१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बिहार में का बा !

नीतीशकालमा बिहारमा सडक बने, बिजुलीमा सुधार भयो, स्थानीय तहमा महिलाको सहभागिता ह्वात्तै बढ्यो तैपनि सामाजिक न्यायको चर्को नारामुनि डरलाग्दो अँध्यारो छ ।
चन्द्रकिशोर

करिब दुई वर्षपहिले म सीमावर्ती बिहारको राजधानी पटनास्थित प्रदेशसभा सदस्यको सरकारी आवासमा थिएँ । त्यहाँको वातावरण अरू राजनीतिकर्मीको आवासमा भन्दा भिन्न थियो । गाईभैंसी प्रशस्त थिए । हात्ती र घोडा पनि देखिन्थे । परिसरभित्रको पोखरीमा अजिंगर पालिएको थियो ।

बिहार में का बा !

कुनै हिन्दी फिल्मको खलनायकको हवेलीको झल्को दिने गरी सशस्त्र निजी सुरक्षाकर्मी ठूलो संख्यामा थिए । केहीले एके–४७ बोकेका थिए । ‘छोटे सरकार’ कहलिने ती विधायकको बैठककोठामा प्रवेश गर्नुभन्दा पहिला सुरक्षाकर्मीहरूको कडा चेकजाँच झेल्नुपर्थ्यो । तर, नेताजीको हुकुम छ भने बडो अदबका साथ भित्र पुर्‍याइन्थ्यो । ती प्रदेशसभा सदस्य थिए— बाहुबलीका रूपमा परिचित अनन्त सिंह ।

त्यस बेला अनन्त ‘सुशासन बाबू’ भनिने चर्चित मुख्यमन्त्री नीतीश कुमारका प्रिय थिए । त्यसैले राजधानी पटनामा समेत उनको समानान्तर संसार थियो । बिहारको राजनीतिक यथार्थ बुझ्न मलाई मुख्यमन्त्री निवासभन्दा केही सय मिटर दूरीको यो आवास छिर्न स्थानीय पत्रकारहरूले सुझाएका थिए । त्यतिखेर नीतीश कुमार अभिवादनको मुद्रामा अनन्तका सामुन्ने खडा भएको तस्बिर सामाजिक सञ्जाल र मिडियामा खुब आइरहन्थ्यो । अनन्तको बैठककक्षमा पनि त्यो तस्बिर ठूलो साइजमा झुन्डिएको देखियो ।राजनीति सधैं समानान्तर रेखामा चल्दैन । नीतीश कुमारसँग सम्बन्ध चिसिनेबित्तिकै उनलाई जेल पठाइयो । अझै उनीमाथि हत्या, अपहरण, जबर्जस्ती जमिन कब्जाका अनेक मुद्दा चलिरहेका छन् । नीतीश कुमारको ढोका बन्द भए पनि उनलाई लालु प्रसाद यादवको पार्टीले अहिले प्रत्याशी बनाएको छ ।

बिहारी राजनीतिको अपराधीकरण चार दशकअघिदेखि नै भइरहेको छ । पहिले बाहुबलीहरू दल वा नेतृत्वविशेषका लागि स्रोत जुटाउन र मतदान केन्द्र कब्जा गर्न खटिन्थे, पछिपछि आफैं प्रत्याशी बन्न थाले । बाहुबली जेलमा छन् भने पत्नीलाई उम्मेदवार बनाउने र जेलबाटै जिताउने कथाहरूबिना ‘बिहारी राजनीति’ को कथा अधुरो हुन्छ । हालै दिवंगत प्रसिद्ध नेता रघुवंशप्रसाद सिंहले मर्नुभन्दा दुई दिनअघि लालु प्रसादको राष्ट्रिय जनता दल छाडेको घोषणा गरेका थिए । कारण थियो— राष्ट्रिय जनता दलले उनको क्षेत्रका बाहुबली रामा सिंहलाई भित्र्याउनु । आगामी चुनावमा रामा सिंहकी पत्नी विणा सिंह लड्दै छिन् ।

कुनै बेला अपराधीहरूको राजनीति प्रवेशबारे सोध्दा लालु प्रसाद भन्थे, ‘ऋषि वाल्मीकि पनि त डाकु नै थिए ।’ यसपटक बिहार विधानसभा निर्वाचनका क्रममा उल्लेख्य संख्यामा आपराधिक पृष्ठभूमिका प्रत्याशीहरू छन् । केहीले आफन्तलाई पनि लडाउँदै छन् । आपराधिक तत्त्वले राजनीतिमा स्पेस बनाइसके । यसले बिहारमा समानान्तर न्यायप्रणाली विकसित गरिरहेको छ । प्रदेश सत्ताको नेतृत्वमा पुग्न जातीय संख्याबलको निर्णायक भूमिका त छँदै छ, साथै आआफ्नो जातीय बाहुबलीलाई गौरवका रूपमा हेर्ने मानसको सामाजिकीकरण पनि कम छैन ।

