बलात्कार र यौन शिक्षा

कुनै पनि व्यक्ति आपराधिक मानसिकता लिएर जन्मँदैन । उसलाई परिस्थिति, सिकाइ र हुर्काइले अपराधी बनाउन सहयोग गर्छ । हाम्रोमा अभिभावक र शिक्षकले हुर्कंदा बालबालिकालाई आवश्यक यौन शिक्षा र परामर्श प्रभावकारी तरिकाले दिने गरेको पाइँदैन ।
रश्मिला कासुला

७ वर्षकी बालिकालाई हाडनाता करणी गरेको आरोपमा धादिङका १७ वर्षीय बालक बाल सुधारगृह, सानोठिमीमा छन् । १६ वर्ष टेकेपछि उनलाई जवान भएको महसुस भएछ । गाउँका अलि ठूला केटाहरूसँगको संगतमा उनले हस्तमैथुन गर्न थालेछन् ।

बलात्कार र यौन शिक्षा

ती केटाहरू प्रायः ‘जंगलमा गएर सिकार गर्ने’ कुरा गर्थे रे ! केटीहरूसँग शारीरिक सम्बन्ध राख्नुलाई सांकेतिक रूपमा ‘सिकार’ भनिँदो रहेछ । उनले शारीरिक सम्बन्ध राखेको देखे वा कल्पना गरे होलान्, जसका कारण उनमा यौनसम्पर्कको चाहना बढ्यो होला । फलस्वरूप घरमा कोही नभएको मौकामा काकाकी ७ वर्षे छोरीलाई बलात्कार गर्न पुगे ।

त्यस्तै, जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाका आरोपित धनुषाका १६ वर्षीय ‘दिले’ २०७१ सालदेखि बाल सुधारगृहमा छन् । १२ वर्षकी बालिकालाई पैसाको लोभ देखाई बस्तीभन्दा पर लगेर सामूहिक बलात्कार गरियो । २८ वर्षे वयस्कको अगुवाइमा भएको यो घटनामा ‘दिले’ पनि संलग्न भए । करणीपछि बालिकालाई मारेर झाङमा फालियो ।

एकपछि अर्को बलात्कारका दर्दनाक घटनाहरू सार्वजनिक हुन थालेपछि सचेत वर्गले यसलाई रोक्न चासो देखाउन थालेका छन् । जनदबाबले हो वा आवेगले, बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने बहस सांसदहरूले चलाउँदै छन् । तर, के मृत्युदण्डको व्यवस्था गर्दैमा बलात्कार रोकिएला ? बलात्कारको हरेक घटना आफैंमा जटिल प्रकृतिको हुन्छ । र, त्यसका कारक तत्त्व र दोषीहरू एकै खालका हुँदैनन् । नाबालकले बलात्कार गरेका घटनाहरू हेर्दा स्थिति भयावह देखिन्छ । वयस्क संलग्न हुने अपराध आशयनिहित हुन्छ, तर बालकको आशयपूर्ण संलग्नता हुँदैन भन्ने सैद्धान्तिक मान्यता छ ।

बालबालिकासम्बन्धी ऐन, २०७५ ले १८ वर्षमुनिकालाई नाबालक भनी परिभाषित गरेको छ । कानुन उल्लंघन गर्न पुगेका बालबालिकाका लागि यही ऐनले कारागारको सट्टा बाल सुधारगृहको व्यवस्था गरेको छ । १० देखि १४ वर्षका बालबालिकाले जुनसुकै अपराध गरे पनि ६ महिना कैद सजाय हुन्छ । १४ देखि १८ वर्षका लागि कसुरअनुसार वयस्कलाई भन्दा आधा कैद तथा जरिवाना लाग्ने व्यवस्था छ । बालबालिका संलग्न भएका अपराधजन्य मुद्दाको विवरण गोप्य राखिन्छ । फौजदारी कानुन उल्लंघन गरी बाल सुधारगृहमा आउने कुल मुद्दाहरूमध्ये बलात्कारसम्बन्धी मुद्दा मात्र ६० प्रतिशतको हाराहारीमा छन् ।

