नेपाल–भारत अवरुद्ध आकाश

सम्पादकीय

कोभिड–१९ का कारण आक्रान्त बनेको विश्व समुदायमा सबै प्रकारका नियमित गतिविधिहरू अवरुद्ध छन् । सुचारु हुन थालेका कतिपय गतिविधि पनि पुरानै लयमा आइसकेका छैनन् । यसबीचमा प्रायः सबै मुलुकका आन्तरिक मात्र होइन, बाह्य गतिविधि पनि गतिहीन बनेका छन् ।

नेपाल–भारत अवरुद्ध आकाश

कोरोना भाइरसको संक्रमण फैलिन थालेदेखि नै प्रायः देशले आवागमनका सबै स्थल, हवाई र अन्य मार्गसमेत रोकेका थिए । नेपालले पनि बाहिरी विश्वको यही पद्धतिलाई अनुसरण गरेर जनसाधारणको आवागमन र अन्य गतिविधि बन्द गर्ने उपाय पहिल्याएको थियो । यही क्रममा हवाई उडानका सबै तालिका झन्डै ६ महिना अवरुद्ध भए । बल्लतल्ल यसै महिनाबाट आवश्यक स्वास्थ्य सुरक्षाका उपायहरू अपनाउँदै राष्ट्रिय–अन्तर्राष्ट्रिय तहमा नियमित तवरका उडानहरू सुरु भएका छन् ।

मुलुकले आन्तरिक र बाह्य उडान सुरु गरेसँगै आवागमन केही सहज बनेको छ । दक्षिणी छिमेकी भारतसँग भने औपचारिक तहमा स्थल वा हवाई सम्पर्क अझै पनि अवरुद्ध छ । आवश्यक सेवा–सर्त र सुरक्षा प्रबन्ध राखेर नेपालसँगको हवाई उडानमा तत्कालका लागि ‘एयर बबल्स’ (चार्टर्ड शैलीको उडान सेवा) प्रबन्ध तय गर्न भारतले प्रस्ताव गरेको एक महिना बिते पनि नेपाल सरकारले यसबारे निर्णय दिन सकेको छैन । एक साताअघि पर्यटनमन्त्री योगेश भट्टराई र भारतीय राजदूत विनयमोहन क्वात्राका बीच भएको भेटवार्तामा भारतसँगको नयाँ हवाई रुट खोल्नेसहितका ‘तत्काल जरुरी’ नदेखिएका विषयमा समेत संवाद भएको सूचना बाहिर आएको थियो । तर, यसबीचमा भारतसँगको हवाई सम्पर्क सुचारु गर्नेबारे नेपाली पक्षले चासो देखाएको पाइँदैन ।

कोरोना संक्रमणकै कारण देखाएर अवरुद्ध बनेको द्विदेशीय हवाई उडान अझै खुल्न नसके पनि स्थलमार्गबाटै वा थप खर्चिलो उपायबाट नेपाल–भारत आवागमन रोकिएको भने छैन । दसैं–तिहारसहितका चाडबाडको यो मौसममा भारतमा रहेका कतिपय नेपाली कोरोना संक्रमणको सन्त्रासभन्दा बढी जे–जसरी हुन्छ, आफ्नो गाउँ–ठाउँ फर्कन इच्छुक देखिन्छन् । दुई देशबीचको सीमा खुलेपछि मात्रै घर आउँछु भनेर बसेका कतिले यसबीचका कैयौं महिना त्यसै गुजारिसकेका छन् । अरू मुलुकमा भएका कति नेपाली धमाधम घर फर्किंदा भारतमा भएकाले ‘आफूहरूलाई दोस्रो दर्जाका नागरिकको व्यवहार गरिएको’ भन्दै सामाजिक सञ्जालमा गुनासो पोख्न थालेका छन् । अर्को, दुई देशबीच पेसा–व्यवसाय गर्ने कतिलाई आइजाइ गर्नुपर्ने अति बाध्यता पनि छ ।

