१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कसौंडीभित्र टाउको अड्केपछि...

केही सीप, केही ज्ञान, थोरै संयम, थोरै तर्क, धेरै मानवता, सहयोगी भावना भयो भने पूर्ण चिकित्सा हुन्छ कि जस्तो सधैं लागिरहन्छ ।
राजेन्द्र कोजु

२०५३ सालको एक शनिबार । धुलिखेल अस्पताल । बिहानै भर्ना भएका बिरामीहरू हेरेर म गैसकेको थिएँ । दिउँसो एक बजेतिर बोलाउन आइपुगे, इमर्जेन्सीका लागि । भर्खरै सुरु भएको अस्पताल, बहिरंग, वार्ड, इमर्जेन्सी सबैतिर हेर्नुपर्थ्यो । इमर्जेन्सीबाहिर बच्चा रोएको आवाज आइराखेको थियो ।

कसौंडीभित्र टाउको अड्केपछि...

रुवाइ अलि भिन्न थियो । बच्चा भएतिर पुग्दा देखियो– बच्चाको टाउको कसौंडीभित्र, हेल्मेटजस्तै ।निकाल्न नसकेर अस्पताल ल्याइएको रहेछ ।

करिब आठ वर्ष र पाँच वर्षका दाजुभाइ आँगनमा खेल्दै रहेछन् । बिहानको खाना खाईवरी माझेर आँगनमै घोप्ट्याइराखेको कसौंडी दाइले भाइलाई टोपीजसरी लाइदिएछ । टोपी लाउन पाउँदा एकै छिन त दुवै रमाए होलान्, तर कसौंडी निस्केन । कसौंडी ननिस्केपछि भाइ रोयो, दाइ आत्तियो । आमाबुबाले कोसिस गरे, भएन र अस्पताल ल्याइपुर्‍याए । केटो जोडजोडले रुँदै थियो तर सबैजसो केही गर्न नसक्ने । आमाबुबाले मतिर हेर्दै सहायता मागे, ‘लौ न डाक्टर सा’ब, के गर्ने ! कसौंडी झिकिदिनुपर्‍यो ।’

ज्वरो आएको हेर्न जानेको, खोकी लागेको जाँच्न जानेको, पेट दुखेको पत्ता लगाउन सिकेको, सुई/औषधि दिने अनुभव भएको, सानोतिनो चिरफार गरेको तर कसौंडीमा अड्केको टाउको कसरी झिक्ने, मेलोमेसो भएन । औषधिले निस्किने कुरै भएन, कसौंडी फुटाउन सकिने कुरै भएन । यसो खाली भागबाट औंला छिराएर हुन्छ कि भनी कोसिस गरें, भएन । रोइ–कराइ निरन्तर थियो, आमाबुबाको चिन्ता बढ्दै थियो । ‘लौ न के गर्ने ? कहाँ लाने ?’ म किंकर्तव्यविमूढ भई टोलाइराखें एक छिन ।

त्यही बेला गर्भवती महिलाको प्रसव व्यथाको कुरा सम्झें । झट्ट दिमाग प्रसूति कक्षतिर पुग्यो । मन न हो, डुल्दै प्रसूति कक्षमा आमाको गर्भबाट बच्चा निस्किँदा पहिले टाउको निस्केको सम्झँदै, टाउकाको सट्टा खुट्टा पहिला निस्केको बच्चा सम्झन पुग्यो । खुट्टा, जीउ हुँदै हात निस्केपछि टाउको अड्केको । बच्चाको टाउको जीउभन्दा ठूलो । त्यसैले जन्मिँदा टाउको निस्केपछि जीउ सुलुत्तै निस्किन्छ । जीउ निस्केर टाउको अड्कियो भने गाह्रो । तर त्यहाँ सिकाइएको थियो– चिउँडोदेखि टाउकाको पछिल्लो भागको लम्बाइ सबैभन्दा लामो हुने भएकाले त्यो लम्बाइलाई जन्मद्वारसँग समानान्तर गरेर बिस्तारै मिलायो भने निकाल्न सकिन्छ । र, दुइटाजति निकालिएको मैले देखेको थिएँ ।

यो केटोको टाउको पनि त कसौंडीभित्र छिरेकै हो, छिरेपछि त निस्किनैपर्‍यो । विश्वासिलो आँट आएपछि मैले थोरै स्याभलोनले कसौंडीको मुख चिप्लो पारें, अनि बिस्तारै औंला छिराएर चिउँडो तलतिर तान्दै पछाडिपट्टिको टाउको अर्को हातको औंलाले भित्र घचेटें । कसौंडी अर्कोलाई बिस्तारै माथि तान्न लगाएँ । अलिअलि दायाँबायाँ, अगाडिपछाडि गर्दैगर्दा एक छिनमा फुत्त निस्क्यो ।

