विवेकमाथि भ्रमको विजय ?


साक्षर हुनु र राजनीतिक रूपले साक्षर हुनुमा आकाश–पातालको भिन्नता छ । जस्तै, अमेरिकाको साक्षरता दर ९९ प्रतिशत छ तर त्यहाँ संसार सारा षड्यन्त्रले छोपेको छ भनी अन्धविश्वास गर्ने समूहको आकार अचम्म तरिकाले बढ्दै छ । लाखौं मानिस क्युएनन भन्ने समूहमा होमिएका छन् ।

यी मानिस कोरोना भाइरस र ठूला विकासे परियोजना षड्यन्त्रको जालो हुन् भन्छन् । विश्वलाई नै भय, संशय, अविश्वास र अनिश्चयले एकैपटक गाँजेको यो दुर्लभ समय हो ।
यो समय त्रासै–त्रास र षड्यन्त्रको खेती हराभरा भइदिँदा फसल कसले पाउँछ ? हानि कसले बेहोर्छ ? राजनीतिशास्त्रमा षड्यन्त्रको सिद्धान्त (कन्स्पिरेसी थिअरी) भन्ने एउटा अवधारणा छ । यसले हाम्रो वरपरका महत्त्वपूर्ण घटनाहरू शक्तिशाली व्यक्तिहरूका गोप्य षड्यन्त्र हुन् भन्छ । यस्ता तर्क अप्रमाणित हुन्छन्, तर आकर्षक सुनिन्छन् । यिनले लगभग सबै सामाजिक–राजनीतिक घटनालाई मूलधारभन्दा वैकल्पिक व्याख्या गर्छन् । जस्तै, क्युएनन समूहले संसारलाई डुब्नबाट जोगाउन ‘क्यु’ भनिने एक रहस्यमय व्यक्ति लागिपरेका छन् भन्नेमा विश्वास गर्छ । यो समूहले बाल यौन अपराधको गिरोह चलाएका बाराक ओबामा र हिलारी क्लिन्टनलाई छिटै ग्वान्तानामो बेमा थुन्ने र चर्चित थुप्रै नेता तथा हलिउड सेलेब्रिटीलाई पक्रिने योजना भइरहेको भ्रम फैलाएको छ । कतिपय अनुयायी क्यु भनेको ट्रम्प हुन् भन्ने लख काट्छन् । ट्रम्प समर्थक र्याली र लकडाउनविरोधी प्रदर्शनमा तिनीहरू अंग्रेजी अक्षर ‘क्यु’ अंकित टिसर्ट लगाएर देखा पर्छन् । ट्रम्प भने यसबारे मौनता साधिरहेका छन् ।
अर्को भ्रम माइक्रोसफ्ट कम्पनीसँग सम्बन्धित छ । हल्ला भन्छ, बिल गेट्सले कोरोना भाइरसको निहुँमा मानिसहरूको मस्तिष्कमा माइक्रोचिप्स घुसाउने षड्यन्त्र गर्दै छन् । अर्को भ्रम छ, कोभिड भ्याक्सिनबाट सबैभन्दा धेरै फाइदा गेट्सलाई हुन्छ । त्यसैले कोभिड नै उनले फैलाएको भ्रम हो । यस्तै, सरकारहरूले जनताको सूक्ष्म निगरानी गर्न लकडाउनको निहुँमा फाइभ–जी टावरहरू ठड्याउन लागेका छन् भन्ने अर्को अफवाह फैलेको छ । यी षड्यन्त्रका सिद्धान्तहरूसँग जोडिएका थुप्रै उपसिद्धान्त अहिले सामाजिक सञ्जालका माध्यमबाट धेरै देशमा फैलिएका छन् । कोभिडको संकट व्यवस्थापनमा राज्यको असफलताविरुद्ध देखिएका आन्दोलन फरक भए । वैज्ञानिक व्यवस्थापन गर्न लागिपरेका मुलुकमा भने यो लथालिङ्ग षड्यन्त्र नै हो भनी हजारौं मानिस सडकमा ओर्लिएका छन् ।