यति बेला भारतले दक्षिण एसियामा माल्दिभ्स, अफगानिस्तानसहितका बाहिरी विश्वका १३ वटा मुलुकबाट ‘एयर बबल्स’ को प्रबन्ध मिलाएर आफ्ना नागरिक घर फिर्ता ल्याइरहेको छ । तर, नेपालको हकमा भने भारत सरकार स्वयंले प्रस्ताव गरेर यो विषय पर्यटन र परराष्ट्र मन्त्रालयको टेबलमा अड्किएको छ । कोभिड–१९ नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिका काम–कारबाही सुस्त भैसकेको अवस्थामा हवाई उडानको यो प्रस्ताव पनि अलपत्र परेको देखिन्छ । कोरोना कहरमाझ अरू अन्तर्राष्ट्रिय हवाई उडानहरू रोकिएकै स्वरूपमा नेपाल–भारत उडान रोकिनु स्वाभाविक र जरुरी पनि थियो । तर, पछिल्लो समयमा नेपाल–भारतबीच सिमानालगायतका कतिपय मामलामा असहज सम्बन्ध कायम रहेका बेला अतिरिक्त संशयलाई मलजल पुर्‍याइरहने गरी हवाई उडान पनि अवरुद्ध राखिरहनु सायद बुद्धिमतापूर्ण हुँदैन । कोरोना भाइरसको संक्रमण विस्तारको डरले बृहत् स्तरमा आम नागरिकको हितलाई ध्यानमा राखेर हो या अरू केही कारणले हवाई सम्पर्क स्थगित राखिराख्नुपरेको हो, यसबारे सरकारले आफ्नो स्पष्ट धारणा बाहिर ल्याउन उपयुक्त हुन्छ । जारी द्विदेशीय राजनीतिक एवं कूटनीतिक कठिनाइका माझ यो हवाई सम्पर्क स्थगित गरिराख्नुको अर्थ र सन्देश के हुन्छ भन्नेबारे सरकारले दुईपटक सोच्नुपर्छ । मनासिब कारणबेगर नै नेपाली यात्रुका लागि एउटा चल्तीको हवाई उडान रुटलाई त्यसै अवरुद्ध राखिरहनु उचित हुँदैन ।

निश्चय पनि, मुलुकमा कोरोना भाइरसको संक्रमण डरलाग्दो गरी अकासिएको छ । र, छिमेकी मुलुक भारत त्यस्तै कहालीलाग्दो संक्रमण दर झेलिरहेको एउटा मुलुक हो, जहाँ अमेरिकापछि विश्वमै सबैभन्दा बढी संक्रमित छन् । यस्तो अवस्थामा भारत–नेपाल सीधा सम्पर्क हुँदा बढ्न सक्ने जोखिमप्रति सरकार चिन्तित हुनु स्वाभाविक पनि हो । तर प्रश्न सधैं यसरी कसरी चल्छ भन्ने हो । र, अरू मुलुकसित अपनाइएको जस्तो वा त्योभन्दा बढी निश्चित अवधि अनिवार्य ‘क्वारेन्टिन’, त्यसको निगरानी र पीसीआर परीक्षणजस्ता सुरक्षा सावधानी अपनाएर दुई देशबीच सुरक्षित हिसाबले हवाई उडान सुचारु राख्नेबारे नेपालले किन नसोच्ने भन्ने अर्को प्रश्न हो । आखिर, घर फर्कन आतुर नेपाली हुन् या नेपालमा कामकाज भएका भारतीय, जसरी पनि लुकीछिपी नेपाल आएकै छन्, जुन तरिका झन् बढी जोखिमपूर्ण छ । सरकारले सम्पूर्ण सुरक्षा सावधानी अपनाएर कुनै न कुनै रूपमा हवाई यात्रा सुचारु गर्ने हो भने बरु त्यो कम जोखिमपूर्ण, व्यावहारिक र सौहार्दपूर्ण हुन्थ्यो कि ?

प्रकाशित : कार्तिक ५, २०७७ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?