भर्चुअल संवाद

विभिन्न क्षेत्रमा नाम कमाएका व्यक्तित्व र विज्ञहरूसँग घर बसीबसी दोहोरो संवाद गर्न पाउँदा साँच्चै रमाइलो हुने गरेको छ ।
मधु राई

बन्दाबन्दी सुरु भएयता लायन्य क्लब तथा रोटरी क्लबजस्ता दर्जनौं संघसंस्थाले विभिन्न विषयमा भर्चुअल संवाद थालेका छन् । पछिल्लो समय राजनीतिक दलहरूले आफ्ना नेता–कार्यकर्तासँग सम्पर्कको उपाय यसैलाई बनाएका छन् । भर्चुअल संवादमा सहभागी हुनेहरूको संख्या उल्लेख्य हुँदै गएको छ ।

भर्चुअल संवाद

भर्चुअल संवाद अधिकांशले निःशुल्क गरे पनि कतिपयले सहभागिताका लागि न्यूनतम शुल्क लिने गरेका छन् । विभिन्न क्षेत्रमा नाम कमाएका व्यक्तित्व र विज्ञहरूसँग घर बसीबसी दोहोरो संवाद गर्न पाउनु साँच्चै रमाइलो हुने गरेको छ । कौसीखेती, राजनीति, स्वास्थ्य, वैदेशिक रोजगारी, महिला, बालमनोविज्ञान तथा मनोविज्ञान जस्ता सामयिक विषयवस्तुका कारण सहभागीहरूको समय पनि सदुपयोग भइरहेको छ । सूचना प्रविधिको पहुँच हुनेहरूका लागि अहिले यस्तो संवाद सामान्य भएको छ, मनोरञ्जनसहित अतिरिक्त ज्ञानगुन हासिल गर्ने माध्यमसमेत बन्दै गएको छ ।

तर कतिपय आयोजकले, विशेष गरी लायन्स क्लब र रोटरी क्लब लगायतले, समयको ख्याल पटक्कै नगरिदिनाले भर्चुअल संवादप्रति वितृष्णा चुलिने जोखिम पनि बढेको छ । कतिपय सञ्चालकहरू प्रविधिमैत्री नहुँदा निर्धारित समयभन्दा ढिला सुरु गर्ने र औपचारिकतामा बढी समय खर्चने पुरातन प्रवृत्ति यहाँ पनि दोहोरिन थालेको छ । त्यसमाथि क्लबका सबै पदाधिकारीलाई परिचय र आसन ग्रहण गराइएको देख्दा ‘नपाउनेले केरा पायो बोक्रैसँग खायो’ भन्ने लोकोक्ति चरितार्थ भइरहेको भान पर्छ । संवादको दौरान च्याट बक्समा सहभागीहरूले दिएका सुझावहरूलाई आयोजकले बेवास्ता गर्ने वा च्याट बक्स नै ब्लक गर्ने गरेका छन् ।

अपवादका रूपमा केही संस्थाले दिउँसोतिर यस्ता संवादको आयोजना गरे पनि अधिकांशले बेलुकीपख सुरु गर्छन्, जुन महिलामैत्री पटक्कै छैन । बेलुकीपखका यस्ता संवाद निर्धारित समयमा सुरु नहुँदै झमक्क रात परिसक्छ र औपचारिक कार्यक्रमले गर्दा आमन्त्रित विशिष्ट व्यक्तित्वहरू हतारहतार आफ्ना अनुभव र संघर्ष सुनाउन बाध्य हुन्छन् । केही साताअघिको एउटा संवादमा अन्य अतिथिसँगै मनोचिकित्सक गंगा पाठक पनि आमन्त्रित हुनुहुन्थ्यो । आयोजकले साढे तीन बजे बोलाए पनि चार बजे सुरु भयो संवाद र अतिथिहरूलाई आसनग्रहण गराउनमै आधा समय सकिएपछि बल्ल अन्तिममा मनोचिकित्सक पाठकलाई समय उपलब्ध गराइयो । बालबालिकामा अन्तर्निहित प्रतिभा पहिचान गरी अभिभावक र शिक्षकले त्यसमा मलजल गर्नुपर्ने उहाँका कुरा रोचक र ज्ञानवर्द्धक भए पनि समयाभावले विस्तृत रूपमा सुन्न पाइएन । समयको पावन्दीले गर्दा कतिपय सहभागीका जिज्ञासाको जवाफ राम्ररी सुन्न नपाउँदा विज्ञलाई मात्र हैन, सहभागीहरूलाई नरमाइलो लाग्नु स्वाभाविक हो ।

