पूर्व प्रहरीको गैरजिम्मेवारी

डा. गणेश रेग्मी

२०६७ भदौ अन्तिम । पूर्वप्रहरी महानिरीक्षक खड्गजीत बरालज्यूसँग नसोचिएको कुरा भयो । 'ए ! तँ डिएसपी गणेश रेग्मी हो ?' अरू खुल्दै जानुभयो, 'कान्तिपुरमा ‘पुलिसको पिरलो’ भन्ने लेख छपाइछस् । त्यसको अन्तिम तीन हरफले साह्रै मन छोयो । अनि सचिवालयबाट नम्बर मागेर फोन गरेको । हिम्मत गरेर लेखिछस् । ठीक गरिस् । एउटाले लेखेपछि अरूले पनि लेख्छन् । अनि प्रहरीले गरेको दु:ख देखिन्छ । नत्र प्रहरीको दु:ख नै देखिँदैन ।'

पूर्व प्रहरीको गैरजिम्मेवारी

'अर्कोतिर हाम्रा केही प्रहरी पनि कस्ता ! मौका पाए प्रहरीकै विरोध गर्ने । विरोध गरेरै बोल्छन्, लेख्छन् । ‘चिप पपुरालिटी' को लागि प्रहरीकै बेइज्जत गर्छन् । प्रहरीले नै प्रहरीकै विरोधमा बोल्ने र लेख्ने गरे झन् ठूलो क्षति हुन्छ । त्यत्ति पनि बुझ्दैनन् । त्यस्तोलाई के भन्ने खै ।' कुरा छोटो तर तर्कनाहरू कहिल्यै हट्दैनन् । ‘प्रहरीका भिष्म पितामह’ भन्न सकिने अग्रजको विचारमा टेकेर यी पङ्ति कोर्दैछु । अग्रजका कतिपय लेखाई र बोलाइले संगठनलाई क्षति पुर्‍याएको देख्छु । पोल्छ । कसैलाई तोकेको छैन । प्रहरी दिवसको अवसरमा आत्मालोचना गर्नुपर्ने भएको छ ।

प्रहरी कार्य प्रकृति र नकारात्मकता

गत जनवरी ५, २०२० मा भारत दिल्लीस्थित ‘जवाहरलाल नेहरू युनिभरसिटी’मा नकावधारी प्रवेश गरी अन्धाधुन्द आक्रमण गरे । प्रहरी समयमै भित्र नगएको र सुरक्षा नगरेको गम्भीर आरोप । यसैमा भारतका पूर्वडिजी प्रकाश सिंह (यूपी कार्यक्षेत्र, हाल दिल्ली) भन्छन्, प्रहरी ढिलो गयो भनेर विवाद गरियो । छिट्टो भएको भए पनि विवादित हुन्थ्यो । प्रहरी छिर्ने समयको सम्बन्धमा प्रहरीलाई होइन, युनिभरसिटी प्रशासनलाई जिम्मेवार बनाउनु पर्छ ।

प्रहरीका कतिपय काममा ‘गरे किन गर्‍यो, नगरे किन गरेन’ हुन्छ । प्रतिपक्षी दल प्रहरीको स्थायी प्रतिद्वन्द्वी बन्छ । विभाजित राजनीतिक र भौगोलिक मनस्थितिले प्रहरीलाई पहिलो दुस्मन देख्छ । राज्य उपरको प्रहार रोक्दा असम्बन्धित कुरामा पनि प्रहरी विवादित हुन पुग्छ । अपराधिक मनोवृत्तिले प्रहरीलाई सधैँ अर्घेलो देख्छ । राज्यका अन्य अंग माथिको आक्रोश पनि प्रहरीले थेग्नुपर्ने हुन्छ । ‘सोसल इभिल’ ले अपराधीकरण बढाउँछन् । साधन श्रोत सधैँ कम हुन्छ । अन्तत: प्रहरी कमजोर तर अपजस प्रहरीले मात्र ।

सामान्यत: प्रहरीउपर प्रहार हुँदा प्रहरीको रक्षा गर्ने व्यक्ति वा संस्था पाउन गाह्रो । कतिपयले यसै बेला प्रहरीलाई विवादित बनाएर ‘चिप पपुलारिटी’ लिने गर्दछन् । यस अवस्थामा पूर्व प्रहरीको भूमिका प्रभावकारी हुनुपर्ने हो तर कतिपय उल्टो बदख्वाई गर्दै हिँडेका छन् ।

