कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

श्रीमान् नेता हुँदाको बह

मञ्चमा उफ्रीउफ्री ‘म महिलावादी हुँ, महिलाको उत्थान हुनै पर्छ र महिलाले समान अवसर पाउनै पर्छ ’ भन्ने नेतागणकै घरका महिलाले विभिन्न हिंसा तथा अन्याय सहनुपरिरहेको छ ।
सुषमा तिवारी

नेताकी श्रीमती कर्मठ, व्यावहारिक, कार्यकर्ताको मन जित्ने, सोझी, सहनशील र शालीन हुनुपर्छ भन्ने हामीले सुन्दै आएका छौँ । सफल नेता बनाउन श्रीमतीको ठूलो योगदान हुन्छ । आफ्नो इच्छा दबाएर भए पनि श्रीमान्लाई हरेक किसिमले मद्दत गर्नुपर्छ ।

श्रीमान् नेता हुँदाको बह

साथै पुरुषले नेता बन्ने प्रक्रियामा परिवारका अन्य सदस्यको पनि त्यत्तिकै सहयोग पाउँछन् । तर जब महिलाको विकासको कुरा आउँछ, त्यति बेला पारिवारिक, सामाजिक र आर्थिक बाधा–अडचनको सामना गर्नुपर्छ । त्यसमा पनि मधेसका महिलाहरूलाई अरू समुदायका महिलाका तुलनामा कैयौँ गुणा बढी यस्ता बाधा–अडचन हुन्छन् । श्रीमान् सहयोगी पाइहाले पनि श्रीमान्को परिवारले महिला राजनीतिमै लाग्ने चाहनाको प्रायः कदर गर्दैनन् ।

नेतृत्व गर्न सक्ने क्षमता भएका नेताका श्रीमतीले आफूलाई लागेको कुरा बोले उत्ताउली भएको आरोप लगाएर अघि बढ्न दिइँदैन । अर्कातर्फ, नेता श्रीमान्ले श्रीमतीलाई प्रायः कठपुतलीका रूपमा राजनीतिमा ल्याउँछन् । श्रीमान्ले भनेको नमाने अगाडि बढ्न धेरै गाह्रो हुने कुरा कतिपय महिला नेत्रीले स्विकार्छन् ।

कुनै महिलाको विवाह राजनीति गर्ने व्यक्तिसँग भएको छ भने विवाहअघि उनले आफ्नो पेसा–व्यवसायका लागि गरेको संघर्ष र अनुभवबाट सिकेका विषयलाई राजनीतिमा लगाउँछु भन्दा पचाइँदैन । समाजमा हुने टीकाटिप्पणीले ती महिलालाई यति कमजोर बनाउँछन्, उनी घरमै चुप लगेर बस्न बाध्य हुन्छिन् । जब उनले कतै जागिर पाउँछिन्, त्यति बेला श्रीमान्का कारण जागिर पाएको मानिन्छ । कुनै विषयमा पढ्न खोज्दा श्रीमान् नेता भएका कारण उनको छनोट भएको र कतै कार्यक्रममा जाँदा नेताकी श्रीमती भएकैले मान पाएको भनिन्छ । यस्ता भनाइले ती महिलाको हौसलालाई कति टुटाउँछ होला ? कतिचोटि तिनको आत्मविश्वास गुम्छ होला ? आफ्ना खुट्टामा उभिने इच्छालाई सदासदाका लागि मनभित्र कैद गर्दाको विवशतालाई कसैले बुझ्न सक्दैन ।

नेताकी श्रीमतीभन्दा पहिले महिलाका रूपमा उनको क्षमता र गुणलाई ग्रहण गर्ने संस्कृतिको विकास हुनु जरुरी छ । के नेताका श्रीमती नेता हुन् सक्दिनन् ? के हरेक ठाउँमा उनको श्रीमान्लाई नै जोडेर हेर्न आवश्यक छ ? नेता बन्ने सबै क्षमता हुँदाहुँदै नेतासँग विवाह भएकै कारण महिलाले राजनीतिमा आउन पाएका छैनन् । सधैँ श्रीमान्कै छायामा बस्नुपर्ने अवस्था र समाजले हेर्ने नजर बदलिनुपर्छ । मंगलादेवी सिंहले प्रजातन्त्रको बहालीसँगै राज्यको हरेक निकायमा महिलाको अर्थपूर्ण सहभागिताको माग उठाउनुभएको थियो । लामो संघर्ष गरे पनि उहाँ गणेशमान सिंहको छायामै रहनुभयो । हाम्रो समाजले उहाँलाई कहिल्यै नेत्रीका रूपमा स्विकारेन । नेताको भाइ, दाइ वा छोरा राजनीतिमा आउँदा समाजलाई अप्ठ्यारो हुन्न तर श्रीमती आउनेबित्तिकै समस्या पर्छ । पितृसत्तात्मक सोचका कारण यस्तो भएको हो ।

