कोरोनाकालमा मृत्यु संस्कार- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाकालमा मृत्यु संस्कार

उषा थपलिया

मेरो चिनजानका ६५ वर्षीय व्यक्ति केहीअघि सामान्य रुघाखोकीले ग्रस्त भए । भाइरल सोचेर उनी घरमै आराम गरिरहेका थिए । परिवारलाई पनि अरू बेलाको जस्तो मौसम परिवर्तनको असर होला भन्ने लागेको थियो । ठूला लक्षण केही नभएकाले उनका क्रियाकलाप सामान्यै थिए ।

फोनमा अरूसँग गफगाफ, हाँसोठट्टा पनि भैरहेकै थियो । केही दिन बितिसक्दा पनि पूरै सन्चो नभएपछि पीसीआर टेस्ट गरियो । नतिजा पोजेटिभ आयो । जब आफूलाई कोरोना संक्रमण भएको थाहा पाए, एकाएक उनको होसहवास उड्यो । उनी खुबै हतासिए । तुरुन्तै अस्पताल लानुपर्ने स्थिति उत्पन्न भयो । अस्पताल पुगेको केही समयमै हृदयाघातका कारण उनको प्राण गयो ।

कोरोनाको असर नेपालमा पनि पेचिलो बन्दै गइरहेको छ । संक्रमित र मृतकको संख्या क्रमशः उकालो लागिरहेको तथ्यांकले बताउँछ । हुन त निको हुनेहरूको दायरा उत्साहप्रद नै छ तैपनि हरेक व्यक्ति यसको त्रासबाट मुक्त हुन सकेका छैनन् । विश्वव्यापी संहार गराइरहेको कोरोनाबाट आफू संक्रमित भएको पुष्टि भइसकेपछि व्यक्ति र परिवार सजग हुनुपर्छ नै, तर संक्रमितमध्ये धेरैजसो त्रस्त हुने गर्छन् । परिपक्व उमेरका मानिसहरू अझ बढी भयभीत हुने गरेका छन् । यसै पनि दीर्घरोगी र ज्येष्ठ नागरिकहरूलाई कोरोना असरले ज्यादा सताएको छ । त्यसमाथि थपिने चिन्ताले बढी नै नकारात्मक प्रभाव पार्छ । कोरोना पुष्टि हुन्छ कि भन्ने डरकै कारण लक्षण देखिँदासमेत परीक्षण नगर्ने मान्छेहरू प्रशस्तै छन् । व्यक्तिमा पर्ने मनोवैज्ञानिक असर जुनसुकै रोगलाई उच्चतातिर लैजाने प्रमुख कारकतत्त्व रहेको स्वास्थ्यविद्हरूले बताउँदै आएका छन् ।

अझ कोरोनाको हकमा चिन्ता र भयातुर मनोविज्ञान संक्रमितका लागि बढी नै घातक हुने जानकारी स्वास्थ्यसम्बद्ध निकायले निरन्तर दिइरहेका छन् । सघन उपचारमा पुगेका कतिपय परिपक्व उमेरका व्यक्तिले कोरोनालाई हराएका उदाहरणहरू प्रशस्तै छन् भने, कतिपय कम उमेरकै व्यक्तिहरूसमेत कोरोनासँग हारेर मृत्युवरण गर्न पुगेका छन् । दह्रो आत्मबल कोरोनासँग लड्ने एक प्रमुख हतियार रहेको उक्त अवस्थाले समेत पुष्टि गर्छ । नेपालमा सबै उमेर समूहमा कोरोना–प्रहार जारी छ । कोरोना संक्रमणबाट मृत्यु भएकामध्ये अधिकांशका शवको व्यवस्थापन नेपाली सेनाले गरिरहेको छ । विदेशमा झैं नेपालमा पनि पीपीईधारी (सैनिक) ले उसै गरी शवलाई प्लास्टिकमा लपेट्ने, स्ट्रेचरमा दौडाउने, खाडल खनेर पुर्ने लगायतका दृश्यहरू युट्युब तथा टीभीमा बाक्लै प्रसारण हुने गरेका छन् । ती दृश्यहरू वास्तवमै भयावह लाग्छन् र यसैका कारण कोरोनाप्रति चाहिनेभन्दा बढी त्रास फैलिरहेको छ । आफ्नै मुलुकभित्रका यस्ता दृश्यहरू बढी चोटिला लाग्नु स्वाभाविकै हो ।

