रुवान्डाबाट सिकौँ- विचार - कान्तिपुर समाचार

रुवान्डाबाट सिकौँ

अबको नयाँ विश्वमा लगानी, पर्यटन, रोजगारी, विकासजस्ता क्षेत्रमा कोरोना व्यवस्थापन राम्ररी गर्ने देशहरूले नेतृत्व र प्रभुत्व जमाउनेछन् । रुवान्डा तीमध्ये एक हुनेछ ।
सुजीव शाक्य

दुबईबाट रुवान्डाको किगाली विमानस्थलमा उत्रिँदा पाँच महिनासम्म पाटनको घरमा थुनिनुपर्दाको उकुसमुकुसबाट मुक्ति पाएको भान भयो । रुवान्डा आउन सजिलो छ, केही बुँदा रहेका फारमहरू अनलाइन भर्दा हुन्छ (नेपालमा जस्तो बत्तीस गुण र लक्षण भर्नुपर्दैन) ।

विमानस्थल कर्मचारीले मलाई कोरोना नेगेटिभ भएको सर्टिफिकेट हेरे, रोबोटले तापक्रम अनुगमन गर्‍यो । अनि सीधै लिस्टमा भएको, आफूले बुक गरेको होटलतिर गएँ । होटलमा पनि कोरोना टेस्ट गर्नुपर्ने रहेछ, त्यसपछि चौबीस घण्टा क्वारेन्टिन गर्नुपर्ने । होटलमा गरिएको टेस्टको रिजल्ट एक दिनपछि आयो र म लागेँ आफ्नो अपार्टमेन्टतिर ।

अगस्टको अन्तमा राति सात बजेदेखि बिहान पाँच बजेसम्म लाग्ने कर्फ्यु अहिले राति दस बजे मात्र सुरु हुन्छ । म एक महिनाअघि आउँदा दिनको एक सय हाराहारी केस भेटिन्थे भने, अहिले आएर दैनिक तीन–चार वटामा झरिसकेको छ । अन्तरजिल्ला यातायात पनि सुरु भएको छ र विवाह जस्ता कार्यक्रम पनि बिस्तारै खुकुलो पार्दै लगिएको छ । अगस्टदेखि फाट्टफुट्ट पर्यटक पनि आउन थालेका छन् । नोभेम्बरदेखि त स्कुलहरू नै खुल्ने भएका छन् । गत मे १७ तारिख, संक्रमितको संख्या रुवान्डामा २९२ हुँदा नेपालमा २९५ थियो; पाँच महिनामा नेपालमा १ लाख पुग्न लाग्दा नेपालको भन्दा आधा जनसंख्या रहेको रुवान्डा त्यसलाई ५ हजारमा सीमित राख्न सफल भएको छ ।

संसारमा एक–दुई वर्षमा कोरोना महामारीमा राम्रो व्यवस्थापन गर्ने मुलुकहरूमा लगानी र पर्यटन दुवैले फड्को मार्नेछ । डेढ करोड जनसंख्या भएको यो अफ्रिकी देशले यसमा आफ्नो पहिचान बनाउन सकेको छ । के कारण यस्तो गर्न सक्यो त रुवान्डाले भनी केलाउँदा निम्नलिखित चार पक्ष अघि आउँछन्–

पहिलो, रुवान्डामा नियम सबैलाई लागू हुन्छ । कानुन सबैलाई लाग्छ । नेपालमा कानुनले छुन नसक्ने धेरै मानिस छन् । एक दिन यहाँका राष्ट्रपतिको जनतासितको कुराकानीको एउटा प्रसंगले मलाई छक्क पार्‍यो । एक जनाले उनलाई सोधे, ‘तपाईंलाई नाति भएकामा बधाई । भेट्न जान मन लाग्दैन ?’ उनले जवाफमा भने, ‘मन त लाग्छ, तर ढिलो भयो भने स्टेडियममा रातभरि उभिनुपर्ला भन्ने डरले छिटछिटो घर जान्छु ।’

