नेपाललाई अमेरिकी निर्वाचनको सन्देश

नेकपा, कांग्रेस, जसपा, राप्रपालगायत थप राष्ट्रवादी, दक्षिणपन्थी र अनुदारवादी धारतर्फ उन्मुख हुने प्रवृत्ति देखिए पनि ट्रम्पको पराजयका कारण अब त्यस्तो रुझान कमजोर हुने सम्भावना छ ।
गेजा शर्मा वाग्ले

सन् २०१६ को निर्वाचनमा अप्रत्याशित रूपमा डोनाल्ड ट्रम्प विजयी भएपछि तथा २०१६ मै बेलायतको जनमतसंग्रहमा युरोपेली युनियनबाट छुट्टिने पक्षमा आश्चर्यजनक परिणाम आएपछि विश्वव्यापी रूपमा सुरु भएको बहुचर्चित राजनीतिक बहसको आंशिक उत्तर अहिले स्वयं ट्रम्पको पराजयले दिएको छ ।

नेपाललाई अमेरिकी निर्वाचनको सन्देश

ट्रम्पको विजय र बेलायतको जनमतसंग्रहको परिणामपछि सन् २०१० को दशकदेखि प्रारम्भ भएको दक्षिणपन्थी र अनुदारवादको लहर विद्युतीय गतिमा विश्वव्यापी रूपमा फैलिएको थियो भने, लोकतान्त्रिक र उदारवादी धार प्रतिरक्षात्मक विन्दुमा पुगेको थियो । तर अहिले ट्रम्पको पराजय र जो बाइडनको विजयले उग्रराष्ट्रवाद, लोकप्रियतावाद र अनुदारवाद पराजित भई लोकतन्त्र, उदारवाद र बहुलवादका पक्षमा प्रारम्भिक तर स्पष्ट सन्देश प्रवाह गरेको छ ।

अमेरिकाको पछिल्लो निर्वाचन लोकतन्त्र र उदारवादको भविष्यका दृष्टिले कोसेढुंगा साबित भएको छ । विश्वको राजनीतिक, कूटनीतिक, आर्थिक, व्यापारिक तथा सामरिक क्षेत्रमा उल्लेखनीय प्रभाव पार्ने हालसम्मको महाशक्तिराष्ट्रको निर्वाचन परिणामको तरंग केवल अमेरिकाको भौगोलिक सीमाभित्र मात्रै सीमित रहनेछैन । यसको घनत्व र आयामको राजनीतिक तथा मनोवैज्ञानिक प्रभाव विश्वव्यापी हुनेछ । त्यसैले ट्रम्पको पराजय र बाइडनको विजयको सन्देश र सम्भावित राजनीतिक परिदृश्यका बारेमा अहिले विश्वव्यापी रूपमै विश्लेषण र प्रक्षेपण भइरहेको छ । अमेरिकाको निर्वाचनले उदारवाद भर्सेस अनुदारवाद र लोकतन्त्र भर्सेस लोकप्रियतावादजस्तो समकालीन राजनीतिको ज्वलन्त सैद्धान्तिक मुद्दाको आंशिक भए पनि निरूपण गरेको निष्कर्ष निकालिएको छ । अमेरिकी निर्वाचनको राजनीतिक प्रभाव नेपालमा पर्छ कि पर्दैन, पर्छ भने कस्तो प्रभाव पर्ला भन्ने विमर्श नेपाली राजनीतिमा पनि चलिरहेको छ । त्यसैले यहाँ अमेरिकी निर्वाचनको वास्तविक राजनीतिक संकेत र सन्देश तथा दक्षिणपन्थी धारका प्रवक्ता ट्रम्पको पराजय र मध्यमार्गी धारका सिद्धान्तनिष्ठ बाइडनको विजयले राष्ट्रिय–अन्तर्राष्ट्रिय राजनीतिमा पार्ने तत्कालीन र दीर्घकालीन प्रभावबारे वस्तुनिष्ठ विश्लेषण गर्ने प्रयास गरिएको छ ।

