विवेकमाथि भ्रमको विजय ?- विचार - कान्तिपुर समाचार

विवेकमाथि भ्रमको विजय ?

चारैतिरबाट असुरक्षित महसुस गर्न थालेपछि मानिसले आधिकारिक कुरा पत्याउन छाड्छ ।
सफल घिमिरे

साक्षर हुनु र राजनीतिक रूपले साक्षर हुनुमा आकाश–पातालको भिन्नता छ । जस्तै, अमेरिकाको साक्षरता दर ९९ प्रतिशत छ तर त्यहाँ संसार सारा षड्यन्त्रले छोपेको छ भनी अन्धविश्वास गर्ने समूहको आकार अचम्म तरिकाले बढ्दै छ । लाखौं मानिस क्युएनन भन्ने समूहमा होमिएका छन् ।

यी मानिस कोरोना भाइरस र ठूला विकासे परियोजना षड्यन्त्रको जालो हुन् भन्छन् । विश्वलाई नै भय, संशय, अविश्वास र अनिश्चयले एकैपटक गाँजेको यो दुर्लभ समय हो ।

यो समय त्रासै–त्रास र षड्यन्त्रको खेती हराभरा भइदिँदा फसल कसले पाउँछ ? हानि कसले बेहोर्छ ? राजनीतिशास्त्रमा षड्यन्त्रको सिद्धान्त (कन्स्पिरेसी थिअरी) भन्ने एउटा अवधारणा छ । यसले हाम्रो वरपरका महत्त्वपूर्ण घटनाहरू शक्तिशाली व्यक्तिहरूका गोप्य षड्यन्त्र हुन् भन्छ । यस्ता तर्क अप्रमाणित हुन्छन्, तर आकर्षक सुनिन्छन् । यिनले लगभग सबै सामाजिक–राजनीतिक घटनालाई मूलधारभन्दा वैकल्पिक व्याख्या गर्छन् । जस्तै, क्युएनन समूहले संसारलाई डुब्नबाट जोगाउन ‘क्यु’ भनिने एक रहस्यमय व्यक्ति लागिपरेका छन् भन्नेमा विश्वास गर्छ । यो समूहले बाल यौन अपराधको गिरोह चलाएका बाराक ओबामा र हिलारी क्लिन्टनलाई छिटै ग्वान्तानामो बेमा थुन्ने र चर्चित थुप्रै नेता तथा हलिउड सेलेब्रिटीलाई पक्रिने योजना भइरहेको भ्रम फैलाएको छ । कतिपय अनुयायी क्यु भनेको ट्रम्प हुन् भन्ने लख काट्छन् । ट्रम्प समर्थक र्‍याली र लकडाउनविरोधी प्रदर्शनमा तिनीहरू अंग्रेजी अक्षर ‘क्यु’ अंकित टिसर्ट लगाएर देखा पर्छन् । ट्रम्प भने यसबारे मौनता साधिरहेका छन् ।

अर्को भ्रम माइक्रोसफ्ट कम्पनीसँग सम्बन्धित छ । हल्ला भन्छ, बिल गेट्सले कोरोना भाइरसको निहुँमा मानिसहरूको मस्तिष्कमा माइक्रोचिप्स घुसाउने षड्यन्त्र गर्दै छन् । अर्को भ्रम छ, कोभिड भ्याक्सिनबाट सबैभन्दा धेरै फाइदा गेट्सलाई हुन्छ । त्यसैले कोभिड नै उनले फैलाएको भ्रम हो । यस्तै, सरकारहरूले जनताको सूक्ष्म निगरानी गर्न लकडाउनको निहुँमा फाइभ–जी टावरहरू ठड्याउन लागेका छन् भन्ने अर्को अफवाह फैलेको छ । यी षड्यन्त्रका सिद्धान्तहरूसँग जोडिएका थुप्रै उपसिद्धान्त अहिले सामाजिक सञ्जालका माध्यमबाट धेरै देशमा फैलिएका छन् । कोभिडको संकट व्यवस्थापनमा राज्यको असफलताविरुद्ध देखिएका आन्दोलन फरक भए । वैज्ञानिक व्यवस्थापन गर्न लागिपरेका मुलुकमा भने यो लथालिङ्ग षड्यन्त्र नै हो भनी हजारौं मानिस सडकमा ओर्लिएका छन् ।