कर्फ्युको बेला बाहिर निस्किए पक्राउ परेर स्टेडियममा रातभरि उभिनुपर्ने नियम छ यहाँ । त्यो सुन्दा मलाई त्यस बखत हाम्रा प्रधानमन्त्रीले आफ्नो मास्क निकाली माइक छोपिदिएको भाइरल भिडियोको सम्झना आएको थियो । रुवान्डेली जनतामा कानुन सबैलाई समान लाग्छ भन्ने विश्वास छ । मास्क राम्रोसँग नलगाए २५० रुपैयाँ, भौतिक दूरी कायम नगरे १,००० रुपैयाँ, घरमा मानिस बोलाएर भोजभतेर गरे १ लाख रुपैयाँ जरिवाना तिर्नुपर्छ । सबैतिर नियम छ र मानिसहरूले त्यसलाई मान्छन् पनि । बारहरू सबै बन्द छन् । रेस्टुरेन्टले मदिरा बेच्न पाउने र के खाना कति अर्डर गरेपछि कति वटासम्म बियर किन्न पाइने भनेर पनि तोकिएको छ । सार्वजनिक यातायातको बस होस् वा निजी गाडी, कति जना कसरी बस्नुपर्छ भन्ने नियम छ र मानिसहरू त्यसलाई मान्छन् । मोटरसाइकल ट्याक्सीमा स्यानिटाइजर राख्नुपर्ने र पछाडि बस्नेले हेल्मेट लाउनैपर्ने हुनाले आआफ्ना टाउका छोप्न कपडा बोक्ने गर्छन् । दुर्गम गाउँहरूमा जाँदा, हटिया छिर्नुअघि हात धुनैपर्छ । मास्क लगाउनैपर्छ । मास्क आफ्नो वडामा लिन जान सकिन्छ र कपडाको मास्क कसरी धोएर प्रयोग गर्ने भनेर सिकाइन्छ । गरिब र विपन्नहरूले पनि नियम पालना गर्न सक्ने वातावरण बनाइएको छ । सबैले सबैलाई यो नयाँ जीवनशैली अपनाउन प्रेरित गर्ने गर्छन् । मास्क लगाएर चारघण्टे तालिम चलाउँदा कस्तो हुँदो रहेछ भन्ने अनुभव त मैले नै गर्न पाएँ ।

दोस्रो, रुवान्डामा सूचना प्रवाह दह्रो छ । गाउँका गरिब र विपन्नले पनि कोरोना संक्रमणबारे बुझेका छन् र के गर्नुपर्छ भन्ने तिनलाई थाहा छ । सामाजिक वा भौतिक दूरीको पालनालाई एकदम कडाइसँग लागू गरिएको छ, सबैले मानिरहेका पनि छन् । राष्ट्रिय टेलिभिजन, रेडियोसहित सबै सञ्चार माध्यमले आमजनताले के गर्न हुन्छ र के गर्न हुँदैन भनेर घोकाएको घोकायै छन् । यहाँ सरकारले जारी गरेका सूचनाहरू सरल र बुझ्न सकिने खालका छन् । नेपालमा जस्तो जनतालाई अलमल पारेर रमाउने सरकारी तन्त्र छैन । सरल चित्रहरूसहित विभिन्न माध्यमबाट कोरोनाबारे जनचेतना फैलाइरहिएकै छ ।