उग्रराष्ट्रवाद र लोकप्रियतावादको पराजय

रुस, भेनेजुएला, इजिप्ट, फिलिपिन्स, युक्रेन, जर्जिया, जिम्बावे, इराक, लिबिया, निकारागुवा, म्यानमार लगायतमा उदार लोकतान्त्रिक प्रणालीमाथि प्रश्नचिह्न खडा हुनु अस्वाभाविक भएन । तर लोकतन्त्र, बहुलवाद, उदारवाद, विधिको शासन र मानव अधिकारको जन्मभूमि मानिने अमेरिका र युरोपबाटै उग्रराष्ट्रवाद र लोकप्रियतावादको प्रचण्ड लहर सिर्जना भएपछि लोकतन्त्रको भविष्य र स्वरूपका बारेमा चिन्ताग्रस्त बहस चलिरहेको छ । अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, भारत, टर्की, हंगेरी, फ्रान्स, अस्ट्रिया लगायतमै लोकतान्त्रिक मूल्यमान्यता क्षयीकरण भई दक्षिणपन्थी र अनुदारवादी प्रवृत्ति हावी हुँदै गएपछि पश्चिमा थिंकट्यांक, विश्वविद्यालय र राजनीतिशास्त्रीहरूले समेत लोकतन्त्रमाथि गम्भीर संकट सिर्जना भएको निष्कर्ष निकालेका थिए । लोकतन्त्रको आरोह–अवरोहबारे अध्ययन–अनुसन्धान गर्दै आएका हार्वर्ड विश्वविद्यालयका प्राध्यापकहरू स्टेभिन लिभित्स्की र डेनियल जिबलटले ‘हाउ डेमोक्रेसिस डाई ः ह्वाट हिस्ट्री रिभिल्स अबाउट आवर फ्युचर’ शीर्षक पुस्तकमा उदार लोकतन्त्र पतनोन्मुख भएको निष्कर्ष दिएयता लोकतान्त्रिक शिविर अद्यापि शोकाकुल छ ।

यस्तो निराशाजनक परिवेशमा सम्पन्न अमेरिकाको निर्वाचन केवल बाइडन र ट्रम्पबीचको निर्वाचन नभई लोकतन्त्र र लोकप्रियतावाद, उदारवाद र अनुदारवाद, उग्रराष्ट्रवाद र समावेशी राष्ट्रवाद, बहुलवाद र एकलजातीय प्रभुत्ववादबीचको जनमतसंग्रह थियो । अन्ततः उग्रराष्ट्रवाद, लोकप्रियतावाद, अनुदारवाद, संरक्षणवाद, एकलजातीय प्रभुत्ववादको पराजय भएको छ भने, समावेशी लोकतन्त्र, बहुलवाद, उदारवाद, बहुपक्षीयतावाद, अन्तर्राष्ट्रियतावाद, भूमण्डलीकरण, सामाजिक न्यायसहितको उदार अर्थतन्त्र र उदार विश्वव्यवस्था प्रणाली (लिबरल वर्ल्ड अर्डर) को विजय भएको छ । जसरी सन् २०१६ मा ट्रम्पको विजयपछि विश्वव्यापी रूपमा उग्रराष्ट्रवाद, लोकप्रियतावाद, अनुदारवादको लहर चलेको थियो, त्यसरी नै अहिले बाइडनको विजयबाट लोकतन्त्र, बहुलवाद र उदारवादको अर्को लहर सिर्जना भएको छ । तर दक्षिणपन्थी तथा लोकप्रियतावादी धारका प्रतिनिधि पात्र ट्रम्पले विगत निर्वाचनमा भन्दा एक करोड बढी मत हासिल गरेपछि यो बाइडनको विजय हो कि ट्रम्पको पराजय भन्ने अर्को आयामबाट पनि बहस चलिरहेको छ ।

दुई साताअघिको अमेरिकी निर्वाचनको परिणामले मात्रै होइन, त्यसअघि नै उग्रराष्ट्रवाद, लोकप्रियतावाद र अनुदारवादको लहर ह्रासोन्मुख हुँदै गएका प्रारम्भिक संकेतहरू देखिइसकेका थिए । एकातिर यसको सैद्धान्तिक धरातल कमजोर थियो भने, अर्कातिर उदार लोकतान्त्रिक प्रणालीले जनअपेक्षाअनुरूप डेलिभर गर्न नसकेका कारण सिर्जना भएको अल्पकालीन र प्रतिक्रियात्मक लहर थियो त्यो । त्यसैले दक्षिणपन्थी राजनीति र अनुदारवादको पतन अवश्यम्भावी थियो, जुन अमेरिकाको निर्वाचन परिणामपछि अब थप पतनोन्मुख हुँदै जाने देखिन्छ । लोकतन्त्र, उदारवाद, उदार विश्वव्यवस्था प्रणाली, विधिको शासन, सुशासन र मानव अधिकारको संवर्द्धन तथा प्रवर्द्धन डेमोक्र्याटिक पार्टीका स्थायी र सार्वकालिक नीति हुन्, जसलाई बाइडनले निरन्तरता दिनेछन् । अब पूर्ववत् रूपमा अमेरिकाले उदार विश्वव्यवस्था प्रणालीको नेतृत्व एवं लोकतन्त्र, विधिको शासन, बहुपक्षीयतावाद र मानव अधिकारको प्रवर्द्धनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ ।

