३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

कोरोनाकालमा मृत्यु संस्कार

उषा थपलिया

मेरो चिनजानका ६५ वर्षीय व्यक्ति केहीअघि सामान्य रुघाखोकीले ग्रस्त भए । भाइरल सोचेर उनी घरमै आराम गरिरहेका थिए । परिवारलाई पनि अरू बेलाको जस्तो मौसम परिवर्तनको असर होला भन्ने लागेको थियो । ठूला लक्षण केही नभएकाले उनका क्रियाकलाप सामान्यै थिए ।

कोरोनाकालमा मृत्यु संस्कार

फोनमा अरूसँग गफगाफ, हाँसोठट्टा पनि भैरहेकै थियो । केही दिन बितिसक्दा पनि पूरै सन्चो नभएपछि पीसीआर टेस्ट गरियो । नतिजा पोजेटिभ आयो । जब आफूलाई कोरोना संक्रमण भएको थाहा पाए, एकाएक उनको होसहवास उड्यो । उनी खुबै हतासिए । तुरुन्तै अस्पताल लानुपर्ने स्थिति उत्पन्न भयो । अस्पताल पुगेको केही समयमै हृदयाघातका कारण उनको प्राण गयो ।

कोरोनाको असर नेपालमा पनि पेचिलो बन्दै गइरहेको छ । संक्रमित र मृतकको संख्या क्रमशः उकालो लागिरहेको तथ्यांकले बताउँछ । हुन त निको हुनेहरूको दायरा उत्साहप्रद नै छ तैपनि हरेक व्यक्ति यसको त्रासबाट मुक्त हुन सकेका छैनन् । विश्वव्यापी संहार गराइरहेको कोरोनाबाट आफू संक्रमित भएको पुष्टि भइसकेपछि व्यक्ति र परिवार सजग हुनुपर्छ नै, तर संक्रमितमध्ये धेरैजसो त्रस्त हुने गर्छन् । परिपक्व उमेरका मानिसहरू अझ बढी भयभीत हुने गरेका छन् । यसै पनि दीर्घरोगी र ज्येष्ठ नागरिकहरूलाई कोरोना असरले ज्यादा सताएको छ । त्यसमाथि थपिने चिन्ताले बढी नै नकारात्मक प्रभाव पार्छ । कोरोना पुष्टि हुन्छ कि भन्ने डरकै कारण लक्षण देखिँदासमेत परीक्षण नगर्ने मान्छेहरू प्रशस्तै छन् । व्यक्तिमा पर्ने मनोवैज्ञानिक असर जुनसुकै रोगलाई उच्चतातिर लैजाने प्रमुख कारकतत्त्व रहेको स्वास्थ्यविद्हरूले बताउँदै आएका छन् ।

अझ कोरोनाको हकमा चिन्ता र भयातुर मनोविज्ञान संक्रमितका लागि बढी नै घातक हुने जानकारी स्वास्थ्यसम्बद्ध निकायले निरन्तर दिइरहेका छन् । सघन उपचारमा पुगेका कतिपय परिपक्व उमेरका व्यक्तिले कोरोनालाई हराएका उदाहरणहरू प्रशस्तै छन् भने, कतिपय कम उमेरकै व्यक्तिहरूसमेत कोरोनासँग हारेर मृत्युवरण गर्न पुगेका छन् । दह्रो आत्मबल कोरोनासँग लड्ने एक प्रमुख हतियार रहेको उक्त अवस्थाले समेत पुष्टि गर्छ । नेपालमा सबै उमेर समूहमा कोरोना–प्रहार जारी छ । कोरोना संक्रमणबाट मृत्यु भएकामध्ये अधिकांशका शवको व्यवस्थापन नेपाली सेनाले गरिरहेको छ । विदेशमा झैं नेपालमा पनि पीपीईधारी (सैनिक) ले उसै गरी शवलाई प्लास्टिकमा लपेट्ने, स्ट्रेचरमा दौडाउने, खाडल खनेर पुर्ने लगायतका दृश्यहरू युट्युब तथा टीभीमा बाक्लै प्रसारण हुने गरेका छन् । ती दृश्यहरू वास्तवमै भयावह लाग्छन् र यसैका कारण कोरोनाप्रति चाहिनेभन्दा बढी त्रास फैलिरहेको छ । आफ्नै मुलुकभित्रका यस्ता दृश्यहरू बढी चोटिला लाग्नु स्वाभाविकै हो ।