यहाँका दातृ संस्थाहरू पनि सरकारको निर्देशनअनुसार चल्ने गर्छन् । निजी क्षेत्रलाई कसरी आफ्नो व्यवसाय चलाउनुपर्छ भनेर सरल रूपमा निर्देशनहरू जारी गरिएको छ । ससाना पसलअघि स्यानिटाइजर वा हात धुने ठाउँ राख्नैपर्ने, मास्क लगाउनैपर्ने र निजी व्यवसायीले पनि कुरा सुन्नैपर्ने नियम छ । नेपालमा जस्तो नेताहरूसँग खिचेको फोटो झुन्ड्याएर पहुँच भएकालाई कोरोना नलाग्ने जस्तो गर्दैनन् यहाँका पहुँचवालाले । नेपालमा एड्स रोकथामका निम्ति काम गरेका विकासविद् मोहन मानन्धर भन्ने गर्नुहुन्छ— हाम्रा ७५३ स्थानीय निकायहरूमध्ये अधिकांश आफ्नो फोटो/भिडियो वा नेताहरूको फोटो/भिडियोको पछि लागेर बरबाद भए । यसो खाने ठाउँ छ भने चासो लिने, नभए पशुपतिनाथलाई छाडिदिने !

तेस्रो, रुवान्डा संसारसामु आफ्नो पहिचान अझ बढाउन चाहन्छ । उसलाई संसारले हेरिरहेको भान हुन्छ । यो मुलुकलाई पूर्वी अफ्रिकामा मात्र नभएर सम्पूर्ण अफ्रिका महाद्वीपमा एसियामा सिंगापुरले झैँ तहल्का मच्चाउनु छ । यहाँ भेट हुने युरोपेली र अमेरिकीहरू तीनछक परेका छन् । रुवान्डाले तीनछक पार्न खोजेकै पनि हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमार्फत उसले आफ्नो सफलताको कथा फैलाउने गरेको छ । हामीले पनि परामर्शदाता कम्पनीहरूलाई ल्याएर महामारीपछिको समयमा पर्यटनमा होस् वा लगानीमा, शिक्षामा होस् वा स्वास्थ्यमा कसरी संसारमा नेतृत्व लिने भनी फलदायी छलफल चलाउन सक्थ्यौँ । रुवान्डाले विज्ञहरूलाई बोलाएर सल्लाह गरेको गर्‍यै छ । नेपालमा भने ट्वीटमार्फत प्रधानमन्त्रीलाई अन्तरक्रियामा आउन अनुरोध गर्दा दुई–तीन पटक विज्ञहरूको जमघट गरिए पनि उनीहरूका सुझावलाई बाथरुममा फ्लस गरियो ।

चौथो, रुवान्डाबाट लिनुपर्ने सबभन्दा ठूलो सिकाइ भनेकै आफ्नो देशप्रति गौरवबोध हो । यो कुरो मैले नेपालका निम्ति भनेर आफ्नो किताब ‘अर्थात् परिवर्तन’ मा अन्तिम सूत्रका रूपमा राखेको छु । छाडा जनताले नियम तोड्ने गर्छन् र तिनले आफूहरूमध्ये अलिक बढी छाडालाई नेता बनाउने गर्छन् । तिनैले फेरि नेपाललाई कहिल्यै गाली गर्न पनि छोड्दैनन् । समस्या देशको होइन, देशवासीहरूको हो । वर्षमा १० लाखले डीभी भर्ने गर्छन्, याने उनीहरू देश त्याग्न तयार छन् । नेपालमा मास्क नलगाउने, सामाजिक दूरी नमान्ने व्यक्तिहरूले नै भोलि डीभी पाएर उडिसकेपछि नेपाल यस्तो नेपाल त्यस्तो भन्दै गालीगलौज गर्ने गर्छन् । देश त्याग्न तत्परहरूले नेपालप्रति गौरव गर्न खोज्दैनन् । सायद यो महामारी नेपालमा यसरी फैलेको पनि देशप्रति माया नभएकाहरूकै कारण होला । देशको छवि संसारमा कस्तो होला भन्ने अनुभूति नभएरै होला ।