५ जुन १९७४ मा पटनाको गान्धी मैदानमा ‘सिंहासन खाली करो, जनता आती है’ को शंखनादका साथ जयप्रकाश नारायणले जुन आन्दोलनको जग हाले, त्यसैबाट निस्केका उनका दुई सिपाहीले बिहारलाई यहाँसम्म ल्याइपुर्‍याए । लालु प्रसाद र नीतीश कुमारको पछिल्लो तीस वर्षको शासनकाल नबुझेसम्म बिहारको नियति गम्न सकिँदैन । एकको कार्यकालमा अपहरण, सम्पत्ति कब्जा, रंगदारी, सुपारी किलिङ राजकीय उद्योगकै रूपमा फस्टायो भने अर्काको सुशासन राजमा भ्रष्टाचार र बेथिति संगठित रूपमै मौलायो । जयप्रकाश नारायणका यी दुई चेलाको यो कहानी बिहारको पृष्ठभूमिमा रचिएको ‘हाउस अफ कार्ड्स’ जस्तै छ । तर यो ‘फिक्सन’ होइन, ‘फ्याक्ट’ हो । सामाजिक र आर्थिक गैरबराबरीको मलजलले बिहारी समाजमा जुन नैराश्य उत्पन्न गरेको छ, त्यसलाई नोभेम्बरको चुनावले पनि छिचोल्न सक्ने सम्भावना न्यून छ । कतिपय अवस्थामा निर्वाचनले यथास्थितिलाई झन् मजबुत बनाइदिँदो रहेछ ।

लालु प्रसादबारे अझै पनि कतिपयले भन्छन्, ‘उनले दबाइएका र थिचिएका समुदायलाई स्वर्ग भलै दिएनन् तर स्वर पक्कै दिएका छन् ।’ लालु प्रसादले सामाजिक न्यायको आन्दोलनलाई अगाडि त बढाए तर यसलाई विकासको आन्दोलनमा बदल्न सकेनन् ।सुशासन, आर्थिक ढाँचा र कानुन व्यवस्था उकासेनन् । अहिले उनी भ्रष्टाचारको आरोपमा जेलमा छन् । उता नीतीश कुमारले विकास–सुशासनजस्ता मुद्दा र ‘बिहारी’ अस्मितालाई प्रोत्साहन दिए तर उनले पनि कालान्तरमा आफ्नो गति हराए र यथास्थितिवादको फगत मुखौटा भए । नीतीश कुमार बिहारको ‘डबल डिजिट ग्रोथ’ को खुब धाक लगाउँछन् तर भुइँतहमा रहेको खोक्रोपनलाई छोप्न सकेन । त्यसैले लालु प्रसाद–नीतीश कुमारको तीसवर्षे काललाई ‘ब्लफ अफ सोसल जस्टिस’ मान्नेहरू कम छैनन् । प्रशासनिक विफलता र बिहारी समाजको बहुसंख्यक वर्ग किनारामा धकेलिएपछि त्यहाँ प्रश्न उठ्न थालेको छ । बाढी, बेरोजगारी, पलायन, शिक्षा र स्वास्थ्यको दुरवस्था, सिद्धान्तभन्दा जातीय उन्माद, खर्चिला चुनावजस्ता सवाल अहिलेका यक्षप्रश्न हुन् ।

