२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

जनक्रान्तिमा इमानदारीको मूल्य

मातृका बाबुलाई लागेछ– अब झारेपछि होटलतिर लगिन्छ, त्यहाँ पुगेर रात्रिको खाना खाई आराम गरिन्छ । साथीहरूसहित आएका सूर्यप्रसाद उपाध्यायलाई उहाँहरूसँग भेट्नै दिइएनछ । त्यसपछि मात्र उहाँहरूलाई आफू गिरफ्तारीमा परेको हेक्का भएछ ।
रामचन्द्र पोखरेल

क्रान्तिकारीहरूको देशव्यापी संघर्ष छेड्ने उद्देश्ले २००७ असोज ७ (२६ सेप्टेम्बर १९५०) मा बोलाइएको बैरगनिया सम्मेलनले तीनवटा महत्त्वपूर्ण निर्णय लियो– नेपाली कांग्रेस पार्टी भारतीय भूमिमा नभई नेपालभित्रैबाट सञ्चालन गरिने, जनक्रान्तिसम्बन्धी महत्त्वपूर्ण निर्णय लिन मातृका, बीपी र सुवर्ण रहेको ‘सुप्रिम कमान्ड काउन्सिल’ लाई अधिकार दिने, सम्पूर्ण जनक्रान्ति सञ्चालनका लागि नेपाली कांग्रेसका सभापति मातृकाप्रसाद कोइरालालाई ‘डिक्टेटर’ बनाउने ।

जनक्रान्तिमा इमानदारीको मूल्य

बैरगनिया सम्मेलनको उक्त निर्णयसँगै नेपाली कांग्रेसको बनारसमा रहेको हेडक्वार्टर बन्द गरी साइनबोर्डसमेत हटाइयो र सीमावर्ती भारतीय भूमिमा रहेका सबै कार्यालयसमेत बन्द गरिए । सम्पूर्ण गतिविधिको केन्द्र देशभित्रै सारियो । यसो गर्नुका पछाडि सशस्त्र क्रान्तिको घोषणा थियो । किनभने अन्तर्राष्ट्रिय मर्यादा र कानुनअनुसार हतियारबद्ध भएर अर्काको मुलुकमा पस्न सकिँदैनथ्यो ।

त्यसैबीच कात्तिक २१ गते कागतिहारका दिन बिहान सात पैंतालीसमा राजा त्रिभुवन सपरिवार भारतीय दूतावासमा शरण लिन पुगे । कात्तिक २५ गते अल इन्डिया रेडियोले ‘भोलि इन्डियन एयर फोर्सको विमानद्वारा नेपालका महाराजाधिराज दिल्ली आउँदै छन्’ भन्ने समाचार प्रसारण गर्‍यो । यस समाचारले ठूलो सनसनी पैदा गर्‍यो । यसै विषयलाई लिएर क्रान्तिकारीहरूको सुप्रिम कमान्ड काउन्सिलको आकस्मिक बैठक बोलाइयो, जसमा राजाले नेपाली भूमि छोड्नुअघि नै जनक्रान्तिको घोषणा गर्ने निर्णय लिइयो ।

त्यसै निर्णयअनुसार नेपाली कांग्रेसको मुक्ति सेना कात्तिक २६ को मध्यरात (१०–११ नोभेम्बर १९५०) को ‘शून्य’ घडीमा वीरगन्ज प्रवेश गर्‍यो । रक्सौलबाट दुई ट्रकमा बसेर वीरगन्ज प्रवेश गरेको मुक्ति सेना मेजर पूर्णसिंह खवासको कमान्डमा रेलको लिकैलिक ब्यारेक कब्जा गर्न उत्तरतर्फ बढ्यो । बाटामा पर्ने चौकी कब्जा गरी हातहतियार हात पार्‍यो । र सैनिक ब्यारेकमाथि आक्रमण गर्‍यो । थिरबम मल्ल नेतृत्वको अर्को टोलीले बडाहाकिमलाई आत्मसमर्पण गराई जेललगायत सम्पूर्ण वीरगन्ज कब्जामा लियो । बिहान सूर्योदयको समयमा शान्ति–सुव्यवस्थाका लागि रेलको लिकतिर यताउता गर्दा टाढैबाट राणा सिपाहीले हानेको गोली पेट र टाउकामा लागी थिरबम मल्ल ढले । उनलाई तत्काल डंकन अस्पताल, रक्सौल लगियो । उपचार गर्दागर्दै केही घण्टापछि उनी सहिद भए । सैनिक सम्मानसहित सिर्सिया नदीमा उनको अन्तिम संस्कार गरियो ।