अत्युक्तिपूर्ण व्यवहार

२०७५ भदौमा ‘५२ वर्ष सजाय तोकिएको त्यो अपराधी’ शीर्षकको मेरो लेख छापियो । रौतहटको एक लठेव्रो ‘सिरियल किलर’ बारेमा । लेखमा अनुसन्धानमा जोसुकैलाई पनि शंका गर्न सकिन्छ भन्ने छनक थियो । एक पूर्व डिआईजीले फोन गरेर तत्कालीन नेतृत्वलाई सहयोग पुग्ने गरी किन लेखेको भनेर एक्कासी आक्रोश पोख्नु भयो । भन्नु भो, कञ्चनपुर घटनामा ठूलो मानिसको संलग्नता छ । बचाउन खोजिएको छ, आईजी मतियार हो आदि ।

लागूऔषध क्षेत्रमा जाज्वल्य एक पूर्व एसएसपीले लेखमा पूर्व आईजीको किताबको चर्चा गर्नुभयो । एक पूर्व डिआईजीलाई राम्रो र व्यावसायिक अधिकृत लेखिएकोमा विरोध गर्नु भयो । किताबमा राजनीतिक दललाई पैसा दिएको भन्ने पनि उल्लेख छ । त्यसलाई हिम्मत गरेको र प्रहरीको अप्ठयारो देखाएको भन्नुपर्नेमा उल्टो गर्नु भो । गलत र सजाययोग्य भनेर।

एकजना पूर्व डिआईजीले टेलिभिजनमा एक पूर्व आईजीलाई जन्मजात लम्पसारवादी, पैसा उठाएर नेतृत्वमा पुगेको र त्यही पैसा पचाउन अपराधमा संलग्न भएको खुल्ला आरोप लगाउनु भयो । आफूलाई पूर्वप्रहरी भन्न लाज लागेको, अर्को आईजी पनि नालायक, निकम्मा, नतमस्तक, चिठ्ठा परेर बनेको, मूर्ति भन्ने आरोप लगाउनुभयो ।

एक पूर्व एआईजीले अर्बौंको हतियार खरिदको नाममा हुन लागेको भ्रष्टाचार आफूले रोकेको लेख्नुभयो । प्रहरी नेतृत्व भ्रष्टाचारमा चुर्लुम्म डुबेको कुरा सगर्व उठाउनु भयो । गायिका आस्था राउतले फेसबुक लाइभमार्फत प्रहरीको मानमर्दन गरेको विषयमा आस्था र महिला प्रहरी जवान दुबैको गल्ती बताउनु भयो । आस्था राउतलाई मुद्दा चलाउन नहुने, छलफलमा टुंग्याउनुपर्ने कुरा गर्नुभयो ।

माथिका केही प्रतिनिधिमूलक उदाहरण हुन्, एसएसपीदेखि एआईजीसम्मका मात्र । अन्य दर्जाको उल्लेख छैन । पूर्व प्रहरीबाट यस्ता कुरा किन हुन्छन् ?

कारण र तुलनात्मक विश्लेषण

प्रहरीमा साथीलाई नै भड्खालोमा हालेको देखिन्छ। जति माथि उति दुस्मनी । सेवानिवृत्त भइसकेपछि पनि तुस कायमै । शायद, यसको जरो प्रहरीको कार्य प्रकृति । कसैलाई साथी बनायो, उसको मन जित्यो, त्यसैबाट गोप्य कुरा खोतल्यो, त्यसैलाई प्रमाण बनायो, पक्राउ गर्‍यो, जेल पठायो अनि जेल पठाउन सकेकोमा सन्तुष्टि लियो । मानौं प्रहरीको जन्मजात गुण- मौका मिल्यो फसाउने ।

तुलनात्मकरुपमा सैनिकमा यस्तो हुँदैन । सामूहिक जिम्मेवारी र काम । उपलब्धिमा खुसी अनि क्षतिमा पीडा सँगसँगै। दुस्मनलाई आक्रमण गर्ने र साथीलाई बचाउने । यसैले गर्दा सेनामा एकमत छ । अनुशासन, संगठन बलियो । सेनाउपर आक्रमण हुँदा सेना एकजुट हुन्छ । प्रहरी भने तितरबितर र अर्कोलाई बली चढाउन पछि नपर्ने ।

हिजो पदोन्नती, सरुवा, विदेश अवसर, पदक नदिएको जस्ता कुरामा नेतृत्वसँग आक्रोश । अन्याय परेँ भनेर भित्रै आगो दन्केको हुन्छ । हाकिमका निकटका सहकर्मीसँग पनि मतभेद हुन्छ। चौतर्फी भूमिकाको प्रहरी जीवनमा कुनै समय सहकर्मी बीच टकराव हुनु स्वाभाविकै हो । तर सेवानिवृत्त भइसकेपछि पनि रहनु दुर्भाग्य ।

कतिपय अर्धेला प्रहरीहरू निवृत्त भएको वर्षौसम्म पुरानै इबी साध्ने ताकमा देखिन्छन् । मौका पाए एक अर्कामा आक्रमण गर्छन् । आङ कन्याएर छारो उडाउने जस्तो । दाजुभाइ बीचको झगडामा नाङ्गिदा परिवारकै इज्जत उदाङ्गो भएको अनुमान गर्न नसक्ने कस्तो अल्प ज्ञान !

