कोभिड–१९ उपचारमा अमेरिकी अनुभव- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोभिड–१९ उपचारमा अमेरिकी अनुभव

उच्चस्तरको हेरचाह हुँदाहुँदै कोरोनाका कतिपय बिरामीमा बहुअंगको खराबी देखिन्छ । जतिसुकै राम्रो उपचार पाए पनि यस्ता बिरामी निको हुन धेरै समय लाग्ने र तिनले लामो समयसम्म अपांगता लिएर बाँच्नुपर्ने हुन सक्छ ।
राधा अग्रवाल

गएको फेब्रुअरीमा आफू कार्यरत सियाटल क्षेत्रमा कोभिड–१९ को पहिलो केस देखेयता मैले त्यस्ता संक्रमितको हेरचाहबारे धेरै कुरा सिक्न पाएँ, सिकिरहेकी छु ।

संक्रमितहरूको हेरचाहका लागि, पल्मोनरी (फोक्सोसम्बन्धी) र आईसीयूमा भर्ना भएका गम्भीर अवस्थाका बिरामी हेरचाह गर्ने डाक्टरको हैसियतमा म र मेरा साथीहरूले चीन, इटाली र स्पेनमा त्यस्तै उपचारमा संलग्न डाक्टरहरूका अनुभवहरू पछ्यायौं । बाँकी विश्वजस्तै हामी पनि संक्रमितका लागि भेन्टिलेटरजस्ता अत्यावश्यक स्रोतसाधनहरू सकिने हुन् कि भनी चिन्तित थियौं । बितेका सात महिनामा हामीले कोभिड–१९ बाट गम्भीर भएका धेरै बिरामीको हेरचाह गर्‍यौं । ह्यान्ड स्यानिटाइजर, फेस मास्कजस्ता आधारभूत आवश्यक सामग्रीहरू सकिने अवस्था कैयौंपटक उत्पन्न भयो । तर भेन्टिलेटरमा त्यस्तो समस्या भोग्नुपरेन ।

कोभिड–१९ ले धेरै अंगमा असर गर्न सक्छ । ज्वरोसहित चिसो, खोकी, सास फेर्न गाह्रो, वाकवाकी, बान्ता, पखाला, स्वाद थाहा नहुनु आदि यसका सामान्य लक्षण हुन् । अक्सिजन स्तर घटी सास फेर्न कठिनाइ हुने गर्छ । जब श्वास–प्रश्वास प्रणाली थकित हुन्छ, अक्सिजनको स्तर तल झर्दै जान्छ । यस्तो अवस्थामा बिरामीहरूलाई उच्चस्तरको हेरचाह चाहिन्छ तथा तिनलाई आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ । कोभिड–१९ बाट संक्रमित भएका धेरै मानिस हल्का बिरामी पर्छन् र चाँडै निको हुन्छन् । कतिपय लामो समयसम्म खोकी, थकान र सास फेर्न गाह्रो भएर थला हुन्छन् । उनीहरूलाई निको हुन धेरै समय लाग्छ । तर भरपूर सेवा र ढाडस दिए उनीहरू राम्रोसँग निको हुन सक्छन् । दुर्भाग्यवश, थोरै प्रतिशत बिरामीहरूलाई श्वास–प्रश्वासमा धेरै कठिनाइ हुन्छ र अक्सिजनदेखि भेन्टिलेटरसम्म चाहिन्छ । उच्चस्तरको हेरचाह हुँदाहुँदै पनि यीमध्ये कतिपयमा बहुअंगको खराबी देखिन्छ । जतिसुकै राम्रो उपचार पाए पनि यस्ता बिरामीहरू निको हुन धेरै समय लाग्न सक्छ र तिनले लामो समयसम्म अपांगता लिएर बाँच्नुपर्ने पनि हुन सक्छ ।

कोभिड–१९ का बिरामीहरूको श्वास–प्रश्वाससम्बन्धी कठिनाइ कम गर्न हामीले निम्नलिखित उपाय अपनाउँदै आइरहेका छौं–

१. नाकको क्यानुलामार्फत अक्सिजन : श्वास–प्रश्वाससम्बन्धी समस्या कम गर्ने पहिलो उपाय अक्सिजनको सप्लाई हो । अक्सिजन नाकमा लगाइएको प्लास्टिकमार्फत दिन सकिन्छ ।

२. मास्कका माध्यमबाट अक्सिजन : नाक र मुख ढाक्ने मास्कमार्फत पनि धेरै मात्रामा अक्सिजन दिन सकिन्छ । यसमा प्रयोग हुने नन–रिब्रिथर भनिने विशेष प्रकारको मास्कमा अक्सिजन भण्डार गरिएको हुन्छ ।