हाम्रोमा अझै पनि महिलालाई चिनाउँदा कसैकी छोरी, श्रीमती, बुहारी वा आमा भन्नुपर्छ । पुरुषप्रधान नेपाली समाजले महिलाको परिचय खोसिदिएको छ । आफ्नै कर्मले पहिचान बनाउन खोज्दा धेरै समस्या बेहोर्नुपरिरहेछ । नेताकी श्रीमतीको पनि हरेक क्षेत्र वा निकायलाई नेतृत्व गर्ने साहस र क्षमता हुन सक्छ र त्यसलाई समाजले स्विकार्न गाह्रो मान्नु हुन्न । परापूर्वकालदेखि नै नेपाली समाज पुरुषप्रधान भएकाले हरेक पुरुषमा पितृसत्तात्मक सोच र व्यवहार हाबी छ । कुनै समुदाय वा परिवारमा यस्तो सोच कम होला, कुनैमा बेसी । संविधानमा महिला सशक्तीकरणका विषयहरू आए, महिला तथा पुरुष नेताहरूले महिला अधिकारका चर्का भाषण गरे, सामाजिक अभियन्ताहरूले लैंगिक समानताका नारा लगाए तर व्यवहारमा महिला र पुरुषबीच भेदभाव र असमानता अझै कायम छ ।

दुःख तब लग्छ जब पुरुष नेतागण मञ्चमा उफ्रीउफ्री ‘म महिलावादी हुँ, महिलाको उत्थान हुनैपर्छ र महिलाले समान अवसर पाउनैपर्छ’ भन्छन्् तर उनीहरूका श्रीमती, छोरी र परिवारका अन्य महिलाले विभिन्न हिंसा तथा अन्याय सहनुपरिरहेको छ । पुरुष नेता मात्र होइन, महिला नेत्री तथा समाजका अगुवाहरू पनि महिलाको विकासमा अवरोधकका रूपमा देखा परेका छन् । यसले झनै हाम्रो मन दुखाएको छ । अगाडि पुगेका महिलाहरूले पितृसत्तात्मक सोचका कारण अरू महिलाले भोगेका दुःख, पीडा, हिंसा, अन्याय, शोषण देखेर पनि विरोध नगरिदिँदा यस्ता दुर्व्यवहार सहन आममहिला बाध्य भएका छन् । २१ औँ शताब्दीमा पनि हरेक ठाउँमा लैंगिक विभेद महसुस गर्न सकिन्छ । आफूलाई सभ्य, सुसंस्कृत भएको घोषणा गर्ने परिवारमा समेत महिलाको जीवनलाई नियन्त्रण गरिन्छ । नेपाली परिवेशमा महिला आर्थिक तथा सामाजिक रूपमा पिछडिएका छन् । उनीहरूले चाहेर पनि घरबाहिर निस्किने आँट गर्दैनन् । खास गरी मधेसमा यस्तो अवस्था बढी छ । महिला नेतृत्वलाई न घरमा पचाइन्छ न बाहिर । जतिसुकै महिला सशक्तीकरणका विचार आए पनि पुरुषहरूले आफ्नो घरका महिलाका लागि पनि उक्त विचार लागू हुनुपर्छ भनेर सोच्दैनन् ।

धेरै महिला राजनीतिमा आउन चाहन्छन् तर समाजको डर र आत्मविश्वासको कमीले मुखमा पट्टी बाँधेर चारदिवारीभित्र बस्न बाध्य छन् । हाम्रो समाजमा शक्ति सन्तुलनको डोरी पुरुषको पकडमा हुन्छ । पिता, दाजुभाइ, श्रीमान्, ससुरा, देवर वा छोराका नाममा महिलाको अभिभावकत्वको जिम्मेवारी लिने प्रवृत्ति छ । महिलाहरू आफ्नो इच्छा र क्षमताबाट राजनीतिमा आउनुपर्छ । नातावाद र कृपावादबाट आउने महिलाहरूले कुनै पनि हालतमा आफूले पाएको पद वा स्थानको सदुपयोग गर्न सक्दैनन् । त्यस्ता महिलाहरू कठपुतली हुन्छन् ।

