निःशुल्क सेतो छडी- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निःशुल्क सेतो छडी

लक्ष्मणप्रसाद ज्ञवाली

हातमा सेतो छडी लिएर हिँडेको मानिस कतै देखियो भने आँखा नदेख्ने व्यक्ति रहेछ भनेर सहजै अनुमान लगाउन सकिन्छ । दृष्टिविहीनबाहेक अरूले यसको प्रयोग गर्दैनन् । फरक किसिमको लट्ठी लिएको मानिसलाई अरूले ध्यान दिन्छन् र उसको विशेष ख्याल पनि गर्छन् भनेर सेतो रङको प्रयोग भएको हो ।

सवारीचालकहरूलाई दृष्टिविहीनहरू हिँडिरहेका छन् भनेर सतर्क र सचेत बनाउनु सेतो छडीको मुख्य काम हो । सवारीचालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण गर्न सेतो छडीबारे जानेको हुनुपर्छ । सवारी साधनको चापका कारण सडक दृष्टिविहीनहरूका लागि सुरक्षित छैन । उनीहरू सामान्य रूपमा उभिए कसैले पनि चिन्न सक्दैन । दृष्टिविहीनको परिचय सहजै दिने उद्देश्यसहित सेतो छडीको आविष्कार एक सय वर्षअघि बेलायतमा भयो । अक्टोबर १५ का दिन विश्वभरि सेतो छडी दिवस मनाइन्छ । यसको प्रयोगले दृष्टिविहीनहरूको गतिशीलता र सुरक्षामा सहयोग गर्छ । वरिपरिको परिवेशमा सहभागिता जनाउन पनि यो महत्त्वपूर्ण छ ।

छडीमा प्रयोग भएको रङका आधारमा दृष्टिविहीनहरूको प्रकार छुट्याउने अन्तर्राष्ट्रिय प्रचलन छ । समाउने भागमा प्लास्टिकको खोलसहित कालो, हरियो, नीलो वा अन्य कुनै रङ र तलपट्टिको भाग सबै सेतो भए त्यो छडी प्रयोग गर्ने व्यक्ति पूर्ण दृष्टिविहीन हुन् । तलपट्टिको भागमा रातो रङ लगाइएको छडी लिने व्यक्ति न्यून दृष्टियुक्त हुन् । सेतो–रातो–सेतो रङको पाटेपाटे छडी प्रयोग गर्ने व्यक्ति श्रवण र दृष्टिविहीन हुन् भन्ने बुझ्नुपर्छ । बनोटका आधारमा सेतो छडीलाई फोल्डिङ र ननफोल्डिङमा विभाजन गर्न सकिन्छ । सामान्यतया आल्मुनियमको खोक्रो पाइप काटी त्यसको भित्रपट्टि इलास्टिकको तन्किने डोरी हालेर पाइपका टुक्राहरूलाई आपसमा जोडी फोल्डिङ छडी बनाइन्छ । पाइपलाई टुक्रा नपारे त्यो छडी ननफोल्डिङ हुन्छ ।