हामी पूर्वीय दर्शन मान्नेहरू मृत्यु संस्कारप्रति बढी नै संवेदनशील हुने गर्छौं । मृत्युपछिको क्रियाकर्म विधिसम्मत भएन भने परत्र नसुध्रिने आममान्यता छ । दर्जन छोरीहरू भएर पनि समाजमा छोरा नजन्माई नहुने परिस्थिति रहिरहनुको मुख्य कारण विशेषतः अन्तिम संस्कारसँग सम्बन्धित छ । जीवन रहुन्जेल हेरोस् कि नहेरोस्, मरेपछि दागबत्ती, क्रियाकर्म तथा पिण्डपानी त पाइन्छ भन्ने अभिलाषा राखेर छोरा जन्माउन लागिपर्ने मान्छे अझै प्रशस्त छन् । छोरीहरूले आफ्ना बाआमाको अन्तिम संस्कार गरेका कैयौं उदाहरण भइसक्दा पनि शास्त्रीय दृष्टिकोणबाट छोरीहरू त्यस कामका लागि अझै ग्राह्य मानिएका छैनन् ।

कोरोना मनोविज्ञानबाट उत्पन्न डर मृत्युपछिको त्यही अन्त्येष्टिसँग पनि बढी गाँसिएको छ । शवलाई जो पायो त्यहीले छुन नहुने, तिलाञ्जली, दागबत्तीदेखि चिता जलाउनेसम्मका कर्महरू शास्त्रीय विधिअनुसार परिवारद्वारा सम्पन्न हुनुपर्ने, खानपान, शुद्धाशुद्धि, छुत–अछुत मिहिन ढंगले बार्नुपर्ने लगायतका यावत् पक्ष अन्तिम संस्कारसँग जोडिएका विषय हुन् । हरेक जातजाति, धर्म, सप्रदायको सद्गतका आ–आफ्नै विधि र परम्परा छन् तर कोरोना संक्रमणबाट मृत्यु हुनेहरूका शवको व्यवस्थापनमा परिवारसम्म संलग्न हुन नपाउने हुनाले ती विधि पूरा गर्ने अवस्था छैन । संस्कारगत आस्था हुनेहरूका लागि यो ठूलो चिन्ताको विषय हो । त्यसैले कतिपय ठाउँमा सेनाद्वारा शव व्यवस्थापन भैसकेपछि पनि मृतकका परिवारले कुशको शव बनाएर पुनः दाहसंस्कार गरेका खबरहरू आएका छन् ।

अन्तिम संस्कारमा सरोकार नराख्नेहरू पनि कोरोना सद्गतका दृश्यहरूबाटै बढी हतासिने गरेको पाइएको छ । पीपीई लगाएका व्यक्तिहरूले गरेका शव व्यवस्थापनका दृश्यहरू वास्तवमै सनसनीपूर्ण लाग्छन् । त्यसैले शव व्यवस्थापनको प्रसारण रोकिनुपर्छ भन्ने चर्चा समाजभित्र बाक्लै सुनिन्छ तर सम्बन्धित निकायले यसतर्फ ध्यान दिएको पाइँदैन, न त सरकार नै यसबारे सचेत देखिन्छ । कारण जेसुकै भए पनि नागरिकको मृत्यु राष्ट्रका लागि अपूरणीय क्षति हो । नागरिकको ज्यान जोगाउने काममा सरकार जहिल्यै गम्भीर हुनुपर्छ । जुनसुकै प्रकोप, रोग र महामारीहरूबाट बच्न जनस्तरले अपनाउनुपर्ने सावधानीका बारेमा बढीभन्दा बढी प्रचार–प्रसार गर्दै नागरिकलाई सचेत बनाउनु सरकारको दायित्व हो ।

यस्तो सचेतना जनजनसम्म पुर्‍याउने मुख्य अभिभारा सञ्चारमाध्यमहरूको हो । कोरोना–हताहतीका संवेदनशील दृश्यहरूले नागरिकमाझ पुर्‍याइरहेको असरबारे पनि सञ्चारमाध्यम सचेत हुनु जरुरी छ । क्षतिसम्बन्धी तथ्यांकगत जानकारी दिलाउनु आवश्यक रहे पनि मानिसहरू भयभीत हुने तस्बिर र दृश्यहरू प्रसारणको औचित्य देखिँदैन । विगतका अनेकौं भाइरसभन्दा फरक खाले कोरोना भाइरसबाट मृत्यु हुनेहरूका शवको व्यवस्थापन पनि फरक किसिमबाट गर्नुपर्ने नेपालको मात्र नभएर सबै देशको बाध्यता हो । यसबारे जनस्तरमा जानकारी भैसकेको छ । भाइरसबाट टाढा रहन अपनाउनुपर्ने सावधानीसम्बन्धी जानकारी प्रसारणको आवश्यकता अझै रहिरहेकै छ तर जनस्तरमा नैराश्य र भय उत्पन्न गराउने मृत्युपछिका सन्देहात्मक दृश्यहरूबाट सर्वसाधारणमा नकारात्मक प्रभाव परिरहेको छ । तसर्थ यी दृश्यहरूको प्रचार–प्रसार जतिसक्दो छिटो रोकिनु जरुरी छ ।

प्रकाशित : मंसिर ४, २०७७ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?