नागरिकको सामाजिक दायित्व

मेरी साथीकी छिमेकीले कोरोना संक्रमितसँगको सम्पर्कको वास्तविकतालाई लुकाइन्, निश्चित अवधि पूरा नगरीकनै आफू र परिवारका सदस्यको परीक्षण गराइन् र सामान्य रहेको अभिनय गरेर गैरजिम्मेवारी देखाइन् ।
साधना प्रतीक्षा

लामो समयदेखि हामी सबैको साझा समस्याका रूपमा रहँदै आएको छ– कोरोना महामारी र त्यसको सन्त्रासमय परिवेश । लामो समयको बन्दाबन्दीले सिर्जिएको असहज परिस्थितिमा जकडिएका हामी अहिलेको खुला वतावरणमा पनि दिनानुदिन फैलँदै गएको संक्रमणका कारण सन्त्रस्त नै छौं ।

नागरिकको सामाजिक दायित्व

अन्य मुलुकमा जस्तो हामीकहाँ कोरोना महामारीले आक्रान्त जनताप्रति सरकार उत्तरदायी नभएको हुनाले त्यसको थप मार पनि भोग्न बाध्य भएका छौं हामी । यस्तो असहज परिस्थितिमा पनि सरकारको उपस्थितिको अनुभूति गर्न नपाएर दुःखी बनेका हामीले त्यसप्रति थुप्रै असन्तुष्टि पोख्यौं र पनि सरकारको कानमा बतास लागेन ! जब सरकार जनताप्रति अनुत्तरदायी बन्छ तब समाज र राष्ट्रप्रति नागरिकको दायित्व झनै बढ्ने गर्छ । महामारीको जटिल अवस्थाले यसैको आवश्यकताबोध गराइरहेको छ । यति मात्र होइन, अहिले प्रत्येक सचेत नागरिकले आफैंसँग प्रश्न गर्नुपर्ने भएको छ– मेरो दायित्व के हो ? आफू कसरी सुरक्षित हुने ? आफू मात्र सुरक्षित हुने कि अरूलाई पनि सुरक्षित गराउने ? कतै मेरो कारणबाट अन्य कोही असुरक्षित भइरहेका त छैनन् ? यी र यस्तै प्रश्नहरू मनन गरेर आफू बाँच्ने र अरूलाई पनि बचाउनुपर्छ भन्ने सामूहिक दायित्वबोध तथा त्यसतर्फ आम नागरिकको अग्रसरता नै अब विद्यमान महामारीसँग जुध्ने एक मात्र हतियार बनेको छ ।

कोरोना महामारीकै बीच हाम्रो समाजमा देखिएका दुई भिन्न दृष्टिकोण र प्रवृत्तिले यस प्रकारको सामूहिक दायित्वबोधमा बाधक बनेर महामारीलाई थप प्रसारित गराइरहेका छन् । पहिलो, संक्रमितप्रति नकारात्मक दृष्टिकोण; दोस्रो, सोही कारण संक्रमित र उनीहरूका परिवारजन वा आफन्तले संक्रमणको सत्य–तथ्य लुकाउने प्रवृत्ति ।

शिक्षित र चेतनशील भए पनि हाम्रो मानसिकता कति संकुचित रहेछ भन्ने यथार्थको साक्ष्य विगतमा आफ्नो ज्यानको पर्बाह नगरी संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूप्रति केही व्यक्ति एवम् समुदायबाट गरिएको दुर्व्यवहारले प्रस्तुत गरिसकेको छ । अझै पनि कुनै व्यक्ति संक्रमित भएमा उसको घर–परिवारलाई नै अछुतजस्तो व्यवहार गर्ने, समाजबाट अलग्याउन खोज्ने गरेको देखिन्छ । भाडामा बस्ने व्यक्ति संक्रमित भएमा अनेक बहाना बनाएर उसलाई निकालिदिएका तिक्तताहरू पनि देखिएकै छन् ।