संगठनका ठूला दुर्घटना

संगठनको एउटा ठूला दुर्घटनामा सुडान काण्ड हो । करिब दुई दर्जन वहालवाला प्रहरीमाथि मुद्दा । पूर्व र बहालवाला गरी तीन जना आईजीपी जेल । कल्याण कोषको करिब ३० करोड सम्पत्ति स्वाहा । प्रहरीलाई भ्रष्टाचारको पर्याय बनाउने कुख्यात घटना । प्रहरीको कानुन शाखाको अनुभवले फाइल हेरेको छु । त्यो घटनामा चार किसिमका कमजोरी देख्छु । पहिलो, यो नेपाल प्रहरीको लागि पूर्व अनुभव बिनाको खरिद प्रक्रिया थियो त्यसैले आवश्यक तयारी र प्रक्रिया अवलम्बन हुन सकेन । दोस्रो, आर्थिक लालच । तेस्रो, दुई दलको राजनीतिक स्वार्थको टकराव । चौथो, संगठनकै केही कर्मचारीले खनेको खाल्टोमा फसिएको अवस्था वा आफ्नै जालमा परेको स्थिति ।

छोटकरीमा भन्न सकिन्छ, यस प्रकारको घटना सेना वा सशस्त्रमा भएको भए त्यसको भित्रै उपचार खोजिन्थ्यो । समाधान हुन्थ्यो । सुडान पोर्टमा करिब एक वर्ष त्यत्तिकै छोडिएका एपीसी पछिल्लो चरणमा ठेकेदार आफै मर्मत गर्न तयार थिए । तत्काल मर्मत गर्न दिएको भए एपीसी चल्थे । ‘रिइम्बर्समेन्ट’ आउँथ्यो। मुद्दा पर्ने थिएन । कल्याण कोषको संवर्द्धन हुन्थ्यो । यो गाडीसकेको मुर्दालाई उठाउनु छैन तर केही पूर्व प्रहरीका छुद्र बोली, लाञ्छना र आपसको गाँड कोराकोरले अर्को दुर्घटना नहोला भन्न सकिन्न ।

सुन्नमा आउँछ, कतिपय पूर्वप्रहरी साथीलाई फसाउन अख्तियारलाई गुहार्ने गर्छन् । पत्रिकामा लेख्छन्, लेखाउँछन् । सामाजिक सञ्जाल रंगाउँछन् । यसैगरी, संगठनमा कतिपय दुर्घटना पूर्व प्रहरीले आवश्यक प्रतिरक्षा नगरेर पनि भएका छन् ।

धरातलीय यथार्थ

देश गरिब छ । राजनीतिप्रति वितृष्णा । नेतृत्वप्रति दिक्दारी । अत्याधिक ‘नेगेटिभिटी’। मुलुकका अधिकांश निकायप्रति आक्रोश । कुनै न कुनै कोणबाट ती सबै आक्रोशको सिकार प्रहरी बन्नुपर्छ । राम्रो कामका बाबजुद पनि प्रहरी विवादित हुन्छ । जब पूर्वले प्रहरीकै बदख्वाई गर्दछन् त्यसरी बोल्ने वा लेख्ने प्रहरी कर्मचारी ‘हिरो’ बन्छन् तर संगठनलाई भने ठूलो क्षति ।

केवल १० प्रतिशत प्रहरीले मात्र काम गर्छन् । प्रहरीले भ्रष्टाचार गरेर नै देशका टोले गुण्डा, लुटेरा र मिटरव्याजी अर्बपति बनायो । प्रहरीका सबै हाकिम क्यासिनोबाट पैसा लिन्छन् । जनता लुटिए । यस्ता कुरा पूर्व प्रहरीले नै दाबी गरेपछि प्रहरी आफैंमा भ्रष्टाचारी र कामचोर प्रमाणित हुन्छ । के प्रहरी आफैं चोर, डाँका, भ्रष्टाचारी, लम्पसारवादी र अपराधीको जन्मदाता हो ?