बाइडनको नेपालनीति

रिपब्लिकन वा डेमोक्र्याट जुनसुकै पार्टीको सरकार भए पनि नेपालनीतिमा अपवादबाहेक उल्लेखनीय परिवर्तन हुँदैन । त्यसैले अहिले पनि ट्रम्पभन्दा बाइडनको नेपालनीति मौलिक रूपमा फरक हुने सम्भावना छैन । नयाँ राष्ट्रपतिले नयाँ विदेशनीति जारी गर्ने भएकाले प्राथमिकता फरक र शब्दावली नयाँ हुन सक्छन् । पूर्वराष्ट्रपति बाराक ओबामाले एसियालाई विशेष प्राथमिकता दिँदै ‘एसिया पिभोट’ नीति अनुसरण गरेका थिए भने, ट्रम्पले पनि उक्त प्राथमिकतालाई निरन्तरता दिँदै नयाँ हिन्द–प्रशान्त रणनीति जारी गरे । तर ओबामा र ट्रम्पका दस्तावेज र प्राथमिकता फरक भए पनि नीतिगत निरन्तरता र रणनीतिक समानता थियो । अब बाइडनले पनि नयाँ विदेशनीति तथा एसिया तथा हिन्द महासागरकेन्द्रित नयाँ रणनीति जारी गर्लान् । हालसम्म अमेरिकाले अख्तियार गरेको नीतिका आधारमा विश्लेषण गर्दा बाइडनको नेपालनीतिमा तीन आयामले प्रधानता पाउने देखिन्छ ।

पहिलो, सामरिक तथा रणनीतिक स्वार्थ । उदीयमान शक्तिराष्ट्रहरू भारत र चीनबीच अवस्थित नेपालको भूराजनीतिक महत्त्व उच्च भएकाले महाशक्तिराष्ट्र अमेरिकाको नेपालमा स्थायी सामरिक तथा रणनीतिक चासो र स्वार्थ छ । आर्थिक, व्यापारिक तथा सैन्य तीनै दृष्टिले चीनले अमेरिकालाई चुनौती दिइरहेका कारण चिनियाँ प्रभाव नियन्त्रण गर्ने दीर्घकालीन उद्देश्यले एसियामा भारत, जापान, दक्षिण कोरियालगायत अमेरिकानिकट देशहरूलाई बुस, ओबामा र ट्रम्प सबैले विशेष महत्त्व दिँदै आएका छन् । अहिले अमेरिकाको चीनसँग व्यापार युद्ध चलिरहेको छ भने, गत फेब्रुअरीमा अमेरिका र भारतबीच ‘कम्प्रिहेन्सिभ ग्लोबल रणनीतिक साझेदारी’ गरिएको छ । बाइडनले चिनियाँ प्रभाव नियन्त्रण गर्ने अमेरिकी रणनीतिअनुरूप अमेरिका, जापान, भारत र अस्ट्रेलियाबीचको चौपक्षीय गठबन्धनलाई थप प्रभावकारी बनाउने सम्भावना उच्च देखिन्छ । निर्वाचनमा विजय हासिल गरेपछि दिएको विदेशनीतिसम्बन्धी पहिलो सार्वजनिक वक्तव्यमा बाइडनले चीनको बढ्दो प्रभाव नियन्त्रण गर्न अमेरिकाले लोकतान्त्रिक देशहरूसँग सहकार्य गर्ने विचार व्यक्त गरेका छन् । चिनियाँ पहलमा गत साता हनोईमा दस आसियान राष्ट्रका साथै जापान, दक्षिण कोरिया, अस्ट्रेलिया र न्युजिल्यान्डसहित पन्ध्र राष्ट्रहरूको क्षेत्रीय कम्प्रिहेन्सिभ आर्थिक साझेदारी (आरसीईपी) सम्झौता गरिएपछि दक्षिण एसिया भूराजनीतिक खेलको डबली भएको छ । अमेरिकाको विदेशनीति र सुरक्षा रणनीतिको ‘राडार’ मा अब सामरिक तथा रणनीतिक केन्द्र एसिया, दक्षिण एसिया र चीन–भारतबीच अवस्थित नेपाल परिसकेका छन् । त्यसैले नेपाल–अमेरिका सम्बन्धमा विगतमा जस्तै भूराजनीतिक, सामरिक र रणनीतिक दृष्टिले प्रधानता पाउने देखिन्छ ।