हामी पूर्वीय दर्शन मान्नेहरू मृत्यु संस्कारप्रति बढी नै संवेदनशील हुने गर्छौं । मृत्युपछिको क्रियाकर्म विधिसम्मत भएन भने परत्र नसुध्रिने आममान्यता छ । दर्जन छोरीहरू भएर पनि समाजमा छोरा नजन्माई नहुने परिस्थिति रहिरहनुको मुख्य कारण विशेषतः अन्तिम संस्कारसँग सम्बन्धित छ । जीवन रहुन्जेल हेरोस् कि नहेरोस्, मरेपछि दागबत्ती, क्रियाकर्म तथा पिण्डपानी त पाइन्छ भन्ने अभिलाषा राखेर छोरा जन्माउन लागिपर्ने मान्छे अझै प्रशस्त छन् । छोरीहरूले आफ्ना बाआमाको अन्तिम संस्कार गरेका कैयौं उदाहरण भइसक्दा पनि शास्त्रीय दृष्टिकोणबाट छोरीहरू त्यस कामका लागि अझै ग्राह्य मानिएका छैनन् ।

कोरोना मनोविज्ञानबाट उत्पन्न डर मृत्युपछिको त्यही अन्त्येष्टिसँग पनि बढी गाँसिएको छ । शवलाई जो पायो त्यहीले छुन नहुने, तिलाञ्जली, दागबत्तीदेखि चिता जलाउनेसम्मका कर्महरू शास्त्रीय विधिअनुसार परिवारद्वारा सम्पन्न हुनुपर्ने, खानपान, शुद्धाशुद्धि, छुत–अछुत मिहिन ढंगले बार्नुपर्ने लगायतका यावत् पक्ष अन्तिम संस्कारसँग जोडिएका विषय हुन् । हरेक जातजाति, धर्म, सप्रदायको सद्गतका आ–आफ्नै विधि र परम्परा छन् तर कोरोना संक्रमणबाट मृत्यु हुनेहरूका शवको व्यवस्थापनमा परिवारसम्म संलग्न हुन नपाउने हुनाले ती विधि पूरा गर्ने अवस्था छैन । संस्कारगत आस्था हुनेहरूका लागि यो ठूलो चिन्ताको विषय हो । त्यसैले कतिपय ठाउँमा सेनाद्वारा शव व्यवस्थापन भैसकेपछि पनि मृतकका परिवारले कुशको शव बनाएर पुनः दाहसंस्कार गरेका खबरहरू आएका छन् ।

अन्तिम संस्कारमा सरोकार नराख्नेहरू पनि कोरोना सद्गतका दृश्यहरूबाटै बढी हतासिने गरेको पाइएको छ । पीपीई लगाएका व्यक्तिहरूले गरेका शव व्यवस्थापनका दृश्यहरू वास्तवमै सनसनीपूर्ण लाग्छन् । त्यसैले शव व्यवस्थापनको प्रसारण रोकिनुपर्छ भन्ने चर्चा समाजभित्र बाक्लै सुनिन्छ तर सम्बन्धित निकायले यसतर्फ ध्यान दिएको पाइँदैन, न त सरकार नै यसबारे सचेत देखिन्छ । कारण जेसुकै भए पनि नागरिकको मृत्यु राष्ट्रका लागि अपूरणीय क्षति हो । नागरिकको ज्यान जोगाउने काममा सरकार जहिल्यै गम्भीर हुनुपर्छ । जुनसुकै प्रकोप, रोग र महामारीहरूबाट बच्न जनस्तरले अपनाउनुपर्ने सावधानीका बारेमा बढीभन्दा बढी प्रचार–प्रसार गर्दै नागरिकलाई सचेत बनाउनु सरकारको दायित्व हो ।

