काठमाडौंमा ५२ वर्षपछि देखिएको चरो- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंमा ५२ वर्षपछि देखिएको चरो

बेलन्स क्रेक एकदम लजालु स्वभावको हुनाले हम्मेसि फोटो खिच्न सकिन्न । यसको गुँड र बचेराको फोटो खिच्न पाउने सम्भावना निकै कम हुन्छ ।
कमल मादेन

ब्रायन हड्सन इस्ट इन्डिया कम्पनीको कारिन्दाका रूपमा सन् १८२० मा नेपाल आएका थिए । २३ वर्ष नेपाल बसाइका क्रममा उनले कम्पनीलाई यताको राजनीति लगायतबारे जानकारी अद्यावधिक गराउने काम त गरे नै, धेरै निजी सोख पनि पूरा गरे ।

तीमध्ये एक थियो– चरासम्बन्धी अध्ययन । उनले नमुना संकलन गरी यहाँका चराबारे विश्वलाई जानकारी गराए । त्यसपछि उनी सिक्किममा १५ वर्ष बसे । उनले सन् १८२०–५८ भित्र ६७२ प्रजातिका चराका ९,५१२ नमुना संकलन गरे । तीमध्ये १२४ प्रजाति विश्वका निम्ति नयाँ थिए । ‘दी ओरिजिन अफ हिमालयन स्टडिज’ (सन् २००५) शीर्षक पुस्तकमा रहेको क्यारोल इन्सिकिपको ‘अ पायोनियर अफ हिमालयन अर्निनोथोली’ लेखअनुसार, हड्सन आफैंले १२४ मध्ये ८० प्रजातिका चराबारे व्याख्या गरेका थिए । हड्सनद्वारा संकलित नमुनाबाटै इडवार्ड ब्लिथ, जर्ज रोबर्ट ग्रे र जोन इडवार्ड ग्रे (द ग्रे ब्रदर्स) तथा जोन गोउल्डले ४४ प्रजाति पत्ता लगाए ।

हड्सनको जमानामा चराको तस्बिर खिच्ने प्रविधि थिएन । नमुनाकै आधारमा चराको अध्ययन हुन्थ्यो । अचेल फोटोले त्यो कामलाई केही हदसम्म सरल बनाएको छ । अहिले नयाँ पत्ता लागेका बाहेक अन्य चराबारे जानकारीका लागि नमुना चाहिन्न, सम्बन्धित ठाउँमा खिचिएको फोटो भए पुग्छ । फोटोबाटै चरा प्रजाति थपिएको वा दशकौंपछि पुनः फेला परेको पुष्टि गर्ने चलन छ । अत्याधुनिक प्रविधियुक्त युगमा अचेल डीएनए तहको अध्ययन गरेर चरा पहिचान र पुनः वर्गीकरण गरिनुपर्ने हो । डीएनएको सिक्वेन्सिङबाट एकै जाति अन्तर्गतका प्रजातिहरूबीच कुन के कति मिल्दोजुल्दो छ, तिनीहरू कति हजार वा लाख वर्षपहिलेदेखि एकअर्काबाट फरक देखिन थालेका थिए भन्ने अध्ययन गरिनुपर्ने हो । यसतर्फ नेपालका चराविज्ञहरू पाइला चाल्न सक्ने अवस्थामा छैनन् । चराको अध्ययन–अनुसन्धान हामीकहाँ अझै हड्सनकालीन विधिमै केन्द्रित छ ।

बेलन्स क्रेक

बेलन्स क्रेक नेपालका लागि आगन्तुक र बटुवा चरा हो । छ–सात इन्च लामो हुने यो मूलतः झाडी भएको सिमसार क्षेत्रमा विचरण गर्ने एक प्रजातिको सिमकुखुरा हो । जुलोजिकल सोसाइटी अफ लन्डनले प्रकाशन गरेको ‘द स्टेट्स अफ नेपाल्स बर्ड्स ः द नेसनल रेडलिस्ट सेरिज’ (सन् २०१६, भोलम २) शीर्षक पुस्तकअनुसार, बेलन्स क्रेक नेपालमा सर्वप्रथम ब्रायन हड्सनले सन् १८२९ मा फेला पारेका थिए । त्यस बेला काठमाडौंमा मेदेखि अक्टोबरसम्म यो देखिन्थ्यो । तराईमा भने मार्चमै पाइएको हड्सनले लेखेका छन् । जे स्कलीले सन् १८७९ मा नेपालमा यो चरा जुलाईदेखि डिसेम्बरसम्म जताततै देखिन्छ भनी उल्लेख गरेका छन् । आरएल फ्लेमिङले सन् १९६१ मा चोभार दक्षिणतर्फ रहेको टौदहमा देखेका थिए । हरिशरण नेपालीले सन् १९६८ मा यो चराको नमुना बालाजुबाट संकलन गरेका छन् ।