आँसुले लतपतिएका राताराता आँखा, सिँगान बगेको नाकसँगै हल्का मुस्काएका ओठले केटोले ठूलो आवाजमा रोएजस्तै गर्‍यो । कसौंडी घोप्ट्याइदिने दाजुको अनुहारबाट डर एक्कासि हरायो । आमाबुबा खुसी भए, चिन्तामुक्त भए ।

मैले लामो सास फेरें र सोचें– के मैले औषधि दिएँ ? के मैले बेहोस पारें ? के मैले चिरफार गरें ?

आखिर मान्छेको पीडा कम गरिदिने चिकित्सा औषधि विज्ञान मात्र हो त ? केही सीप, केही ज्ञान, थोरै संयम, थोरै तर्क, धेरै मानवता, सहयोगी भावना भयो भने पूर्ण चिकित्सा हुन्छ कि जस्तो सधैं लागिरहन्छ ।

अर्को शनिबार ।

करिब पैंतालीस वर्षका पुरुषलाई घाँटी पूरै कपडाले बेरेर तन्नामा तुर्लुङ्ग पार्दै हतारिएर अस्पताल ल्याइपुर्‍याए । साथमा पुरुष र महिला गरी आठ–दस जना थिए । अस्पताल दुईतले । बहिरंग भर्खर सुरु भएको । शल्यचिकित्सा फाटफुट सुरु गरेको । वार्डमा पाँच–सात जना बिरामी भर्ना हुन थालेका । प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे प्रारम्भिक अवस्थाकै थिए । इमर्जेन्सी भने विधिवत् रूपमा चौबीसै घण्टा चिकित्सक उपलब्ध हुने खालको थिएन । होस् पनि कसरी ? दुई जना न चिकित्सक थियौं !

शनिबार, म अस्पतालमै थिएँ । डा. रामकण्ठ पनि अस्पतालमै आउनुभएको थियो । उहाँसँग जर्मन साथी पनि हुनुहुन्थ्यो ।

स्ट्रेचरमा ल्याइएका बिरामीलाई प्रोसेड्युर कोठामै ल्याएर बेडमा राख्न लगाई सोधें, ‘के भएको ?’

सोध्दै गर्दा घाँटीमा बाँधेको कपडामा केही सुकेको केही आलो रगत देखें । बिरामीले राम्रोसँग सास फेरे जस्तो पनि लागेन ।

‘घाँटी काट्यो यसले ।’ आत्तिएर भने छिमेकीले ।

अरू महिला–पुरुष रुँदै पनि थिए । डा. रामकण्ठ र उहाँका साथी सबैले हेरे । डा. रामकण्ठ एक कुशल शल्यचिकित्सक । होसियारीपूर्वक बिस्तारै हेर्नुभयो– रक्तस्राव भइरहेको घाउलाई नियन्त्रणमा राख्दै । सासनली पनि आधी काटिएको । रक्तनली पनि काटिएको । तुरुन्तै भन्नुभयो, ‘ओटी रेडी गर्न लाउनू ।’

यता हामीले तुरुन्तै हातमा आईभी लाइन खोलिहाल्यौं । तुरुन्तै अपरेसन कक्षमा सारेर बिनारोकटोक शल्यचिकित्सा सुरु भैहाल्यो । रक्तनली, मासु, सासनली सबैलाई आवश्यकताअनुसार मिलाएर सिलाई घाँटीबाटै अस्थायी सास फेर्न त्राकिएस्टोमी ट्युब हालिदियौं । बिरामी अस्पताल भर्ना भए । निकै दिनपछि ठीक भएर लजाउँदै हाँसेर गए ।

घाँटी सेरेर आत्महत्याको प्रयास आफैंमा डरलाग्दो थियो । धुलिखेल अस्पताल भर्खरै खुलेको, सबै बन्दोबस्त नभइसकेको भए पनि यति उपचार गरिदिन पाएर ज्यान बच्यो । सबै पूर्वाधार थिएन तर तत्परता र संयमसँगै सीपयुक्त मिहिनेतले ज्यान बचायो ।

