१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

दसैंको शुभकामना !

सम्पादकीय

नेपालीहरूको सबैभन्दा ठूलो पर्व दसैं घरआँगनमा आइसक्दा पनि यसको आम रौनक विगतमा जस्तो छैन । उही याम, उस्तै मौसम तर उल्लास उत्तिकै छैन । उही पर्व, उस्तै महत्त्व तर उमंग त्यत्तिकै छैन । वर्षा सकिएपछिका यी दिनहरू रमाइला र घमाइला छन् । गर्मी हटिसकेको छ, जाडो पलाइसकेको छैन ।

दसैंको शुभकामना !

मौसम उत्सवमय नै छ । तर, कोरोना भाइरसको फैलिँदो संक्रमणका कारण मुलुकको सम्पूर्ण माहोल पर्वमय छैन । विश्वव्यापी संकटका रूपमा रहेको कोभिड–१९ को जोखिम यो पर्वोल्लासमा तगारो बनेर उभिएको छ । दसैंको मुख्य विशेषता जे–जे हुन्– बजारमा चहलपहल, शक्तिपीठहरूमा दर्शनार्थीहरूको भीड, लिंगेपिङ, रोटेपिङजस्ता गाउँटोल नै जम्मा भएर खेलिने खेल, लामो समयपछिको पारिवारिक जमघट, आफन्तहरूसितको भेटघाट र टीका–जमराका साथ आशीर्वाद ग्रहण– यी सबै क्रियाकलापहरू यसपालि संक्रमण विस्तारमा सहायक हुन सक्छन् । यही भयकै कारण यो वर्षको दसैं हर्सोल्लासका हिसाबले अलि फिक्का–फिक्का छ । तर, स्वास्थ्य सावधानी अपनाउन सक्यौं र संक्रमणबाट जोगियौं भने हाम्रा आगामी दिनहरू पक्कै पनि अझ उत्सवमय बन्न सक्नेछन् । त्यसैले, यो दसैंलाई हामी सबैले बडो सावधानीका साथ मनाउनुपर्नेछ ।

१५ दिनसम्म मनाइने मुलुककै ठूलो यस पर्वको आज सातौं दिन अर्थात् फूलपाती हो । आगामी तीन दिनलाई यो चाडका सर्वाधिक महत्त्वपूर्ण अवसरका रूपमा लिइन्छ । दसौं दिन अर्थात् दशमीमा मान्यजनबाट टीका–जमरासहित आशीर्वाद लिने परम्परा छ, जुन नेपालीहरूको मौलिक प्रचलन हो । मुलुकका केही भागमा यो दिन मात्रै टीका लगाइन्छ भने कतिपय स्थानमा यो क्रम दसैंको पन्ध्रौं दिन अर्थात् कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ । यसपालि हामीले सबैभन्दा ख्याल गर्नुपर्ने यही अवसरमा हो । किनभने, हामी जति भेटघाट गर्छौं, जति धेरै जनाको घरमा पुग्छौं, त्यति नै जोखिम निम्त्याइरहेका हुन्छौं । त्यसैले, यस वर्ष हामीले प्रत्यक्ष भेटघाट र टीकाभन्दा पनि सुस्वास्थ्यको आशीर्वाद र आशिषलाई बढी जोड दिनुपर्ने अवस्था छ, जुन टाढैबाट पनि आदानप्रदान गर्न सकिन्छ ।

त्यसो त, करिब १० महिनाअघि चीनको वुहानबाट फैलन थालेको कोरोना भाइरसको संक्रमणले विश्वभरका पर्वहरू यसैगरी बिथोलेको छ । यसबीचमा धेरै देशमा विभिन्न चाड, पर्व, जात्रा र उत्सवहरू यसकै पिरलोमा त्यसै बितेका छन् । धुमधाम मनाइने चिनियाँ वसन्त चाडलाई फिक्का–फिक्का बनाएर सुरु भएको यो संकट आज नेपालकै ठूला पर्वहरू– दसैं घर–आँगनमा आइसक्दा र तिहार, नेपाल संवत् र छठ सामुन्ने हुँदा निकै ठूलो समस्या बनेर उभिएको छ । यो तथ्यलाई हामीले आत्मसात् गर्नैपर्छ । मित्रता, भाइचारा र पुनर्मिलनको यस पर्वमा हामी बृहत् पारिवारिक उत्सवमा त जुटिरहेका छौं, तर जमघट र हिँडडुलमा हामी बितेका सालमा जत्ति स्वतन्त्र हुन पाउँदैनौं । सबैले हरेक पाइलामा सतर्कता अपनाउनुपरेको छ । हामीले यसमा अप्ठ्यारो मान्ने होइन, स्थिति सहज नहुँदासम्म अभ्यस्त हुन सिक्नुपर्छ ।

