मधेसमा शिक्षाको अवनति- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मधेसमा शिक्षाको अवनति

प्रदेश २ ले पालिकाहरूलाई शिक्षामा पर्याप्त अभिमुखीकरण गर्नुपर्छ । विद्यालय उमेर कटेका किशोरीहरूलाई एकीकृत मातृभाषाका माध्यमबाट प्राविधिक शिक्षा दिन जरुरी छ ।
टीका भट्टराई

दुर्गम कर्णाली जाऔं वा चुरे चढौं वा सुगम पहाडी बजार पुगौं, ‘बीएससी सर’ मधेसी शिक्षकका पर्यायवाची थिए । अमिन होऊन् वा इन्जिनियर, डाक्टर होऊन् वा अहेव, मधेसी नभेटिने सम्भावना कमै हुन्थ्यो ।

तर एकाध दशकयता तराई मधेसमा यो एउटा मिथकजस्तो भएको छ । चिकित्सक पृष्ठभूमिका नेपालका प्रथम राष्ट्रपति यादव वा रसियाली नेपाली धनाढ्य महतो अझै विडम्बनाका उदाहरण देखिन्छन् । सार्वजनिक लाभका पदमा मधेसी मूलका मानिसहरूको प्रतिनिधित्व ५–१० प्रतिशतजस्तो छ, जबकि जनसंख्या एकतिहाइभन्दा बढी छ । संघीय प्रणाली सुरु नहुन्जेल राजनीतिक प्रतिनिधित्व पनि नगण्य नै थियो । प्रदेश २ बनेपछि प्रदेशबाहिरका मधेसी भागहरू अझ सीमान्तीकृत भएका छन् । साक्षरता, प्राथमिक तहको भर्ना, विद्यालय तह पार गर्ने विद्यार्थी आदिजस्ता शिक्षाका सूचकहरूमा प्रदेश २ अरू प्रदेशभन्दा निकै पछि छ । उच्च शिक्षाका विद्यालय वा तालिम केन्द्रहरू यस क्षेत्रमा धेरै होलान् तर ती मधेसका विशेषता, आवश्यकता र स्वामित्व बोक्ने खालका छैनन् । राजर्षि जनक, विद्यापति, गनु झाका तहमा कुरा त कहिले पुग्ने हुन् ! सदा र रामहरूका केटाकेटीले स्कुल देख्नै पनि बाँकी छ !

यातायातको सुविधा मात्र उन्नतिको अचुक उपाय होइन रहेछ भन्ने प्रत्यक्ष उदाहरण मधेस हो । नेपालका पहाडी क्षेत्रहरूमा भन्दा मधेसमा निकै पहिलादेखि सडक बनेको हो । रेलकै पनि सानो टुक्रा थियो । मधेसमा सडक दुर्गम पहाडमा जति पनि जनसाधारणको हितमा आउन सकेको देखिएन । समग्रमा भौगोलिक–राजनीतिक विभेदजस्तो बृहत् कारणले शिक्षा पछि परेको हो भन्न पनि सकिएला, तर यहाँ शिक्षामा चाहिँ किन पछाडि रह्यो भन्ने कारणहरू अलि मसिनोसँग हेर्ने कोसिस गरिएको छ ।

