कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

नदी उकालो बग्ने देश !

चीनको याङ्जे नदी पूर्वी मार्गमा १,१५६ किलोमिटर; मध्यमार्गमा १,२६७ किलो मिटर र पश्चिमी मार्गमा १,३०० किलो मिटर उकालो बग्ने भयो । पानी मोड्ने विश्वको सबै भन्दा ठूलो यो कार्यमा ८१.४ खर्ब डलर (भारु ६ लाख करोड) धनराशि खर्च गरिने भयो ।
महेन्द्र पी‍. लामा

‘कलियुग आउँदै छ है, नानी हो ! धारा–पँधेरा सबै सुक्छन्, खोला–नदीसमेत उकालो बग्न थाल्छन् है !’ हाम्रै बाजेबज्यैले ठन्डा महिनामा न्यानो अगेनावरिपरि बसेका हामीलाई भन्थे । त्यति बेला खोला–नाला–खहरे–झरना–तालमा टम्म पानी हुन्थ्यो ।

नदी उकालो बग्ने देश !

बर्खा चुचुरोमा पुग्दा दसैं–तिहारअघि मूल फुट्थ्यो । सुरम्य शरद् ऋतुले गर्दा प्रकृति रमाउँथ्यो । र नै, बाजेबज्यैले दाँत नभए पनि गिजाले माघे संक्रान्तिमा वनतरुल र सखरखण्ड चपाउँदै भनेका यी कुराहरूलाई दन्त्यकथा भन्ठान्थ्यौं । तर उमेर जाँदै गर्दा, पुस्तक–ज्ञान छिचोल्दै जाँदा विश्व पर्यावरण र प्रकृतिमाथि विकासका नाममा मानव समूहको विनाशकारी प्रकोप र लोभका कारण पुग्दै गरेको आघात आँखैले देखेपछि, ती चाउरी परेका बाजेबज्यैका उज्याला अनुहारभित्र रहेका पारम्परिक ज्ञानका भण्डारहरूले झकझकाउन लागे ।

धारा नै सुकेपछि, खोला नै प्रदूषित भएपछि पूजापाठ गर्नलाई चोखो पानी पाउन पनि हम्मे भयो । गंगाजल र गिर्जाघरको होली वाटरलाई पनि फिल्टर गर्नुपर्ने भयो । पिउने पानीको हाहाकार हुन थाल्यो । ताजा पानी खोज्न जापानीहरूले पनि पहाडका खोला–नाला कोट्याउन थाले । ओनसेनमा पनि प्राकृतिक नपाएर बनावटी तातोपानीको मुहान बनाउन थाले । पानीको भण्डार तिब्बतमा पनि हिमशिखर र हिमनदी यति शीघ्र पग्लन थाले, तलतिरका राष्ट्रहरू आतंकित बन्न पुगे । पानीले गर्दा नै तेस्रो विश्वयुद्ध हुने अडकलहरू पनि अघि आउन लागे ।

पानीको व्यथा र पानीमाथि चर्चा आजको चीनमा सबैभन्दा द्रुत गतिमा उग्र बनेर आयो । विकासले चीनलाई विश्वका कुनाकुनामा पुर्‍यायो । सोमालियादेखि ब्राजिल, नेपालदेखि क्यानडा र स्विडेनदेखि मरिसससम्मै चीन र चिनियाँ सामान, टेक्नोलोजी र पुँजी निवेश लछ्रप्पै ढंगमा पुगे । गाउँ–गाउँमा चीन पुग्यो, घरभित्रका पूजाकोठा र देवताका थानमा पनि भगवान् नै नमान्ने र ईश्वर नपुज्ने नास्तिक राष्ट्र चीन पुग्यो । चीनले विश्वमा त्यही गर्‍यो, जो इस्ट इन्डिया कम्पनी र अंग्रेज उपनिवेशवादले भारतमा गर्‍यो । कम्पनीले हाम्रो कपास लगेर म्यान्चेस्टरमा लुगा बनाई दस गुणा बढी दाममा हामीलाई नै बेच्यो । चिया, काठपात, फलाम सबैमा यसै गर्‍यो । लुटेरै आफ्नो देश बनाए प्रायः पश्चिमी राष्ट्रहरूले । कसैले अफ्रिका, कसैले दक्षिण अमेरिका, कसैले एसियामा दशकौं अड्डै जमाए । चीनले त्यही मोडल अपनायो । अनिकाल, भुइँचालो, सांस्कृतिक क्रान्ति र अन्य भयानक द्वन्द्वले ध्वस्त भइसकेको राष्ट्र चीनले माओ त्सेतुङको सन् १९७६ मा मृत्यु भएपछि देङ स्याओपिङको नेतृत्वमा सन् १९७९ देखि आजपर्यन्त विकासको चुलीमा पुग्न केचाहिँ गरेन !

