तिहार : समन्वयकारी पर्व

तिहार बिस्तारै ‘लोकोत्सव’ बाट ‘कृषि–उत्सव’ बन्दै धर्मसँग पनि जोडिँदै गयो ।
निर्मला पोखरेल

नेपालमा मनाइने विभिन्न चाडपर्व, जात्रा एवं उत्सवहरू पौराणिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक र लौकिक मान्यता, किंवदन्ती, परम्परा, ऋतु, कृषि, प्रकृति एवं तन्त्रसँगसमेत निकट छन् । तिहार तिनै पर्वमध्ये एक हो । वसन्त पञ्चमीजस्तै यो ऋतु परिवर्तनको सूचक पर्व पनि हो । ऋतुहरूमा शरद्ऋतुको विशेष महत्त्व छ । त्यसैले ‘जीवेम शरदः शतम्’ भनी सयौं शरद्सम्म बाँच्ने चाहना गरिन्छ ।

तिहार : समन्वयकारी पर्व

पौराणिक कथनअनुसार, दानवराज बलिको दानशीलताबाट प्रसन्न भएर भगवान् विष्णुले बलिलाई सुतल नामक लोकको राजा बनाए । विष्णु सुतलमा आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना बलिकहाँ बस्ने तथा कार्तिक कृष्ण पक्षका अन्तिम पाँच दिन बलिले तीनै लोकको राज्य भोग गर्नसमेत पाउने वरदान पनि दिए । यी पाँच दिन बलिको राज्यलाई मान्छे र देवताका राज्यभन्दा विशेष देखाउन यो अवधिभर घर, गोठ, मन्दिर, मुख्य बाटाघाटामा दीपावली गर्नुपर्ने र यो कार्यले लक्ष्मी खुसी भएर दीपावलीको उत्सव मनाउने घरमा बस्नुपर्ने, यमराज पनि खुसी हुने वर पनि पाए । यही समयदेखि प्रतिवर्ष तिहारका यी पाँच दिन दीपावली र लक्ष्मीपूजाको प्रथा चलेको मानिन्छ । त्यो अवधिमा यमराजलगायत इन्द्रादि देवताले बलिलाई राज्य छोड्नुपर्ने हुँदा यमराज ती दिन बहिनी यमुनाकहाँ व्यतीत गर्न गए । आतिथ्यबाट प्रसन्न भएका यमले बिदा हुने दिन बहिनीबाट टीका ग्रहण गरे र बहिनीलाई पनि वस्त्र र आभूषणहरू दिए । जनमानसले पनि यसो गरे दाजुभाइको कीर्ति, आयु एवं धनधान्य वृद्धि हुने र दिदीबहिनीका घरमा पनि सौभाग्य र सुखशान्ति हुने वरदान बहिनीलाई दिई यम बिदा भए । यही समयदेखि भाइटीकाको सुरुआत गरिएको र यिनै कथाका आधारमा तिहारलाई ‘यमपञ्चक’ भनिएको मानिन्छ ।

तिहार समयसँगै ‘लोकोत्सव’ बाट ‘कृषि–उत्सव’ बन्दै धर्मसँग पनि जोडिँदै गयो । सम्पूर्ण प्राणीसहित प्रकृतिमा सदैव स्नेह, समानता र परस्परको हित–चिन्तनका लागि अभिप्रेरित भएर एकताको सन्देश दिँदै धर्तीको हरेक कुरासँग सहजीवनका लागि प्रयत्नशील रहनुपर्ने सन्देश यो पर्वले बोकेको छ । यो अवसरमा देवी, देवता, मानव, दानव, पशु, पन्छी, प्रकृतिसहित भौतिक पदार्थहरू सुन, चाँदी, रुपैयाँ, पैसा र भाँडाकुँडालाई समेत देवी लक्ष्मीको प्रतीक मानी पूजा गरिन्छ । पहाडी भेगतिर कतैकतै हलोको पनि पूजा गर्ने परम्परा छ । भौतिक पदार्थहरूको पनि यसरी विशेष रूपमा पूजा–अर्चना हुने हुनाले तिहारलाई भौतिक उपासनायुक्त विशेष पर्वका रूपमा लिइन्छ । कार्तिक कृष्ण त्रयोदशीको दिनदेखि, चतुर्दशी, औंसी, प्रतिपदा र द्वितीयासम्म पाँच दिनसम्म पूजाको क्रम यस्तो छ–

कागतिहार : काकभुशुण्डीजस्ता ज्ञानीको जन्म काग जातिमा भएको थियो । एउटा मात्र आँखाको नानी भएको कागले सबैलाई एउटै दृष्टिले हेर्ने मान्यता छ । त्यसैले काकन्याय प्रसिद्ध छ । काग यमराजको प्रिय भक्त र दूत पनि हो । कागलाई तान्त्रिक विधिबाट पूजा गरी भोग (खाना) दिनुपर्छ । पूजा सामग्रीमा फूल, अक्षता, अबिर, दाल, भात, तरकारी र फलफूलका साथमा लावा हुनुपर्छ । सूर्योदयअगावै भुइँमै सफा ठाउँमा राखेर कागलाई बलि (खाना) दिनुपर्ने शास्त्रीय मान्यता छ, जसमा तान्त्रिक रहस्य छ । त्यसैले पातमा या कुनै पनि भाँडामा राखेर दिनु वर्जित मानिन्छ ।