एउटा त पहाडेहरूले मधेसलाई सहज, सुगम देखेका हुन् । समथर जमिन र उर्वरकताले गर्दा मधेस विशेष ध्यान दिनुपर्ने क्षेत्र ठानेनन् । आफ्नोभन्दा फरक बोली र ढंग भएको मधेसलाई पहाडी सत्ताले सोलोडोलो रूपमा हेर्‍यो । यहाँको विविधता र विभेदभित्र पस्नै चाहेन । पसेन । हाम्रा पढाइ–गुनाइ एवम् शासकीय डिस्कोर्समा मधेस जनक र सीतामै सीमित भयो । सांस्कृतिक सान्निध्य र उपनिवेशकालदेखि विकसित यातायात र औद्योगिक विकासले मधेसीहरूका लागि काठमाडौंभन्दा सीमापारका बजार पायक परे । भारत र नेपालबीच सांस्कृतिक समानता रहेकाले सीमापारि आवतजावत बढ्नु अस्वाभाविक थिएन । यसले पहाडे सत्तावालहरूलाई देशको राजनीतिक सीमाको वफादारीभन्दा सहजताको सान्निध्य अनुभूति गरायो । मधेसीहरूलाई पनि साधनहीन देशमा प्रयत्न गर्नुभन्दा साधनयुक्त भारतमै शिक्षामा भर पर्नु सहज थियो । पहाडेहरू पनि दरभंगा, बनारस, ऋषिकेश पुग्ने गरेकै हुन् । रुड्की वा लुधियाना वा बैङ्लोर पुगिरहेकै हुन् ।

वर्णाश्रममा आधारित जातीय आधिपत्य मधेसमा पनि थियो नै । कथित माथिल्लो जातकाहरू स्वाभाविक रूपमा शिक्षाप्रति सचेष्ट थिए । त्यहाँ पनि शोषण र दमन थियो नै, यसैले आवश्यक मात्रामा शिक्षाको जागरण र विकास हुन सकेन । देशको मूल प्रवाहको शिक्षा त मधेसका हिसाबले पराई नै थियो । भारतमा पढाइ खुला भए पनि कामको प्रतिस्पर्धा बढी थियो । नेपालमा प्राविधिक र विशेष गरी पहाडमा शिक्षकहरूको आवश्यकता मधेसको जनशक्तिले पूर्ति गर्‍यो । यसबाट तिनकै आवश्यकताको पनि पूर्ति भयो । मधेसी समुदाय एक किसिमले पहाडेले सजिलै नगर्ने, पहाडे जनशक्ति नभएका ठाउँहरूमा काम गर्ने भयो । यो कुरा राज्यसत्तासँग सामीप्य नरहेका कर्णाली वा सुदूरपश्चिमजस्ता ठाउँमा पनि देख्न सकिन्छ । पहाडको, विशेष गरी पूर्वी भागसँग तुलना गर्ने हो भने त्यहाँका बासिन्दामा आफैंले सङ्घर्ष गर्ने बाध्यता भए पनि उत्साह र मूल प्रवाहमा सम्मिलित हुन सकिने विश्वास बढी थियो ।

आधुनिक शिक्षा कार्यक्रम व्यापक बनाउन थालिएपछि तराईका विद्यालयमा हिन्दी पढाउने क्रम घट्दै बन्द भयो । यसले पनि तराई मधेसको शिक्षामा झट्का लागेको बताइन्छ । नयाँ शिक्षाले (विसं २०३० पछि) यसलाई सुदृढ र संस्थागत बनायो । पहाडमा विद्यालयहरूको विस्तार त्यही दशकमा भएको हो । निजी स्कुलहरूको बिगबिगी बढ्दै गएपछि सरकारी प्रयत्नहरू झिना नै देखिन थाले । यसबीच लोक सेवा आयोगमा परीक्षाको माध्यम नेपाली भाषा भएकाले भारतमा पढेर आएका मधेसीहरूलाई सरकारी सेवामा प्रवेश गर्न अप्ठेरो पर्‍यो । प्राविधिक सेवामा प्रतिस्पर्धा कम हुने र कति अवस्थामा अन्तर्वार्ता मात्र पनि हुने गरेकाले केहीले प्रवेश पाए । शिक्षक हुनका लागि तत्काल परीक्षा दिनु नपर्ने र अस्थायीबाट सुरु गर्दै स्थायी हुने भएकाले धेरै शिक्षण पेसामा लागे । नेपाली भाषा मधेसका शिक्षकहरूले कार्यक्षेत्रमै पनि सिकेका छन् । पहाडमा पहाडे मूलकै शिक्षकहरू पाइन थालेपछि यो प्रक्रिया स्वतः घट्दै गयो र मधेसी जनशक्ति खाडीतिर जान थाल्यो ।