त्यसैले त आफू समाजको नजरमा प्रतिष्ठित बनिरहन र सामूहिक गतिविधिमा सहभागी भइरहनका लागि पनि संक्रमित व्यक्ति तथा उसको परिवारले वास्तविकता लुकाउने गरेको पाइन्छ ।केही असामाजिक व्यक्तिहरूको नकारात्मक दृष्टिकोणका कारण कोरोना संक्रमणको यथार्थ लुकाउने प्रवृत्ति हामीकहाँ हाल समुदाय स्तरमा फैलँदो संक्रमण नियन्त्रणका लागि थप चुनौती बनिरहेको छ । नबुझेर वा अज्ञानताका कारण यस्तो गर्नुलाई स्वाभाविक मान्न सकिए पनि शिक्षित, बुझक्कड तथा समाजमा प्रतिष्ठित वर्गबाट पनि यस्तो व्यवहार गरिनुलाई भने सामान्य रूपमा लिन सकिँदैन । हालै मेरी साथीले टेलिफोनमार्फत पोखेको दुखेसो यसैसँग जोडिएको छ । उनको घरसँगै जोडिएको, महामारीबारे खासै संवेदनशील नबनेको तथा आफूलाई आधुनिक र खानदानी मान्ने घरपरिवारमा प्रायः पार्टी र जमघट हुने रहेछ ।

नाता–सम्बन्ध तथा साथीभाइहरू आउने–बस्ने क्रमलाई कोरोनाकालले पनि छेकेको रहेनछ । सोही क्रममा हालै पाहुना हुन आएका आफन्तहरूमध्ये एक बिरामी रहेछन् । उनलाई कोरोना संक्रमणको आशंकामा पीसीआर परीक्षण गर्न पठाएको संवाद मेरी साथीले प्रत्यक्ष सुनेकी रहिछन् । उनीहरूको आँगनमा दिनभर रमझमका साथ दुई–चार दिनका लागि रमाइला कार्यक्रम बन्दै गरेकामा बेलुकी एकाएक सुनसान भएर ती पाहुनाहरू बिहानसम्म गायब भइसकेछन् । त्यसपछि त्यस घरकी महिला र अन्य सदस्य सबै डबल मास्कमा देखिएछन् ।

लुकीछिपी कोठाहरू स्यानिटाइज गरेर पाहुना सुतेका बिछौना घाममा सुकाइनुका साथै बेडकभर आदि पनि काम गर्ने महिला लगाएर धुवाइएछ । केही छिमेकीहरूसँग अत्यन्त घनिष्ठ सम्बन्ध बनाएकी ती महिलाले आफूलाई अलि सन्चो नभएको बताउँदै घर सुनसान बनाइछन् तर उनीहरूसँगको घुलमिललाई भने बिनादूरी यथावत् राखिछन् । ती छिमेकीले उनका आफन्तबारे जिज्ञासा राख्दा अचानक जरुरी काम आइपरेर गएको बताइछन् । उनका संवाद सुन्न तथा गतिविधि देख्न सक्ने अवस्थाकी मेरी साथीलाई ती महिलाले कोरोना पोजेटिभ देखिएपछि आफन्तलाई अन्यत्र व्यवस्थापन गरेर आफ्नो घर सफा गरेको, दुई–चार दिनपछि नै आफूहरूले पनि परीक्षण गराएर साबिकजस्तै दैनिकी चलाएको सबै थाहा रहेछ । त्यसैले उनी चिन्तित थिइन् ।

मेरी साथीको चिन्ता निरर्थक थिएन । विज्ञहरूका अनुसार, सबै संक्रमितहरूमा लक्षण देखिँदैन तर लक्षण नभएका संक्रमितहरूले आफ्नो सम्पर्कमा आउनेहरूलाई भने संक्रमित गराउन सक्छन् । शरीरमा रोगप्रतिरोधी क्षमता बलियो भएकाहरू संक्रमित भएर पनि बिनालक्षण निको हुन सक्छन् । सो कुरा कसैलाई थाहा नभए पनि उनीहरूका कारण कमजोर प्रतिरोधी क्षमता भएका व्यक्तिहरूलाई भने कोरोना भाइरसले आक्रमण गरेर समस्या सिर्जना गरेको हुन्छ । अझै महत्त्वपूर्ण कुरा त, संक्रमितको सम्पर्कमा जानासाथ कुनै व्यक्तिको परीक्षणमा पोजेटिभ देखिँदैन । त्यसका लागि निश्चित समय लाग्ने गर्छ ।