अमेरिकामा भ्रमकै पछि लागेर जनताले कानुन हातमा लिन थालेका छन् । अपराधी भनेर सन्दिग्धलाई गोली दाग्ने, भ्रमपूर्ण समाचारमा मुछिएको रेस्टुरेन्टमा छिरेर राइफल चलाइदिने र संवेदनशील पूर्वाधारमा हतियारसहित छिर्ने काम क्युएनन अनुयायीले गरेका छन् । अहिले न्युयोर्कबाट काठमाडौंको न्युरोडको दूरी एक क्लिकको पनि छैन । यो समयमा भ्रामक सूचनाका अनेक रूप मुलुक–मुलुकमा फैलिँदै छन् । सामाजिक सञ्जालबाट अपुष्ट सूचना फैलाउने र त्यही आधारमा आफ्नो मास बेस जम्मा गर्ने प्रवृत्ति हामीकहाँ झनै हावी छ । कोरोना भ्रम हो, एमसीसी विग्रह मच्चाउन रचिएको रक्तिम जालसाझी हो, हामीलाई जोगाउन अलौकिक, दिव्य, अद्भुत मस्तिष्क भएका महागुरु, माता, बाबा आउनुभएको छ आदि जस्ता हल्लाले राजनीतिक साक्षरता नभएका जनताको दिमागलाई माकुरे जालोजस्तै जटिल बनाएका छन् ।

षड्यन्त्र, हल्ला र अफवाह फैलाउन हाम्रो मुलुक उसै उर्वर भूमि छ । कोतपर्वदेखि दरबार हत्याकाण्ड, मदन भण्डारीको रहस्यमय मृत्युदेखि निर्मला पन्त काण्डसम्म भोगेको हाम्रो समाजको पुस्तौंपुस्ता षड्यन्त्रकै समाचारको वरपर छ । छानबिन पारदर्शी बनाउन राज्यको असफलता पनि यसको एउटा कारक भयो । तर अहिले तनावपूर्ण महामारीले आगोमा घ्यू थप्दै छ । यो पूरै वर्ष र लगत्तैको केही समय हामीलाई डर, अनिश्चय र संशयको रापले पगाल्ने पक्का छ । विवेक कमजोर भइरहेको र भ्रम बलियो भइरहेको यो समयलाई मुट्ठीमा कसेर कुनै राजनीतिक शक्ति जन्मियो भने को जन्मिन्छ ? वा, देखेबुझेकै राजनीतिक शक्तिले यो भावनालाई सैंतेर आफ्नो पोल्टामा पार्‍यो भने हाम्रो लोकतन्त्रको भविष्य के हुन्छ ? जनताको विवेकले आत्मदाह गर्न थालेको यो समय लोकतन्त्रमाथि नै डरलाग्दो चुनौती बनेको छ । तर बुझ्न जरुरी चाहिँ हूलका हूल मानिसले किन भ्रमलाई पत्याउन थाले भन्ने हो ।

अव्यवस्थाको चुली लाग्दा र राजनीतिक पद्धतिमाथि विश्वासको खडेरी पर्दा मानिसलाई षड्यन्त्रले गाँजेको अनुभव हुन्छ । अनुसन्धान भन्छ, राष्ट्रिय वा व्यक्तिगत जीवनमा संकट आइपर्दा यस्तो अविश्वासको बेर्ना झनै झाँगिन्छ । चारैतिरबाट असुरक्षित महसुस गर्न थालेपछि मानिसले यी सबै परिघटना किन भए भन्ने व्याख्या खोज्छ । त्यसपछि ऊ आधिकारिक कुरा पत्याउँदैन । त्यसको वैकल्पिक व्याख्या र तथ्याङ्क खोज्न थाल्छ । यस्ता तनावबीच षड्यन्त्रका सिद्धान्तले गर्ने व्याख्याबाट उसलाई थोरै भए पनि राहत मिल्छ । कोरोना भाइरसले संसारलाई नै संकटको समुद्रतर्फ धकेल्दा अहिले षड्यन्त्रका सिद्धान्तमा विश्वास गर्नेको संख्या बढेको देखिन्छ ।

