कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आन्टीहरूलाई खुलापत्र

केटी मान्छेलाई तारिफ गरेर उनीहरूको ध्यान आकर्षित गर्न सकिन्छ भन्ने सोच तपाईंका श्रीमान्जस्ता कैयौँ अनजान अंकलहरूको होला तर मजस्ता हजारौँ केटीलाई त्यस्ता सन्देशहरू ‘प्रशंसात्मक दुर्व्यवहार’ मात्र लाग्छन् ।
लीना दुवाडी

डियर आन्टी !
आरामै छु, अनि तपाईंले पनि यो कोरोनाकालमा आफ्नो स्वास्थ्यको ख्याल गरिरहनुभएको होला भन्ने कामना गर्छु ।

आन्टीहरूलाई खुलापत्र

कोरोनाको कहरमा तपाईंलाई गुनासोयुक्त पत्र लेख्न रहर त थिएन । यद्यपि मैले जेजस्ता कुराहरू अवगत गराउने मनसायले यो बेतारे युगमा पनि हुलाकी युगकै जस्तो पत्र कोर्न लागेकी छु, त्यसको कारण पनि कोरोना भाइरस नै रहेको मेरो अन्तरात्माले भनिरहेको छ । अनि आशा छ– तपाईंले झिँजो नमानी यो पत्र आद्योपान्त पढेर मनन गर्नुहुनेछ । कुरा गएको महिनाको हो । सूर्यास्तको केही घण्टा मात्र भएको थियो । म आफ्नै कोठामा ल्यापटप खोलेर काम गर्दै थिएँ । यहाँको समयानुसार रातको नौ बजेको थियो । नेपालमा लगभग बिहानको आठ बज्दै थियो । फेसबुकमा म्यासेजको घण्टी बज्यो ।

सायद तपाईंका श्रीमान्ले बिहान उठेर चिया पिउँदै सोसल मिडियामा आफ्नो ड्युटी सुरु गर्नुभएको थियो । ‘नमस्ते, गुड मार्निङ’ लेखेर पठाइएको त्यो म्यासेजलाई मैले बेवास्ता गरेँ । तपाईंले सोच्नुभयो होला, किन ? किनकि तपाईंका श्रीमान् मेरा साथी, आफन्त वा नजिकको चिनजानका व्यक्ति होइनन् । र, तपाईंका श्रीमान्ले हरेक बिहान मलाई त्यसरी फेसबुक सन्देश पठाउने गरेको त्यो पहिलो पनि थिएन । एक दिन उहाँले मलाई लेख्नुभयो, ‘तपाईंको पछिल्लो आर्टिकल पढेँ, धेरै राम्रो छ ।’ मैले धन्यवाद फर्काएँ । लगत्तै अर्को म्यासेज आयो, ‘के गर्दै हुनुहुन्छ ?’

त्यो प्रश्नलाई मैले ‘इग्नोर’ गरेँ किनकि मलाई त्यो असान्दर्भिक र अनावश्यक लाग्यो । अर्को दिन उस्तै समयतिर मेरो फेसबुक नोटिफिकेसन बज्यो, ‘नमस्ते ! आरामै हुनुहुन्छ ?’ तपाईंकै श्रीमान्को प्रश्न थियो, जसलाई मैले फेरि ‘इग्नोर’ गरेँ किनकि त्यो मेरा लागि बेमतलबको प्रश्न थियो । त्यसको केही दिनपछि उहाँले मलाई एउटा फोटो पठाउनुभयो । मैले खोलेर हेरेँ, मेरो प्रोफाइल पिक्चरको स्क्रिनसट लिइएको रहेछ र साथमा लेखिएको थियो, ‘सो ब्युटिफुल’ । मलाई त्यो कत्ति पनि मन परेन । केटी मान्छेलाई तारिफ गरेर उनीहरूको ध्यान आकर्षित गर्न सकिन्छ भन्ने सोच तपाईंका श्रीमान्जस्ता कैयौँ अनजान अंकलहरूको होला तर मजस्ता हजारौँ केटीलाई त्यस्ता सन्देशहरू ‘प्रशंसात्मक दुर्व्यवहार’ मात्र लाग्छन् ।