बेलायती संस्था विकास लागि अन्तर्राष्ट्रिय विभाग (डिफिड) का नेपाल प्रमुख मार्क मल्लेइयुले काठमाडौं उपत्यकाका चराबारे सन् २००४–६ मा अध्ययन गरेका थिए । उनले बर्ड सोसाइटी अफ नेपाललाई बुझाएको ‘काठमाडौं बर्ड रिपोर्ट’ (सन् २००९) मा बेलन्स क्रेकबारे एक वाक्य लेखेका छन् । त्यसअनुसार, हेमन्त गुरुङले अप्रिल २००६ मा यसको बचेरालाई एउटा घरको छानोमा देखेका थिए । उक्त कुरा गुरुङले डच नागरिक एरेन वान रिेसेनलाई बताएका थिए । यही कुरा एरेनले मार्कलाई सुनाएका रहेछन् ।

वाइल्डलाइफ फोटोग्राफर सञ्जय था श्रेष्ठ, चुङ्बा शेर्पा, सुविन श्रेष्ठ लगायतले बेलन्स क्रेकलाई भक्तपुरमा ५ अक्टोबर २०२० मा पहिलोपटक फेला पारे । एक जोडी बेलन्स क्रेकसँग अलि अघिपछि हुर्किसकेको एउटा बचेरा पनि देखिन्थ्यो । श्रेष्ठ र शेर्पाले त्यसलाई बेलन्स क्रेककै बचेरा भन्ठाने । तर फेरि, यो बचेरा झन्डै बेलन्स क्रेकको माउ जत्रै र यसका आँखा र खुट्टाको रङ बेलन्स क्रेकको भन्दा फरक देखिएकाले श्रेष्ठ र शेर्पालाई त्यो बेलन्स क्रेक होइन कि भन्ने लागेछ । क्रेक समूहको चराका आँखाको नानी कालो र यसको वरिपरि हल्का रातो घेरा हुन्छ । तर, त्यो तस्बिरमा आँखाको नानीवरिपरि स्पष्ट त्यस्तो घेरा देखिन्न । यस्ता आँखा त बेलन्स क्रेक सम्मिलित चरा परिवार र्‍यालिडीको ह्वाइट–ब्रेस्टेड वाटरहेनको हुन्छ । तर, त्यो बचेराको घाँटीको आकार र रङ ह्वाइट–ब्रेस्टेड वाटरहेनसँग बिलकुलै मिल्दैन । त्यसैले त्यो बचेरा बेलन्स क्रेक वा अन्य कुन प्रजातिको हो स्पष्ट भन्न सकिन्न । तर, चरा विज्ञ तथा जुलोजिकल सोसाइटी अफ लन्डन नेपाल शाखा प्रमुख डा. हेमसागर बराल त्यो बेलन्स क्रेककै बचेरा रहेको दाबी गर्छन् । उनको बुझाइमा बचेराका आँखाको रङ वयस्कको भन्दा फरक हुन्छ ।

