मधुमेह र आँखा- विचार - कान्तिपुर समाचार

मधुमेह र आँखा

रबा थापा

मधुमेह संसारभर नै एउटा विकराल स्वास्थ्य समस्या बन्दै गएको छ । मधुमेहलाई नसर्ने रोग समूहमध्ये प्रमुख मानिन्छ । हाल संसारभर करिब ४६ करोड ३० लाख वयस्क मधुमेहका बिरामी छन्, जुन सन् २०३० मा ५७ करोड ८० लाख र सन् २०४५ मा ७० करोड पुग्ने अनुमान छ ।

विकसित मुलुकहरूमा मधुमेह र यसका शारीरिक जटिलताबाट हुने धनजनको विनाशलाई निकै नियन्त्रणमा राखिए पनि अल्पविकसित देशहरूमा मधुमेह रोगीको संख्या निकै बढेको र भविष्यमा एक विकराल अवस्था आउन सक्ने अनुमान छ । मधुमेह र यसबाट हुने जटिलताहरूको ८० प्रतिशतभन्दा बढी असर विकासोन्मुख देशमा पर्ने गरेको छ ।

नेपालमा पछिल्ला वर्षहरूमा मधुमेह रोगीको संख्या निकै बढेको छ । सहरी क्षेत्रहरूमा मधुमेह चुनौतीकै रूपमा देखिएको छ । बढ्दो सहरीकरणसहित व्यस्त जीवनशैलीका कारण शारीरिक व्यायामको कमी, तनाव र खानपिनमा आएको परिवर्तन नै यसको प्रमुख कारण मानिएको छ । ४० वर्षभन्दा माथिको उमेर समूहमा प्रायः देखिने यो रोग अचेल जुनसुकै उमेर र लिंगमा हुने गरेको छ । मधुमेह वंशानुगत रूपमा पनि हुने भएकाले आमाबुबा, दाजुभाइलाई मधुमेह भएमा अन्य परिवारजनले समयमै परहेज गर्नुपर्ने हुन्छ । मधुमेहले आँखा, मृगौला, मुटु, नसा र खुट्टामा बढी असर गर्छ ।

मधुमेहबाट आँखामा असर

मधुमेहका बिरामीमा अन्यका तुलनामा आँखाको असर दुई गुणा बढी र दृष्टिविहीन हुने सम्भावना पच्चीसौं गुणा बढी हुन्छ । मधुमेहका कारण आँखाको जुनसुकै भागमा असर देखिन सक्छ । मुख्य असर चाहिँ आँखाको पर्दा (रेटिना) मा हुने गर्छ, जसलाई डाइबेटिक रेटिनोपेथी भनिन्छ । डाइबेटिक रेटिनोपेथीमा मधुमेहले खास गरी रक्तनसाहरूमा असर गरी पर्दामा रक्तस्राव हुने, चिल्लो पदार्थ जम्मा हुने, सुन्निने जस्ता समस्या हुन्छन् । पछिपछि रक्तसञ्चारमा कमी हुन गई पर्दा खुम्चने, आँखाभित्र अत्यधिक रक्तस्राव हुने र अन्त्यमा जलविन्दुको समस्या देखा पर्ने हुन सक्छ । यही कारण मधुमेहका रोगीहरूले आँखा कम्ती देख्ने गर्छन् । समयमा रोग पहिचान गरी उपचार गर्न सके मधुमेहबाट हुने दृष्टिविहीनताबाट पूर्ण रूपमा बच्न सकिन्छ । उपचारमा ढिलाइ भए दृष्टि जोगाउन प्रायः सकिँदैन । मधुमेहका कारण मोतीविन्दु पनि हुन सक्छ ।