कसैको प्रोफाइल खोलेर एकएक फोटो कुन कस्तो छ भनेर हेरिरहने तपाईंका श्रीमान् पक्कै पनि निकै फुर्सदमा हुनुहुन्छ । मलाई कुतूहल लाग्यो । यसरी दैनिक सोसल मिडियामा मलाई ‘स्टक’ गर्ने को रहेछ भनी प्रोफाइल खोलेर हेरेँ । नेपालको सरकारी जागिरे र राम्रै ओहोदामा हुनुहुँदो रहेछ । उमेरका हिसाबले मैले उहाँलाई अंकल र तपाईंलाई आन्टी सम्बोधन गरेकी हुँ । म अनुमान गर्दै थिएँ– हरेक बिहान परिवारमा सबैभन्दा छिटो उठेर तपाईं भान्साको काममा लाग्नुहुन्छ । तपाईंलाई श्रीमान् उठ्नुअघि नै उहाँका लागि चिया र खाजा तयार पार्ने चटारो हुन्छ । सधैँ घरधन्दामा व्यस्त हुँदा तपाईंलाई सायद उहाँको दैनिकी कसरी बित्छ र उहाँ इन्टरनेटमा के–के गर्नुहुन्छ भन्ने कुनै ‘क्लु’ छैन ।

तपाईंले विश्वास गरेर उहाँको फोन पनि कहिल्यै ‘चेक’ गर्नु हुन्न । कसैको ‘प्राइभेसी’ लाई सम्मान गर्नु राम्रो कुरा हो तर कतै तपाईंले उहाँलाई आवश्यकताभन्दा बढी विश्वास गरिरहनुभएको त छैन ? तपाईंले आफ्नो इमेल, फेसबुक लगायतका इन्टरनेट अकाउन्टहरूका पासवर्ड उहाँसँग सेयर गर्नुभएको छ ? पक्कै होला । तर के उहाँले आफ्ना सबै पासवर्ड तपाईंसँग सेयर गर्नुभएको छ ? के उहाँ आफ्ना दैनिक रुटिन कुराहरू तपाईंसँग साझा गर्नुहुन्छ ? के तपाईंहरूबीच साथीजस्तो सम्बन्ध छ ? हाम्रोजस्तो समाजमा श्रीमती भनेको परिवारको निर्माण र घर सम्हाल्नका लागि मात्रै हो भन्ने मानसिकताले तपाईंजस्ता थुप्रै महिलालाई आफ्नो घरका चार भित्ताबाट बाहिर उम्कन दिएको छैन ।

विकासका कुरामा हामी जति अगाडि बढे पनि यस्ता रूढिवादी सोचले निम्त्याएका समस्याहरू ज्यूँका त्यूँ छन् । कोरोना भाइरसका कारण अहिले आवश्यकताभन्दा बढी फुर्सदमा हुने तपाईंका श्रीमान्जस्ता धेरैले इन्टरनेटले देखाएका लोभलाग्दा सुविधाहरू राम्रैसँग प्रयोग गरिरहेका छन् । माथि मैले ‘प्रशंसात्मक दुर्व्यवहार’ को प्रसंग उल्लेख गरेँ । यसमा केही थप कुरा गर्न मन लाग्यो । केही समयअगाडि नेपालका चर्चित नायकविरुद्ध केही महिलाले आवाज उठाए । त्रिभुवन विश्वविद्यालयका एक वरिष्ठ प्राध्यापकविरुद्ध केही महिला विद्यार्थीले गरेको उजुरीले ‘हर्रास्मेन्ट’ अर्थात् उत्पीडनका कैयौँ प्रकार हुन्छन् र यो कुनै जात, उमेर वा वर्गविशेषको कुरा नभई एउटा अल्प मानसिकताको उपज हो भन्ने जनाउँछ । ती दुवै अक्षम्य अपराध थिए, जसको सुरुआत ‘प्रशंसात्मक दुर्व्यवहार’ बाटै भएको थियो । तपाईंका श्रीमान् कतै त्यस्तै मानसिकताको सिकार बन्दै गइरहनुभएको त छैन ?