यस्तो सचेतना जनजनसम्म पुर्‍याउने मुख्य अभिभारा सञ्चारमाध्यमहरूको हो । कोरोना–हताहतीका संवेदनशील दृश्यहरूले नागरिकमाझ पुर्‍याइरहेको असरबारे पनि सञ्चारमाध्यम सचेत हुनु जरुरी छ । क्षतिसम्बन्धी तथ्यांकगत जानकारी दिलाउनु आवश्यक रहे पनि मानिसहरू भयभीत हुने तस्बिर र दृश्यहरू प्रसारणको औचित्य देखिँदैन । विगतका अनेकौं भाइरसभन्दा फरक खाले कोरोना भाइरसबाट मृत्यु हुनेहरूका शवको व्यवस्थापन पनि फरक किसिमबाट गर्नुपर्ने नेपालको मात्र नभएर सबै देशको बाध्यता हो । यसबारे जनस्तरमा जानकारी भैसकेको छ । भाइरसबाट टाढा रहन अपनाउनुपर्ने सावधानीसम्बन्धी जानकारी प्रसारणको आवश्यकता अझै रहिरहेकै छ तर जनस्तरमा नैराश्य र भय उत्पन्न गराउने मृत्युपछिका सन्देहात्मक दृश्यहरूबाट सर्वसाधारणमा नकारात्मक प्रभाव परिरहेको छ । तसर्थ यी दृश्यहरूको प्रचार–प्रसार जतिसक्दो छिटो रोकिनु जरुरी छ ।

प्रकाशित : मंसिर ४, २०७७ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्

छठ अर्थतन्त्र

प्राकृतिक स्रोत, यसलाई उपयोग गर्ने ज्ञान तथा क्षमता र क्रियाकलापले नै मानव जीवनको जीविकोपार्जनको आधार खडा गर्छ । छठ अर्थतन्त्रको मूल पक्ष यही हो ।
चन्द्रकिशोर

छठ अहिले परम्परा वा सांस्कृतिक पर्वभन्दा सामयिक सरोकारहरूसँग गाँसिएको पाठ/सन्देश सम्झिने अवसर भएको छ । ऐतिहासिक अथवा परिवर्तनशील सामाजिक परिस्थितिहरूका सन्दर्भमा स्थानविशेषको संस्कृति बुझ्नका लागि पहिला त्यसका भौगोलिक एवं पर्यावरणीय विशेषताहरूको उल्लेख वाञ्छनीय हुन्छ ।

किनकि ऐतिहासिक विकासको प्रक्रियामा भूगोलको विशेष भूमिका हुन्छ । अन्तोनिओ ग्राम्सीको मान्यता छ– भौगोलिक अथवा पर्यावरणीय विशेषताले सांस्कृतिक विशेषताहरूलाई निकै हदसम्म निर्धारित गर्छन् । चीनका गुआन फोङको कथन छ– आबकी नदीको पानी प्रबल वेगवान् छ र घुमाउरो बाटोबाट बग्छ, अतः त्यसको किनारका बासिन्दाहरू लोभी, अपरिष्कृत र युद्धोन्मादी हुने गर्छन् । यसको विपरीत चु नदीको पानी मन्द गतिले बग्छ, शुद्ध एवं उर्वरता बढाउने खालको छ, अतः त्यस छेउछाउका बासिन्दाहरू प्रसन्नचित्त, कृतसंकल्प र आत्मज्ञानी हुन्छन् ।