नेपालका दृष्टिविहीनहरू चीन र भारतबाट सेतो छडी मगाएर टेक्न बाध्य छन् । सरकारले स्वदेशमै यसको उत्पादनबारे खासै ध्यान दिन सकेको छैन । सरोकारवाला संस्थाहरूले पनि ठोस पहल गरेको पाइँदैन । नेपालको संविधानले व्यक्तिको आवतजावत गर्ने अधिकारलाई मौलिक स्वतन्त्रताका रूपमा सुनिश्चित गरेको छ । तर दृष्टिविहीन व्यक्तिहरूलाई स्वतन्त्रतापूर्वक अन्य नागरिकसरह आवतजावत गर्न पाउने हक उपभोग गर्न सेतो छडीको अभावले रोकेको छ । योबिना कुनै पनि दृष्टिविहीनले आवतजावत गर्न सक्दैनन् । संविधानप्रदत्त मौलिक हक निर्बाध प्रयोग गर्न पाउने सबै दृष्टिविहीनको अधिकार सुनिश्चित हुनुपर्छ । त्यति मात्र होइन, नेपाल अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिको पक्ष राष्ट्रसमेत हो । यस महासन्धिले पनि हाम्रो संविधानले जस्तै हरेक व्यक्तिको स्वतन्त्रतापूर्वक आवतजावत गर्न पाउने हकको व्यवस्था गरेको छ । सेतो छडी निःशुल्क प्राप्त गर्नु हरेक दृष्टिविहीनको मौलिक हककै रूपमा महासन्धिले सुनिश्चित गरेको छ । यसरी हेर्दा दृष्टिविहीनहरूका लागि नभई नहुने सामग्री भएकाले सेतो छडीको दायित्व राज्यले लिनुपर्छ ।

दृष्टिविहीनहरूको जीवनलाई पूर्णता दिन र स्वतन्त्रताप्राप्तिका निम्ति सेतो छडीको महत्त्वपूर्ण भूमिका हुन्छ । यसको सहयोगमा उनीहरू विद्यालय वा कार्यालयमा पुग्न सक्छन् । सुरक्षित आवागमनलाई यसले मार्गप्रशस्त गर्छ । स्वास्थ्य र गतिशीलताको अधिकार उपभोग गर्न पनि सहज पारिदिन्छ । मानिसले एकै ठाउँमा बसेर जीवन निर्वाह गर्न सक्दैन । एक ठाउँबाट अर्को ठाउँमा जान सामान्य मानिसलाई कुनै समस्या पर्दैन । शारीरिक रूपले कमजोर भएर हिँडडुल गर्न नसक्नेहरू र दृष्टिविहीनहरूलाई भने निकै कठिन हुन्छ । यस्तो कठिनाइलाई न्यूनीकरण गर्न विभिन्न उपाय हुन्छन् । तिनैमध्येको एक हो– सेतो छडी । सेतो छडीले मात्र दृष्टिविहीनहरूको ‘मोबिलिटी’ बढाउने हुनाले यो आवागमन अधिकार प्रयोग गर्नका लागि चाहिने आधारभूत वस्तु हो । सेतो छडीको प्रयोग र उपलब्धतालाई सार्वजनिक सवाल बनाउनुपर्छ ।

सबै दृष्टिविहीनको साझा र छाता संस्था नेपाल नेत्रहीन संघले देशभरिकै दृष्टिविहीनहरूलाई सेतो छडी उपलब्ध गराउँछ । आयातित सेतो छडीको मूल्य यहाँ आइपुग्दा निकै बढ्छ । हालसम्म नेत्रहीन संघले न फाइदा न घाटाको सिद्धान्तका आधारमा दृष्टिविहीनहरूलाई छडी उपलब्ध गराउँदै आएको छ । अचेल केही स्थानीय तहले छडी किनेर दृष्टिविहीनहरूलाई निःशुल्क वितरण गर्न थालेका छन् । बजेटमा व्यवस्था गरी सरकारले सबै नेत्रहीनलाई निःशुल्क छडी दिने भनेको छ । आफ्नै देशमै यसको उत्पादन गर्नुपर्छ भन्नेमा सरकारी चासो पनि चाहिएको छ । सेतो छडी नेत्रहीनहरूको नैसर्गिक अधिकार भएकाले सरकारले स्वदेशमै यसको उत्पादन र निःशुल्क वितरण गर्नुपर्छ ।