माओवादी कालमा शिक्षण अप्ठेरो हुँदै गएपछि घरपायक सरुवा गरेर मधेसी शिक्षकहरू पहाडबाट झरे । उनीहरू पहाडे घरपायक शिक्षकहरूको ल्याङफ्याङगिरीभन्दा बाहिरै रहे । उनीहरू पहाडमा टाढाबाट गएकाले र हिँड्न अप्ठेरो मान्ने भएर गाउँमा लामो समय बस्थे । घरीघरी घर ओहोरदोहोर गर्न खर्चिलो पनि हुन्थ्यो । यसले पनि दुर्गम क्षेत्रहरूमा पहाडे समुदायले उनीहरूलाई मन पराउने गरेको पंक्तिकारकै अनुभव छ । पहाडे शिक्षकसरह नै ती बिदामा हराउँथे तर सँगै आएर पूरा वर्ष नै बस्ने गर्थे । पहाडमा मधेसी शिक्षकहरूको जीवन र योगदान अनुभव गरिएको तर दस्ताबेज नगरिएको विषय हो ।

विद्यालय व्यवस्थापन समितिहरू (विव्यस) को प्रावधान बनेपछि गाउँका मुखियाहरू नै अध्यक्ष बने । उनीहरूलाई विद्यालय अध्यक्षको ‘पद’ मा आकर्षण थियो, विद्यालय सुधार्नमा थिएन । विव्यस अध्यक्षले आफ्ना अभिभावक भड्काउन सक्ने डरले र आफ्ना स्वार्थहरू पूरा नहुने हुनाले प्रधानाध्यापक र विव्यस अध्यक्ष एकअर्काका लागि समस्या खडा गर्न चाहन्नथे । पूर्वाधार निर्माण आदिमा रकम हिनामिना गर्ने अवसरमा दुवैको कुरा मिल्थ्यो । (धेरैजसो पहाडे) शिक्षा अधिकारीहरू यसमा भित्र पस्न चाहँदैनथे । उनीहरू लामो समयसम्म मधेसका जिल्लामा रहनै चाहँदैनथे । मधेसी जागरणसँगै यो क्रम बढ्यो । यो सतत अस्थिरताले विद्यालयलाई यथास्थितिमा राख्ने प्रधानाध्यापक–विव्यस अध्यक्ष गठबन्धन कायम राखिराख्थ्यो ।

अर्को कुरा, धेरै मधेसी शिक्षकहरू दुर्गममा हुने र अस्थायी किसिमका नियुक्तिबाट सुरु गर्ने हुनाले उनीहरूले पहाडे शिक्षकजति तालिम र एक्सपोजर पनि पाएका छैनन् । उनीहरूले पहाडे शिक्षकजस्तो विद्यालय छाडेर जाँदै आफ्नो उच्च शिक्षा जारी राख्दै पनि गरेका छैनन् । सम्भवतः पहाडे प्रभुत्व भएको पद्धतिमा उनीहरूले त्यसबाहेक थप लाभको अपेक्षा राखेका थिएनन् । यसले गर्दा मधेस झरेका मधेसी शिक्षकको योग्यता कम अनि उमेर पनि पाकै छ । काम गर्ने र उन्नति गर्ने महत्त्वाकाङ्क्षा र उत्प्रेरणा त्यति बाँकी छैन । यद्यपि मसिनो अध्ययनबिना यसलाई सामान्यीकरण गर्न हुँदैन ।