कोही मान्छे भने अरूभन्दा भिन्न देखिन यस्ता भ्रमलाई बढावा दिन्छन् । जस्तै, नेपाल मजदुर किसान पार्टीका नारायणमान बिजुक्छेले पनि सुरुमा यो भाइरसलाई अमेरिकी साम्राज्यवादीले फैलाएको भ्रम हो भने । यसरी जनता उचाल्न सजिलो थियो । केही मानिसलाई जलवायु परिवर्तनले पृथ्वी दैनिक तातिँदै गएको भन्ने थुप्रै प्रमाणमा विश्वासै लाग्दैन । हामीकहाँ एमसीसी अनुमोदनलाई लिएर भएका बहसमध्ये केहीलाई षड्यन्त्रको सिद्धान्तकै एउटा उदाहरण मान्न सकिन्छ । यो विषयमा जति थोरै बहस एमसीसीका अन्तर्वस्तु र तथ्यलाई लिएर भए, त्योभन्दा कैयौं गुणा विराट् चर्चा यससँग गाँसिएको भनिएका षड्यन्त्रलाई लिएर भए ।

युट्युब च्यानल र धेरै फलोअर भएका फेसबुक तथा ट्वीटर पेजले यस्ता अप्रमाणित हल्ला फैलाउन सजिलो बनाइदिएका छन् । तिनले पुष्टि गर्ने आधार नै नभएका हल्ला फैलाउँदै त्यसैलाई नै फलोअर बढाउने माध्यम बनाएका छन् । प्रत्येक घटनालाई षड्यन्त्र हो भनिदिने मान्छे युट्युब र सामाजिक सञ्जालमा ‘चलेका’ विश्लेषक दरिएका छन् । हल्लाको व्यापार चलाउन सजिलो हुन्छ तर विचारको युद्ध लड्न मुस्किल । अरूको विचारलाई प्रतिकार गर्न ऊभन्दा उत्तम विचार लिएर आउनुपर्‍यो । त्यसका लागि अध्ययन चाहियो । तथ्य, प्रमाण र तर्कको सम्मिश्रण चाहियो । यो दुईचार दिनमै जोहो हुने कुरा होइन ।

हामी अचेल अलि असहिष्णु भएका छौं । अरूको विचारलाई शारीरिक शक्तिले पराजित गर्न खोज्छौं । कि गलामा पहेंलो रामनामी ओढेर भिडियो बनाउनुस्, कि त सेतो अप्रोन भिरेर फेसबुक लाइभ चलाउनुस् । सब थोकदेखि आत्तिएको अहिलेको दर्शकदीर्घाले तपाईंको ‘वैकल्पिक व्याख्या’ माथि थपडी बर्साउँछ । तर, तर्कको स्रोत र विचारको वैज्ञानिकतामाथि प्रश्न गर्दैन । एकातिर यो सार्वजनिक ज्ञान निर्माणमाथिको चुनौती हो भने, अर्कातिर स्वस्थ बहस र लोकतन्त्रकै भविष्यमाथि आइलागेको संकट हो । समाज अघि बढ्ने भनेको विचार र प्रतिविचारको द्वन्द्वबाट आउने नूतन विचारले हो । विचारहरूबीच द्वन्द्व जरुरी छ । तर त्यो तथ्य र तर्कमा आधारित हुनु उत्तिकै आवश्यक छ ।

ठूला संकट आइपर्दा मानिसको आलोचनात्मक चेत शून्य भइदिन्छ । त्यस्तो बेला हामी तथ्यपरक सूचना खोज्दैनौं; आफूलाई चित्तबुझ्ने कुरा जसले भन्दिन्छ, उसैको पछि लाग्छौं । अनिश्चय, अविश्वास र आक्रोशले जेलेको यो समय अन्य बेलाभन्दा निकै संवेदनशील छ । समयमै बुझ्नु जरुरी छ, यो आशंकाभन्दा विवेक र अनुमानभन्दा विज्ञानमा बढी भर पर्नुपर्ने समय हो ।

प्रकाशित : कार्तिक २१, २०७७ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्

मसिना क्रान्तिहरू !