अग्रजलाई कसरी बुझाउँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग २०७६ को प्रतिवेदनअनुसार राज्यका कानुन कार्यान्वयन निकायहरूमध्ये नेपाल प्रहरीमा सबैभन्दा कम भ्रष्टाचार देखिएको थियो । सवारी दुर्घटना हुनुमा ट्राफिकको करिब ५ प्रतिशतमात्र भूमिका हुन्छ, अरु यातायात व्यवस्था कार्यालय, व्यवसायी, मजदुर, सडक विभाग, सवारी जाँच आदिको हो । त्यस्तै क्यासिनो व्यवस्थापनमा पनि प्रहरीको भन्दा धेरै बढी भूमिका उद्योग, वाणिज्य, पर्यटन मन्त्रालय र स्थानीय प्रशासनको हुन्छ । पर्यटन मन्त्रालयमा अनुगमन समिति हुन्छ । अनियमितता फेला पारे लाइसेन्स खारेज गर्छ ।

सर्वस्वसहित जन्मकैद तोकिएको माओवादी सभासद् बालकृष्ण ढुंगेल २०६६ सालदेखि काठमाडौं कपनमा बस्ने र संसद् आउने जाने गर्थे । ढुङ्गेललाई अन्तत: २०७४ कार्तिक २४ गते तत्कालीन आईजीको ठाडो आदेशमा सीबीआईको टोलीले पक्राउ गर्‍यो । काठमाडौं प्रहरी प्रमुख हुँदा आफूले समात्न नसकेको ढुङ्गेललाई पक्राउ गरेका संगठन प्रमुखलाई निकम्मा, मूर्ति भनेको सुन्दा अलिक हजम हुँदैन । एउटामा एक किसिमको क्षमता हुन्छ, अर्कोमा अर्कै किसिमको ।

केही पूर्वडिआईजी र एआईजीहरू (अन्यको चर्चा नगरेको) ले प्रहरी नेतृत्व भ्रष्टाचारमा डुब्न लागेको बेलामा रोकेको सगौरव दाबी गर्नुहुन्छ । मेरो सादर प्रश्‍न छ । उहासँग अहिले प्रहरीका ड्राइभर र कार्यालय सहयोगी छन् कि छैनन् ? कानुनको कुरा गर्ने हो भने पूर्व महानिरीक्षकलाई दुई पिएसओ राख्ने अधिकार छ । अरूलाई छैन । भ्रष्टाचारविरुद्ध मसिहा दाबी गर्ने पूर्व प्रहरीले के आधारले भान्छे र ड्राइभर राखेको ? अरुको आङको जुम्रा देख्नेले आफ्नोमा हेर्ने कि नहेर्ने ? अहिले छिपछिपे पानीमै आहल बसिरहेको व्यक्ति हिजो स्वीमिङ पुल फेला पार्दा पौडिनु भएन भन्ने कसरी अनुमान गरौं ? आन्तरिक व्यवस्थापन मिलाई सरकारी गुलियो चुसिरहनु तर ठूला कुरा गर्नु ‘डबल स्ट्याण्डर’ भएन ? बिहान उठ्दा चिया खुवाउने, दिउँसो सैर गराउनेदेखि बेलुका भात भान्सासम्मका सुविधा लिएर पानीमाथि ओबानो ?

प्रहरीमा समस्या अवश्य छ । कर्मचारीको भन्दा प्रणालीको हो । संगठनले सिफारिस गरेभन्दा धेरै विभूषण बाँडियो भन्ने हल्ला छ । सरुवा, बढुवा अन्यत्र छलफल हुने चर्चा छ । भिआईपीका पिएसओलाई बढी सुविधाको कुरा उठ्छ । प्रहरी एकेडेमी सन्दर्भ । लाठीधारी जमातले प्रहरीकै लाईसेन्स, ब्लुबुक मागेको, प्रहरी निरीह । प्रहरीका ड्राइभर र भान्छे बाहिर र ‘पावर सेन्टर’मा छन् कि छैनन् ? प्रणाली बनाउने व्यक्तिले हो तर प्रहरीको प्रणाली प्रहरी आफैंले मात्र बनाउने हैसियत छैन ।