माओवादी आन्दोलनले त्रस्त नबनाइन्जेल मधेसी शिक्षकहरूलाई दुर्गम रमाइलै थियो, काम गर्नेलाई पनि नगर्नेलाई पनि । यसको चपेटामा टिक्न नसकेपछि परस्पर सरुवाका लागि विव्यसको सहमति चाहिन्थ्यो । यस प्रक्रियामा विव्यसहरू अझै भ्रष्ट भएको भुक्तभोगीहरू बताउँछन् । घरपायक मधेसी शिक्षक र मधेस आन्दोलनले मधेसीबहुल विद्यालयका क्षेत्रबाट विद्यार्थी र शिक्षक पलायन भएपछि शिक्षाको अवस्था अझ नाजुक हुँदै गयो । संघीयतापछि एक किमिमको अनिश्चितता सर्वत्र व्याप्त छ, प्रदेश २ मा अझ बढी । विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय सरकारलाई दिइएको तर शिक्षक व्यवस्थापनजस्ता विषय जिम्मा नदिइएको जगजाहेरै छ । यद्यपि अधिकांश स्थानीय सरकारलाई अधिकार दिएर मात्र हुने पनि देखिँदैन । शिक्षा स्थानीय सरकारको प्राथमिकतामा छैन । प्रदेशले संस्थागत हिसाबले विद्यालय शिक्षा व्यवस्थित गर्ने ठाउँ कम छ तर राजनीतिक हिसाबले गर्न प्रदेश २ पनि पर्याप्त तातेको देखिन्न । तातेमा प्रादेशिक सरकारले स्थानीय सरकारहरूको शिक्षा प्रवर्द्धनमा सहजीकरण गर्न सक्छ । प्रशस्त व्यवस्थित गर्नुपर्ने बालिका शिक्षा त्यसको उदाहरण हो ।

तराईमा दाताको सहायतामा शिक्षालगायत सामाजिक विकासका काम नगरिनुमा तापक्रम पनि जिम्मेवार छ । यद्यपि दाताका सहायताले कति काम हुन सक्छ, यो अर्को छलफलको विषय हो । धेरैजसो दाता शीतोष्ण देशबाट आउँछन् । उनीहरू गर्मी सहन सक्दैनन् । मधेसमा मलेरिया, सर्पजस्ता थप त्रास पनि छन् । यसले गर्दा उनीहरू मधेस टेक्न उत्साहित हुँदैनन् । फर्किन हतारिएपछि काम राम्ररी हुन सक्दैन । दाताको सम्पर्क पहाडेसँग हुने र हावापानीकै कारण पहाडेहरू पनि मधेस जान नचाहने भएकाले मसिना सामाजिक विकासका काम पनि कमै हुने गरेका हुन् । त्यसमाथि दाताहरू सामाजिकभन्दा निर्माणकै काममा लाग्ने भएकाले सामाजिक पुँजी बनाउने किसिमका शैक्षिक काम मधेसमा कमै हुन सके ।

गर्न सजिलो नभए पनि, सुधारका लागि माथिका कारणहरूको निराकरण गर्ने हो । मुख्य रूपमा समाज र सरकार दुवै तहमा शिक्षालाई प्राथमिकतामा राख्नु जरुरी छ । ऐतिहासिक रूपमा भाषाका कारण पछाडि परेको भए पनि समाज अब अंग्रेजीको पछि लागेको छ । सामुदायिक विद्यालयप्रति जनताको भरोसा छैन । निजी विद्यालयले प्रतिकूल असर नपार्ने नीतिगत व्यवस्था गरी भरोसा बढ्ने तहमा शिक्षामा लगानी, शिक्षक व्यवस्था र अभिभावक परिचालन गर्नु जरुरी छ । प्रदेशले पालिकालाई शिक्षामा पर्याप्त अभिमुखीकरण गर्नुपर्छ । यसमा मधेसी बौद्धिक समुदायको सक्रिय हस्तक्षेप चाहिन्छ । विद्यालय उमेर कटेका किशोरीहरूलाई एकीकृत मातृभाषामा प्राविधिक शिक्षा दिनु जरुरी छ । शिक्षित मधेसी युवाको नेतृत्वमा स्वयंसेवी अभियानहरूको खाँचो छ । पहाडेले पनि सडक र समथर भएर पुग्दैन भनी पहाडका लागि पनि मधेसका लागि पनि बुझ्नुपर्‍यो । मौका पाउनासाथ मधेसी समुदाय पहाडे समुदायभन्दा छिटो छ, हैन र ?