कोरोनाकालमा निर्वाचन गर्न किन हतारिएको भन्ने प्रश्नको जवाफ पनि मागिँदै छ । तर यी सब विषय मूलधारको मिडियामा देखिँदैनन् । बिहार किन बदलिएन ? कहिलेसम्म यसका लागि कुर्नुपर्छ ? यहाँका राजनीतिज्ञलाई थाहा छ, अन्तमा भोट जात र जमातकै आधारमा प्राप्त गर्ने हो । समाजले पनि ससाना आवश्यकता पूर्तिका लागि बरु पलायन रोज्छ तर प्रश्न गर्दैन । शासकीय वैधताका लागि जनतासमक्ष पुग्ने दल वा नेतृत्वलाई प्रश्न नगरी जातीय आवेशमा प्रशस्ति गाएर ‘बिहार’ बन्छ भन्ठान्नु लोकतन्त्रको कुरूप शैली हो । सरकार वा दलको कमजोरी औंल्याउनु समाज ज्युँदो हुनुको सूचक हो । यदि मतदाताले सवाल गर्न चुके भने जुनै शासक पनि बेलगाम हुन्छ । प्रश्न गर्नु भनेको आत्महीनताको चौखटमा पुग्नु होइन । सबै सम्भावना भएर पनि बिहार रोकिएको भारतीय प्रदेश भएको छ । यसैले यसपटकको निर्वाचनमा मतदाताहरूले बिहारमा ‘का बा’ (के छ ?) र ‘ई बा’ (यो छ) को ‘ब्यानर’ बाट जोगिनुपर्छ । केहीअघि बिहारकै अभिनेता मनोज वाजपेयीको ‘मुम्बई में का बा’ र्‍याप सार्वजनिक भयो । लोकगायिका नेहा सिंह राठौडले ‘बिहार में का बा’ गीतमार्फत बिहारको शासकीय श्यामश्वेत तस्बिर उजागर गरिन् । यो गीत निकै लोकप्रिय भयो, थुप्रै भारतीय टेलिभिजनले यसै टाइटलमा चुनावी कार्यक्रम बनाएका छन् । यसैको जवाफ दिन नीतीश सत्ताले ‘ई बा’ गीत ल्याएको छ । यस्ता गीतहरूमाझ निर्वाचनभन्दा पहिल्यै बिहारमा ‘का बा’ बहस तेज भएको छ । तर, आममानिसमा यो सब थाहा पाउने आतुरता छैन । जातीय आधारमा छनोट भएका पक्षका आधारमा उनीहरूले भन्नुपरेको छ– बिहारमा केही पनि छैन वा सबै थोक छ ।

लालु प्रसादलाई आफैं सत्ताबाट झरे । नीतीश कुमारको चुनौती पनि उनी स्वयं हुन् । जेजसो भए पनि उनीहरूले निर्माण गरेको सामाजिक आधारबाट अब जोकोही पिछडा वर्गका व्यक्ति प्रदेशका मुखिया बन्नेछन् । बिहारमा लामो समयदेखि संख्यामा कम रहे पनि कथित सवर्णहरूले नै नेतृत्व गर्दै आएका थिए । यसका बाबजुद समग्र पछौटेपनको मारमा सबभन्दा बढी दलित र अल्पसंख्यकहरू नै पर्ने गरेका छन् । हो, नीतीश कालमा सडक बने, बिजुलीमा सुधार भयो, स्थानीय तहमा महिलाको सहभागिता ह्वात्तै बढ्यो तैपनि सामाजिक न्यायको चर्का नारामुनि डरलाग्दो अँध्यारो छ ।

बिहार नदीहरूको प्रदेश हो । यहाँ नदीहरूको लम्बाइ २,९४३ किमि छ र अहिलेसम्म ३,७३१ किमि तटबन्ध बनिसके, थप १,५५० किमि तटबन्ध प्रस्तावित छन् । यो पनि बनिहाले नदीहरूको लम्बाइभन्दा दोब्बर तटबन्ध हुनेछ । एकातर्फ जलजमावमा बाँच्नेहरू छन्, अर्कातर्फ कैयौं ठाउँमा पानीको संकट छ । तर पनि यस्ता सवाल राजनीतिक विमर्शमा छैनन् । पलायन कसरी रोक्ने ? दिगो विकास केलाई मान्ने ? समाजलाई रोगी हुनबाट कसरी जोगाउने ? जनताको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता विषयवस्तु गौण भएका छन् ।

बिहारको राजनीति अनेक जातीय समीकरणमा बाँडिएको छ । कुनै पनि दल एक्लैले सरकार बनाउने स्थिति छैन । गठबन्धन गरेर चुनाव लड्नु दलहरूको मजबुरी हो । र, समयको माग पनि । दलहरूमाथि जातीय समूहको दबाब छ, त्यहीअनुसार सार्वजनिक विमर्श र दलीय रणनीति निर्धारण गरिँदै छ । बेरोजगारी, भ्रष्टाचार, कुशासनको सवालभन्दा जातीय राजनीतिको असर बढी देखिएको छ । यही नै बिहारको राजनीतिको वर्तमान त्रासदी हो र दलहरू टोपी उछालेर यसैमा निमग्न छन् । यो त्यही बिहार हो जहाँ गान्धीले भारतमै पहिलोपटक सत्याग्रह गरे । भारतीय स्वतन्त्रता संघर्षमा यहाँका बासिन्दाले अग्रणी भूमिका खेले । स्वतन्त्र भारतमा लोकतन्त्र खुम्चिन लाग्दा जयप्रकाश नारायणले बिगुल फुके र सफल भए पनि । यही बिहारमा राजनीतिले विकल्प पर्खिरहेको छ ।

प्रकाशित : कार्तिक ६, २०७७ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?