लोकआस्थाको महापर्व छठ विश्वका विभिन्न भूभागमा मनाउन थालिएको छ । यसको विस्तारसँगै इतर समुदायमा समेत यसको आकर्षण बाक्लिएको छ । पछिल्ला दशकमा व्यापक रूपमा अन्य समुदाय, क्षेत्र वा महादेशमाझ आफ्नो स्थान बनाउने विश्वका पर्वहरूमध्ये छठ पनि मुख्य हो । केही पर्वको विस्तारका पछाडि कुनै संगठित शक्ति, प्रभावशाली मिडिया रणनीति, चलचित्र वा संसर्गले भूमिका खेलेको हुन्छ । तर, छठको अनुष्ठान आयतन सबै महादेशमा देखा पर्नुको कारण आस्थाप्रतिको आकर्षण हो । यो कुनै योजनाबद्ध यत्नले भएको होइन । यिनै कारणले पनि होला, यो लोकपर्वको मौलिकता आजपर्यन्त अक्षुण्ण रहिआएको छ ।

छठसँग जोडिएको रैथाने अर्थतन्त्रसम्बन्धी ज्ञान सांस्कृतिक मुखरताका कारण ओझेल पर्दै आएको छ । अर्थतन्त्रका सन्दर्भमा दुइटा विषय उठान हुन्छन्– छठले विकसित गरेको आर्थिक क्रियाशीलता र छठमा सन्निहित आर्थिक आयाम । यस आलेखमा दोस्रो पक्षमाथि घोत्लिने जमर्को गरिएको छ । कोरोनाकालमा विश्वराजनीतिमै जुन मुद्दा पूर्ण रूपले प्रभावी हुँदै आएका छन् र जसको छेउछाउ अब राजनीतिक विमर्श र तर्क चल्न थालेको छ, ती हुन्– गरिबी, जलवायु परिवर्तन, कृषि संकट, सम्पन्न भर्सेज विपन्न देश, विप्रेषण एवं जीविकाका अवसर, आतंकवाद, हिंसा । यो त हामीले भोगिरहेको कटु वर्तमान हो जहाँ पहिला दुनियाँ बजारमा खरिददारीका लागि आउँथ्यो, अब त बजार दुनियाँलाई किन्न निस्किएको छ । उसले पहाड किन्दै छ, जंगलको मोल गर्दै छ, नदी, पोखरी, भूजल, खनिजलगायत सबै थोक उसको खरिददारीको सूचीमा छन् । प्राकृतिक स्रोतहरूको दोहन यसको मूल प्रवृत्ति हो । त्यसैले यो आधुनिक अर्थशास्त्रलाई अनर्थशास्त्र, व्यर्थशास्त्र, स्वार्थशास्त्र र विपत्तिशास्त्र भन्ने गरिएको छ ।

हाम्रा पुर्खाहरूले पृथ्वी, अग्नि, जल, वायु र आकाशलाई पञ्च महाभूत मानेका छन् । हामी यीमध्ये एउटैलाई बनाउन सक्दैनौं । तर यी सबैलाई नष्ट गर्ने अभियान तीव्र गतिमा निर्बाध चलिरहेको छ । आधुनिक ‘महाभूत’ हुन्– व्यवस्थापक, बैंकर, विज्ञापनदाता, बिचौलिया, निर्यातक तथा यातायात व्यवसायी । यसमा अर्को ‘भूत’ सामेल छ, सरकार । आज जुन पद्धतिबाट प्रकृतिको अहर्निश शोषण हुँदै छ, त्यसलाई स्वीकार गर्ने कि नगर्ने ? अबको आर्थिक पद्धतिमा मान्छे, जनावर, वनस्पति तथा अन्य प्राणीको सम्मानपूर्ण स्थान रहन्छ कि रहँदैन ? ‘डेभलपमेन्ट विदाउट टियर्स’ जस्तो विवेक सम्भव छैन ? भनिन्छ, एकपटक गान्धीवादी अर्थशास्त्री जेसी कुमारप्पासँग भारतका केन्द्रीय वित्तमन्त्रीले तत्कालीन पञ्चवर्षीय योजनाका सफलताको बखान गरेछन् । कुमारप्पाले खेतमा काम गरिरहेको श्रमिकलाई बोलाएछन् र उसको छातीमा उठेका हड्डीतिर देखाउँदै भनेछन्, ‘यिनको अस्थिपञ्जरमा कत्तिको मासु टाँसिएको छ, त्यस आधारमा म कुनै पनि योजनाको सफलताको गणित निकाल्ने गर्छु ।’ कुमारप्पाको चिन्ता थियो– यस्तो विकासले धनी थप धनी, गरिब झन्झन् गरिब बन्दै जान्छ । नेपालमा पनि व्यापार, उद्योग वा अर्थव्यवस्थामाथि विचार गर्दा सामाजिक प्रश्नहरूलाई सन्दर्भविहीन मानियो, जसका भुक्तभोगी बहुसंख्यक नेपाली छन् ।