प्रकाशित : कार्तिक १७, २०७७ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्

कोभिड–१९ उपचारमा अमेरिकी अनुभव

उच्चस्तरको हेरचाह हुँदाहुँदै कोरोनाका कतिपय बिरामीमा बहुअंगको खराबी देखिन्छ । जतिसुकै राम्रो उपचार पाए पनि यस्ता बिरामी निको हुन धेरै समय लाग्ने र तिनले लामो समयसम्म अपांगता लिएर बाँच्नुपर्ने हुन सक्छ ।
राधा अग्रवाल

गएको फेब्रुअरीमा आफू कार्यरत सियाटल क्षेत्रमा कोभिड–१९ को पहिलो केस देखेयता मैले त्यस्ता संक्रमितको हेरचाहबारे धेरै कुरा सिक्न पाएँ, सिकिरहेकी छु ।

संक्रमितहरूको हेरचाहका लागि, पल्मोनरी (फोक्सोसम्बन्धी) र आईसीयूमा भर्ना भएका गम्भीर अवस्थाका बिरामी हेरचाह गर्ने डाक्टरको हैसियतमा म र मेरा साथीहरूले चीन, इटाली र स्पेनमा त्यस्तै उपचारमा संलग्न डाक्टरहरूका अनुभवहरू पछ्यायौं । बाँकी विश्वजस्तै हामी पनि संक्रमितका लागि भेन्टिलेटरजस्ता अत्यावश्यक स्रोतसाधनहरू सकिने हुन् कि भनी चिन्तित थियौं । बितेका सात महिनामा हामीले कोभिड–१९ बाट गम्भीर भएका धेरै बिरामीको हेरचाह गर्‍यौं । ह्यान्ड स्यानिटाइजर, फेस मास्कजस्ता आधारभूत आवश्यक सामग्रीहरू सकिने अवस्था कैयौंपटक उत्पन्न भयो । तर भेन्टिलेटरमा त्यस्तो समस्या भोग्नुपरेन ।

कोभिड–१९ ले धेरै अंगमा असर गर्न सक्छ । ज्वरोसहित चिसो, खोकी, सास फेर्न गाह्रो, वाकवाकी, बान्ता, पखाला, स्वाद थाहा नहुनु आदि यसका सामान्य लक्षण हुन् । अक्सिजन स्तर घटी सास फेर्न कठिनाइ हुने गर्छ । जब श्वास–प्रश्वास प्रणाली थकित हुन्छ, अक्सिजनको स्तर तल झर्दै जान्छ । यस्तो अवस्थामा बिरामीहरूलाई उच्चस्तरको हेरचाह चाहिन्छ तथा तिनलाई आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ । कोभिड–१९ बाट संक्रमित भएका धेरै मानिस हल्का बिरामी पर्छन् र चाँडै निको हुन्छन् । कतिपय लामो समयसम्म खोकी, थकान र सास फेर्न गाह्रो भएर थला हुन्छन् । उनीहरूलाई निको हुन धेरै समय लाग्छ । तर भरपूर सेवा र ढाडस दिए उनीहरू राम्रोसँग निको हुन सक्छन् । दुर्भाग्यवश, थोरै प्रतिशत बिरामीहरूलाई श्वास–प्रश्वासमा धेरै कठिनाइ हुन्छ र अक्सिजनदेखि भेन्टिलेटरसम्म चाहिन्छ । उच्चस्तरको हेरचाह हुँदाहुँदै पनि यीमध्ये कतिपयमा बहुअंगको खराबी देखिन्छ । जतिसुकै राम्रो उपचार पाए पनि यस्ता बिरामीहरू निको हुन धेरै समय लाग्न सक्छ र तिनले लामो समयसम्म अपांगता लिएर बाँच्नुपर्ने पनि हुन सक्छ ।