दोस्रो, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन । २०७४ भदौ २९ गते नेपाल र अमेरिकाबीच एमसीसी सम्झौतामा हस्ताक्षर भए पनि सत्तारूढ नेकपाको दोहोरो चरित्र र सरकारको कूटनीतिक असफलताका कारण त्यो हालसम्म कार्यान्वयन हुन सकेको छैन । नेपालमा चिनियाँ प्रभाव नियन्त्रण गरी अमेरिकी प्रभाव विस्तार गर्ने अमेरिकाको घोषित उद्देश्य भएकाले बाइडनले नेपालसँगको कूटनीतिक सम्बन्ध, प्रतिरक्षा सहकार्य र एमसीसी कार्यान्वयनलाई उच्च महत्त्व दिने निश्चित छ । नेकपाको मागबमोजिम सम्झौता संशोधन नगरे पनि संसद्बाट अनुमोदनका सन्दर्भमा ‘लेटर अफ एक्सचेन्ज’ मार्फत एमसीसी कार्यान्वयन प्रक्रियामा बाइडन प्रशासनले थप उदारता र लचकता अपनाउन सक्छ । किनभने अमेरिकाको बृहत्तर रणनीतिक उद्देश्यका लागि एमसीसी कार्यान्वयन अपरिहार्य छ ।

तेस्रो, द्वन्द्वग्रस्त, द्वन्द्वोत्तर, अल्पविकसित र विकासशील देशमा लोकतन्त्र, विधिको शासन र मानव अधिकारको संवर्द्धन तथा प्रवर्द्धन डेमोक्र्याटिक पार्टीको विदेशनीतिको प्रमुख आधारशिला हो । चिनियाँ कम्युनिस्ट पार्टीसँग घनिष्ठ सम्बन्ध भएको नेकपाको चीनमैत्री सरकार भएका कारण संघीय लोकतान्त्रिक गणतन्त्र, विधिको शासन र मानव अधिकारको संवर्द्धन तथा प्रवर्द्धनका लागि बाइडनको प्राथमिकतामा नेपाल पर्नु स्वाभाविक हो । नेपालको संक्रमणकालीन न्याय ट्रम्प प्रशासनको प्राथमिकता थिएन, तर बाइडन प्रशासनको प्रमुख कार्यसूची हुनेछ । नेपालको संक्रमणकालीन न्यायको मुद्दा अब थप पेचिलो हुन सक्छ । तिब्बती शरणार्थी र उनीहरूको मानव अधिकारको प्रश्नमा बाइडन प्रशासनले नेपाललाई थप दबाब दिने पनि निश्चित छ । अमेरिकाको स्वार्थ र नीति परिवर्तन नभए पनि अनुदारवादी र गैरकूटनीतिक ट्रम्पभन्दा उदारवादी र अनुभवी राजनीतिज्ञ बाइडनको कूटनीतिक शैली भने निश्चित रूपमा फरक हुनेछ ।

नेपालमा पर्ने राजनीतिक प्रभाव

विश्वव्यापी राजनीतिक, भूराजनीतिक, कूटनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लहरको प्रत्यक्ष वा परोक्ष प्रभाव नेपालमा पनि पर्दै आएको छ । सन् १९९० देखि प्रारम्भ भएको विश्वव्यापी लहरका कारण नेपालमा २०४६ सालमा लोकतन्त्र स्थापना भएको थियो भने, वासिङ्टन कन्सेन्ससबाट निःसृत उदार र बजारमुखी अर्थनीति, भूमण्डलीकरण र निजीकरणले नेपाली अर्थतन्त्रमा अद्यापि प्रभाव परिरहेको छ । सन् २०१० को दशकदेखि प्रारम्भ भएको राष्ट्रवाद, लोकप्रियतावाद र अनुदारवादको प्रत्यक्ष प्रभाव पनि नेपाली राजनीतिमा परिरहेको छ । विगत आमनिर्वाचनमा वामपन्थी गठबन्धनको विजय हुनुमा कमजोर कांग्रेस र तत्कालीन सरकारको अलोकप्रियता अतिरिक्त कारण भए पनि प्रमुख कारण राष्ट्रवाद, लोकप्रियतावाद र अनुदारवाद थियो । प्रधानमन्त्री केपी ओली कम्युनिस्ट पार्टीको अध्यक्ष भए पनि उग्रराष्ट्रवाद, लोकप्रियतावाद र अनुदारवादका प्रवक्ताजस्तो प्रतीत हुन्छन् । उग्रराष्ट्रवादी र लोकप्रियतावादी अभिव्यक्ति, स्वेच्छाचारी प्रवृत्ति र अनुत्तरदायी कार्यशैलीको सापेक्षतामा विश्लेषण गर्दा ओली ट्रम्पका अनुयायीजस्ता देखिन्छन् । सत्तामा पुगेपछि ओली र ट्रम्प दुवैले लोकतान्त्रिक प्रणाली र संस्थाको चीरहरण गरी सर्वसत्तावादी र अनुत्तरदायी पद्धति संस्थागत गर्ने धृष्टता गरेका छन् । अमेरिकामा चार वर्षपछि ट्रम्पवादको अन्त्य भयो, आगामी निर्वाचनमा नेपालमा पनि भ्रमवादको अन्त्य हुने संकेत देखिएको छ ।