‘वैश्विक खाद्य प्रणाली खर्लप्पै निलेको कर्पोरटविरुद्ध कृषकहरूको प्रतिरोध हो– नयाँ कृषि आन्दोलन । जसले कृषिकर्म गर्छ, उसैले पृथ्वीवासीलाई खाना खुवाइरहेको सत्य सबैसामु दर्ज गर्ने प्रयत्न हो यो ।’
उज्ज्वल प्रसाई

अमेरिकामा डोनाल्ड ट्रम्प जानु र जो बाइडेन वा यस्तै अरू कोही आउनुले खासै फरक नपर्ने सोझो भनाइलाई सरल व्याख्या गरेर पाकिस्तानी साहित्यकार मोहम्मद हनिफले हालसालै एक टिप्पणी लेखे । ‘गार्जियन’ मा प्रकाशित सो टिप्पणी चर्चित बन्यो ।

हनिफकै शैलीमा धेरैले सोचिरहेका छन्, ट्रम्प हुनु र नहुनुले दुनियाँमा चलेको अर्थव्यवस्था वा लोकतन्त्रको चरित्रमा कति नै पो बदलाव आउने हो र ? यो दुनियाँ बाँच्नलायक बनाउने हो भने साँचो विकल्पको खोजी हुन जरुरी थियो । त्यसो हुन सकेन ।

यस लेखको उद्देश्य भने अमेरिकामा विकल्पको खोजी कसरी हुनुपर्थ्यो भन्नेमा केन्द्रित छैन । बरु चलेको अर्थव्यवस्थाको खोट औंल्याउने प्रत्येक प्रयत्नका अघिल्तिर तेर्स्याइने विकल्पको प्रश्नलाई सामान्य सम्बोधन गर्न खोजिएको हो । विकल्पका प्रस्तावस्वरूप पहिल्यै भएका केही विमर्शलाई स्मरण गरिएको हो । विभिन्न समाजमा भएका वैकल्पिक हस्तक्षेपबारे अध्ययन नथाल्दा सबैले अमेरिकाकै नियति दोहोर्‍याउने निश्चित छ ।

अर्थतन्त्रलाई थान्कोमा फर्काऊ !

सन् १९८० को दशकको उत्तरार्द्धको कथा हो । चिनीको अन्तर्राष्ट्रिय बजारमा मन्दी आएपछि फिलिपिन्सको नेग्रोस टापुका उखु कृषकहरू भोकै भए । संकटग्रस्त जीवन बाँच्न बाध्य फिलिपिनी कृषकका दुःखमा सघाउन कुनै नाम चलेको आईएनजीओ आएन । बरु संकटमा भरपर्दो सहयोग गर्न पुगेका थिए जापानका उपभोक्ता सहकारीहरू । समुद्रपारिका दक्षिणी छिमेकीको सहयोगार्थ उनीहरूले स्वयंसेवीसहित खाना र औषधि पठाए । ती कृषकले उत्पादन गरेका उखु खपत नहुँदा भविष्यमा संकट गहिरिँदै जाने बुझेका सहकारीहरूले फिलिपिनी उत्पादक र जापानी उभोक्तासँग सोझो सम्बन्ध स्थापना गर्ने उद्देश्यसहित काम अघि बढाए । फिलिपिन्समा उत्पादन हुने खैरो रङको प्रशोधन नगरिएको मस्कोभादो चिनी सोझै जापानी उपभोक्ताको भान्सामा पुग्ने व्यवस्था मिलाए ।