३. उच्च प्रवाह अक्सिजन : हालका वर्षहरूमा आईसीयूमा ‘हाई फ्लो अक्सिजन’ भन्ने प्रणालीको प्रयोग बढ्दो छ । यसले धेरै उच्च तहमा अक्सिजन दिने गर्छ, विशेष गरी नाकमार्फत नै । यो उपकरणको सहायताले निकै कठिन अवस्थाको सामना गर्न सकिन्छ ।

४. सीपीएपी/बाईपीएपी (कन्टिन्युज पोजेटिभ एयरवे प्रेसर थेरापी/बाइलेभल पोजेटिभ एयरवे प्रेसर थेरापी) : यी यस्ता भेन्टिलेसन उपकरण हुन्, जसले हावा र अक्सिजनलाई बिरामीको फोक्सोमा धकेलिदिन्छन् । यी उपकरण अनुहारमा लगाइन्छन् । यिनले बिरामीलाई अक्सिजन मात्र नदिई हावालाई भित्र धकेलेर श्वास–प्रश्वासमा पनि सघाउ पुर्‍याउँछन् ।

५. भेन्टिलेटर : श्वास–प्रश्वासमा लगातार समस्या भएका बिरामीलाई माथिका उपाय काम लागेनन् भने, उनीहरूको होस पूर्णतः फर्किन सकेन भने भेन्टिलेटरमा राखिन्छ । भेन्टिलेटरले ट्युबमार्फत अक्सिजन र हावा फोक्सोमा पुर्‍याई सास फेर्न सहयोग गर्छ । भेन्टिलेटरका बिरामीहरू खान र बोल्न असमर्थ हुने भएकाले उनीहरूलाई आराम होस् भन्न निद्रा लगाउने वा आराम दिने औषधि आवश्यक पर्छ ।

६. ईसीएमओ (एक्स्ट्रा कर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन) : कहिलेकाहीँ बिरामीलाई भेन्टिलेटर मात्र पर्याप्त नहुन सक्छ । त्यसैले उनीहरूलाई रगत दिन र रगतमा अक्सिजन थप गर्न अर्को मेसिन चाहिन्छ । ईसीएमओ भनिने त्यही मेसिनले अक्सिजनयुक्त रगत बिरामीको शरीरमा पुर्‍याउँछ । हामीले आईसीयूमा सुरुसुरुमा श्वास–प्रश्वासमा समस्या भएका बिरामीहरूका लागि भेन्टिलेटर नै प्रयोग गर्ने गरेका थियौं । अधिक उच्च प्रवाह अक्सिजन र बाईपीएपी उपकरणहरूको उपयोग गर्न थालेका थियौं । हामीले अप्ठेरो स्थितिमा सबै उपकरणको उपयोग गर्‍यौं । यस्तो अप्ठेरो स्थितिमा जहाँ बिरामीहरूले दिनको चौध–चौध घण्टासम्म घोप्टो परेर सुत्नुपर्थ्यो ।

कोभिड–१९ को उपचारका लागि अहिलेसम्म कुनै औषधि उपलब्ध नरहेको सर्वविदितै छ । केही उपचार विधिहरूमार्फत बिरामी हुने अवधि घटाउन मात्र सकिन्छ । यसको मुख्य औषधि भनेको स्पेक्ट्रम एन्टिभाइरल औषधि अर्थात् रेमडिसिभिर हो, जुन क्लिनिकल परीक्षणहरूमा प्रभावकारी देखिएको छ । यो औषधि मध्यमदेखि गम्भीर बिरामीहरूको उपचारमा प्रयोग भइरहेको छ । तर यो बिरामीलाई चाँडै दिनुपर्छ अनि मात्र प्रभावकारी हुन्छ ।

गम्भीर बिरामीहरूका लागि फाइदाजनक अर्को औषधि हो– डेक्सामेथासोन । यसले शरीरमा बढी सक्रिय र जोखिमपूर्ण भाइरसलाई कमजोर बनाउन सक्छ । यो केवल डाक्टरहरूको सुपरिवेक्षणमा प्रयोग गर्नुपर्छ, नत्र यसले अन्य संक्रमण बढाउन सक्छ । वृद्धावस्थाका, कमजोर एवं मधुमेह, उच्च रक्तचाप र मोटोपन भएकाहरूलाई कोभिड–१९ ले बढी दुःख दिने गरेको पाइन्छ । तैपनि कतिपय पूर्ण स्वस्थ व्यक्तिहरू यसकै कारण मृत्युवरण गर्न बाध्य बनेका छन् । यसकारण यसबाट बच्ने उत्कृष्ट उपाय भनेको रोकथाम नै हो । लगातार फेस मास्क लगाएर, आई सिल्ड प्रयोग गरेर, सामाजिक दूरी कायम गरेर र हात स्वच्छ पारेर यसबाट बच्न सकिन्छ ।