कम्युनिस्ट समाजवादी राष्ट्र भएर पनि पुँजीवादी राष्ट्र अमेरिकाझैं बजार व्यवस्थामा चुर्लुम्म डुब्यो चीन । ‘बिरालो कालो होस् वा सेतो, मुसो मार्‍यो भने भैगो’ भन्ने सिद्धान्त अपनायो । जापानी साम्राज्यवादले खर्लप्पै खाएको चीनले जापानसँगै हात मिलाएर सबै जापानी कम्पनीहरूलाई चीनमा कारखाना खोल्न दियो । अमेरिकासँग आन्द्रै गाँस्यो र नै आफ्ना ओप्पो, स्याओमी, हुआवेभन्दा पनि बढी चिनियाँहरूले एप्पलको मोबाइल फोन रुचाउने र चलाउने भए । चीन आफूलाई विकसित, धनाढ्य र शक्तिशाली बनाउन कहाँ पुगेन ! मूल मन्त्र थियो– देश–विदेश, कुनाकाप्चा कहीँबाट पनि कोरा माल ल्याएर, आफ्ना कारखानाबाट तिनलाई निर्यात गर्ने सामानमा परिणत गर्नु र विश्वबजारलाई नै पिट्नु । यसरी नै कोइला लिन अस्ट्रेलिया, पेट्रोल लिन खाडीका देश, ग्यास लिन मध्यएसिया र बर्मा, खनिज पदार्थ लिन अफ्रिका, फलाम लिन भारत गर्दै चीन चारैतिर पुग्यो । यी सब सस्तो दाममा हत्याउनलाई जुन देशले जे माग्यो, चीनले दिई पनि हाल्यो । जापान, अमेरिका र जर्मनीबाट एकपल्ट टेक्नोलोजी ल्याएपछि, त्यसभित्र रहेको ज्ञान र टेक्नोलोजीलाई हत्याउन चीन निपुण भयो । कसैले टेक्नोलोजी चोरेको आरोपसम्म लगाए । तर चीनले यस्तो फड्को मार्‍यो, सबै अवाक् भए । सौर्य ऊर्जा, बुलेट ट्रेन, कम्प्युटर सबैसबै क्षेत्रमा विकसित राष्ट्रहरूलाई समेत चीनमा निर्भर हुन कर लाग्यो ।

आफ्नो भौगोलिक स्थिति मास्तिर रहेकाले चीनले केवल पानी भने बाहिरबाट ल्याउन सकेन । तर पानीमा पनि ब्रह्मपुत्र, सिन्धु, मेकोङजस्ता नदीहरूका उद्गमस्थल नै चीन भएको हुनाले भारत, बंगलादेश, पाकिस्तान, लाओस, कम्बोडिया, थाइल्यान्ड आदिलाई निर्भर नै बनाइदियो । हरेक उद्योग, कृषि, व्यवसाय, पर्यटन आदिमा व्यापक रूपमा चलाइने पानी भने चीनले आफ्नै चलाउनुपर्ने भयो । पानी आयात कसरी गर्ने ? विकासका कारण सरसामान सस्तो र आकर्षक ढंगमा निकाल्नुपर्‍यो र नै विश्वबजार खान सक्ने भयो । चीनमा पानीको माग यति बढ्यो, प्रकृतिले मुन्टो बंग्यायो । कारखाना चलाउने बिजुली सस्तो दाममा उपलब्ध गराउन हजारौंको संख्यामा जलविद्युत् आयोजना र त्यहीमाथि पनि थ्री गोर्जेसजस्ता अति नै बीभत्स बाँधहरू । चीनले आफूलाई विश्वको सस्तो सामग्री दिने कारखाना बनाउँदा प्रकृति र प्राकृतिक प्रक्रियासँग नै खेल्न थाल्यो ।