जापान र फिलिपिन्सबीच अघिदेखि औद्योगिक र व्यापारिक सम्बन्ध स्थापित थियो । त्यसो त जापानी साम्राज्यको सैन्य झम्टा पनि बेहोरेकै थियो फिलिपिन्सले । सत्ताले कोपरेर घाउ बनाए पनि नागरिकस्तरमा सौहार्द स्थापनाका प्रयासहरू सफल थिए । सन् साठीको दशकदेखि उपभोक्ता अधिकार एवं खाद्य सुरक्षाका लागि काम गर्ने संस्थाहरू सुरु भए । द्रुत गतिमा नासिँदै गएको जापानी गाउँका कृषकका संकट सम्बोधन गर्ने क्रममा यी संस्था बनेका थिए । सन् असीको दशकमा फिलिपिन्सका गाउँसम्म उनीहरूको काम विस्तार भयो ।

दुई मुलुकका कृषक र उपभोक्ताबीच सोझो सम्बन्ध स्थापित गर्ने क्रममा ‘अल्टर ट्रेड जापान इन्क’ भन्ने वैकल्पिक अन्तर्राष्ट्रिय व्यापार प्रणाली सुरु गरियो । पर्यावरण सुहाउँदो कृषिउपजको उत्पादनमा लागेका साना कृषकको संवर्द्धन गर्ने, पर्यावरणमा ठूलो क्षति नपुर्‍याउने सुरक्षित खाद्यान्नको व्यापार गर्ने र मुलुकका सिमानाले छुट्याएका आम मान्छेबीच हार्दिक सम्बन्ध स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय व्यापारको वैकल्पिक प्रणाली स्थापना गरिएको थियो । वैकल्पिक बाटो प्रयोग गरेर जापानका उपभोक्ता सहकारीहरूले फिलिपिन्स मात्र नभई पेरु, मेक्सिको, इस्ट टिमोर, प्यालेस्टाइन लगायत मुलुकबाट आवश्यक खाद्यको आयात गर्छन् ।

मुट्ठीभर मान्छेको हित मात्रलाई केन्द्रमा राखेर बिचौलियामार्फत सञ्चालित पुँजीवादी अन्तर्राष्ट्रिय व्यापारका दुष्प्रभावबाट बच्न यो प्रयत्न गरिएको थियो । यसो गर्दा उपभोग गर्ने र उत्पादन गर्नेहरूबीच भावनात्मक सम्बन्ध प्रगाढ भयो, एकअर्काका दुःखमा उनीहरू सहभागी हुने र जीवन सहज बनाउने मौका पाए । अर्थोपार्जन मात्रको नीरस धन्दाबाट अलग प्रकृतिमैत्री र मानवीय लेनदेनको उदाहरण बन्यो ।

जापानको अन्तर्राष्ट्रिय व्यापार भन्दा मूलतः टोयोटा, तोसिबा, हिटाचीजस्ता ठूला कम्पनीले उत्पादन गरेका कार, कम्प्युटर र अन्य विद्युतीय सामग्रीको व्यापार बुझिन्थ्यो । यी उद्योगमा आएका उतारचढावले मुलुकको अन्तर्राष्ट्रिय सम्बन्ध प्रभावित हुन्छ भनिन्थ्यो । समयक्रममा उत्पादित वस्तु मात्र होइन, स्वयं उत्पादन प्रक्रियाले मुलुकका सिमाना छिचोल्यो । बहुराष्ट्रिय कम्पनीका रूपमा उद्योगहरू सस्ता श्रमबजारको खोजीमा निस्के । अन्तर्राष्ट्रिय सम्बन्धहरू र वैश्विक अर्थतन्त्र पनि त्यसैअनुसार प्रभावित बन्यो । खुला व्यापार एवं अर्थतन्त्रका समर्थक र आलोचक दुवैले यी विषयमा काफी चर्चा गरेका छन् । धनी र औद्योगिक मुलुकका रूपमा परिचय बनाएको जापानमै भइरहेका वैकल्पिक आर्थिक गतिविधि एवं अन्तर्राष्ट्रिय व्यापारबारे भने आम चर्चा हुने गर्दैन ।