बचेराबाट चराको प्रजाति निर्क्योल गर्न हम्मेसि सकिन्न । यसकारण, हेमन्त गुरुङले सन् २००६ मा छानोमा देखेको बचेरा बेलन्स क्रेककै हो भन्नु सही हुँदैन । यसको अर्को कारण घरनजिक बेलन्स क्रेक विचरण गर्दैन । बरु घरनजिक त ह्वाइट–ब्रेस्टेड वाटरहेन देखिन्छ । जे होस्, श्रेष्ठ लगायत काठमाडौं उपत्यकामा बेलन्स क्रेको तस्बिर खिच्न सफल भए । हरिशरण नेपालीपछि काठमाडौं उपत्यकामा बेलन्स क्रेक पाइने प्रमाण ५२ वर्षको अन्तरालमा प्राप्त भएको छ । हुन त वाइल्डलाइफ फोटोग्राफर तथा नेपालका चराबारे जानकार हटन चौधरीले सन् १९९९ मा सुनसरीको रामधुनीमा बेलन्स क्रेक देखेका थिए । आईयूसीएन रेड लिस्ट अफ थ्रेटेन्ड सेरिजमा सन् २०१९ मा प्रकाशित एक जानकारीअनुसार, यो चरा अफ्रिका र अस्ट्रेलिया नजिकका एसियन भूभागमा आगन्तुक मानिन्न । तर, युरोप र एसियाका अन्य भागमा आगन्तुक अर्थात् माइग्रेटोरी प्रकृतिकै हुन्छ । यो चरा अगस्ट अन्ततिरदेखि अक्टोबरसम्म दक्षिणतिर बसाइँ सर्ने र मार्चदेखि मेसम्म उत्तरतर्फका बचेरा कोरल्ने ठाउँमा फिर्छ ।

डा. हेमसागर बराल भन्छन्, ‘चरा जहाँ टार्गेट गरेर जुन ठाउँका लागि बचेरा कोरल्न जान्छ, त्यहाँ कहिले ठ्याक्क सिजनमा पुग्न नसक्ने र कतिपय समयमै पुगे पनि पहिलेको बासस्थान नहुने हुनाले केही चराले जहाँ उपयुक्त स्थान पायो, त्यहीँ गुँड बनाएर बचेरा काढिहाल्नुपर्ने स्थिति हुन्छ ।’ यसले गर्दा कतिपय चराको ‘स्टेट्स’ पहिलेभन्दा अहिले परिवर्तन हुँदै गएको छ । डा. बरालका अनुसार, नेपालका कतिपय चराको तथ्यांक अद्यावधिक गर्नुपर्ने भइसकेको छ । क्यारोल इन्सिकिप र टिम इन्सिकिपको अनुमानमा नेपालमा बेलन्स क्रेकले बच्चा कोरल्न सक्छ ।

नाममा विविधता

जर्मनीका पिटर सिम्सन पल्लासको सन् १७७६ को ‘मिस्सेलानिया जुलोजिका’ शीर्षक पुस्तकमा बेलन्स क्रेक ‘डिस्कोभर्ड’ गरिएको जानकारी छ । यसको प्रोटोनिम अर्थात् ‘डिस्कोभर्ड’ गरिँदाको वैज्ञानिक नाम र्‍यालस फ्युजिल्ला थियो । त्यसपछि यसलाई पोर्जाना फ्युजिल्ला भन्ठानियो । सन् २०१४ मा पोर्जाना जातिबाट यसलाई जापोर्निया जातिमा स्थानान्तरण गरिएको छ । अचेल यसको वैज्ञानिक नाम जापोर्निया फ्युजिल्लामा मानिन्छ । यसको अंग्रेजी नाम बेलन्स क्रेकचाहिँ फ्रान्सका महान् प्रकृतिविद् लुइस एन्टोनी फ्रान्कोइज बेलनको नाममा राखिएको हो ।

चरा परिवार र्‍यालिडीअन्तर्गत सानो कुखुराजस्तो ठुँडो, छोटो कोनिकल आकार र पुच्छर छोटो भएको चरालाई क्रेक भन्ने गरिन्छ । जापोर्निया जातिअन्तर्गत दस प्रजाति क्रेक अस्तित्वमा छन् । नेपालमा बेलन्स क्रेकबाहेक अरू चार प्रजाति क्रेकमा सूचीकृत छन् । तिनीहरू कुनै हिउँदमा देखिन्छन् त कुनै स्थानीय आवासीयकै रूपमा पाइन्छन् । ब्राउन क्रेक र रुडी–ब्रेस्टेड क्रेक बेलन्स क्रेकजस्तै देखिन्छन् । जापोर्निया जातिअन्तर्गत तीन प्रजातिका क्रेक लोप भइसकेका छन् । एउटा लेखअनुसार, बेलन्स क्रेकले बेलायतको सिमसार क्षेत्रमा उन्नाइसौं शताब्दीको मध्यतिर बचेरा कोरल्छ होला भन्ने अनुमान निकैपटक गरिएको थियो । तर, सन् २०१३ मा मात्र यसको गुँड भेटियो । नेदरल्यान्डसहित युरोपका कतिपय देशमा यसले उल्लेख्य मात्रामा बचेरा कोरलेको भेटिएको छ । यो एकदम लजालु स्वभावको भएकाले हम्मेसि फोटो खिच्न सकिन्न । यसको गुँड र बचेराको फोटो खिच्न पाउने सम्भावना निकै कम हुन्छ । सिंगापुरका वाइल्डलाइफ फोटोग्राफर इरिक टानका अनुसार, बेलन्स क्रेक सिंगापुरका निम्ति अत्यन्तै विरलै देखिने हिउँदे आगन्तुक हो । त्यहाँ चार वर्षयता देखा परेको छैन ।