सन् २०१० मा म बेइजिङमा थिएँ । भोलिपल्ट चीनको राष्ट्रिय दिवस थियो । बेइजिङको सडकमा विकास र सैन्य शक्तिका झाँकीहरूको विस्तृत प्रदर्शन हुन लागेको थियो । भोलि पानी पर्ने र त्यो प्रदर्शनलाई प्रभाव पार्ने स्थिति देख्नासाथ चीनले आजै वृष्टिको कालो बादललाई आफ्नो टेक्नोलोजी प्रयोग गरी पानी बनाई झारिदियो । भोलि दिन उज्यालो र सुन्दर भयो । क्रिसमस र न्यु इयरमा हिमपातसम्म बनावटी ढंगमा बाक्लै रूपमा हुन पनि सक्ने भयो । ठूलठूला सहरहरूमा फराकिला बाटा र मार्गहरू मेसिनले चलाएको पानीले धुने भयो । बाघ–भालुका हड्डी र पित्त, खरायो, पाहा, बिच्छी आदिको माग द्रुत गतिमा बढ्दै जाँदा ठूलठूला फार्ममा यी सबै पशुप्राणीको खेती र उपार्जन नै गर्न थाल्यो । हामी पहाडमा माघे संक्रान्तिमा टीका लगाउन वनतरुल खोज्न कैयौं दिन लगाउँछौं अनि बल्लबल्ल सानो र महँगो भेटेर घर ल्याउँछौं । चीनमा बाह्रै महिना मोटामोटा वनतरुल सस्तो दाममा पाइन्छ । ग्रिन हाउसमा उमारिएका यी वनतरुलमा स्वाद भने हुँदैन ।

चीनमा गत २५ वर्षमा २८ हजार नदीहरू सुके । उत्तरी चीनका राज्यहरू पानीको हाहाकारमा रुमलिइरहेका छन् । धेरै पुस्तक लेखिँदै छन्, पानीको कमी, दुरुपयोग, प्रदूषण र मुहानहरूको सुकाइबारे । ह्वाङ हो नदी (यल्लो रिभर), जसलाई चीनको ‘मदर रिभर’ मानिन्थ्यो र राष्ट्रको सभ्यताको कोख भनिन्थ्यो, सुकेर नाश नै हुन लागेको छ । यसै नदीमा बाढी आएर यति क्षति पुग्थ्यो, यसलाई ‘दुःखपीडाको नदी’ (रिभर अफ सरो) पनि भनिन्थ्यो । चीनको पर्यावरणबारे लेख्ने विख्यात पत्रकार मा जुनले आफ्नो पुस्तक ‘चाइनाज वाटर क्राइसिस’ मा ह्वाङ होमाथि लेखेका छन्, ‘यस मदर रिभरको प्रवाह सन् १९७२ मा बिस्तारै कम हुँदै गयो । सन् १९९७ मा यस नदीको एक थोपा पानी पनि ३३० दिनसम्म समुद्रमा पुगेन । एकपल्ट पूरा शक्तिसँग बहने यो नदी आजभोलि सानो, फोहोर नाला–खोला भएको छ । तर ह्वाङ होभन्दा पनि भयानक स्थिति उत्तरी चीनको तराई क्षेत्रमा बहने ३०० नदीहरूको भएको छ । सबै खुला फोहोर नाला बनेका छन् ।’ ७०० किलोमिटर लामो र १० मिटर गहिरो ह्वाङ होमा ५ हजार मेगावाटका जलविद्युत् आयोजनाहरू बनाइएका छन् । एन्ड्र्यु मर्थाले ‘चाइनाज वाटर वारियर्स’ अनि डेभिड पिएजले ‘द यल्लो रिभर’ पुस्तकमा यो नदी यस्तो अवस्थामा कसरी पुग्यो भन्नेबारे अझै घतलाग्दा कुराहरू लेखेका छन् । स्कुलमा छँदा मैले भूगोलमा ह्वाङ होबारे पढेको थिएँ । टर्नबुल स्कुलका प्रधानाध्यापक महेन्द्रकुमार प्रधान ‘नी हाउ’ भन्दै चिनियाँ भाषा सिकाउँदै यो नदीको गाथा सुनाउँथे । पछि मैले आफ्नै आँखाले देखें, चारैतिर बाढीको आतंक फैलाउने नदीलाई, एसियाको दोस्रो विशाल प्रवाहलाई सुकेनास लागेको ।