आम चर्चामा नभएका तर महत्त्वपूर्ण वैकल्पिक हस्तक्षेपबारे विमर्श गर्ने उद्देश्यले जेके गिब्सन ग्राहामले रोचक खोज गरेका छन् । दुई फेमिनिस्ट इकोनोमिक जोग्राफर जुली ग्राहाम र क्याथ्रिन गिब्सनले संयुक्त रूपमा काम गर्न र लेख्नका लागि जुराएको नाम हो जेके गिब्सन ग्राहाम । सन् २०१० मा जुली ग्राहमको मृत्यु भयो तर त्यसपछि गरिएका खोज एवं लेखनमा पनि क्याथ्रिनले संयुक्त नाम नै चलाइरहेकी छन् । जेके गिब्सन ग्राहम, जेन्नी क्यामरन र स्टेफन हिलीले संयुक्त रूपमा लेखेको ‘टेक ब्याक द इकोनोमी : एन एथिकल गाइड फर ट्रान्सफर्मिङ आवर कम्युनिटिज’ शीर्षक पुस्तकमा माथि चर्चा गरिएका जस्ता थुप्रै उदाहरणको वर्णन छ । व्यावहारिक रूपमा सफल भएका दर्जनौं उदाहरणमार्फत उनीहरूले अघि सारेको प्रस्ताव हो, ‘अर्थतन्त्रलाई समुदायको हातमा फर्काऔं, यो सम्भव छ ।’

‘नयाँ कृषि आन्दोलन’

अर्को नजिकको उदाहरण हेरौं । बंगलादेशमा विविध पर्यावरणीय एकाइका रूपमा रहेका तीन लाखभन्दा बढी परिवारको संलग्नतामा ‘नयाँ कृषि आन्दोलन’ सञ्चालनमा छ । मानवीय जीवन र प्रकृतिको सम्बन्धलाई सहज बनाउने दार्शनिक आधारमा सञ्चालित यो अभियानले जमिनलाई बिक्रीयोग्य वस्तु उत्पादन गर्ने ‘कारखाना’ का रूपमा व्यवहार गर्दैन, न निजी सम्पत्तिको सञ्चय भनेर बुझ्छ । जमिनसँग अलग बसेर वा त्यसलाई कज्याएर होइन, बरु आफूजत्तिकै जीवन्त प्राकृतिक एकाइ मानेर व्यवहार गर्छ । बीउलाई इतिहास एवं निरन्तरताको सुन्दर विम्बका रूपमा बुझ्छ । उपभोगवादी चलनमा मान्छे औपनिवेशिक शासक हुने र प्रकृति वा जमिन ऊद्वारा आफ्नो स्वार्थपूर्तिका लागि कज्याइएको दास हुने अवस्थाको अन्त्य गर्दै समग्र बचाइलाई ‘सहज’ बनाउने उद्देश्य नै नयाँ कृषि आन्दोलन हो ।

नयाँ कृषि आन्दोलनमा सहभागी हुने कृषकले पहिल्यै तय गरिएका दस नियमको पालना गर्नुपर्नेछ । सुरुआतमा आउनेलाई अभ्यास गराउने उद्देश्यले यी नियमहरू बनाइएका हुन्, न कि कृषकलाई बन्दी बनाउन वा सृजनात्मक उपायहरू अवलम्बन गर्न नदिन । एकदेखि पाँचसम्मका नियमहरू मूलतः माटोमा कुनै किसिमको रासायनिक पदार्थको प्रयोग नगर्ने र उत्पादकत्व वृद्धिका लागि मौलिक जैविक उपायहरूको खोजी गर्नेमा केन्द्रित छन् । बाँकी पाँच नियम पानीको संरक्षणमा केन्द्रित छन् ।

