबुक, युट्युबजस्ता ठूला कम्पनीका हजारौं सफ्टवेयर इन्जिनियरहरू इन्टरनेटमा तपाईंको ध्यान कसरी धेरैभन्दा धेरै टिकाउन सकिन्छ भनेर योजना बुनिरहेका छन् ।

यस्ता कैयौं कम्पनी तपाईं–हाम्रो ‘अटेन्सन’ र समयका लागि आपसमा प्रतिस्पर्धा गरिरहेका छन् । आश्चर्यजनक कुरा के छ भने, यी सोसल मिडिया कम्पनीहरू प्रयोगकर्ताको अफलाइन गतिविधि (जस्तै : खाने, बस्ने, परिवार, साथीभाइ भेट्ने आदि) सँग पनि प्रतिस्पर्धा गरिरहेका हुन्छन् । विश्वचर्चित अमेरिकी मिडिया सेवाप्रदायक कम्पनी नेटफ्लीक्सका संस्थापक रिड हस्टिङ्सले एकपटक सार्वजनिक रूपमै भनेका थिए, ‘नेटफ्लीक्सको सबैभन्दा ठूलो प्रतिस्पर्धी निद्रा हो ।’ यो भनाइले विवाद सिर्जना गरे पनि अलि गहिरिएर सोच्ने हो भने उनको यो वाक्यले भयानक अवस्थातर्फ संकेत गर्छ । हाल विश्वभर नेटफ्लीक्सका १९ करोडभन्दा बढी प्रयोगकर्ता छन् । एउटा सर्वेक्षणअनुसार, ७० प्रतिशत प्रयोगकर्ताले आफू घण्टौं बसेर लगातार सिरिज हेर्ने व्यसनी भएको स्विकारेका थिए । त्यसरी लामो समयसम्म स्क्रिनअगाडि बसेर सिरिज र फिल्म हेर्नाले मानिसमा अनिद्रा, चिन्ता, मोटोपनजस्ता कैयौं शारीरिक र मानसिक असन्तुलन देखा पर्ने गरेका छन् ।

यसै वर्ष नेटफ्लीक्समै रिलिज भएको डकुमेन्ट्री ‘द सोसल डिलेमा’ ले इन्टरनेटमा तहल्का मच्चायो । इन्टरनेटका सामाजिक सञ्जालले मानिसको जीवनमा पारेका डरलाग्दा असरहरूलाई यो वृत्तचित्रले छर्लंग पारेको छ । यसमा गुगल, फेसबुक, पिनट्रेस्ट, ट्वीटरजस्ता ठूला कम्पनीका पूर्वकर्मचारीहरूले भनेका छन्– संसारमा दुइटा मात्र उद्योग छन्, जसले आफ्ना ग्राहकलाई ‘प्रयोगकर्ता’ नाम दिएका छन् । पहिलो, अवैध लागूऔषध र दोस्रो सफ्टवेयर । यी सफ्टवेयर कम्पनीहरूले लाइक, सेयर, नोटिफिकेसन, अटो प्लेजस्ता हजारौं फिचरमार्फत कसरी हाम्रो मनमस्तिष्कलाई गुमराहमा पारिरहेका छन् ? त्यो आम मानिसले सोचेकै हुँदैन । बुझ्नुपर्ने सामान्य कुरा के हो भने, यदि तपाईंले कुनै पनि उत्पादन प्रयोग गर्दा पैसा तिर्नुहुन्न भने सम्झनुस्, तपाईं नै ‘उत्पादन’ हो । करोडौं डलर लगानी गरेर बनाइएको कम्पनीले हरेक वर्ष आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ–नयाँ फिचरहरू थप्दै गइरहेको हुन्छ । त्यसले तपाईंलाई आफ्ना एप्लिकेसन सित्तैंमा प्रयोग गर्न किन दिन्छ त ? तपाईंले कहिल्यै सोच्नुभएको छ ? सामाजिक सञ्जालमा थुप्रै राम्रा काम पनि भएका छन्, तर यसका अधिकांश प्रयोगकर्ताले आफ्नो ‘रियल लाइफ’ भन्दा ‘भर्चुअल लाइफ’ लाई बढी प्राथमिकतामा राख्दा अहिले विश्वभरि हरेक पाँचमध्ये एक जना कुनै न कुनै रूपले मानसिक असन्तुलनको सिकार बनेका छन् ।

एप्पलका संस्थापक स्टिभ जब्सले सन् २०११ मा आफूले छोराछोरीलाई आफ्नै कम्पनीले उत्पादन गरेका फोन, आइप्याड लगायतका प्रविधि प्रयोग गर्न नदिएको स्विकारेका थिए । माइक्रोसफ्टका संस्थापक बिल गेट्सले पनि आफूले छोराछोरीलाई चौध वर्ष नपुग्दासम्म फोन प्रयोग गर्न नदिएको बताएका छन् । अहिले सोसल मिडिया कम्पनीका कैयौं कर्मचारी घरमा आफ्ना बच्चाहरूलाई सोसल मिडिया प्रयोग गर्न दिँदैनन्, किनकि उनीहरूलाई राम्रोसँग थाहा छ– दैनिक आठ घण्टा लगाएर आफूले बनाएका प्रविधिहरू मानव जीवनका लागि कति घातक छन् । ‘फेक न्युज’ अर्थात् नक्कली समाचारलाई इन्टरनेटको एउटा श्रापका रूपमा लिइन्छ । एक अध्ययनका अनुसार नक्कली समाचार सत्य समाचारभन्दा छ गुणा छिटो फैलिन्छ । प्रयोगकर्ताको अटेन्सनको खेती गरिरहेका सामाजिक सञ्जालले सत्य समाचारभन्दा नक्कली समाचारबाट धेरै पैसा कमाइरहेका हुन्छन् । अहिले नेपालमा एक करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता छन्, यो संख्या हरेक वर्ष बढ्दो छ । हामीमध्ये अधिकांश युट्युब र फेसबुकमा जे देखिन्छ, त्यसैलाई सत्य मान्छौं । विश्वका कैयौं राजनीतिक–सामाजिक घटनामा फेक न्युजले पारेको असर हामीबाट लुकेको छैन ।