अमेरिकामा भ्रमकै पछि लागेर जनताले कानुन हातमा लिन थालेका छन् । अपराधी भनेर सन्दिग्धलाई गोली दाग्ने, भ्रमपूर्ण समाचारमा मुछिएको रेस्टुरेन्टमा छिरेर राइफल चलाइदिने र संवेदनशील पूर्वाधारमा हतियारसहित छिर्ने काम क्युएनन अनुयायीले गरेका छन् । अहिले न्युयोर्कबाट काठमाडौंको न्युरोडको दूरी एक क्लिकको पनि छैन । यो समयमा भ्रामक सूचनाका अनेक रूप मुलुक–मुलुकमा फैलिँदै छन् । सामाजिक सञ्जालबाट अपुष्ट सूचना फैलाउने र त्यही आधारमा आफ्नो मास बेस जम्मा गर्ने प्रवृत्ति हामीकहाँ झनै हावी छ । कोरोना भ्रम हो, एमसीसी विग्रह मच्चाउन रचिएको रक्तिम जालसाझी हो, हामीलाई जोगाउन अलौकिक, दिव्य, अद्भुत मस्तिष्क भएका महागुरु, माता, बाबा आउनुभएको छ आदि जस्ता हल्लाले राजनीतिक साक्षरता नभएका जनताको दिमागलाई माकुरे जालोजस्तै जटिल बनाएका छन् ।
षड्यन्त्र, हल्ला र अफवाह फैलाउन हाम्रो मुलुक उसै उर्वर भूमि छ । कोतपर्वदेखि दरबार हत्याकाण्ड, मदन भण्डारीको रहस्यमय मृत्युदेखि निर्मला पन्त काण्डसम्म भोगेको हाम्रो समाजको पुस्तौंपुस्ता षड्यन्त्रकै समाचारको वरपर छ । छानबिन पारदर्शी बनाउन राज्यको असफलता पनि यसको एउटा कारक भयो । तर अहिले तनावपूर्ण महामारीले आगोमा घ्यू थप्दै छ । यो पूरै वर्ष र लगत्तैको केही समय हामीलाई डर, अनिश्चय र संशयको रापले पगाल्ने पक्का छ । विवेक कमजोर भइरहेको र भ्रम बलियो भइरहेको यो समयलाई मुट्ठीमा कसेर कुनै राजनीतिक शक्ति जन्मियो भने को जन्मिन्छ ? वा, देखेबुझेकै राजनीतिक शक्तिले यो भावनालाई सैंतेर आफ्नो पोल्टामा पार्यो भने हाम्रो लोकतन्त्रको भविष्य के हुन्छ ? जनताको विवेकले आत्मदाह गर्न थालेको यो समय लोकतन्त्रमाथि नै डरलाग्दो चुनौती बनेको छ । तर बुझ्न जरुरी चाहिँ हूलका हूल मानिसले किन भ्रमलाई पत्याउन थाले भन्ने हो ।
अव्यवस्थाको चुली लाग्दा र राजनीतिक पद्धतिमाथि विश्वासको खडेरी पर्दा मानिसलाई षड्यन्त्रले गाँजेको अनुभव हुन्छ । अनुसन्धान भन्छ, राष्ट्रिय वा व्यक्तिगत जीवनमा संकट आइपर्दा यस्तो अविश्वासको बेर्ना झनै झाँगिन्छ । चारैतिरबाट असुरक्षित महसुस गर्न थालेपछि मानिसले यी सबै परिघटना किन भए भन्ने व्याख्या खोज्छ । त्यसपछि ऊ आधिकारिक कुरा पत्याउँदैन । त्यसको वैकल्पिक व्याख्या र तथ्याङ्क खोज्न थाल्छ । यस्ता तनावबीच षड्यन्त्रका सिद्धान्तले गर्ने व्याख्याबाट उसलाई थोरै भए पनि राहत मिल्छ । कोरोना भाइरसले संसारलाई नै संकटको समुद्रतर्फ धकेल्दा अहिले षड्यन्त्रका सिद्धान्तमा विश्वास गर्नेको संख्या बढेको देखिन्छ ।