तपाईंहरू अभियन्ता बन्नुस् । भ्रष्टाचारविरोधी बन्नुस् । त्यसमा मातृसंस्थालाई गौरव छ । तर प्रहरी मनोबल उँचो हुने काम गर्नुस् । भन्नु सक्नुस्, ठूलो संख्याका प्रहरीका केही अवश्य खराब छन् । अधिकांश होइनन् । आस्था राउतले कफी लिएर एयरपोर्ट सेक्युरिटीमा जान हुँदैन । अनि फेसबुक लाइभबाट प्रहरीको मानमर्दन गर्नु अपराध हो । बच्चासहितकी महिलालाई दुर्व्यवहार गर्नु गतल हो तर बच्चा बोकेर आन्दोलन गर्न मिल्दैन । कोरोनामा हिँड्डुल रोक्दा प्रहरीबाट दुर्व्यवहार भए पनि व्यक्तिगत स्वार्थ होइन । यस्तालाई फिलिपिन्समा गोली हान्ने आदेश थियो । यथार्थ बोल्नुस् । आखिर अब जाने के ? तर प्रहरीकै मानमर्दन नगर्नुस् । आफूमात्र राम्रो, अरु सब खराब नभन्नुस् । अन्यथा कर्तव्यपालनाको क्रममा दिवंगत हुने करिब सत्र सय ‘अमर प्रहरी’ को अवमूल्यन होला । जोसँग तपाईंको तुलनै हुँदैन ।

उपसंहार

हेडक्वार्टरमा भएको एउटा कुरा । ‘इम्मेडियट कमाण्डर’ डिआईजीले आफूलाई एसएसपी हुँदा सरुवा नगरेर सडाएको गुनासो गरे । त्यही आईजीपी पूर्व भइसकेपछि भेट हुँदा अनादर गरेको बताए । मरेको बाघको जुँगा उखेलेर बहादुर भइँदैन । सेवामा हुँदा डराउने र गुनासो नगर्ने । सेवानिवृत्त भैसकेकपछि सामान्य मर्यादा नाघ्ने ? दिन खोजेको सन्देश हो, वहालवाला कर्मचारीले पनि पूर्वलाई विगतको पूर्वाग्रहको कारण अहिले अनादर गर्नु विभागीय कसूर हो ।

अर्कोतर्फ, बोल्ने, लेख्ने संवैधानिक हक छ, तर प्रहरी संगठन र कर्मचारीको विरोध गर्नु अन्तत: राष्ट्र विरुद्धको अपराध हुन पुग्छ । फौजदारी अपराध संहिता २०७४ को दफा ५५ अनुसार प्रहरीलाई दुरुत्साहन दिन र कर्तव्यवाट बिचलित गराउन हुँदैन । दफा २९४ अनुसार व्यावसायिक कामको सिलसिलामा थाह पाएको गोप्य कुरा प्रकट गर्नु हुँदैन । यी दुवैमा कैद सजायसम्म छ ।

आदरणीय पूर्वप्रहरी तपाईं अहिले यो अवस्थामा पुगेको संगठनले गर्दा हो । प्रहरीमा आउँदा कस्तो अवस्थामा हुनुहुन्थ्यो, जाँदा कस्तो हुनुहुन्छ विचार गरौं । अब पनि पहिचान प्रहरी नै हो । सांसद र मन्त्री पनि भएका डीबी लामाको पहिलो पहिचान पूर्वआईजी नै हो । निकट भविष्यमा आफैं पूर्व प्रहरी हुँने पंतिकारलाई पनि यहि लागू हुने हो ।

अन्तमा, प्रहरीले नगरेको वा गर्न नसकेको केवल प्रहरीको कमजोरीले होइन । ‘जेएनयु’ मा प्रहरीको नभएर युनिभरसिटी प्रशासनको समस्या थियो भन्ने जस्तो प्रस्ट बोल्ने पूर्वप्रहरी नेपालमा पनि चाहिएको छ । स्मरणीय छ, प्रहरीका पूर्वमहानिरीक्षक खड्गजीत बरालले प्रहरीलाई मानमर्दन नगरे पनि सबैको मनमा राज गरेकै छन् । अनि उनैको भनाइ सापटी लिँदै पुन: दोहोर्‍याए, 'प्रहरी पनि कस्ता ! मौका पाए आफैंले आफ्नो विरोध गर्ने । विरोध गरेरै बोल्छन् । विरोध गरेरै लेख्छन् । ‘चिप पपुरालिटी' को लागि प्रहरीकै बेइज्जत गर्छन् । प्रहरीले नै प्रहरीकै विरोधमा बोल्ने, लेख्ने गरे त्यसबाट झन् ठूलो क्षति हुन्छ ।' सबैमा प्रहरी दिवसको शुभकामना ।

(‘प्रहरी र कानुनको शासन’ विषयका विद्यावारिधी लेखक प्रहरी वरिष्ठ उपरीक्षक हुन्)

प्रकाशित : आश्विन ३०, २०७७ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?