डाइबेटिक रेटिनोपेथी हुने अवस्था

मधुमेहका बिरामीमध्ये करिब एकतिहाइलाई डाइबेटिक रेटिनोपेथीको समस्या हुने गर्छ । यस्ता बिरामीमध्ये एकतिहाइलाई तुरुन्तै आँखाको उपचार चाहिन्छ । मधुमेह रोग पुरानो हुँदै जाँदा जोखिम पनि बढ्दै जान्छ । मधुमेह भएको दस वर्षमा करिब आधा र बीस वर्षमा करिब दुईतिहाइ दोस्रो प्रकारको मधुमेह र पहिलो प्रकारको मधुमेहका प्रायः बिरामीलाई डाइबेटिक रेटिनोपेथीको समस्या भएको पाइन्छ । मधुमेहका बिरामीमध्ये रगतमा चिनीको मात्रा नियन्त्रण नहुने, उच्च रक्तचाप र चिल्लो पदार्थको अधिकता, रक्तअल्पता, मृगौलामा समस्या भएका र चुरोट खाने व्यक्तिहरूलाई डाइबेटिक रेटिनोपेथी बढी देखिन्छ । डाइबेटिक रेटिनोपेथी भए पनि बिरामीलाई सुरुमा कुनै लक्षण हुँदैन । रोग गम्भीर अवस्थामा गएपछि मात्र आँखा देख्नमा कमी हुने, आँखाअगाडि छाया देखा पर्ने हुन सक्छ । तर रोग गम्भीर अवस्थामा पुगेपछि उपचारपश्चात् पनि राम्रो दृष्टि फर्काउन सकिँदैन । डाइबेटिक रेटिनोपेथीका कारण हुन सक्ने अन्धोपनबाट बच्ने उपाय हुन्– १. मधुमेहको समयमै पहिचान गर्ने, २. पहिचान हुनासाथ कम्तीमा वर्षको एक पटक आँखाको पर्दा परीक्षण गराउने, ३. पर्दामा असर छ भने नेत्र चिकित्सकको सल्लाहबमोजिम आँखाको परीक्षण तथा उपचार गराउने, ४. रगतमा ग्लुकोजको मात्रा सधैं नियन्त्रणमा राख्ने, ५. उच्च रक्तचाप, रगतमा चिल्लो पदार्थको अधिकता, मृगौलाको समस्या र रक्तअल्पताको समस्याको समयमै उपचार गराउने र नियन्त्रणमा राख्ने, ६. मधुमेह भएका गर्भवती महिलाले कम्तीमा पनि तीन महिनामा एकपटक आँखाको पर्दा परीक्षण गराउने ।

आवश्यक उपचार

लेजर उपचार विधि समयमै गर्न सके मधुमेहबाट हुने डाइबेटिक रेटिनोपेथीको अन्धोपनबाट बच्न सकिन्छ । रोगको गम्भीरताअनुसार आँखाभित्र विशेष प्रकारको सुई तथा शल्यक्रियाद्वारा उपचार गर्नुपर्ने हुन्छ । नियमित आँखा परीक्षण गर्दा डाइबेटिक रेटिनोपेथीको पहिचान समयमै भई धेरै हदसम्म यसबाट हुने अन्धोपना तथा अन्य समस्याबाट बच्न सकिन्छ । अन्तर्राष्ट्रिय मधुमेह महासंघको आह्वानमा सन् १९९१ देखि नोभेम्बर १४ लाई मधुमेह र यसले पार्ने शारीरिक जटिलतासम्बन्धी जानकारी बढाउने उद्देश्यले विश्व मधुमेह दिवसका रूपमा संसारभर नै मनाउँदै आइएको छ । यस वर्ष मधुमेह परामर्शदाताको भूमिकासहित नर्सले मधुमेहको बचावट र उपचारमा पुर्‍याउन सक्ने योगदानलाई प्राथमिकता दिइएको छ । बढ्दो मधुमेहसँगै नेपालमा पनि मधुमेह परामर्शदाताहरूको संख्या बढाई अधिकतम जनसमुदायमा जानकारी पुर्‍याउनु अपरिहार्य देखिएको छ । समयमै मधुमेहसम्बन्धी सही जानकारी पाएमा उपयुक्त बचावटका उपायहरूद्वारा मधुमेहले पार्ने शारीरिक जटिलताहरूबाट धेरै हदसम्म बच्न सकिन्छ ।

(थापा नेत्ररोग तथा रेटिना विशेषज्ञ हुन् ।)