अर्कातर्फ, सेतो छडी लिएर हिँड्ने व्यक्तिहरूमाथि सामाजिक विभेद कायमै छ । यसै कारण हाम्रा वरपरका अल्पदृष्टियुक्त व्यक्तिहरू सेतो छडीको प्रयोग सकेसम्म गर्न खोज्दैनन् । विभेद भोग्नुपर्ने डरका कारण त्यसो गरिए पनि सुरक्षाका दृष्टिले यो निकै खतरनाक छ । छडी प्रयोग नगर्दा यस्ता व्यक्ति र पूरै देख्ने व्यक्तिबीच कुनै फरक देखिँदैन र यातायातको आवतजावत बढी हुने क्षेत्रमा उनीहरू जोखिममा पर्छन् । सेतो छडी प्रयोग गरे उनीहरूको जीवन सुरक्षित हुन्छ । अरूले हेर्दा पूरै देख्ने व्यक्तिहरूजस्तो देखिए पनि अल्पदृष्टि भएकै कारण सबै वस्तु पहिचान गर्न नसकेर उनीहरूको जीवन कठिन हुने गर्छ । यसले उनीहरूलाई दोहोरो मर्कामा पारेको छ । सवारीसाधनको भीडका कारण सडक उनीहरूका लागि निकै असुरक्षित छ । त्यस्तै, अल्पदृष्टियुक्त व्यक्तिहरूलाई सुविधा दिने निकायले देख्ने व्यक्तिलाई जसरी व्यवहार गर्छ । ती विशेष सुविधा पाउनुपर्ने व्यक्ति भएको समेत स्विकार्न चाहँदैन । यस्तो अन्यायबाट उनीहरूलाई बचाउने सेतो छडीले नै हो । सेतो छडीलाई सबै प्रकारका दृष्टिविहीनहरूले पहिचान दिने वस्तुका रूपमा लिनुपर्छ । दृष्टिविहीन वा अल्पदृष्टियुक्त वा श्रवण–दृष्टिविहीन व्यक्तिहरूले निर्बाध रूपमा सेतो छडीको प्रयोग गर्नुपर्छ । यसमा कसैले पनि संशय राख्नु हुन्न ।

दृष्टिविहीनहरूको स्वतन्त्रतापूर्वक आवतजावत गर्न पाउने अधिकारको सुनिश्चितताका निम्ति दृष्टि भएकाहरूले पनि पहल गर्नुपर्छ । सरकार, सरोकारवाला निकाय र नागरिक समाजले दृष्टिविहीनहरूप्रति सधैं सकारात्मक सोच राखी सहयोगी भूमिका निर्वाह गर्नुपर्छ ।

प्रकाशित : आश्विन २९, २०७७ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्

होम आइसोलेसनमा रहेकासहित धरानमा थप दुईको मृत्यु

प्रदीप मेन्याङ्बो

सुनसरी — होम आइसोलेसनमा रहेका धरान–१५ देवकोटा चोकका एक कोरोना संक्रमितको मृत्यु भएको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताका अनुसार ६१ वर्षीय ती व्यक्तिको तीन वर्षअघि मुटुको अपरेसन गरिएको थियो ।

उनी नियमित औषधि सेवन गरिरहेका थिए । असोज २४ गते पीसीआर जाँच गर्दा पतिपत्नीकै रिपोर्ट पोजिटिभ आएको थियो । दुवै जना होम आइसोलेसनमा थिए । बुधबार राति गाह्रो भएपछि बीपी प्रतिष्ठानको कोभिड अस्पताल लैजान खोज्दा त्यहाँ आईसीयू बेड अभाव भएको जानकारी पाएपछि घरमै अक्सिजन ल्याएर लगाइएको थियो । त्यही क्रममा उनको उनको मृत्यु भएको जानकारी आफूले पाएको धरान–१५ का वडाध्यक्ष नरेश इङ्वारमले बताए ।

यसै गरी तेह्रथुमका ४९ वर्षीय एक संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी कक्षमा बुधबार राति मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार उनलाई जिल्ला अस्पताल धनकुटाले असोज २६ गते रिफर गरेको थियो । ती व्यक्तिलाई असोज २६ गते प्रतिष्ठानमै पीसीआर जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित : आश्विन २९, २०७७ ०८:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×