कोभिड–१९ का बिरामीहरूको श्वास–प्रश्वाससम्बन्धी कठिनाइ कम गर्न हामीले निम्नलिखित उपाय अपनाउँदै आइरहेका छौं–

१. नाकको क्यानुलामार्फत अक्सिजन : श्वास–प्रश्वाससम्बन्धी समस्या कम गर्ने पहिलो उपाय अक्सिजनको सप्लाई हो । अक्सिजन नाकमा लगाइएको प्लास्टिकमार्फत दिन सकिन्छ ।

२. मास्कका माध्यमबाट अक्सिजन : नाक र मुख ढाक्ने मास्कमार्फत पनि धेरै मात्रामा अक्सिजन दिन सकिन्छ । यसमा प्रयोग हुने नन–रिब्रिथर भनिने विशेष प्रकारको मास्कमा अक्सिजन भण्डार गरिएको हुन्छ ।

३. उच्च प्रवाह अक्सिजन : हालका वर्षहरूमा आईसीयूमा ‘हाई फ्लो अक्सिजन’ भन्ने प्रणालीको प्रयोग बढ्दो छ । यसले धेरै उच्च तहमा अक्सिजन दिने गर्छ, विशेष गरी नाकमार्फत नै । यो उपकरणको सहायताले निकै कठिन अवस्थाको सामना गर्न सकिन्छ ।

४. सीपीएपी/बाईपीएपी (कन्टिन्युज पोजेटिभ एयरवे प्रेसर थेरापी/बाइलेभल पोजेटिभ एयरवे प्रेसर थेरापी) : यी यस्ता भेन्टिलेसन उपकरण हुन्, जसले हावा र अक्सिजनलाई बिरामीको फोक्सोमा धकेलिदिन्छन् । यी उपकरण अनुहारमा लगाइन्छन् । यिनले बिरामीलाई अक्सिजन मात्र नदिई हावालाई भित्र धकेलेर श्वास–प्रश्वासमा पनि सघाउ पुर्‍याउँछन् ।

५. भेन्टिलेटर : श्वास–प्रश्वासमा लगातार समस्या भएका बिरामीलाई माथिका उपाय काम लागेनन् भने, उनीहरूको होस पूर्णतः फर्किन सकेन भने भेन्टिलेटरमा राखिन्छ । भेन्टिलेटरले ट्युबमार्फत अक्सिजन र हावा फोक्सोमा पुर्‍याई सास फेर्न सहयोग गर्छ । भेन्टिलेटरका बिरामीहरू खान र बोल्न असमर्थ हुने भएकाले उनीहरूलाई आराम होस् भन्न निद्रा लगाउने वा आराम दिने औषधि आवश्यक पर्छ ।

६. ईसीएमओ (एक्स्ट्रा कर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन) : कहिलेकाहीँ बिरामीलाई भेन्टिलेटर मात्र पर्याप्त नहुन सक्छ । त्यसैले उनीहरूलाई रगत दिन र रगतमा अक्सिजन थप गर्न अर्को मेसिन चाहिन्छ । ईसीएमओ भनिने त्यही मेसिनले अक्सिजनयुक्त रगत बिरामीको शरीरमा पुर्‍याउँछ । हामीले आईसीयूमा सुरुसुरुमा श्वास–प्रश्वासमा समस्या भएका बिरामीहरूका लागि भेन्टिलेटर नै प्रयोग गर्ने गरेका थियौं । अधिक उच्च प्रवाह अक्सिजन र बाईपीएपी उपकरणहरूको उपयोग गर्न थालेका थियौं । हामीले अप्ठेरो स्थितिमा सबै उपकरणको उपयोग गर्‍यौं । यस्तो अप्ठेरो स्थितिमा जहाँ बिरामीहरूले दिनको चौध–चौध घण्टासम्म घोप्टो परेर सुत्नुपर्थ्यो ।