कोरोना महामारीबारेका गलत समाचारले पनि इन्टरनेटमा ठूलै स्थान पाए । कोरोना भाइरस केही पनि होइन, नागरिकलाई घरभित्र राख्ने यो राजनीतिक चाल हो भनिएको भिडियो अमेरिकामा निकै चर्चित भयो । नेपालमा पनि तातो पानीले कोरोना भाइरस पखाल्छ, लसुन र अदुवाले कोरोना भगाउँछ, एक मिनटसम्म सास रोक्नाले कोरोना लागे–नलागेको पत्ता लाग्छ भन्नेजस्ता थुप्रै नक्कली समाचारले ठूलै हल्ला मच्चाए । नक्कली समाचारको व्यापार गर्नेहरूले नेपालीको इन्टरनेट असाक्षरताबाट ठूलै फाइदा लुटिरहेका छन् । युट्युबमा भिडियो क्लिक गराउन राखिने जथाभावी हेडलाइनहरूले हाम्रा आमाबुबा, हजुरबुबा–हजुरआमाको पुस्तालाई राम्रैसँग उल्लू बनाएका छन् ।

सोसल मिडियाले हाम्रो जीवनलाई धेरै सजिलो र रमाइलो पनि बनाइदिएको छ । तर आवश्यकताभन्दा बढी प्रयोगले यसको लत बस्दा अप्रिय मानसिक अवस्थाबाट गुज्रिनुपरेको तथ्य पनि हामीमध्ये धेरैलाई थाहा छ । इन्टरनेटको अधिक र अनावश्यक प्रयोग कम गर्न आजैदेखि केही उपाय अपनाउनु आवश्यक भइसकेको छ । अंग्रेजीमा एउटा भनाइ छ– ‘टाइम इज मनी’ अर्थात् समय नै पैसा हो । तपाईंले फोनमा बिताउने हरेक मिनेटलाई पैसासँग तुलना गर्नुस् । तपाईंले गर्ने हरेक स्क्रोलबाट इन्टरनेटमा कसै न कसैले पैसा कमाइरहेको हुन्छ । यसको मतलब तपाईंले हरेक दिन फोनमा घण्टौं बसेर अरूको व्यापार बढाउन मद्दत गरिरहनुभएको छ । तपाईंको हरेक गतिविधिलाई फेसबुक, युट्युबजस्ता कम्पनीले आफ्नो सफ्टवेयरमा कैद गरिरहेका छन् र तपाईंको कमजोरीलाई तपाईंकै विरुद्ध प्रयोग गरेर आफ्नो व्यापार बढाइरहेका छन् । तपाईंका बारेमा तपाईंलाई भन्दा बढी जानकारी यी सफ्टवेयर कम्पनीका मेसिनहरूलाई थाहा छ । त्यसैले त कुन भिडियो देखाउँदा तपाईंमाथि नियन्त्रण कायम गर्न सकिन्छ भन्ने कुरा युट्युबलाई पहिल्यै थाहा हुन्छ र त्यसैअनुसार तपाईंलाई ‘सजेसन्स’ देखाउँछ ।

बिल गेट्सले प्रत्येक वर्ष दुई हप्ता आफूले जंगलमा एक्लै बिताउने गरेको बताएका छन् । विश्वका कैयौं धनी र चर्चित व्यक्तिले ‘एकान्तवासी बन्नु’ आफ्नो सफलताको एउटा कारण भएको स्विकारेका छन् । घण्टौं फोनमा बसेर अर्थहीन स्क्रोल गरेर कोही पनि आफ्नो ‘करिअर’ मा सफल भएको छैन । फोनमा थोरैभन्दा थोरै एप्लिकेसन प्रयोग गर्नु, ‘नोटिफिकेसन्स’ अफ गरेर राख्नु, सुत्ने बेला बेडमा फोन प्रयोग नगर्नु आदि कुरालाई व्यवहारमा उतार्ने हो भने पक्कै पनि हाम्रो मनमस्तिष्क दूषित हुनबाट जोगिनेछ । र, बिल गेट्सजस्तो जंगलमा नगए पनि, सबै कुरा छाडेर एकान्तवासी नबने पनि इन्टरनेटको अनावश्यक प्रयोग रोकेर हामी भविष्यमा यसको उपोत्पादबाट बच्न भने पक्कै सक्नेछौं ।

प्रकाशित : मंसिर ८, २०७७ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?