२०७२ सालमा १५ वर्षे ‘सचीन’ ले ५३ वर्षकी महिलालाई जबरजस्ती करणी गरेको मुद्दा प्युठान जिल्ला अदालतमा दर्ता भयो । बालअधिकारकर्मीको स्थलगत अध्ययनअनुसार, ‘सचीन’ की आमाको मानसिक स्वास्थ्य ठीक थिएन । त्यस बेला उनका बुबा कमाउन भारत गएका थिए । परिवारलाई एक छाक खानसम्म धौधौ थियो । घरनजिकै बस्ने, सामान्य प्यारालाइसिस भएकी ५३ वर्षीया महिलाले श्रीमान् बाहिर गएका बेला उनलाई घरायसी काम गर्न बोलाउँदी रहिछन् । पेट भर्न उनले त्यो काम गरे । बिस्तारै ती महिलाले उनलाई घरका अन्य कामबाहेक आफ्नो यौनाङ्ग पनि मालिस गर्न लगाउन थालिन् । यौन सम्बन्ध राख्ने कलासमेत सिकाइन् । एक दिन यौनांग मालिस गरिरहेका बेला ती महिलाकी छोरीले देखिछन् । ‘सचीन’ लाई बलात्कारको आरोप लगाइयो । प्यारालाइसिस भएकी महिलाले प्रतिरोध गर्न नसक्ने हुनाले यसलाई बलात्कार भनियो । हाल ‘सचीन’ बाल सुधारगृहमा सजाय भोगिरहेका छन् । यहाँ पीडक महिला हुन् र पीडित किशोर ।

महिलाहरूले यौन चाहना पूरा गर्न किशोरहरूलाई दुरुपयोग गरेका घटना यदाकदा सुनिन्छन् । पारिजातको ‘मैले नजन्माएको छोरो’ कथाले समाजको यो पाटोलाई प्रस्टसँग प्रस्तुत गरेको छ । किशोर उमेरमा यौन जिज्ञासा बढी हुने हुँदा महिलाहरूले उनीहरूलाई सहजै आकर्षित गर्न सक्छन् । किशोरसँग शारीरिक सम्बन्ध बनाउँदा गोपनीयता कायम रहने र यसबारे झट्ट कसैले शंका पनि गरिनहाल्ने भएकाले यस्तो सम्बन्ध सहजै स्थापित हुन्छ । नेपालको कानुनमा बलात्कारको मुद्दामा पुरुषलाई मात्र दोषी ठहर्‍याउने प्रावधान छ । महिलाले यौन दुराचार गरे पनि कानुनले दोषी मान्दैन ।

कुनै पनि व्यक्ति आपराधिक मानसिकता लिएर जन्मँदैन । उसलाई परिस्थिति, सिकाइ र हुर्काइले अपराधी बनाउन सहयोग गर्छ । हाम्रोमा अभिभावक र शिक्षकले हुर्कंदा बालबालिकालाई आवश्यक यौन शिक्षा र परामर्श प्रभावकारी तरिकाले दिने गरेको पाइँदैन । अधिकांश अभिभावक यस विषयमा कुरा गर्नै चाहँदैनन् । केही गरी छोराछोरीले जिज्ञासा राखे ‘चुप लाग्’ भनेर पन्छिन्छन् ।

‘बच्चा कसरी जन्मन्छ’ वा ‘म कहाँबाट जन्में’ जस्ता बालकालिकाका सामान्य प्रश्नको पनि सही जवाफ आमाबुबाले दिने गरेको पाइँदैन । अस्पतालमा भेटेको, पानी परेको बेला आकाशबाट झरेको, सुपरमार्केटबाट किनेर ल्याएको भनी अन्योल र भ्रमपूर्ण जवाफ दिने गरेको पाइन्छ । विद्यालयस्तरमा प्रजनन प्रणाली, परिवार नियोजन तथा यौनरोगसम्बन्धी पठनपाठन गराउँदा संकोच मान्ने गरिन्छ । कुनैकुनै परिवारमा किशोर सन्तान र वयस्कहरू एउटै कोठामा सुत्छन् । यस्तो बेला वयस्कहरूले यौनजन्य गतिविधि गर्दा गोप्यताको ख्याल राख्नुपर्छ । बच्चै छन्, चाल पाउँदैन भनेर हेलचेक्र्याइँ गर्दा उनीहरूको मनस्थितिमा नराम्रो असर पार्न सक्छ ।

बलात्कार कम गर्न संरचनागत कारक तत्त्व सुधार्नुपर्छ । खोटपूर्ण सामाजिक प्रवृत्तिलाई बदल्नुपर्छ । जोखिममा रहेका बालबालिकालाई राज्यले आवश्यक संरक्षण र सुरक्षा दिनुपर्छ । प्रभावकारी अपराध अनुसन्धान, न्याय सम्पादन, कानुनी दण्ड–सजायसम्बन्धी जनचेतनाले व्यापकता पाउनुपर्छ । मृत्युदण्डले बलात्कार कम गर्दैन ।

-कासुला मनोविज्ञानकी सहायक प्राध्यापक हुन् ।

प्रकाशित : कार्तिक १४, २०७७ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?