चीनका गाउँबस्तीमा जाँदा बूढापाकाहरू पानी भन्नासाथ नतमस्तक हुन्छन्; प्रकृतिलाई पुकार्छन् अनि आँखा चिम्म गर्छन्; कुनमिङ, डाली, लिजाङ र तिब्बतका तालहरूलाई सम्झन्छन् । सन् २०१५ मा देब्रा तान र अन्यले लेखेको रिपोर्टअनुसार, चीनमा अति नै भीषण रूपमा पानीको अभाव हुँदै छ । उनीहरूले जलाशयको मानचित्र कोर्दै लेखेका छन्– चीनका एघारवटा सुक्खा राज्यहरू (ड्राई ११) मा पानी विश्व बैंकले निर्धारण गरेको गरिबी रेखा (१ हजार क्युबिक मिटर) भन्दा धेरै तल छ । यसमा आर्थिक रूपमा शक्तिशाली क्षेत्रहरू जियाङ्सु, सान्दोङ र शांघाई–बेइजिङ–तियान्जिनका म्युनिसिप्यालिटीहरू पनि छन् । अर्कातिर, चीनको मोठ घरेलु आयको लगभग ५० प्रतिशत योगदान यी एघार सुक्खा राज्यहरूले नै दिन्छन् । चीनमा पानीको प्राकृतिक वितरण नै अचम्मको छ । ३१ राज्यहरू भएको चीनका दक्षिण–दक्षिणपश्चिम क्षेत्रमा राष्ट्रको ७५ प्रतिशत पानीका मुहानहरू छन् । अर्कातिर, चीनको ४७ प्रतिशत खेतीपाती भने सुक्खा क्षेत्र उत्तरमा गरिन्छ । तसर्थ दक्षिणमा भन्दा उत्तरमा पाँच गुणा ज्यादा जमिनमुनिको पानी चलाइन्छ । यसबाट लगभग १ लाख ७० हजार वर्गकिलोमिटर– कोरिया, डेनमार्क र ताइवान मिलाउँदा हुने– इलाकामा सुक्खाको असर पर्न लागेको छ ।

अब विकास त्याग्ने कि पानी ल्याउने ? भित्री द्वन्द्व हुन दिने कि नदीलाई बंग्याउने ? राजनीतिक अस्थिरता ल्याउने कि गैरप्राकृतिक योजना बनाउने ? चीनमा गहिरो बहस सुरु भयो । विकास त्याग्नु भनेको राजनीतिक उथलपुथल निम्त्याउनु हो, चीनको विश्वव्यापी प्रभावमा आघात पुर्‍याउनु हो र कम्युनिस्ट पार्टीको सरकारलाई समेत बाघको खोरमा घचेट्नु हो । एउटै उपाय रह्यो– दक्षिणमा रहेका नदीहरूको पानीलाई उत्तर लैजाने । अर्थात्, नदीलाई उकालो बगाउने । यो सोच सन् १९५२ मै माओ त्सेतुङले अघि ल्याएका थिए रे । सन् २००२ मा कम्युनिस्ट पार्टीको स्टेट काउन्सिलले यो योजनालाई अनुमोदन गर्‍यो । भारतको योजना आयोगजस्तै चीनको उच्चतम विकास संस्था राष्ट्रिय विकास सुधार आयोगले यो अप्राकृतिक सोच र योजनालाई साकार रूप दिनुपर्ने भयो । चीनको अर्को विशाल नदी याङ्जेलाई उकालो लैजाने निर्णय लिइयो । र, एउटा व्यापक दक्षिणदेखि उत्तर पानी बहाउ योजना कार्यान्वयन गरियो ।