कोभिड–१९ का धेरैजसो संक्रमितले अस्पताल जानुपर्ने आवश्यकता हुँदैन । सावधानी अपनाई घरै बस्न सकिन्छ । तपाईं संक्रमित हुनुभयो भने परिवार सदस्यहरूबाट टाढै बस्नुस्, मास्क लगाउनुस् । यसको सबैभन्दा सामान्य लक्षण ज्वरो र खोकी नै हो । यी दुवैका लागि घरमै बसी औषधि लिन सकिन्छ । तपाईंले पल्स अक्सिमिटर किनेर घरमै अक्सिजनको स्तर मापन गर्न सक्नुहुन्छ । अक्सिजनको स्तर ९० प्रतिशतभन्दा कम भयो भने डाक्टरी सहयोग लिनुपर्छ । अस्पतालमा बेड नपाइए दिनहुँ बाह्र–तेह्र घण्टा घोप्टो परेर सुती अक्सिजनको कमी केही मात्रामा पूरा गर्न सकिन्छ । पौष्टिक खाना र व्यायामले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ अनि भाइरससँग लड्न मद्दत गर्छ ।

अर्को कुरा, इन्फ्लुएन्जाको खोप लिन सकिन्छ । इन्फ्लुएन्जा आफैंमा खतरनाक रोग हो, जसबाट बिरामी हुनुभयो भने कोभिड–१९ को संक्रमणले तपाईंलाई चाँडै सिकिस्त बनाउन सक्छ ।

(अग्रवाल अमेरिकाको सियाटलमा कार्यरत चिकित्सक हुन् ।)

प्रकाशित : कार्तिक १७, २०७७ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्

६ हजार भाइल रेमडेसिभिर आयात

शंकर आचार्य

पर्सा — कोरोना संक्रमितको उपचारमा उपयोगी मानिएको औषधि ‘रेमडेसिभिर’ ६ हजार भाइल वीरगन्ज भन्सार नाकाबाट आयात भएको छ ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत विमल साहका अनुसार यो नाकाबाट हालसम्म भारतमा निर्मित ६ हजार भाइल रेमडेसिभिर आयात भइसकेको छ । ‘निजी क्षेत्रका तीन आयातकर्ताले आवश्यक प्रक्रिया पूरा गरी तीन वटा कन्साइन्मेन्टमा रेमडेसिभिर औषधि भारतबाट आयात गरेका हुन्,’ उनले भने, ‘यसको आयात गर्दा ५ प्रतिशत भन्सारबाहेक अन्य शुल्क लाग्दैन ।’

नारायणी अस्पतालका डा. उदयनारायण सिंहले विश्वमै हालसम्म कोरोना संक्रमितको उपचारमा सर्वाधिक प्रभावकारी मानिएको र प्रयोग गरिएको एक मात्र औषधि रेमडेसिभिर रहेको दाबी गरे । ‘भारत, बंगलादेश र अमेरिकाजस्ता मुलुकले ठूलो परिमाणमा यो औषधि उत्पादन गरिरहेका छन्,’ उनले भने, ‘निमोनियाका गम्भीर खालका बिरामीलाई यो औषधि उपयोगी छ । हामीले पनि कोरोना संक्रमित बिरामीको उपचारमा यो औषधि प्रयोग गरेका हौं ।’ सुरुमा इबोला भाइरस संक्रमित बिरामीको उपचारमा उपयोगी सावित यो औषधि हाल कोरोना संक्रमितको उपचारमा पनि उपयोगी भइरहेको उनले बताए ।

कोरोना महामारी फैलिएपछि अमेरिकाले समेत भारतबाट ठूलो परिमाणमा यो औषधि आयात गरेको थियो । ‘अमेरिकामा गरिएको शोधले कोरोना संक्रमितको उपचारमा यो औषधि अत्यन्त प्रभावकारी पाइयो,’ उनले भने, ‘तर विश्व स्वास्थ्य संगठनले अझै पनि यो औषधिलाई कोरोना संक्रमितको उपचारमा पूर्ण प्रभावकारी रहेको स्विकारेको छैन, उसले यो औषधिलाई संक्रमितको उपचारमा आंशिक मात्र प्रभावकारी रहेको र यसले मृत्युदर घटाउने दाबी गर्दै आएको छ ।’

कोरोनाविरुद्धको खोप आइनसकेको र उपचारमा उपयोगी विशेष औषधि उत्पादनसमेत नभएको अवस्थामा रेमडेसिभिरले लामो समय भरथेग गर्ने अनुमान डा. सिंहको छ ।

प्रकाशित : कार्तिक १७, २०७७ ०७:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×