जसरी सन् १९९० मा लोकतन्त्र र उदारवाद तथा सन् २०१० को दशकदेखि राष्ट्रवाद र लोकप्रियतावादको लहरबाट नेपाल पृथक् रहन सकेन, अहिलेको अमेरिकी निर्वाचन परिणामको सन्देशले पनि निश्चत रूपमा नेपाली राजनीति तरंगित हुनेछ । रिपब्लिकनजस्तो राष्ट्रवादी, लोकप्रियतावादी र अनुदारवादी पार्टीको सैद्धान्तिक तथा वर्गीय आधार कमजोर भएको तथा डेमोक्र्याटजस्तो उदार लोकतन्त्रवादी, मध्यमार्गी, बहुलवादी, प्रगतिशील र सामाजिक न्यायसहितको उदार अर्थतन्त्रवादी पार्टीको आधारशिला बलियो भएको निर्वाचन परिणामले पुष्टि गरेको छ । नेपाली राजनीतिमा सैद्धान्तिक धार र राजनीतिक विचारधाराका बारेमा विशेष बहस हुँदै आएको छ । सम्भवतः नेकपा, कांग्रेस, जसपा, राप्रपालगायत पार्टीका आसन्न महाधिवेशनमा राष्ट्रवाद, लोकतन्त्र, उदारवाद, संवर्द्धनवाद (कन्जरभेटिज्म), समाजवादका बारेमा थप घनीभूत छलफल हुनेछ । अमेरिकामा ट्रम्प पराजित भए पनि नेपालको हरेक राजनीतिक पार्टीमा ट्रम्प प्रवृत्ति र दक्षिणपन्थी रुझान कायमै छ । नेकपा, कांग्रेस, जसपा, राप्रपालगायत थप राष्ट्रवादी, दक्षिणपन्थी र अनुदारवादी धारतर्फ उन्मुख हुने प्रवृत्ति देखिए पनि ट्रम्पको पराजयका कारण अब त्यस्तो रुझान कमजोर हुने सम्भावना छ । उक्त क्यानभासबाट विश्लेषण गर्दा अमेरिकी निर्वाचनले नेपाली राजनीतिलाई सकारात्मक दिशातर्फ मार्गनिर्देश गरेको छ । तर निर्वाचनमा लोकतन्त्रवादी, उदारवादी, बहुलवादी, मध्यमार्गी पार्टीको प्राविधिक विजयले मात्रै समाजमा अन्तर्निहित संरचनात्मक समस्याको समाधान र प्रणालीगत कमजोरी सुधार हुने सम्भावना छैन । त्यसैले विद्यमान लोकतान्त्रिक प्रणालीमा व्यापक सुधार गरी जनताप्रति उत्तरदायी पद्धति विकसित गर्नु अपरिहार्य छ । यस्तो पद्धतिले विधिको शासन र सुशासन मात्रै होइन, जनाकांक्षाअनुरूप डेलिभरीसमेत सुनिश्चित गर्नुपर्नेछ । अहिलेको उदार लोकतन्त्रविरुद्धको लहर अवसान भए पनि जनचाहनाअनुरूप राज्य सञ्चालन गरिएन भने निकट भविष्यमा पुनः अर्को शक्तिशाली प्रतिलहरको अभ्युदय हुनेछ । उदार लोकतन्त्रवादी, बहुलवादी र मध्यमार्गी दललाई चेतना भया !

प्रकाशित : मंसिर ८, २०७७ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?