उडान

बेलन्स क्रेक अन्य चराझैं उचाइमा उड्न सक्दैन । पखेटाको बनावट हेर्दा यसले एकैपटक लामो दूरी उडान गर्दैन । तर पनि यो चरा एसियाका विभिन्न भागबाट हिउँदमा दक्षिण र दक्षिणपूर्व एसिया पुग्छ । युरोपबाट अफ्रिकाको उत्तरी भेगसम्म जान्छ । यसले बसाइँ सर्ने क्रममा एक दिनमा कति किलोमिटर यात्रा गर्छ होला ? सिमसार क्षेत्र खोज्दै यात्रा गर्छ वा अन्य बाटो भएर पनि यात्रा तय गर्छ ? यस्ता यावत् जानकारी पाउन सकिएको छैन । १२५ जति देशमा अत्यन्त थोरै संख्यामा पाइने बेलन्स क्रेकका छ उप–प्रजाति छन् । दक्षिणपूर्व एसियाको उप–प्रजाति जापोर्निया फ्युजिल्ला फ्युजिल्ला हो भनिन्छ । नेपालसहित दक्षिण एसियाको बेलन्स क्रेक कुन उप–प्रजाति होला ?

प्रकाशित : कार्तिक ४, २०७७ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्

लोप भएका मानवका नाममा

वैज्ञानिकहरू पृथ्वीबाट होमो सेपियन्सबाहेक अन्य मानव प्रजाति लोप हुनुको कारण सोर्स कोभ-२ जस्तै कुनै अज्ञात भाइरस-संक्रमण हुन सक्ने अनुमान गर्छन् । यस आलेखमा १ लाख वर्षयता लोप भएका ४ प्रजातिमाथि चर्चा गरिन्छ ।
कमल मादेन

संसारमा अहिले सोर्स कोभ-२ (कोभिड-१९) बाट संक्रमित भइएला भन्ने त्रास व्याप्त छ (सार्स भाइरसको जिनसँग धेरै मिल्ने भएकाले यो भाइरससलाई सोर्स कोभ-२ नाम दिइएको छ) । यसबाट अमेरिका, स्पेन, बेलायत, इटाली, रसिया, फ्रान्स, जर्मनी, ब्राजिल, टर्की, इरान, चीन आदि देशमा सबैभन्दा बढी व्यक्ति संक्रमित भइरहेका छन् ।

छिमेकी मुलुक भारतमा वैशाख चौथो साताबाट दैनिक रूपमा औसत ३३ सय ५० जनामा नयाँ संकमण देखिँदै छ । यसले मूलत: श्वासप्रश्वास प्रक्रियामा मात्र असर पुर्‍याउँछ । यसमा पनि ७५ वर्षमाथिका व्यक्ति र अन्य रोगसँग जुधिरहेका बिरामीका निम्ति सोर्स कोभ-२ भयानक हुँदो रहेछ ।