समग्र महिलाको हितमा तिनले कम गर्न सक्दैनन् । महिलाहरू कठपुतली भएका थुप्रै उदाहरण चुनावताका देख्न पाइन्छ । श्रीमानले टिकट नपाउने अवस्था भए उनकी श्रीमतीलाई राजनीतिमा कुनै इच्छा वा भनौँ क्षमता नभए पनि टिकट दिइन्छ । राजनीतिमा लामो समयदेखि संघर्ष गर्दै आएका महिला नेतृहरूलाई पाखा लगाउने प्रवृत्तिले गर्दा नेताका श्रीमतीलाई राजनीतिमा स्विकार्न गाह्रो भएको हो । गएको स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनावबाट केही यस्ता महिला आए जसलाई न सही गर्न आउँछ न त कुनै समस्या राख्न नै । प्रदेश–२ का केही महिला वडाध्यक्षले श्रीमान्लाई बैठकमा लैजाने र सबै काम श्रीमान्लाई सोधेर मात्र गर्ने गर्छन् । उनीहरू भने घरकै काममा व्यस्त हुन्छन् । श्रीमान् वा घरको अन्य पुरुष सदस्य वडा कार्यलयमा भेटिन्छन् ।

अन्यत्र पनि स्थिति खासै फरक छैन । यस्ता उदाहरणले गर्दा नेताकी श्रीमतीलाई राजनीतिमा पचाउन गाह्रो हुनु स्वाभाविक हो । नेतृत्व गर्ने क्षमता नभए पनि नेताहरूले आफ्ना श्रीमतीलाई स्थान दिने गरेका कारण राजनीतिमा परिवारवाद हाबी भइरहेछ । प्रायः यस्तै हुने गरेकाले सबै नेताका श्रीमतीलाई एउटै ठाउँ वा परिवेशमा राखेर समाजले औँला तेर्स्याउने गर्छ । राजनीतिमा आफ्नो जीवन दिने महिलाहरूले जब परिवारवाद र कृपावादका कारण अवसर पाउँदैनन् तब किन यस्तो भयो भनेर प्रश्न उठ्नु स्वाभाविक हो ।

राजनीतिमा महिलाहरूले प्रवेश गर्दा उनीहरू प्रतिनिधित्व गर्न आएका हुन् कि नेतृत्व भन्ने प्रश्नको जवाफ खोज्ने प्रयास हामीले गर्नुपर्छ । महिलाहरू नगण्य मात्रामा राजनीतिमा छन् । इच्छा, नेतृत्व क्षमता, आफ्नो कुरा बिनाहिचकिचाहट राख्न सक्ने साहस र पढाइलेखाइ भएका महिलाहरू राजनीतिमा आउन खोजे कसैकी पत्नी वा छोरी हो भन्ने मात्र ठान्नु हुन्न । उनीहरूसँग भएको क्षमताका आधारमा पहिचान र सम्मानका साथ राजनीतिमा स्वागत गर्न जरुरी छ । हैन भने महिलाहरूले कहिले पनि पितृसत्तात्मक सोच र व्यवहारबाट बाहिर आएर लैंगिक सशक्तीकरणमा आफ्नो भूमिका इमानदारीका साथ निभाउन सक्दैनन् । नेताकी श्रीमती हुनुअघि महिला मातापिताको सपनालाई नेतृत्व दिने छोरी हो । विभिन्न समस्याका बावजुद आफूलाई शिक्षित बनाउन मिहिनेत गर्ने विद्यार्थी हो । महिलाहरूले पनि आफू र आफ्नो परिवारलाई उभ्याउन जीवन खर्चेका हुन्छन् । जिम्मेवार नागरिकका रूपमा देशका लागि केही गर्न चाहन्छन् उनीहरू पनि । नेताकी श्रीमतीलाई पनि सामान्य छोरी, नारी वा मानव भनेर बुझिदिने हो भने, उसले आफ्नो काम गर्ने क्षेत्र आफ्नो इच्छा र क्षमताअनुसार आफैँ रोज्ने स्वतन्त्रता पाउँछे । नेताका रूपमा भन्दा पनि पतिका रूपमा श्रीमान्को भूमिका महिलाका लागि महत्त्वपूर्ण हुन्छ ।

महिला सशक्तीकरणको पक्षमा बोल्नेहरूले लैंगिक विभेद र यस्ता मनोविज्ञानलाई हटाएर समतामूलक समाज बनाउन मन, वचन र कर्मले लाग्नुपर्छ । सबै एकढिक्का भएर आवाज उठाए महिलाहरूले खुलेर हरेक क्षेत्रमा आफ्नो पहिचान बनाउन सहज हुन्छ ।जसरी एउटा बालकलाई सक्षम पुरुष बनाउन परिवार र समाजको प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग चाहिन्छ, त्यसै गरी एउटी बालिकालाई पनि सक्षम महिला बनाउन सबैको साथ जरुरी छ ।

प्रकाशित : आश्विन ३०, २०७७ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?