कोही मान्छे भने अरूभन्दा भिन्न देखिन यस्ता भ्रमलाई बढावा दिन्छन् । जस्तै, नेपाल मजदुर किसान पार्टीका नारायणमान बिजुक्छेले पनि सुरुमा यो भाइरसलाई अमेरिकी साम्राज्यवादीले फैलाएको भ्रम हो भने । यसरी जनता उचाल्न सजिलो थियो । केही मानिसलाई जलवायु परिवर्तनले पृथ्वी दैनिक तातिँदै गएको भन्ने थुप्रै प्रमाणमा विश्वासै लाग्दैन । हामीकहाँ एमसीसी अनुमोदनलाई लिएर भएका बहसमध्ये केहीलाई षड्यन्त्रको सिद्धान्तकै एउटा उदाहरण मान्न सकिन्छ । यो विषयमा जति थोरै बहस एमसीसीका अन्तर्वस्तु र तथ्यलाई लिएर भए, त्योभन्दा कैयौं गुणा विराट् चर्चा यससँग गाँसिएको भनिएका षड्यन्त्रलाई लिएर भए ।
युट्युब च्यानल र धेरै फलोअर भएका फेसबुक तथा ट्वीटर पेजले यस्ता अप्रमाणित हल्ला फैलाउन सजिलो बनाइदिएका छन् । तिनले पुष्टि गर्ने आधार नै नभएका हल्ला फैलाउँदै त्यसैलाई नै फलोअर बढाउने माध्यम बनाएका छन् । प्रत्येक घटनालाई षड्यन्त्र हो भनिदिने मान्छे युट्युब र सामाजिक सञ्जालमा ‘चलेका’ विश्लेषक दरिएका छन् । हल्लाको व्यापार चलाउन सजिलो हुन्छ तर विचारको युद्ध लड्न मुस्किल । अरूको विचारलाई प्रतिकार गर्न ऊभन्दा उत्तम विचार लिएर आउनुपर्यो । त्यसका लागि अध्ययन चाहियो । तथ्य, प्रमाण र तर्कको सम्मिश्रण चाहियो । यो दुईचार दिनमै जोहो हुने कुरा होइन ।
हामी अचेल अलि असहिष्णु भएका छौं । अरूको विचारलाई शारीरिक शक्तिले पराजित गर्न खोज्छौं । कि गलामा पहेंलो रामनामी ओढेर भिडियो बनाउनुस्, कि त सेतो अप्रोन भिरेर फेसबुक लाइभ चलाउनुस् । सब थोकदेखि आत्तिएको अहिलेको दर्शकदीर्घाले तपाईंको ‘वैकल्पिक व्याख्या’ माथि थपडी बर्साउँछ । तर, तर्कको स्रोत र विचारको वैज्ञानिकतामाथि प्रश्न गर्दैन । एकातिर यो सार्वजनिक ज्ञान निर्माणमाथिको चुनौती हो भने, अर्कातिर स्वस्थ बहस र लोकतन्त्रकै भविष्यमाथि आइलागेको संकट हो । समाज अघि बढ्ने भनेको विचार र प्रतिविचारको द्वन्द्वबाट आउने नूतन विचारले हो । विचारहरूबीच द्वन्द्व जरुरी छ । तर त्यो तथ्य र तर्कमा आधारित हुनु उत्तिकै आवश्यक छ ।
ठूला संकट आइपर्दा मानिसको आलोचनात्मक चेत शून्य भइदिन्छ । त्यस्तो बेला हामी तथ्यपरक सूचना खोज्दैनौं; आफूलाई चित्तबुझ्ने कुरा जसले भन्दिन्छ, उसैको पछि लाग्छौं । अनिश्चय, अविश्वास र आक्रोशले जेलेको यो समय अन्य बेलाभन्दा निकै संवेदनशील छ । समयमै बुझ्नु जरुरी छ, यो आशंकाभन्दा विवेक र अनुमानभन्दा विज्ञानमा बढी भर पर्नुपर्ने समय हो ।
प्रकाशित : कार्तिक २१, २०७७ ०९:१७