कुकुर तिहार : पौराणिक कथनअनुसार कुकुर वैवस्वत कुलमा जन्मेको हो । यसको सम्बन्ध भगवान् सूर्यसँग पनि छ । कुकुरको उत्पत्ति सूर्यको कुलमा भएको मान्यता पनि छ । कुकुर पनि यमराजको दूत हो । कुकुर तान्त्रिक देवता भैरवको वाहन भएकाले अभीष्ट सिद्धिका लागि भैरवसँगै यसको पनि पूजा गरिन्छ । नेवारी समुदायमा कुकुरलाई पूजा गरी माला तथा जजङ्कासमेत पहिर्‍याइन्छ र भोजनका रूपमा तान्त्रिक पूजामा र भोजमा प्रयोग हुने समयवजी र मासु दिइन्छ ।

गाई तिहार/लक्ष्मीपूजा : वेदमा गाईको विश्वरूपको उल्लेख पाइन्छ (एतद् विश्वरूपं सर्वरूपं गोरूपम्) । शास्त्रहरूमा गोसेवाबाट लक्ष्मी प्राप्त हुने उल्लेख छ । यसै दिन साँझ लक्ष्मीको पूजा गरिन्छ । कार्तिक कृष्ण अमावस्याको रात्रि सौभाग्य र सम्पन्नताकी प्रतीक लक्ष्मी धरतीमा झर्छिन् भनी घर–आँगनका कुनाकानी सरसफाइ गरी दियो, बत्ती आदि बालेर चारैतिर उज्यालो बनाई उनलाई आमन्त्रण गरिन्छ । साँझ वैदिक मन्त्र तथा लक्ष्मीस्तोत्रहरू उच्चारण गरी पूजाअर्चना गरिन्छ । बलि राजाले लक्ष्मीलाई धनधान्यका खातिर अपहरण गरेको र विष्णुले युक्तिपूर्वक छुटाएको, विष्णुले तारकासुर दैत्यको वध गरेको, राम वनवासबाट अयोध्या फर्किएको यही दिन मानिन्छ र दीपावली गरिन्छ । जनै पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र यो दिन गाईको पुच्छरमा बाँधेमा मृत्युपछि गाईले रक्षा गर्ने धार्मिक विश्वाससमेत छ ।

गोरु तिहार/गोवर्द्धन पूजा : गोरु पूजा र गोवर्द्धन पूजा कृषिकर्मसँग सम्बन्धित छ । द्वापर युगमा भगवान् कृष्णले इन्द्रको सट्टामा वर्षाका कारण बनेको, रूखबिरुवाले हराभरा भएको गोवर्द्धन पर्वतको पूजा गर्ने परम्परा प्रारम्भ गरेको उल्लेख भागवत महापुराणमा पाइन्छ । गोवर्द्धन पूजाका क्रममा दीप, कलश र गणेशको पूजापछि क्रमशः बलराम, नन्द, यशोदा, गोपालहरू र गोकुलवासीहरूको पूजा गरी गाईको गोबरबाट निर्मित गोवर्द्धन (गोवर्द्धन पर्वतको प्रतीक) को पूजा गर्नुपर्छ । तराईतिर कतैकतै बलि राजाको चित्र बनाएर र पहाडतिर सुपारी वा नरिवलको प्रतिमा थापेर पूजा गर्ने परम्परा छ । यही दिन नेवारी समाजमा ‘म्हः पूजा’ भनी स्वपूजा पनि गरिन्छ । तन्त्रशास्त्रमा आत्मपूजालाई ठूलो महत्त्व दिँदै भनिएको छ– ‘स्वात्मैव देवता प्रोक्ता ललिता विश्वविग्रहा’ अर्थात् आफैंलाई ईश्वर मानेर स्वदेवताको पूजा गर्नु ।

भाइ तिहार : भ्रातृ द्वितीया/यम द्वितीयाका दिन आफ्ना दाजुलाई यमराज र भाइलाई चित्रगुप्तको स्वरूप मानी पूजा गरिन्छ । ‘भ्रातृ’ शब्द दाजु र भाइ दुवैलाई लाग्ने भएकाले दिदीले भाइलाई र बहिनीले दाजुलाई पूजा गर्ने परम्परा छ । ज्योतिषतन्त्रमा भनिएको छ— आत्मपूजा गरेझैं दाजुभाइको पूजा गर्नु र दिदीबहिनीको हातबाट पुष्टिवर्द्धक चीजहरू खानू । पूजाका क्रममा तिलको तेलको मण्डलाकार मण्डप बनाएर, यही तेलले दाजुभाइलाई छेकी ओखर आदि फलफूल प्रदान गरी, ‘ग्वेस्वाँ’ (मखमली फूल) को माला पहिर्‍याउने चलन छ । भाइटीकाको प्रचलनको आध्यात्मिक कारण देखाइए पनि यसको आशय भाइबहिनीबीच प्रगाढ सम्बन्ध रहिरहोस् भन्ने नै हो । शास्त्रहरूमा दिदीबहिनीलाई दयाको मूर्ति मान्दै ‘दयायाः भगिनी मूर्ति’ भनिएको छ । समय र परिस्थिति मुताबिक अरू चीजझैं चाडपर्वमा पनि स्वाभाविक परिवर्तन हुन्छ । तर यसको मर्मलाई बुझ्न सक्नुपर्छ । प्रकृतिको संरचना र सन्तुलन नबिगार्ने, संसारका सबै प्राणीसहित वस्तुहरूमा ईश्वरीय स्वरूप देख्ने, लौकिक जीवनमा उपयोगी वस्तुलाई सम्मान गर्ने, लोक–कल्याणका लागि प्रेरित रहने लगायतका अनेकौं समन्वयात्मक सन्देशहरू तिहारले बोकेको छ ।

(पोखरेल संस्कृतिविद् हुन् ।)

प्रकाशित : कार्तिक २८, २०७७ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?