पृथ्वीमा आधुनिक मानव प्रजाति होमो सेपियन्स मात्रै अस्तित्वमा छ । अहिलेसम्म प्राप्त मानव जीवाष्मअनुसार, पृथ्वीमा विगत १ लाख वर्षयता अन्य ४ मानव प्रजाति अस्तित्वमा थिए । तिनका जीवाष्म मध्यउत्तर एसिया र दक्षिण पूर्व एसियामा फेलापरेका छन् । तीमध्ये १ प्रजाति गत वर्ष मात्रै पत्तो लागेको हो । तीमध्ये एक प्रजाति १२ हजार वर्षअघिसम्म एसियामै अस्तित्वमा थियो भन्ने जानकारी विज्ञान, मानव तथा समाजशास्त्रका विद्यार्थीका निम्ति बिलकुलै नयाँ हो । होमो सेपियन्सको भने ३ लाख १५ हजार वर्ष पुरानो जीवाष्म सन् २०१७ मा अफ्रिकी देश मोरोक्कोमा फेला परेको छ । यसले आधुनिक मानव प्रजातिको उद्विकास ३ लाख १५ हजार वर्षपहिले नै भएको प्रस्ट्याउँछ । वैज्ञानिकहरू पृथ्वीबाट होमो सेपियन्सबाहेक अन्य मानव प्रजाति लोप हुनुको कारण सोर्स कोभ-२ जस्तै कुनै अज्ञात भाइरस-संक्रमण हुन सक्ने अनुमान गर्छन् । यस आलेखमा १ लाख वर्षयता लोप भएका ४ प्रजातिमाथि चर्चा गरिन्छ ।

होमो नियन्डरथल


पृथ्बीमा ४० हजार वर्षअघि लोप भएको एक पूर्वमानव प्रजाति होमो नियन्डरथल हो । यो प्रजातिबारे सबैभन्दा पछिल्लो जानकारीसहित ९ अप्रिल २०२० को विश्वप्रसिद्ध नेचर’ जर्नलमा एक लेख छापिएको छ । बीएल हार्डी र अरूहरूले लेखेको लेख ‘डाइरेक्ट इभिडेन्स अफ नियन्डरथल फाईबर टेक्नोलोजी एन्ड कोग्निटिभ एन्ड बिहेविरल इम्लिकेसन्’ शीर्षकमा छापिएको छ । लेखमा होमो नियन्डरथलले प्रयोग गरेको ५० हजार वर्ष पुरानो धागोको ६ मिलिमिटर लामो र ०.५ मिलिमिटर चौडाको तीन सुते रेसा फ्रान्सस्थित अब्री डि.मारस भनिने ठाउँको एक गुफामा फेला परेको सचित्र बयान छ । धागोको तस्बिर स्क्यानिङ इलेक्ट्रोनिक माइक्रोस्कोपले खिचिएको छ ।

यो अहिलेसम्म भेटिएका सड्ने तर सुरक्षित रहेको सबैभन्दा प्राचीन वस्तु हो । यसबाट उसबेला नै मानवले धागोजन्य वस्तु तयार गर्न सक्थे भन्ने संकेत गर्छ । यसअघिसम्म उक्त प्रजातिले प्रयोग गरेका ओढार, चिहान, ढुंगाका हतियार तथा चित्रकला मात्र फेला परेका थिए । अहिलेको मानव अर्थात् होमो सेपियन्सले धागो प्रयोग गरेको यति पुरानो प्रमाण अझै फेला परेको छैन । यसले उसबेला होमो नियन्डरथलको दिमागी अवस्था होमो सेपियन्सको भन्दा तीक्ष्ण थियो भन्ने बताउँछ । तिनका ब्रेन-बक्स अर्थात् क्रेनियल क्याभिटीको आकार होमो सेपियन्सको भन्दा केही ठूलो भएकाले यो तर्कमा विश्वास गर्ने आधार छ । होमो नियन्डरथलको जीवाष्म पहिलोपटक प्राचीन सामग्री संग्रहकर्ताले सन् १८५६ मा जर्मनीको नियन्डरथल उपत्यकाको एक गुफा उत्खनन गर्दा फेला पारेका थिए । चिल्ला प्रस्थरलगायतका वस्तु संग्रहकर्ताका निम्ति त्यस्ता हाडको महत्त्व थिएन । तिनले फेला परेको प्राचीन मानवको खप्परलाई भालुको खप्पर भन्ठानी स्थानीय विज्ञान शिक्षक चार्ल्स लोयललाई उपलब्ध गराए । संयोगले चार्ल्स लोयल मानव शरीर विज्ञानमा रुचि राख्थे । तिनले त्यो भालुको खप्पर नभई कुनै प्राचीन मानव प्रजातिको खप्पर हुन सक्ने भन्ठानी सन् १८५७ मा आयरल्यान्डस्थित क्विन्स कलेजका भूगर्व तथा खनिज विभाग प्राध्यापक विलियम किङलाई उपलब्ध गराए ।