कोभिड–१९ को उपचारका लागि अहिलेसम्म कुनै औषधि उपलब्ध नरहेको सर्वविदितै छ । केही उपचार विधिहरूमार्फत बिरामी हुने अवधि घटाउन मात्र सकिन्छ । यसको मुख्य औषधि भनेको स्पेक्ट्रम एन्टिभाइरल औषधि अर्थात् रेमडिसिभिर हो, जुन क्लिनिकल परीक्षणहरूमा प्रभावकारी देखिएको छ । यो औषधि मध्यमदेखि गम्भीर बिरामीहरूको उपचारमा प्रयोग भइरहेको छ । तर यो बिरामीलाई चाँडै दिनुपर्छ अनि मात्र प्रभावकारी हुन्छ ।

गम्भीर बिरामीहरूका लागि फाइदाजनक अर्को औषधि हो– डेक्सामेथासोन । यसले शरीरमा बढी सक्रिय र जोखिमपूर्ण भाइरसलाई कमजोर बनाउन सक्छ । यो केवल डाक्टरहरूको सुपरिवेक्षणमा प्रयोग गर्नुपर्छ, नत्र यसले अन्य संक्रमण बढाउन सक्छ । वृद्धावस्थाका, कमजोर एवं मधुमेह, उच्च रक्तचाप र मोटोपन भएकाहरूलाई कोभिड–१९ ले बढी दुःख दिने गरेको पाइन्छ । तैपनि कतिपय पूर्ण स्वस्थ व्यक्तिहरू यसकै कारण मृत्युवरण गर्न बाध्य बनेका छन् । यसकारण यसबाट बच्ने उत्कृष्ट उपाय भनेको रोकथाम नै हो । लगातार फेस मास्क लगाएर, आई सिल्ड प्रयोग गरेर, सामाजिक दूरी कायम गरेर र हात स्वच्छ पारेर यसबाट बच्न सकिन्छ ।

कोभिड–१९ का धेरैजसो संक्रमितले अस्पताल जानुपर्ने आवश्यकता हुँदैन । सावधानी अपनाई घरै बस्न सकिन्छ । तपाईं संक्रमित हुनुभयो भने परिवार सदस्यहरूबाट टाढै बस्नुस्, मास्क लगाउनुस् । यसको सबैभन्दा सामान्य लक्षण ज्वरो र खोकी नै हो । यी दुवैका लागि घरमै बसी औषधि लिन सकिन्छ । तपाईंले पल्स अक्सिमिटर किनेर घरमै अक्सिजनको स्तर मापन गर्न सक्नुहुन्छ । अक्सिजनको स्तर ९० प्रतिशतभन्दा कम भयो भने डाक्टरी सहयोग लिनुपर्छ । अस्पतालमा बेड नपाइए दिनहुँ बाह्र–तेह्र घण्टा घोप्टो परेर सुती अक्सिजनको कमी केही मात्रामा पूरा गर्न सकिन्छ । पौष्टिक खाना र व्यायामले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ अनि भाइरससँग लड्न मद्दत गर्छ ।

अर्को कुरा, इन्फ्लुएन्जाको खोप लिन सकिन्छ । इन्फ्लुएन्जा आफैंमा खतरनाक रोग हो, जसबाट बिरामी हुनुभयो भने कोभिड–१९ को संक्रमणले तपाईंलाई चाँडै सिकिस्त बनाउन सक्छ ।

(अग्रवाल अमेरिकाको सियाटलमा कार्यरत चिकित्सक हुन् ।)

प्रकाशित : कार्तिक १७, २०७७ ०७:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×