पानी लैजाने तीनवटा मार्गहरू तय गरिए । पूर्वी मार्गमा १,१५६ किलोमिटर; मध्यमार्गमा १,२६७ किलोमिटर र पश्चिमी मार्गमा १,३०० किलोमिटर उकालो बग्ने भयो याङ्जे नदी । पानी मोड्ने विश्वको सबैभन्दा ठूलो यो कार्यमा ८१.४ खर्ब डलर (भारु ६ लाख करोड) धनराशि खर्च गरिने भयो । नभन्दै सन् २०१४ मा हरियो बेल्ट नामक नहरहरूको निर्माण सुरु गरियो । नहरहरूवरिपरि जंगलको छहारी बिछ्याइयो । पानीलाई पम्प गरेर उकालो लैजान सुरु गरियो । बीचबीचमा पानी परिष्कृत गर्ने मेसिनहरूका स्टेसन बनाइए । तीन वर्षभित्रै १५७ किलोमिटर लामो नहर बनाइएपछि सफा पानी बेइजिङ, तियान्जिन, हिभी र अन्य ११ नगरहरूमा पुर्‍याइयो । खेतीपाती फेरि फस्टाउन थाल्यो । यसरी नै पूर्वी मार्गमा धेरै अघि नै निर्माण कार्य सुरु भएको छ । सन् २०५० भित्र यी सबै मार्गहरू पूर्ण रूपले निर्माण गरिसकिने अनुमान छ । र, लगभग ४४.८ खर्ब क्युबिक मिटर पानी बर्सेनि उत्तर पुर्‍याइनेछ । चीनका चार मुख्य नदीहरू याङ्जे, ह्वाङ हो, हुआहे र हाइएलाई एकअर्कासँग उत्तरमै जोड्ने रे !

यो अप्राकृतिक प्रवाहले पर्यावरणमा, बिजुली खपतमा र चीनदेखि तलतिर रहेका राष्ट्रहरू भारत, बंगलादेश, भोटाङ, नेपाल, पाकिस्तानमा अनि दक्षिणपूर्वी एसियामा के प्रभाव पार्छ भन्नेबारे चर्चा–परिचर्चा सुरु भइसकेको छ । तर चीनले धेरै कुरो बाहिर बताउँदैन, गरिसकेपछि मात्रै घोषणा गर्छ । हामी दक्षिण एसियामा ठीक उल्टा छौं । पहिला घोषणा गर्छौं तर धेरैपल्ट भुली पनि हाल्छौं । माउन्ट एभरेस्टको बेस क्याम्पमै सिगात्सेबाट ३२५ किलोमिटरको कालो अलकत्राको बलियो बाटो बनाइसकेर मात्रै चीनले घोषणा गर्‍यो । विश्वले विरोध गर्‍यो, बनाई त हाल्यौं भन्दै चीन चुपचाप बस्यो ।

नदी उकालो बगाउने पश्चिमी मार्ग तिब्बत, युनान, सिचुआन र चिनहाई क्षेत्रहरूमा भने हिमालय पर्वत र अग्लाअग्ला पहाड छन् । त्यहाँबाट सिन्ज्याङ राज्यमा पानी कसरी लैजाने भन्नेबारे वैज्ञानिक शोधकार्य हुँदै छ । भर्खरै आएको रिपोर्टअनुसार, चिनियाँ वैज्ञानिकहरूले तिहाने नामक टेक्नोलोजी बनाउँदै छन् रे ! यसबाट चाहिँ ‘आकाशमा नदी’ नामक योजना अनुसार झरी पार्ने बादललाई जहाँ पानी चाहिन्छ त्यहीँ नै छेडेर दुलो बनाई पानी झार्न सकिन्छ रे ! त्यसो गर्नाले पर्वतमा नदी उकालो लैजाने नहर काट्नुपर्दैन रे ! मन पनि चिउचिउ हुने, कुलदेवतादेखि पर्वतका देवदेवीसम्म भयभीत हुने चीनका यस्ता विनाशकारी विकासले कहाँ, कति, कसलाई र कहिले आघात पुर्‍याउँछन्, अडकल पनि गर्न सकिँदैन; महसुस गर्ने त कुरै भएन ! मैले यो प्रश्न याङ्जे नदीको पानी छुँदै चोङचिङको तटमा जलदेवतालाई सोधें । चिसो बतासमा, नौका र पानीजहाजको कोलाहलमा कुनै जवाफ नै पाइनँ । रोमरोम रोमाञ्चित भए पनि प्रकृतिलाई सलाम गरी निरुत्साहित भएर मातृभूमि भारत फर्किएँ ।

प्रकाशित : कार्तिक १८, २०७७ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?