नेपालीको ठूलो सांस्कृतिक पर्व भएकैले, जे भए पनि दसैंले धेरथोर खुसीको माहोल ल्याएकै छ । विगतका जस्तो नभए पनि कति सर्वसाधारण स्वास्थ्य सावधानी अपनाउँदै दसैं मनाउन आफू कार्यरत सहरबाट घर फर्किएका छन्, कति फर्किंदै छन् । संक्रमणको भयका कारण कति भने आफ्नो गाउँ–ठाउँ गएका छैनन् । जो जहाँ बसेका छन्, त्यहीँ हाँसी–खुसी पर्व मनाउने धूनमा छन् । स्वास्थ्य सेवासित जोडिएका कतिपय चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीहरूको दसैं संक्रमितको सेवामै बित्नेछ । अरू कार्यालयका कर्मचारीलाई जस्तो घरमै बसेर दसैं मनाउने सुविधा उनीहरूलाई छैन । सुरक्षाकर्मीहरूको अवस्था पनि यही हो । संक्रमणविरुद्धको मोर्चामा अग्रपंक्तिमा खटिने सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्य कर्मचारीहरू यसबेला हार्दिक नमनको हकदार छन् ।

सरकार आफ्नो दायित्वबाट विमुख हुँदै गएकाले पनि नागरिकहरू स्वयं बढी सावधान रहनुपर्नेछ । महामारी रोकथाम र नियन्त्रणका लागि खास पहल गर्न नसकेको सरकारले उपचारबाट पनि हात झिकिसकेको छ । त्यही भएर, जनसाधारणले आफूलाई रोग सर्नै नदिन बढी जोड दिनुपर्छ । सरकारले त ‘लकडाउन’ र निषेधाज्ञाका कारण क्रयशक्ति गुमाउन पुगेका नागरिकहरूलाई भार पर्ने गरी बढेको बजार भाउ पनि नियन्त्रण गर्न सकेको छैन । नागरिकहरूले दुःख–सुःख चाड मनाउनुपर्ने अवस्था छ । यसै पनि, स्वास्थ्य समस्याका कारण विगतमा झैं भव्य ढंगले यसपालि कुनै पनि पर्व मनाउन सकिने स्थिति छैन । तर, हामीले पर्याप्त स्वास्थ्य सावधानी अपनाउन सक्यौं भने आगामी वर्षमा त्यस्तो अवसर फेरि जुट्नेछ । त्यसैले, हरेक नेपालीले अहिलेको दसैंलाई सुस्वास्थ्यका चाडका रूपमा मनाउनुपर्नेछ । अहिले दौडादौड गरेर पहिलेजस्तो भीडभाड गर्ने समय छैन । आफन्तबीचकै सानोतिनो जमघटमा पनि मास्क पहिरिन र व्यक्तिगत दूरी कायम राख्न भुल्नु हुँदैन । घरपरिवारमै पनि धेरै ख्याल गर्नुपर्छ, जोखिमपूर्ण क्षेत्रबाट आएको सदस्यसित निश्चित अवधिसम्म दूरी कायम राख्नुपर्छ । सानो हेलचेक्र्याइँले ठूलो जोखिम निम्त्याउन सक्छ, त्यसप्रति सचेत बन्नुपर्छ । समग्रमा, दसैंलाई यसरी उत्सवका रूपमा मनाऔं कि, आगामी हरेक दिन पनि सधैं उत्सवमय भइरहोस्, थोरै पनि हेलचेक्र्याइँले दसैं कसैलाई दशा नबनोस् । बडादसैंको पावन अवसरमा सबैलाई हाम्रो हार्दिक शुभकामना !

प्रकाशित : कार्तिक ७, २०७७ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?