प्रकाशित : कार्तिक २७, २०७७ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्

कोभिड–१९ बाट आँखाको सुरक्षा

दृष्टिमा एक्कासि कमी भए, नानी र टाउको दुखे, उल्टी आए, आँखा निकै रातो भए, उज्यालोमा हेर्न अप्ठेरो भए, आँखाअगाडि एक्कासि धेरै छाया आए, एउटा वस्तुलाई दुइटा वा सीधालाई बांगो देखे तुरुन्त आँखा अस्पताल जानुपर्छ ।
रबा थापा

कोभिड–१९ ले नेपाललाई पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा निकै प्रभाव पारिरहेकै छ । सजिलै सर्ने यो रोग आँखाका माध्यमबाट पनि एक व्यक्तिबाट अर्कामा जाने सम्भावना धेरै हुन्छ ।

आँखामा कोरोना लक्षण

कोभिड–१९ का संक्रमितमा देखिने आँखाका प्रमुख समस्या हुन्— आँखा रातो हुनु, रसिलो हुनु, आँसु बग्नु, आँखामा चिप्रा/कचेरा आउनु । कुनैकुनै संक्रमितमा आँखाको भित्री भाग रेटिनामा असर भई रक्तस्राव भएको समेत पाइएको छ ।

कोभिड–१९ बाट एउटा मात्रै वा दुइटै आँखामा असर पर्न सक्छ । हालसम्मको अध्ययनअनुसार, करिब एक प्रतिशतदेखि एकतिहाइसम्म संक्रमितका आँखामा असर परेको देखिएको छ । आँसु र चिप्रामा पनि कोरोना भाइरस पाइएको छ । केही संक्रमितमा पहिलो लक्षणका रूपमा आँखा रातो हुने गरेको छ । तत्पश्चात् बिस्तारै ज्वरो आउने, धेरै कमजोरी महसुस हुने र सास फेर्न गाह्र्रो हुने गरेको पनि पाइएको छ । धेरैजसो संक्रमितमा कोभिड–१९ को कुनै पनि लक्षण नदेखिने हुँदा र आँखामा कोरोना भाइरस हुन सक्ने सम्भावना भएको हुँदा आँखाबाट पनि सजिलै संक्रमण हुने अनुमान गर्न सकिन्छ ।

बचावटका उपाय

आँखाबाट कोभिड–१९ नसरोस् भन्नका लागि भौतिक दूरी कायम गर्नु अत्यन्त महत्त्वपूर्ण छ । यसका अलावा हातले आँखा, नाक, मुख र कानमा सकभर छुन हुन्न । छुनैपर्ने अवस्था आए साबुनपानीले कम्तीमा पनि २० सेकेन्डसम्म हात धुनुपर्छ अथवा गुणस्तरीय स्यानिटाइजरको प्रयोग गर्नुपर्छ । हातले अत्यावश्यकबाहेक अन्य ठाउँमा छुनु हुँदैन । समयसमयमा साबुनपानीले हात धोइरहनुपर्छ । यसका अलावा गुणस्तरीय मास्कको प्रयोग, घरबाहिर निस्कँदा आँखा राम्रोसँग छोपिने खालको चस्मा प्रयोग गर्नु राम्रो हुन्छ ।

आँखाका बिरामीबाट नेत्र चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोभिड–१९ को संक्रमण भएको र जीवनसमेत गुमाउनुपरेको तथ्य सर्वविदितै छ । यसर्थ नेत्र चिकित्सक, स्वास्थ्यकर्मीसहित संक्रमितको प्रत्यक्ष सम्पर्कमा आउनुपर्ने व्यक्तिहरूले पीपीई र पन्जाको प्रयोग गर्दै फेससिल्ड लगाएर आँखा जाँच्ने मेसिनमा समेत बचावटी कवचको उपयोग गर्नु अत्यन्त आवश्यक छ । शल्यक्रिया गर्नुपर्ने बिरामीको पीसीआर जाँच गरी संक्रमण भए–नभएको पहिचानपछि मात्र उपचार गर्दा यो रोग नियन्त्रणमा ठूलो सहयोग मिल्न सक्छ ।लक्षणबिनाका धेरै बिरामी हुने हुँदा र कोरोना भाइरसको पहिचानको दायरा सीमित भएकाले हामी जोकोही पनि संक्रमित हुन सक्छौं भन्ने यथार्थ बुझ्नुपर्छ । यसर्थ आवश्यक बचावटका उपायहरू सबै जनाले अवलम्बन गर्नैपर्छ ।