पोखरी बनाउने र विविध किसिमका माछाको पालन गर्ने, वस्तुभाउ र पन्छी पाल्ने कामलाई अन्तरसम्बन्धित बनाउँदै माटोमुनि रहेको पानीको संरक्षण गर्ने तरिका सिक्नुपर्नेछ । यी दस नियम पालना गर्दा पुँजीपतिको कारखानामा उत्पादित बीउ र मलको भर पर्नुपर्दैन । सुदृढ पर्यावरणमैत्री कृषि प्रणालीको विकास गर्न चाहिने स्थानीय स्तरका संस्थाहरूको निर्माण गरेको यस अभियानले स्थानीय कृषकहरूको भिन्न तर अन्तरसम्बन्धित सञ्जाल निर्माण गरेको छ । यसै क्रममा निर्माण गरिएको ‘कम्युनिटी सिड वेल्थ (सीएसडब्लू)’ सँग अहिले तीन हजार प्रजातिका धान उपलब्ध छन् भने ५३८ प्रकारका तरकारी, तेल, मसलालगायत खाद्यवस्तुका बीउ संरक्षित छन् । यस आन्दोलनका अगुवा अभियन्ता बंगाली कवि फरहद मजहर लेख्छन्, ‘वैश्विक खाद्य प्रणाली खर्लप्पै निलेको कर्पोरेटविरुद्ध कृषकहरूको प्रतिरोध हो यो आन्दोलन । जसले कृषिकर्म गर्छ, उसैले पृथ्वीवासीलाई खाना खुवाइरहेको सत्य सबैसामु दर्ज गर्ने प्रयत्न हो यो ।’

यस्ता थुप्रै उदाहरणसहित उत्पादन, वितरण एवं उपभोगका गैरपुँजीवादी प्रयत्नहरूबारे विमर्श गर्न सम्पादन गरिएको पुस्तक हो– ‘प्लुरिभर्स : अ पोस्ट डिभेलोपमेन्ट डिक्सनरी’ । लामो समयदेखि ‘विकास’ नामक प्रक्रियाका समस्याग्रस्त जग उधिन्दै, विकल्पहरूको अध्ययनमा लागेका अन्वेषक र अभियन्ताहरूको सामूहिक प्रयत्नको उपज हो यो ग्रन्थ । छोटा र सरल लेखहरूमार्फत विकल्पका विविध एवं व्यावहारिक प्रस्तावहरूले चल्तीमा रहेको विकास र समृद्धिको पुरानो ब्लुप्रिन्टलाई खारेज गर्छन् । खुला बजार अर्थतन्त्रबाट देशको विकास गर्न चाहने वा योजनाबद्ध विकासमार्फत राष्ट्रिय पुँजीको निर्माण गर्दै समाजवादतर्फ जान चाहने दुवैका ब्लुप्रिन्टहरू समस्याग्रस्त छन् भन्ने यहाँ संगृहीत लेखहरू पढेपछि बुझिन्छ ।

नेपालको थिति

बंगलादेशमा गरिएकै स्तरमा व्यवस्थित भइनसकेको तर आम विमर्शका लागि प्रयत्नरत सृजनात्मक अभियान नेपालमा पनि छ । कृषिविज्ञ कृष्णप्रसाद पौडेल नेतृत्वको समूहले ‘खाद्यका लागि कृषि अभियान’ सञ्चालन गरिरहेको छ । व्यापार र नाफालाई मुख्य उद्देश्य बनाउँदा खाद्यान्नका नाममा बजारमा अखाद्य वस्तुको वर्षा भयो । मासु, हरिया सब्जी, तेल, दूध– यी नभई नहुने खाद्यान्न कति स्वस्थ छन् भन्ने कुनै यकिन नभई खानुपर्ने बाध्यता आइलाग्यो । तरकारीमा हालेका विषादीका कारण क्यान्सर भएका खबर पटकपटक सुनिन थाले । आम मान्छेका भान्सामा विषरहित खाना पुर्‍याउन नाफा मात्रको ध्येय तोड्न आवश्यक छ । त्यसैले विकल्पको खोजी भएको हो ।

निर्वाहमुखी खेतीलाई नेपाली समाजको अविकास र पछौटेपनको एकल दोषी साबित गरेर दशकौं बिताइसकेपछि कोरोनाकाल आइपुग्यो । यो संकटमा हजारौं मान्छेले त्यही परित्यक्त निर्वाहमुखी खेती सम्झिए । भयाक्रान्त भएर विदेशबाट घर फर्केका युवाले बाँझो बारीमा डल्ला फोर्न सुरु गरे, बाँस काटेर टाट्ना बनाउन थाले । हठात् बन्द भएका होटल वा रेस्टुरेन्टबाट उहिल्यै छोडेको बारीमा पसे, खेत हिल्याउन थाले ।