ब्यारेकउपर मुक्ति सेनाले दिनभर घेरा हाली फायरिङ गर्दै घोर युद्ध गर्नुपर्‍यो । त्यसैबीच दिउँसो वीरगन्जको आकाशमा नेपाली कांग्रेसको झन्डा ककपिटमा फहराउँदै भीटी–सीओजेड अंकित हिमालयन एभिएसनको हवाईजहाजले व्यापक पर्चाबाजी गर्‍यो । त्यसबारे मातृकाप्रसाद कोइराला आफ्नो पुस्तक ‘अ रोल इन रिभोल्युसन’ मा उल्लेख गर्नुहुन्छ, ‘त्यस क्षण छानाछानामा मानिसहरूले क्रान्ति झन्डा हल्लाई ठूलो स्वरमा खुसियाली व्यक्त गरेको दृश्य उत्साहप्रद र विशिष्ट थियो ।’ त्यही मौका छोपेर ब्यारेकमा बन्दी बनाइएका एक कार्यकर्ताले राणा सैनिकहरूलाई आत्मसमर्पण नगरे बम वर्षा हुने सम्भावना छ भन्दै तर्साए । उनको अभिव्यक्तिले तिनको मनोबल गिराउने काम गरेको थियो । हवाईजहाजले पटकपटक ‘मक ल्यान्डिङ’ को अभ्यास गर्दा तिनको झन् सातो उड्नु स्वाभाविक थियो ।

ब्यारेक कब्जासँगै त्यहाँको तहबिलमा रहेको भारु ३५ लाख, केही नेपाली रुपैयाँ र थुप्रै हातहतियार कब्जामा आए । वीरगन्ज मोर्चामा लडेका मुक्ति सेनाका श्यामकुमार तामाङका अनुसार, त्यहाँ ब्रेनगन, स्टेनगन, थुप्रै मार्कथ्री ३०३ राइफल, रिभल्भर र गोलीगट्ठासमेत हात परेका थिए । मुक्ति सेनाको सैन्य शक्तिमा यो महत्त्वपूर्ण उपलब्धि थियो । यसैसाथ त्यहाँ ‘जनसरकार’ को स्थापना भयो । तेजबहादुर अमात्यलाई मिलिटरी गभर्नर र गोपालप्रसाद भट्टराईलाई पोलिटिकल कमिसार बनाइयो ।

वीरगन्ज मुक्त भएपछि आमसभाको आयोजनासमेत गरियो जसमा मातृका, बीपी, सुवर्ण तीनै नेताले सम्बोधन गरेका थिए ।वीरगन्ज आक्रमण, त्यसको सफलता र जनसरकारको स्थापनाको कभरेज गर्न रक्सौल (भारत) सीमामा भारतीय र अन्य अन्तर्राष्ट्रिय सञ्चार माध्यमका पत्रकारहरूको भीड लाग्यो । भारतीय अखबारले त यसलाई ब्यानर न्युज नै बनाए । विश्वका प्रमुख सञ्चार माध्यममा नेपालको जनक्रान्तिको सन्देश फैलियो । यो एउटा महत्त्वपूर्ण उपलब्धि थियो । यस विजयले देशका दुर्गम कुनाकुनासम्म जोसको नयाँ लहर पैदा गरेको थियो । यस उपलब्धिलाई कसरी कायम राख्ने भन्ने समस्या तत्काल देखा पर्‍यो । बीपीका शब्दमा, ‘त्यतिका सामान कता राख्ने ? माउजर, राइफल, पिस्टल र ५० लाख रुपैयाँ, सुनचाँदीहरू, उता कलैया कब्जा भयो, गोपालप्रसाद भट्टराईहरूले रुपैयाँ (चाँदीका) गम्छामा पोको पारेर ल्याउँदा कपडा फाटेर हैरान !’