आँखा रातो भएको व्यक्तिले तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी यसको वास्तविक कारण पत्ता लगाउनुका साथै उपचार गराउनुपर्छ । प्रत्येक स्वास्थ्य संस्थामा आँखा रातो भएका व्यक्तिलाई छुट्टै व्यवस्थापन गरी उपचार गराउँदा अन्यलाई कोरोना भाइरस सर्नबाट धेरै हदसम्म बचाउन सकिन्छ । पूर्ण सावधानी अपनाउन सकेका खण्डमा आँखाबाट सर्न सक्ने संक्रमणबाट हामी बच्न सक्छौं ।

तुरुन्त उपचार आवश्यक पर्ने समस्या

कोरोना महामारीको अवधिमा अत्यावश्यक व्यक्ति मात्र आँखा अस्पताल जानु उत्तम हुन्छ । यसबाट भीडभाडमा कमी हुन गई संक्रमण नफैलन तथा आफू पनि बच्न सहयोग पुग्छ । कुनै पनि व्यक्तिको एक अथवा दुवै आँखाको दृष्टिमा एक्कासि कमी भएमा, आँखा देख्न कम भएसँगै आँखाको नानी दुख्ने, टाउको दुख्ने तथा उल्टी आएमा, आँखा निकै रातो भएमा, उज्यालोमा हेर्न अप्ठेरो भएमा, एक्कासि आँखाअगाडि धेरै छाया आएमा, रातको समयमा आँखाबाट उज्यालो प्रकाश आएको आभास भएमा, एउटा वस्तुलाई दुइटा वा सीधा वस्तु बांगो देखेमा तुरुन्त आँखा अस्पतालमा सम्पर्क गर्नुपर्छ । हालसालै आँखाको शल्यक्रिया गरेका बिरामी र त्यस्ता बिरामीमा एक्कासि आँखा दुख्ने भएमा, दृष्टि कमजोर हुन थालेमा र आँखा रातो भएमा पनि अस्पताल गइहाल्नुपर्छ ।

आँखामा चोटपटक लागेमा र बाहिरी वस्तु परेको शंका लागेमा तुरुन्त परीक्षण गराउनुपर्छ । आँखामा रासायनिक पदार्थ परेमा कम्तीमा पनि आधा घण्टासम्म सफा पानीले आँखा धोई तुरुन्तै अस्पताल जानुपर्छ । उपर्युक्त लक्षण भएका व्यक्तिमा आँखाको जटिल समस्या हुन सक्ने भएकाले तुरुन्त उपचार गराउनुपर्छ । यसो गरे दृष्टि जोगाउन सकिन्छ । ढिलो भए राम्रो दृष्टि बचाउन सकिने सम्भावना निकै कम हुन्छ ।

आँखाको शल्यक्रियापश्चात् नियमित लगाउनुपर्ने औषधि तोकेको अवधिसम्म प्रयोग गर्नुपर्छ । आँखाको विशेष रोगका छोड्न नमिल्ने औषधिहरू (जस्तै— जलविन्दु रोगका लागि प्रयोग भैरहेका औषधिहरू) नेत्र चिकित्सकको सल्लाहबिना रोक्नु हुँदैन । कोरोना महामारीको यो समयमा आँखा बचाउने सर्वोत्तम उपाय व्यक्तिगत सावधानी नै हो । यसबारे सचेत रहन सके आफ्नो दृष्टि पनि बचाउन सकिन्छ ।

(थापा नेत्ररोग विशेषज्ञ हुन् ।)

प्रकाशित : जेष्ठ ३०, २०७७ १०:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×