पछिल्लो समय विकसित मुलुकमा जस्तै नेपालमा पनि सूचना–प्रविधि अंगीकार गरी नौलो अभ्यासको थालनी गरिनु नेपालीहरूका लागि अवसर भए पनि आयोजकहरूले समयको महत्त्व नबुझिदिँदा भर्चुअल संवादहरू उपलब्धिमूलक बन्न सकिरहेका छैनन् । शिशु अवस्थामा हुर्किरहेको यस्तो संवाद कार्यक्रमको विषयवस्तु सान्दर्भिक भए पनि तीन–चार घण्टासम्म गरिनु अवैज्ञानिक मात्रै हैन, पट्यारलाग्दो पनि हुन्छ । कतिपय संवादमा सहभागीहरू कोही सोफामा ढल्केका, कोही अरूसँग कुरा गर्दै र कोही अरू काम गर्दै गरेका देखिन्छन् । आयोजकहरू संवादको अवधि र सहभागितासम्बन्धी आधारभूत आचारसंहिताबारे चुस्त हुनु जरुरी छ ।

अर्को कुरा, अधिकांश आयोजकले एउटै विषय उठाउने गरेका छन् । सहभागीहरूको पृष्ठभूमि र रुचिलाई ध्यान दिइँदैन । आयोजकहरूले धेरैभन्दा धेरै सहभागीलाई उपस्थित गराउनुभन्दा पनि समसामयिक विषयवस्तुअनुसार तिनको पृष्ठभूमि र रुचिलाई ध्यानमा राखेर सहभागीमैत्री बनाउन सके यस्ता संवाद उपलब्धिमूलक मात्र बन्दैनन्, कालान्तरमा जनमत बनाउन पनि सहायकसिद्ध हुन सक्छन् ।

आयोजनाको निम्तो आयो भन्दैमा विद्वत्ता बाँड्न तत्पर भइहाल्ने विज्ञहरूले पनि कस्ता विषयवस्तुमा कस्ता सहभागीलाई आफ्नो अनुभव सुनाउँदा फलदायी होला भनी गम्भीर हुन जरुरी छ । किनभने यस्ता संवादमा सहभागी र विज्ञहरू डिजिटल आसनग्रहण हेर्न सामेल भएका हुन्नन् । कतिपय अवस्थामा एउटै विज्ञले धेरै विषयवस्तुबारे जानकारी दिनुपर्ने हुन्छ । यस्ता संवादअन्तर्गत साप्ताहिक रूपमा रोजगारमूलक तालिम तथा गोष्ठीहरू आयोजना गर्न सके यो नौलो प्रविधि आयोजक र सहभागीहरूका लागि नयाँ अवसर पत्ता लगाउन प्रवेशविन्दु हुन सक्छ । विषयविज्ञहरूका लागि पनि अनुभव र ज्ञान आदानप्रदान गर्ने साझा मञ्च तयार हुन सक्छ । साथै अन्यत्रजस्तै हामीकहाँ पनि मूलधारमा विरलै समेटिने विषयवस्तु (जस्तै : वातावरण, सरसफाइ, जलवायु परिवर्तन, सहरी कृषि) बारे आयोजकहरूले जनसंवाद सुरु गर्न जरुरी छ ।

प्रकाशित : कार्तिक ४, २०७७ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?