कमान्ड काउन्सिलले अन्य हातहतियार मुक्ति सेनाकै शक्ति बढाउन प्रयोग गर्ने तर ५० लाख रुपैयाँबारे एउटा ठोस निर्णयमा पुग्न छलफल गर्‍यो । विभिन्न तर्क आए । अन्त्यमा, यो ठूलो रकम, राष्ट्रिय–अन्तर्राष्ट्रिय चर्चामा आउने, इमानदारीको प्रदर्शन हुने, क्रान्तिकारीहरूको छवि राम्रो हुने ठहर गरी उक्त दिल्लीमा शरण लिई बसेका राजालाई नै बुझाउन जाने निर्णय भयो । सुवर्णजीलाई सो रकम जिम्मा दिई पटना पठाइयो । त्यहीँ मातृका, बीपी, सुवर्ण भेट भई सो रकमसहित दिल्ली प्रस्थान गर्ने कार्यक्रम तय भयो । १३ नोभेम्बर १९५० मा जनरल महावीरशमशेरको डीसी–३ हवाईजहाज अपराह्न साढे चार बजे पटनाबाट उड्यो, जसमा दुई भाइ कोइराला, सुवर्ण, महावीर र विजया (बुनु) कोइराला मात्र हुनुहुन्थ्यो ।

उक्त हवाईजहाज बेलुकी आठ बजेतिर दिल्लीको सफदरजंग विमानस्थलमा उत्रियो । लगत्तै त्यसलाई विमानस्थलको एक छेउमा लगियो । अनि हवाईजहाजमा फ्लड लाइट दिइयो । हवाईजहाजमा रहेका यात्रुहरूका मनमा आशंका पर्‍यो । केही क्षण त ‘क्रान्तिकारी जनसरकार’ का नेताहरूका हैसियतले आफूहरूलाई मिलिटरी सम्मान दिन लागिएको अनुमान भयो, तर त्यो केवल अनुमान मात्र थियो । वातावरण अनौठो थियो । त्यसैबीच भारतीय गुप्तचरका चिफ प्रवेश भए र भने, ‘हामीलाई सूचना आएको छ, यो प्लेनमा लुटको सम्पत्ति ल्याइएको छ भनेर ।’ उनले सबैलाई आफ्नो सिटमा बसिरहन भन्दै आदेशात्मक स्वरले भने, ‘तलासी लिन दिनुहोला ।’ त्यतिखेर बीपीसँग एउटा माउजर पेस्तोल पनि थियो । उहाँले त्यसलाई बिस्तारै आफ्नो सिटमुनि लुकाउनुभयो । त्यसैबीच सबैलाई तलासी लिँदै एकएक गर्दै तल उतारियो ।

मातृका बाबुलाई लागेछ– अब झारेपछि होटलतिर लगिन्छ, त्यहाँ पुगेर रात्रिको खाना खाई आराम गरिन्छ । उहाँहरूलाई सूर्यप्रसाद उपाध्यायसहित साथीहरू लिन आउनुभएकोमा भेट्ने अनुमति नै दिइएनछ । त्यसपछि मात्र उहाँहरूलाई आफू गिरफ्तारीमा परेको हेक्का भएछ । अब त उहाँहरूलाई मिनेट पनि घण्टाजस्तो लामो लाग्न थाल्यो । त्यसैबीच बैंकका कर्मचारीहरू बोलाइए ।

उहाँहरूलाई भनियो– रुपैयाँ भारत सरकारले राख्नुअघि आफैं कति छ भनेर गन्नुपर्छ । पर्खिंदापर्खिंदा उहाँहरू हैरान हुनुभएको थियो । लामो पर्खाइ, भोक र चिसो आदिले सबैलाई दिक्क पारेको थियो । त्यसैबीच सुवर्णजी र मातृका बाबुले चुरोट निकालेर एक छिन राहत लिन खोज्दा कुर्सीमा बसेको मान्छेले भन्यो, ‘मजिस्ट्रेटको अगाडि चुरोटको धूवाँ उडाएर कोर्टको अपमान गर्दै छौ !’ मातृका बाबुलाई जोस आयो, ‘यहाँ कुनै साइनबोर्ड छैन र कस्टम काउन्टरलाई मजिस्ट्रेटको कोर्ट भन्न पनि मुस्किल छ । तपाईंको शिरमा लेखिएको पनि छैन । कसरी अपेक्षा गरूँ तपाईं मजिस्ट्रेट र यो ठाउँ तपाईंको कोर्ट हो भनेर ?