एक शुक्रबार ।

साँझ पाँच बजेतिर, करिब पचास वर्षका पुरुषलाई एक युवाले पिठ्युँमा बोकेर अस्पताल ल्याइपुर्‍याए । मोटरबाटो नपुगेको गाउँबाट ल्याइपुर्‍याउनुपर्ने भएकाले दिनै बितेको थियो । सँगै चार जना छिमेकी वा परिवारजन थिए । एउटै कोठामा इमर्जेन्सी पनि प्रोसेड्युर पनि । त्यहीँ एउटा बेडमा बसाएँ । सास फुलेको थियो, ख्वाङख्वाङ खोकी, हल्का ज्वरो आएको महिनादिनजति भएको रहेछ । आवश्यक थप केही समस्या र जानकारी लिएपछि जाँच्न सुरु गरें ।

छातीको जाँच गरेपछि फोक्सोबाहिर पानी जमेको हुन सक्ने निर्क्योल गरें । पक्का गर्ने उपाय एक्सरे थियो । तर अस्पतालको सुरुआती दिन भएकाले एक्सरे सेवा सुरु भइसकेको थिएन । बिनाएक्सरे पानी नै हो भनेर निकाल्न सुई हाल्ने कि नहाल्ने, दोमन भयो । सास फुलेको प्रमुख कारण नै पानी हुन सक्ने र पानी निकालेपछि बिरामीलाई निकै सजिलो हुने थाहा थियो तर अलमल । आफू एक्लै । यहाँबाट अन्त पठाऊँ, बिरामीलाई दुःख ।

झट्ट सम्झें– भिडियो एक्सरे । डा. रामकण्ठले अस्ट्रियाबाट लिएर आउनुभएको । डा. रामकण्ठले, अस्ट्रियामा पूरै चिकित्सकीय शिक्षा र शल्यचिकित्साको विशेषज्ञता पूरा गरी नेपालमै अस्पताल बनाई सेवा प्रदान गर्न फर्किने बेला, साथीहरूलाई बिदाइ उपहारको सट्टा बिरामीको सेवालाई लाभकारी हुने भिडियो एक्सरेका लागि आग्रह गर्नुभएछ । त्यसरी थोरैथोरै पैसा धेरै जनाबाट जम्मा गरेर पोर्टेबल भिडियो एक्सरे किनी ल्याउनुभएको थियो । भिडियो एक्सरे कसरी गरिन्छ, मैले सिकेको थिइनँ । नेपालमै एकाध ठाउँबाहेक कहीँ थिएन । सो समयमा डा. रामकण्ठ पनि नजिकै हुनुभएन । अहिलेको जस्तो मोबाइल फोन नाइँ । सम्झें, एसिया फाउन्डेसनले दिएका केही किताबमध्ये एउटा अल्ट्रासाउन्डसम्बन्धी थियो । किताबमा आधारभूत भिडियो एक्सरेबारे पढेर बिस्तारै बिरामीको छातीमा भिडियो एक्सरेको प्रोब घुमाएँ । किताबमा देखाइएको चित्रजस्तै पानी भरिएको चित्रसँग मेल खायो । त्यसपछि एक्सरे नभए पनि भिडियो एक्सरेको सहायताले पक्का गरेर, छातीमा सुई हालें । तान्दा हुरुरु पानी आयो । रोग पक्का भएकामा खुसी भइयो । करिब दुई सलाइन सिसीजति पानी निकालेपछि बिरामीले निकै सजिलो महसुस गरे । आरामसँग सुते ।

बेलुकी ल्याबमा टेक्निसियन थिएन, भोलिपल्ट पनि शनिबार । पानी जाँच नभए उपचारमा अलमल । तसर्थ पानी पनि आफैं जाँचियो, ग्राम स्टेन र एएफबी स्टेन गरेर । केही मद्दत मिल्यो उपचारको निर्णयका लागि । सुरुसुरुमा पूरै सामान नहुनुको चुनौती, सबै क्षेत्रका स्वास्थ्यकर्मी नपाउनुको चुनौती । तर सेवा दिने हुटहुटी । गाउँ–ठाउँका बिरामीलाई कसरी सरल र सुलभ सेवा दिने भन्नेमै लागिपरेर हो कि, उपायहरूको खोजी गर्दै अघि बढियो ।

करिब पच्चीस वर्षअघि र अहिले, समय फरक, सुविधा फरक, पहुँच फरक, अरू धेरै चीज फरक, तर स्वास्थ्य समस्या धेरै फरक छैन । लागिरहन्छ– ससानो मद्दत गर्ने कोसिसले नै त पीडा कम गरिदिन मिल्ने रहेछ कि !

प्रकाशित : कार्तिक २५, २०७७ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?