यन्त्र तीन प्रकारका हुन्छन् । कुनै यन्त्रले समयशक्ति जोगाउँछ, जस्तो– रेल, मोटर, विमान आदि । दोस्रो प्रकारको यन्त्र मनुष्यशक्तिलाई टेवा दिन्छ, जस्तो– खेतीको औजार, सिलाइ मेसिन आदि । तेस्रो प्रकारको यन्त्रले मान्छेको स्थान ओगट्छ । यसका अतिरिक्त संहारक यन्त्र पनि छ । मान्छेलाई उपकरण मान्ने कि नमान्ने ? आर्थिक प्रक्रियामा हिंसाको एक स्वरूप शोषण हो, जसको सोझो तात्पर्य कसैलाई उसको न्यायपूर्ण हिस्साबाट वञ्चित गर्नु हो । निश्चित रूपमा समस्त योजनाहरूको केन्द्रविन्दुमा मान्छे नै हुनुपर्छ । अर्थात्, रोजगारी दिने अर्थरचना अपनाउनुपर्छ । प्राकृतिक स्रोत र साधनको दिगो उपयोगसम्बन्धी व्यवहार मानवीय क्रियाकलाप हो । यसैले प्राकृतिक स्रोत, यसलाई उपयोग गर्ने ज्ञान तथा क्षमता र क्रियाकलापले नै मानवको जीविकोपार्जनको आधार खडा गर्छ । छठ अर्थतन्त्रको मूल पक्ष यही हो ।

नेपाली किसानहरूले खेतबारी जोत्न पुर्खौंदेखि प्रयोग गर्दै आएको काठेहलो अहिले लोपोन्मुख छ । उत्पादन बढाउने नाममा किसानहरू ‘हाइब्रिड’ बीउतिर लागेपछि रैथाने बीउहरू लोप भए । रैथाने जातका बोटबिरुवा लहलहाउने गाउँबेसी र मधेसका फाँटहरूलाई विदेशी ठिमाहाले ओगट्न थालेका छन् । पहिला आफैं बीउ संरक्षण गर्ने किसानहरू विदेशी विकासे बीउप्रति तानिएसँगै रासायनिक मलखादको खपत पनि ह्वात्तै बढ्यो । यसरी कृषिकर्ममा भित्रिएको ‘नयाँ जमाना’ को रमझमबाहिरको अँध्यारोमुनि किसानहरूको जीवन पिल्सिँदै गएको छ । मुनाफाखोर प्रवृत्तिले खेतीलाई पनि छाडेन । किसानहरू त्यसको चंगुलमा फसिसकेका छन् । नयाँ प्रविधि, नयाँ बीउ, विदेशी मल र विषादीले खेत र खेतीको जीवनमा प्रतिकूल असर पारेको छ ।