उसबेला पूर्वमानव प्रजातिबारे खासै खोज-अनुसन्धान भएको थिएन । चार्ल्स डार्बिनको ‘प्राकृतिक छनोटद्वारा जातिहरूको उत्पत्ति’ भन्ने सिद्धान्तले तहल्का मच्चाइरहेको थियो । त्यसैले प्राध्यापक विलियम किङले उक्त खप्परको गहन अध्ययन गरे । प्राध्यापक किङले सन् १८६३ मा सम्पन्न ‘ब्रिटिस एसोसिएसन फर द एडभान्समेन्ट अफ साइन्स’ को बैठकमा नियन्डरथल उपत्यकामा पाइएको त्यो पूर्वमानव प्रजातिको नामकरण होमो नियन्डरथल प्रस्ताव गरे । त्यो नै त्यसबेलासम्म पत्ता लागेको पहिलो पूर्वमानव प्रजाति थियो । यसबारे प्राध्यापक किंग लिखित ‘द रिपुटेड फसिल्स म्यान अफ द नियन्डरथल’ शीर्षक एक लेख सन् १८६४ मा प्रकाशित भएको थियो ।

होमो हाइडल्बर्गेन्सिस जीवाष्म अफ्रिकालगायत जर्मनी, फ्रान्स, ग्रीस र इटालीमा पाइएका छन् । यो प्रजाति ७ लाखदेखि २ लाख वर्षसम्म अस्तित्वमा थियो । यसैबाट होमो नियन्डरथल उद्विकास भएको मानिन्छ । जर्मनीसहित बेल्जियम, नेदरल्यान्ड, फ्रान्स, इटाली, टर्की, लेबनान, इजरायल, सिरिया, इराक, इरान, उब्जेकिस्तान, रसिया आदि देशमा ४ लाखदेखि ४० हजार वर्ष पुराना होमो नियन्डरथलको जीवाष्म फेला परेका छन् । यो प्रजातिको केही प्रतिशत वंशाणु (जिन) आधुनिक मानवमा पनि पाइएको छ । यसले यी २ प्रजातिबीच संसर्ग भई सन्तान पनि जन्मिन्थ्यो भन्ने दर्साउँछ ।

होमो डेनिसोवन्स


चीनको उत्तरपश्चिम साइबेरियास्थित डेनिसोवा भनिने गुफामा सन् २००८ मा मानवको केही जीवाष्म फेला परेका थिए । ती प्राचीन मानव चिह्नलाई पहिले होमो नियन्डरथलको जीवाष्म मानिएको थियो । डीएनए अध्ययनले त्यो जीवाष्म होमो नियन्डरथल नभई एक अर्कै नयाँ मानव प्रजातिको हो भन्ने पत्ता लाग्यो । यसका डीएनए होमो सेपियन्सभन्दा होमो नियन्डरथलसँग बढी मिल्दाजुल्दा छन् । सन् २०१० मा अनुसन्धानकर्ताले उक्त जीवाष्मसँग सम्बन्धित मानव प्रजातिलाई डेनिसोभा शब्द प्रयोग गरी होमो डेनिसोवान्स नामकरण गरे । वैज्ञानिकले गरेको डीएनए अध्ययनअनुसार, त्यो जीवाष्म मध्यमेरकी महिलाको हातको औँला र दाँतबाट ४१ हजार वर्षपहिले बनेका हुन् ।

चीनस्थित बैसिया गुफामा होमो डेनिसोवान्सको १ लाख ६० हजार वर्ष पुरानो जीवाष्म फेला परको विषयमा ‘नेचर’ जर्नलको मे २०१९ संस्करणमा एक लेख छापियो । होमो डेनिसोवान्सको रसियाबाहिर फेला परेको यो नै पहिलो जीवाष्म हो । वैज्ञानिक मतअनुसार होमो नियन्डरथल र होमो डेनिसोभान्स एकै पूर्वज होमो हाइडल्बर्गेन्सिसबाट उद्विकास हुन पुगेका हुन् । चाखलाग्दो तथ्यचाहिँ के फेला परेको छ भने पपुवा न्युगानियन, इन्डोनेसियन र अस्ट्रेलियन एबओरिजिनहरूका डीएनएमा होमो डेनिसोभान्सका वंशाणु ५ प्रतिशतसम्म पाइएका छन् । यसले होमो सेपियन्स र होमो डेनिसोवान्सबीच संसर्ग हुन्थ्यो र तिनबाट सन्तान पनि जन्मिन्थ्यो भन्ने बुझाउँछ । यसैगरी, होमो नियन्डरथलको डीएनएमा १७ प्रतिशत होमो डेनिसोवान्सको वंशाणु पाइएको छ । साइबेरिया, चीन र दक्षिण पूर्व एसियामा रहेका यो प्रजाति ३० हजारदेखि १४ हजार ५०० सय वर्षअघिसम्म अस्तित्वमा थिए ।