त्यसैले यस प्रकारको सम्पर्कमा रहेका अर्थात् ‘कन्ट्याक हिस्ट्री’ भएकाहरूले कम्तीमा पनि दुई साता क्वारेन्टिनमा बसेर मात्र परीक्षण गराउनुपर्छ भनेर विज्ञहरूले बारम्बार सुझाव दिइरहेका छन् । यसको विपरीत मेरी साथीकी छिमेकीले भने संक्रमितसँगको सम्पर्कको वास्तविकतालाई नाटकीय शैलीमा लुकाएर, निश्चित अवधि पूरा नगरीकनै आफू र परिवारका सदस्यको परीक्षण गराएर सामान्य जीवनशैलीमा रहिन् । आफूलाई सम्पन्न तथा बौद्धिक दाबा गर्ने त्यो परिवारको सो गतिविधि गैरजिम्मेवारीको पराकाष्ठा हो । यदि उनीहरू जिम्मेवार नागरिक हुन्थे भने त्यस्तो परिस्थितिमा आफ्नो निकट सम्पर्कमा हुनेहरूलाई यथार्थबारे जानकारी गराएर आफूहरू निश्चित समय होम आइसोलेसनमा रहने थिए; दुई–चार घरको काम गरेर जीविका चलाउने गरिब महिलालाई संक्रमितले प्रयोग गरेका वस्तु सफा गराएर जोखिममा पार्ने थिएनन् ।

सम्पन्न वर्ग संक्रमित भएका खण्डमा होम आइसोलेसन, आवश्यकताअनुसार सन्तुलित आहार–विहार, सरसफाइ, आराम र अस्पतालको सुविधा पनि लिन सक्छन् । केही समय काम नगरी बस्दा पनि उनीहरूको चुलो चिसिँदैन, जहान–केटाकेटी भोकै रहँदैनन् । यसको विपरीत, दैनिक मजदुरी गरेर एउटा अँध्यारो कोठामा गुजारा गर्नेहरू संक्रमित हुने हो भने त्यस्तो व्यवस्था गरेर कोरोनालाई जित्न सक्लान् ? उनीहरूले काम गर्न नसक्दाको अवस्थामा चुलो कसरी बल्ला ? कथित सम्पन्न वर्गले यसको हेक्का राख्नुपर्दैन ? यो उनीहरूको सामाजिक दायित्व होइन ?

मेरी साथीले अनुभव गरेको तर व्यक्त गर्न नसकेको, सुनेको–देखेको तर बताउन नसकेको यस्तो यथार्थ अन्यत्र कति ठाउँमा होलान् ? त्यसबाट महामारीमा कति जटिलता थपिँदै होला ? किनभने एकातिर गोपनीयताको हकअन्तर्गत सरकारले परीक्षण रिपोर्ट गोप्य राखेको हुन्छ भने अर्कातिर सम्बन्धित व्यक्ति वा पक्षबाहेक अन्यले यसबार बोल्नु उपयुक्त हुँदैन । यस्तो जटिलता न्यूनीकरणको दायित्व कसको हो ?

पक्कै, यो दायित्व हामी आम नागरिकको हो किनभने हामी त्यस्तो देशका नागरिक हौं जहाँ सरकार केवल सत्तासीन र तिनका आसेपासेहरूका लागि छ, जनताका लागि छैन । यस्तो विपत्तिका बेला पनि नागरिकप्रति जिम्मेवार नहुने सरकार अन्यत्र सायदै होला; धन्न, हामी नेपालीको धैर्य र सहनशीलता; यस्तो सरकारको उपस्थितिलाई पनि चुपचाप स्वीकार गरिरहेका छौं; निदाएकोलाई बिउँझाउन सकिन्छ तर निदाएको अभिनय गरेकोलाई बिउँझाउन सकिँदैन भनेजस्तै निदाएको अभिनय गरिरहेको सरकारबाट कुनै आशा नराखेर अब हामी आम नागरिक आआफ्नो ठाउँबाट उत्तरदायी बन्दै वर्तमानको विषम परिस्थितिसँग जुध्नुपरेको छ । यसका लागि संक्रमितलाई अछुतजस्तो व्यवहार गर्ने संकुचित मानसिकता त्याग्नु जति आवश्यक छ, संक्रमण लुकाउँदै मन्द विषसरि त्यसलाई समुदायमा फैलाउने दुष्प्रवृत्ति त्याग्नु पनि उत्तिकै आवश्यक देखिन्छ । जसरी आफू र आफ्नो परिवारलाई सुरक्षित राख्ने दायित्व हाम्रो काँधमा छ, त्यसरी नै आफ्नो समुदाय र समाजलाई सुरक्षित राख्ने दायित्व पनि हाम्रै हो । त्यसैले क्वारेन्टिन र होम आइसोलेसनको अवधारणालाई इमानदारीपूर्वक परिपालना गरौं ।

प्रकाशित : कार्तिक २४, २०७७ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?