जागिर नखोसिए पनि विगत सात महिनादेखि तलब नआएका निजी विद्यालय र कलेजका शिक्षकले खुइय्य गर्दै भन्न थाले, ‘अलिकति खेती बचाएर राखेको भए यस्तो बिजोग त बेहोर्नुपर्ने थिएन !’ निर्वाह धानिदिएको खेतीलाई पछौटेपनको द्योतक बनाउनुभन्दा स्वावलम्बन, उद्यम र जीवनको आलम्ब बनाउने कोसिस हुनुपर्थ्यो । खेती मात्रमा केन्द्रित जीवन कष्टकर छ भन्ने अनुभवलाई खेतीबाट भाग्ने र कतारको श्रमबजारमा सस्ता श्रमिक हुन पुग्ने उपक्रममा टुंग्याउनु हुने थिएन । भन्न सजिलो, काम गरेर परिणाम देखाउन अप्ठ्यारो छ । भएका प्रयत्नबारे पढेर, बुझेर हौसला प्राप्त गर्न सकिन्छ; आफ्नै सृजनात्मक गोरेटो खन्न सकिन्छ ।

अहिले खेती र पशुपालन गर्छु भनेर तम्सेका युवाहरूको एक मात्र उद्देश्य उपलब्ध स्रोतको सक्दो दोहन हो । यति बुझ्न कुनै ठूलो अन्वेषक भइरहनु पर्दैन । खाद्यान्न उत्पादन आफैंमा गम्भीरतापूर्वक एवं जिम्मेवारीबोधसहित गर्नुपर्ने काम हो भन्ने सामान्य सत्यको सञ्चार हुन सकेको छैन । यसै त कृषिको यान्त्रिकीकरण, आधुनिक कृषि प्रणाली, उत्पादन वृद्धि र बजार प्रवर्द्धनजस्ता जार्गनहरूको कुनै कमी छैन उनीहरूसँग । तर सबैभन्दा पहिलो प्राथमिकता बैंकबाट सस्तो ब्याजमा ठूलो धनराशि फुत्काउने हुन्छ । त्यसपछि केही पूर्वाधारको जोहो गर्ने, कम्पनीका नाममा निजी उपभोगका लागि सानदार गाडी जोड्ने र अन्तिम बुँदामा मात्रै धान, तरकारी, दूध वा मासु उत्पादन गर्ने काम राखिन्छ । उद्यमी बन्न चाहने तर अन्ततः स्थापित दलाल–चक्रको दाँती बनेर पतित हुने युवाहरूमाझ ‘खाद्यका लागि कृषि अभियान’ पुग्न जरुरी छ । साथै, जेके गिब्सन ग्राहामदेखि फरहद मजहरहरूले गरेका खोजबारे उनीहरूसँग संवाद द्रुत बनाउन आवश्यक छ ।

व्यवस्थामा समस्या देख्नेहरूले सोच्न सक्छन्, सिंगो व्यवस्थाको चुरोमा प्रहार नगरी यस्ता स–साना अभियान चलाएर कसरी बदलिएला यथास्थिति ? सत्ता कब्जापछि मात्रै कुनै परिवर्तन सम्भव हुन्छ भनेर सोच्नेहरूका लागि यी सबै क्षणिक बुद्धिविलास प्रतीत हुन सक्छन् । कुनै ठूलो आँधीबेहरी सृजनाको तयारीमा लागिरहने, ठूलो विस्फोटको पर्खाइमा बसिरहने वा त्यो एक दिन उज्यालो आउनेछ भनेर सपना देखिरहने काम यसअघि पटकपटक भइसके । ती प्रयत्नबाट ठूला परिवर्तन सम्भव भएकै पनि हुन् । तर क्रान्ति भएको डेढ दशक नबित्दै प्रतिक्रान्ति नांगो रूप लिएर दैलामा आइपुग्दो रहेछ, होइन र ?

प्रकाशित : कार्तिक २१, २०७७ ०९:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×