होमो फ्लोरेसियेन्सिस


अस्ट्रेलियन र इन्डोनिसियन जीवाष्म मानवशास्त्रीहरू २१ औं शताब्दीका सुरुका वर्षमा संयुक्त रूपमा होमो सेपियन्स कसरी एसियाबाट अस्ट्रेलियासम्म पुगे होलान् भन्ने विषयमा अनुसन्धान गर्दै थिए । उनीहरूले सन् २००३ मा इन्डोनेसियाको फ्लोरेस टापुको लियाङ बुआ भन्ने ठाउँको एक गुफामा होचो कद भएको ९ जना मानवको अस्थिपञ्जर फेला पारे । तीमध्ये एकको खप्पर सग्लो रूपमा भेटिएको थियो । उनीहरूले ती अस्थिपञ्जरका एनाटोमिकल र जेनेटिक अध्ययन गरे । अध्ययनले ती मानव अस्थिपञ्जर एक अर्को नयाँ मानव प्रजाति हो भन्ने पत्तो लाग्यो । यसको नामकरण फ्लोरेस टापुको नामबाट होमो फ्लोरेसियेन्सिस गरिएको छ । त्यो जानकारी २१ सेप्टेम्बर २००७ मा विश्व प्रसिद्ध ‘साइन्स’ जर्नलको अंक ३१७ मा छापिएको छ । केही अस्थिपञ्जर अझैसम्म जीवाष्म अर्थात् फसिल्स बनिसकेको छैन । तिनका आधारमा होमो फ्लोरेसियेन्सिसका नमुनाहरू १ लाखदेखि १२ हजार वर्षअघिसम्मका छन् ।

तथ्यांक विश्लेषण गर्ने बेसियन सिस्टमअनुसार, होमो फ्लोरेसियेन्सिसको पूर्वज अस्ट्रालोपिथेकस, होमो ह्याबिलिज वा होमो इरेक्टस हुन सक्ने बताइएको छ । तर, उपलब्ध दाँतको तुलनाको आधारमा होमो फ्लोरेसियेन्सिसको पूर्वज होमो इरेक्टस बढी हुन सक्ने अनुमान गरिएको छ । होमो फ्लोरेसियेन्सिसको उचाइ ३ फिट ७ इन्च मात्रै छ । यो प्रजाति किन यति होचो भयो भन्ने जिज्ञासाको उत्तर पाइएको छैन । केही मानवशास्त्री होमो फ्लोरेसियेन्सिस छुट्टै प्रजाति नभई ‘इन्डेमिक क्रेटिनिज्म’ को कारण उसको शरीर होचो हुन पुगेको होला भन्ठान्छन् । ‘इन्डेमिक क्रेटिनिज्म’ अर्थात् आयोडिनको कमीबाट होचा मानिस समाजमा अझै देखिन्छन् ।

होमो लुजुनेन्सिस


फिलिपिन्स विश्वविद्यालयका जीवाष्म मानवशास्त्री अर्मान्ड साल्भाडोर मिजारेजले सन् २००७ मा फिलिपिन्सको लुजान टापुको एक ओडारमा पुरिएको अवस्थामा मानवको खुट्टाको औंलाको हाड फेला पारेका थिए । त्यो हाड करिब ६७ हजार वर्ष पुरानो थियो । ‘जर्नल अफ ह्युमन इभोलुसन’ को जुलाई सन् २०१० को संस्करणमा होमो सेपियन्सको ६७ हजार वर्ष पुरानो जीवाष्म फिलिपिन्समा पाइएको विवरण लेखिएको मिजारेज र अरूहरूको लेख छापियो ।