एकपटक फेसबुकमार्फत मेरी एक साथीले एक व्यक्तिसँग मित्रता गाँसिन् । पेसाले चलचित्र निर्माणको काम गर्ने ती व्यक्तिले आफ्नो भर्खरै डिभोर्स भएको र एक्लै भएको भनेर मित्रता जोडेका थिए । हरेक दिन फेसबुकमा उनीहरूको घण्टौँ कुराकानी हुन्थ्यो । मित्रता बिस्तारै प्रेमी–प्रेमिकाको सम्बन्धतर्फ ढल्दै जाँदा एक दिन अचानक मेरी साथीलाई फेसबुकमार्फत नै थाहा भयो, ती व्यक्तिले त झुट बोलेर मित्रता गाँसेका रहेछन् । तिनको सम्बन्धविच्छेद त भएकै रहेनछ । ती मानिसले एकसाथ दुई महिलालाई धोका दिइरहेका थिए ।

कुनै ठूलै कदम नचाले पनि अहिलेका ४०/४५ काटेका पुरुषहरू सोसल मिडियामा टाइमपास गर्न घरमा श्रीमती हुँदाहुँदै बाहिर गफ गर्ने साथीको खोजीमा भइरहेका हुन्छन् । तपाईंका श्रीमान् कहीँ तिनैमध्ये एकमा त पर्नुहुन्न ? आन्टी ! मैले तपाईंलाई आज यसरी पत्र लेख्नुको कारण अर्को पनि छ । घर, परिवार, श्रीमान् भन्दाभन्दै कतै तपाईंले आफ्नो जीवन जिउन नै बिर्सिरहनुभएको त छैन ? आफ्ना इच्छा–आकांक्षालाई मारेर बसिरहनुभएको त छैन ? कुरैकुरामा उहाँले ‘भयो, छाडिदे, तैँले गर्न सक्ने कुरा होइन यो’ भनेर तपाईंको सम्मानको खिल्ली उडाउँदा त्यसलाई सामान्य रूपमा लिएर बस्नुभएको त छैन ? तपाईंले उहाँबारे केही कुरा जान्न खोज्दा उहाँले ‘तेरो मतलबको कुरा होइन यो’ भन्दा तपाईं चुप लागेर बस्ने गर्नुभएको त छैन ?

तपाईंका श्रीमान्ले आफ्नो मर्जीअनुसार जे गरे पनि हुने, तपाईंले आफूलाई मन लागेका कुराहरू आफ्नो मर्यादाभित्र रहेर गर्न किन नहुने ? दिनमा एकाध घण्टा समय तपाईं आफ्ना लागि छुट्याउनुस्, आफ्ना लागि केही लक्ष्य निर्धारण गर्नुस् । कहिलेकाहीँ एकान्तमा बसेर विचार गर्नुस्– परिवारका साथसाथै तपाईं आफ्ना लागि पनि बाँचिरहनुभएको छ भन्ने कुरा नबिर्सिनुस् । आफूलाई चित्त नबुझेका कुरा श्रीमान्का अगाडि खुलेर भन्नुस् । अनि श्रीमान्को ‘प्राइभेसी’ को सम्मान गर्दै कहिलेकाहीँ चिया दिन जाँदा बिहानबिहानै उठेर आफ्ना श्रीमान्ले आफ्नै छोरी उमेरका केटीहरूलाई ‘प्रशंसात्मक दुर्व्यवहार त गरिरहेका छैनन् ?’ भनी यसो चियो पनि गर्ने गर्नुस् ।

त्यसले तपाईंलाई श्रीमान् गलत बाटामा रहेछन् भने उनलाई सम्झाउने, बुझाउने र अझ घुर्क्याउनेसम्मको अवसर दिनेछ । यी सुझावलाई तपाईंकी छोरीको उमेरकी एउटी भतिजीले दिएको भन्ठानेर तपाईंले गम्भीरताका साथ लिनुहुनेछ भन्ने मेरो अपेक्षा छ । जसरी तपाईंका श्रीमान्ले मलाई ‘प्रशंसात्मक दुर्व्यवहार’ गर्न खोज्नुभयो, के थाहा कतै तपाईंकी छोरीलाई अर्को कुनै अंकल उमेरको व्यक्तिले त्यस्तै पो गर्ने प्रयास गर्दै छ कि ?

आन्टी, तपाईंप्रति मेरो सहानुभूति र साथ दुवै छ । आफ्नो ख्याल राख्नुहोला ।

उही तपाईंकी शुभचिन्तक !

प्रकाशित : कार्तिक ५, २०७७ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?