२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

हाम्रा पर्व, हाम्रा गौरव

कोरोना महामारीका कारण यस वर्ष पर्व मनाउने कतिपय तौरतरिकाहरू बदल्नुपरेको छ । चाड मनाउन किनमेलका लागि बजार निस्कँदा होस् या आपसमा रमाइलो गर्दा, स्वास्थ्य सावधानी अपनाउनु अनिवार्य छ ।
सम्पादकीय

प्रकृतिसित मानव सभ्यताले लगाएको मितेरीका चिनो हुन्– ऋतुहरूसँगै आउने हाम्रा चाडबाडहरू । जब वर्षा बगेर शरद झुल्कन्छ, अनि आउँछ मुलुकमा विशेष पर्वको याम । दुई साताअघि देशकै ठूलो चाड दसैं मनाएका हाम्रो घरआँगनमा अहिले दोस्रो प्रमुख चाड तिहार छ । र, साथै मनाइँदै छ म्ह पूजा र नेपाल संवत् । अनि, यसै सप्ताहान्तमा गरिन्छ छठ पूजा पनि ।

हाम्रा पर्व, हाम्रा गौरव

यो बेला प्रकृति जसरी सुन्दर छ, त्यसैगरी उत्सवमय छन् यी दिनहरू, यी पर्वहरू । अहिले कोरोना भाइरसको महामारीका कारण सचेत र सावधान हुनुपरेको किन नहोस्, यी चाडहरूले ल्याएको उल्लास बेग्लै छ । आम रौनक विगतमा जस्तै नभए पनि यी पर्वहरूको महत्त्व उत्तिकै छ ।

तिहार भनेकै झिलिमिली । प्रकृतिले दिएको फूलको झिलिमली, मान्छेले थपेको बत्तीको झिलिमिली । कोठा–चोटा, आँगन र चोक सिँगारेर घरघरमा मनाइँदै छ, यो उज्यालोको उत्सव । यो चाडबारे प्रचलित किंवदन्तीहरूको आफ्नै अर्थ भए पनि यसमा हामी मानव इतिहास, सभ्यता र प्रकृतिकोविशेष सम्बन्ध भेट्छौं । तिहार अर्थात् यमपञ्चकका पाँचै दिनका खास अर्थ छन् । यी दिनहरूमा काग, कुकुर, गाई र गोरु पुज्नुको आ–आफ्नै सन्देश छन् । मानव जातिले आफ्नो सभ्यताक्रममा सहयात्रीहरू बनेका पन्छी–जनावरहरूलाई सम्झिने खास अवसर हो यो ।

युगौंदेखि आफ्नो सुरक्षा दिइरहेको र साथी बनिरहेको कुकुर र आदिम पेसा कृषि कर्ममा सघाएका गोरु र गाईलाई वर्षको एक दिन भए पनि विशेष रूपमा यसरी सम्झनु मानव जातिले आफू हिँडेका पाइलाहरू नभुल्नु पनि हो । कृषि पेसासित मात्र होइन, धन–व्यापारसित पनि तिहारको साइनो छ । धनकी प्रतीक लक्ष्मीको पूजा गरिनु यसको दृष्टान्त हो । साथै, भाइटीकाका दिन दाजुभाइलाई दिदीबहिनीले टीका लगाइदिई दीर्घायुको कामना गर्नु, आपसी आत्मीयता अझ बलियो बनाउनु हो । त्यस्तै, यस पर्वको अवसरमा खेलिने देउसी–भैलो नेपालीको एउटा विशिष्ट सांस्कृतिक चिनारी हो, भलै यो वर्ष महामारीका कारण देउसी–भैलो खेल्ने अवस्था छैन ।