फिलिपिन्सको लुजान टापुको ओडार, जहाँ मानवशास्त्री अर्मान्ड साल्भाडोर मिजारेजले होमो सेपियन्सको खुट्टाको हाड फेला पारेका थिए, त्यहाँ केही वर्षपछि अन्य १ दर्जन जति हाड तथा दाँत फेला परे । अनुसन्धानकर्ताहरूले अध्ययन गर्दै जाँदा ती हाड तथा दाँत होमो सेपियन्ससँग मिलेन । ती हाड र दाँत होमो फ्लोरेसियेन्सिसभन्दा पृथक् थिए । यसैले अन्य अनुसन्धानकर्ताहरू ती हाड र दाँत छुट्टै एक नयाँ प्रजातिको हो भन्ने निष्कर्षमा पुगे । उनीहरूले त्यसको नामकरण लुजान टापुको नामबाट होमो लुजुनेन्सिस भनी गरेका छन् । त्यो लेख नेचर जर्नलको एप्रिल १०, २०१९ संस्करणमा छापिएको छ ।

अफ्रिकी मुलुक केन्यामा सन् २००७ मा मानवजस्तो तर ४ खुट्टाले हिँड्ने एक स्तनधारीको १ करोड वर्ष पुरानो जीवाष्म फेला परेको थियो । नाक्लिपिथेकस नाकायामै नामकरण गरिएको उक्त स्तनधारीजस्तै कुनै एक अर्को प्रजातिबाट ७० लाख वर्षपहिले गोरिल्ला र ५० लाख वर्षपहिले चिम्पाञ्जी छुट्टिएको तिनका डीएनए अध्ययनले बताउँछ । नाक्लिपिथेकस समूहकै कुनै प्रजातिबाट करिब ४२ लाख वर्षपहिले ओस्ट्रलोपिथेकस समूहको पूवमानवको उद्विकास हुन पुग्यो । यसरी नै ओस्ट्रलोपिथेकस समूहको समूहबाट करिब २५ लाख वर्षपहिले होमो समुहको पूर्वमानवको उद्विकास भयो । अफ्रिकामा करिब १९ लाख वर्षपहिले उद्विकास भएका पूर्वमानव प्रजाति होमो इरेक्टस युरोप, एसिया र अस्ट्रेलियामा पुग्यो ।

मानव प्रजातिले पृथ्वीको जलवायु परिवर्तन हुँदा बाँच्नका लागि कठोर संघर्ष गर्नुपर्‍यो । चार्ल्स डार्बिनको सिद्धान्तअनुसार, परिवर्तित भूगोल र नयाँ वातावरणमा बाँच्नका निम्ति जीवले संघर्ष गर्दै जाँदा नयाँनयाँ गुणहरू विकास हुन्छन् । ती गुण तिनका सन्तान, दरसन्तान सर्दै जान्छन् । जीवमा नयाँ गुण थपिँदै जाँदा र गुणहरू तिनका सन्तानमा सर्दै जाँदा हजारौं-लाखौं वर्षपछि त्यस्ताका सन्तान तिनका पूर्वजभन्दा भिन्नै स्वरूपमा उद्विकास हुन पुग्छन् । यही प्रक्रियाबाट विभिन्न कालखण्डमा बितेको ५० लाख वर्षमा २० जति मानव प्रजाति उद्विकास हुन पुगे ।

४० हजार वर्षअघिसम्म होमो सेपियन्सबाहेक माथि उल्लिखित ४ प्रजातिका मानवको अस्तित्व थियो । वैज्ञानिकहरू उल्लिखित प्रजातिमध्ये विशेषत: होमो नियन्डरथल लोप हुनुको कारण पृथ्वीको जलवायु परिवर्तन, होमो सेपियन्ससँगको द्वन्द्व र कुनै अज्ञात भाइरसको संक्रमण हुन सक्ने अनुमान गर्छन् । सन् १९१८-१९२० मा फैलिएको इन्फ्लुएन्जा फ्लु अर्थात् एच.वान एन.वान भाइरसबाट त्यसबेला विश्वभर करिब ५ करोड जनाले ज्यान गुमाएका थिए । त्यो संख्या भनेको त्यसबेलाको विश्वको एक तिहाइ जनसंख्या हो । यस्तै कुनै भाइरस ४० हजार वर्षअघि होमो नियन्डरथलमा संक्रमण भएको थियो होला । भाइरस संक्रमणबाटै होमो नियन्डरथलसहित अन्य ३ पूर्वमानव प्रजाति लोप भएका हुन सक्छन् ।

प्रकाशित : जेष्ठ ३, २०७७ १२:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×