नेपालमा औद्योगिक क्रान्ति आएन, कारखानाहरू खुल्दै र बन्द हुँदै गरे तर अठारौं शताब्दीको औद्योगिक क्रान्तिको समयमा जसरी बेलायतका गाउँगाउँ उजाड हुँदै गए, गाउँलेहरू सहरतिर ओइरिए, त्यसै गरी हाम्रा गाउँ–देहात रित्तिए । र, यो विकसित अर्थरचनाले, डेभिड ग्रेबरले ‘अकुपाई वालस्ट्रिट मुभमेन्ट’ का दौरान भनेझैं, ९९ प्रतिशत भर्सेज १ प्रतिशतको स्थिति निम्त्यायो । मुट्ठीभर मान्छेहरूले अहिलेका विकासको प्रतिफलमाथि कब्जा जमाए । आधुनिक खेती प्रणालीले मानिसको स्वास्थ्यलाई अहित गर्‍यो । पुँजीवादले किसानलाई टोक्यो ।अहिलेको कम्युनिस्ट सत्ताले किसानलाई झन् हेप्यो । त्यसैले नेपाललाई बचाउन पहिले खेती र गाउँहरू बचाउनु आवश्यक छ ।

विकासको अहिलेको परिभाषामाथि बहस चलाउन र नेपालका सबै कुनाबाट आवाज उठाउन अब ढिला गर्नु हुँदैन । छठले त्यो अवसर दिएको छ । छठले ‘स्थानीयता’ लाई सबल, सार्थक र सशक्त ढंगले उजागर गर्छ । यसले अहिंस्रक अर्थव्यवस्थाको रूपरेखा कोर्छ । खेती त मानिसको अहिंसातर्फको पहिलो यात्रा थियो । त्यसपूर्व आहार आखेटबाट प्राप्त हुन्थ्यो । रासायनिक खेतीमा हिंसा छ । छठमा यसको अहिंसात्मक अर्थस्वरूप, विभेदरहित प्रक्रिया र लोकपक्षको उपस्थितिमा अध्यात्म मात्र छैन, अर्थतन्त्रको दर्शन पनि छ । छठ यस्तो सामाजिक अनुष्ठानको अवसर हो जहाँ पानीमाथिको बलमिच्याइँमा रोक, प्रकृतिसँग साहचर्य गर्ने पथ र शपथ दुवै छ ।

छठ पूजा घाटमा ओर्लिएको भीड त्यस बखत नदीको जल प्रदूषित गर्नबाट जोगिन्छ । चोयाका नाङ्ला, टोकरी, माटाका भाँडाको साइनो ग्रामीण उद्यमसँग छ । उखु, कागती, सुठुनी, केरा, हल्दी, नरिवल, सिंगडा, अदुवाको पनि छठमा प्रयोग हुन्छ । गुड, चामल र गहुँको पीठोले बनेको ठेकुआ र कसार समाजको प्रत्येक वर्गसँग जोडिएको छ । जतिसुकै धनाढ्य होस्, कम्तीमा पाँच घरमा भिक्षाटन गरेर प्रसादको प्रबन्ध गर्ने परम्परामा पारस्परिकता लुकेको छ । लोकजीवनको यस बृहत् उत्सवका लागि जेजति सामग्री संकलन गरिन्छन्, ती सबै कृषिमा आधारित छन् । अर्थव्यवस्था एक सांस्थानिक र सांगठनिक प्रक्रिया हो, केवल वैयक्तिक आचरण होइन । के अहिंस्रक उत्पादन सम्बन्धका लागि अहिंस्रक उत्पादनशक्तिहरूको कुनै व्यावहारिक सम्भावना हुन सक्छ ? यसका लागि छठको अर्थ–मन्थन जरुरी छ । आखिर शुमाखरले ‘सानो नै सुन्दर’ आर्थिक परिकल्पनाभित्र जुन चतुर्सूत्री योजना प्रस्तुत गरेका छन्, छठको आर्थिक संसार पनि त्यही हो । स्थानीयताको संरक्षणलाई लिएर छठ पर्व एक सांस्कृतिक समाधानको नाम हो । स्थानीयता चिन्तनको सांस्कृतिक पक्षबारे यसले अवगत गराउँछ, जुन छठ अर्थतन्त्रको झिल्को हो ।

प्रकाशित : मंसिर ४, २०७७ ०८:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×