जहाँसम्म म्यानरको कुरा छ, निश्चय पनि तपाईंमै कमी देखिन्छ ।’ यति भनेपछि उहाँले सिगरेट जुत्ताले कुल्चेर निभाउनुभयो ।उहाँहरूसँग छुट्टाछुट्टै बयान लिइयो । रुपैयाँ गनेर लगियो । जनक्रान्तिका लागि जुटाइएको फिल्डम्याप (नक्सा) जफत गरियो । यी सबै भएपछि रात छर्लक्क भयो र बिहानीपख तीन बजेतिर उहाँहरूलाई जान दिइयो । ती रुपैयाँ गनेर राखेपछि सिलबन्दी गरियो र उहाँहरूको पनि हस्ताक्षर गराइयो । भारत सरकारका तर्फबाट एक अफिसरले हस्ताक्षर गर्‍यो ।

उहाँहरू होटल पुग्दा भुकभुके उज्यालो भएको थियो । टाढा क्षितिजमा घामले चियाउन थालेका थिए । घाम राम्ररी लाग्न पनि पाएका थिएनन्, सलहझैं पत्रकारहरू ओइरिए । पत्रकारहरूको प्रश्नमा कस्तो उत्तर दिने भनेर उहाँहरूबीच छलफल चल्यो । क्रान्तिको ‘डिक्टेटर’ का हैसियतले मातृका बाबुले नै पत्रकारहरूसम्मुख बोल्नुपर्ने भयो ।

पत्रकारहरूले यतिखेर दिल्ली आइपुग्नुपर्ने कारण के रह्यो भनी प्रश्न गरे । जवाफमा उहाँले भन्नुभयो, ‘हाम्रो मुख्य उद्देश्य राजालाई भेट्नु हो र साथीहरूलाई भेट्नु हो ।’ उहाँले अझ स्पष्ट पार्दै थप्नुभयो, ‘हाम्रो जनक्रान्तिका लागि राजाको शुभकामना र नेपालमा भविष्यमा कस्तो शासन व्यवस्था बनाउने भन्ने राजनीतिक छलफलका लागि हो । सम्भव भयो भने राजाबाट हाम्रो जनक्रान्तिको समर्थनमा एउटा सार्वजनिक विज्ञप्तिको अपेक्षा गरेका छौं... ।’ उहाँले पत्रकारहरूसँग ‘भारतीय नेताहरूसँग छलफल गर्ने’ इरादासमेत रहेको र उहाँहरूबाट लजिस्टिक सहयोग र समर्थनको अपेक्षा गरेको बताउनुभयो ।

तर उहाँको त्यस्तो कुनै उद्देश्य पूरा भएन । त्यो दिल्ली मिसन उहाँहरूलाई एउटा ‘चोट’ सिद्ध भयो । त्यत्रो ५० लाख रुपैयाँ न राजाको हातमा पर्‍यो, न त फाटेका जुत्ता, च्यातिएका बर्दी र मकै–सातुको भरमा साहसका साथ अग्रमोर्चामा लडिरहेका, गोली लागी घाइते भएका मुक्ति सेनाका जवानहरूका लागि नै खर्च हुन सक्यो । अन्ततः राजालाई भेट्नसम्म पनि नपाई दिल्लीबाट खाली हात फर्किनुपर्‍यो ।

‘इमानदारी’ का लागि क्रान्तिकारी नेताहरूले ठूलो मूल्य चुकाउनुपर्‍यो । उता, मेजर पूर्णसिंह खवास, जीबी याकथुम्बा, थिरबम मल्लजस्ता साहसी र समर्पित कमान्डरहरूले पहिले नै आकस्मिक खर्चका लागि चन्दा आदिबाट जुटाई लुकाएर रक्सौलमा राखिएका रकम र हातहतियार पनि भारतीय प्रहरीले जफत गरेको थियो ।

प्रकाशित : कार्तिक २६, २०७७ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?