तिहारकै बीचमा सुरु हुन्छ, हाम्रो एउटा मौलिक संवत्को नयाँ वर्ष । नेपाल संवत् ११४१ आजैबाट सुरु भएको छ । विक्रम संवत् ९३७ मा आजको दिन व्यापारी शंखधर साख्वाःले चलाएका हुन् यो संवत् । र, यही नयाँ वर्षको पहिलो दिन विशेषगरी नेवार समुदायले आफ्नो शरीरको पूजा गर्छन् । यसपालि स्थानविशेषअनुसार यो चाड एक दिन अघिपछि पनि मनाइँदै छ । यो म्ह पूजाको संस्कृति आफैंमा विशिष्ट छ । आफूभित्रको लोभ, मोह, तृष्णा, लालसा आदिलाई त्यागेर सबै प्राणीको उद्धार गर्न सकौं भनेर यो पूजा गरिन्छ । मानिसमा असल वा खराब पक्ष आफैंमा अन्तर्निहित हुन्छ भन्ने सन्देश यसले दिन्छ । म्ह पूजाको दिन बौद्ध र हिन्दु नेवारले फरक–फरक तवरले पूजा गरे पनि दुवैको मूल आशय त्याग र दानशीलताको भावना नै हो ।

यस्तै, बिस्तारै पहाड पनि उक्लँदै गरेको, विशेषगरी तराईमा धुमधामसित मनाइने छठ आस्था र सहअस्तित्वको पर्व हो । यो चाडले पनि प्रकृतिसित मानव सम्बन्ध झल्काउँछ । नदी, तलाउ तथा पोखरीमा बसेर सूर्यको पूजा गर्नु भनेकै प्रकृति र मानिसलाई जोड्नु हो । वर्षायाममा हिलोमैलो बनेका ताल, तलाउ र पोखरीहरू यसै अवसरमा सफा गरिन्छन् र सिँगारिन्छन् । मानव जीवनका लागि अत्यावश्यक सूर्य शक्ति र जलशक्ति दुवैप्रति सम्मान प्रकट गर्ने यो पर्व आफैंमा खास छ ।

समावेशिता र भाइचाराको पर्व पनि हो छठ । एकातिर, सबै जात, धर्म र क्षेत्रका मानिस सँगसँगै बसेर सूर्यको अर्घ्य दिन्छन् भने अर्कातिर केही अघिसम्म मधेसी समुदायले मात्र मनाउने यो पर्वले हिजोआज पहाडमा पनि रौनक ल्याउन थालेको छ । पछिल्ला सालहरूमा यो अवसरमा काठमाडौंका जलाशयहरू भव्य तवरले सिँगारिनु र त्यहाँ के मधेसी, के पहाडी सबै सहभागी हुनु र रमाउनु यसैको द्योतक हो । यस हिसाबले मानव एकताको सेतु बन्दै गएको यो पर्वले हामीलाई पारस्परिक प्रेम, सद्भाव र सहअस्तित्व सिकाइरहेको छ ।

कोरोना महामारीका कारण यो वर्ष यी पर्व मनाउने कतिपय तौरतरिकाहरू बदल्नुपरेको छ । चाड मनाउन किनमेलका लागि बजार निस्कँदा होस् या आपसमा रमाइलो गर्दा, स्वास्थ्य सावधानी अपनाउनु अनिवार्य छ । देउसीभैलो, समूहमा भाइटीका र जलाशयमा समूहमै छठ त यो वर्ष सम्भव छैन । आफन्तबीचकै जमघटमा पनि मास्क पहिरिन र व्यक्तिगत दूरी कायम राख्न भुल्नु हुँदैन । पर्व फेरिफेरि पनि आउँछ, यसापालि स्वस्थ रहन सक्यौं भने भव्य रूपमा चाड मनाउन अर्को पटक पाइन्छ । सानो हेलचेक्र्याइँले ठूलो जोखिम निम्त्याउन सक्छ, त्यसप्रति सचेत बन्नुपर्छ । संक्रमण सर्नबाट जोगिनु नै सबैभन्दा उत्तम हुन्छ । हामी जति सावधानीपूर्वक यी पर्व मनाउँछौं, त्यति नै आफू सुरक्षित भएको आत्मविश्वासका कारण बढी आनन्दित पनि हुन सक्छौं । त्यसैले, यसपालि होसियारीका साथ आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै चाड मनाऔं । हाम्रोतर्फबाट सबैलाई तिहार, नेपाल संवत्, म्ह पूजा र छठको हार्दिक मंगलमय शुभकामना !

प्रकाशित : कार्तिक ३०, २०७७ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?