रुवान्डामा सबैजसो नागरिकमा आफ्नो देशको छविमा आँच आउला कि भन्ने डर छ; संक्रमितको संख्या बढ्यो भने संसारले के भन्ला भन्ने पीर छ; पर्यटक र लगानीकर्ता नआउलान् कि भन्ने पीर छ; आफ्नो देशले अफ्रिकामा स्थापित गर्न लागेको वर्चस्वमा ठेस पुग्ला कि भन्ने सुर्ता छ । सरकारी निकायदेखि जनतासम्मले आफ्नो राष्ट्रियतासँग जोडेका छन् कोरोना संक्रमणलाई । संसारमा सबै थोक अनित्य छ, कोरोना संक्रमणको पनि अन्त हुन्छ नै । संक्रमण अव्यवस्थापन र राजनीतिक अदूरदर्शिताका कारण नेपालको मात्र होइन, धेरै शक्तिशाली देशकै पनि पहिचान डगमगायो । अबको नयाँ विश्वमा लगानी, पर्यटन, रोजगारी, विकासका कुरामा कोरोना व्यवस्थापन राम्ररी गर्ने देशहरूले नेतृत्व र प्रभुत्व जमाउनेछन् । रुवान्डा तीमध्ये एक हुनेछ ।

(‘अर्थात् अर्थतन्त्र’ र ‘अर्थात् परिवर्तन’ पुस्तकका लेखक शाक्य कामका सिलसिलामा सन् २०१२ देखि रुवान्डा आवतजावत गर्ने गर्छन् ।)

प्रकाशित : आश्विन २८, २०७७ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्

यस्तो पो च्यालेन्ज !

साधना प्रतीक्षा

केही दिनअघि सामाजिक सञ्जालभरि अनौठो परिदृश्य देखियो । खै के–के हो च्यालेन्ज भन्दै फोटो प्रदर्शनीको होडबाजी चल्यो । भर्खरका अल्लारे तथा आफूलाई ‘मोडल’ भन्न रुचाउनेहरूको त कुरै छोडौँ, समाजका विविध क्षेत्रमा स्थापित व्यक्तित्व, बौद्धिक वर्गदेखि देश हाँक्न तम्सिएका नेताहरूसमेत ‘जोडी ढुकुर’ बन्दै फिल्मी शैलीमा प्रस्तुत भए ।

जोडी, परिवार, प्रथम प्रभाव आदि–इत्यादिको च्यालेन्ज गरिरहेका हामीलाई वर्तमान परिवेशले भने अर्कै च्यालेन्ज गरिरहेको छ ।सात महिनादेखि कोरोना महामारीले आक्रान्त हामी अब त्राहिमाम्को अवस्थामा पुगिसकेका छौँ । एकातिर सरकार भन्छ, ‘बेहोस हुने अवस्था आएमा मात्र अस्पताल जानू ।’ हुन सक्छ, भविष्यमा ‘मृत्युपश्चात् मात्र अस्पताल जानू’ भन्न के बेर ! अर्कातिर हामी पनि महामारीलाई सामान्य ठानेर सावधानी अपनाउनधरि हिचकिचाइरहेका छौँ । दिनानुदिन संक्रमितको संख्या बढ्दै छ । यस्तो अवस्थामा बरु महामारी नियन्त्रणका लागि जिम्मेवार बन्न र सरकारलाई पनि जनउत्तरदायी बनाउन च्यालेन्ज गरौँ न ! संक्रमण नियन्त्रण र जीवनभन्दा पनि संस्कृति र चाडपर्वको रमझम ठूलो हो भन्दै बजारमा भीड लाग्नुको सट्टा घरभित्रै बसेर आफू सुरक्षित बन्ने र अरूलाई सुरक्षित गराउने दायित्वबोध पनि त जिम्मेवार नागरिकका लागि च्यालेन्ज नै हो । त्यसैले अनावश्यक जमघट र भोजभतेर नगरी संक्रमणमुक्त अर्को दसैँको प्रतीक्षा गर्ने च्यालेन्ज गरौँ ।

हाम्रो समाज यौनहिंसाले पनि उत्तिकै पिल्सिएको छ । दिनहुँ महिला, किशोरी तथा बालिकाहरू निर्ममतापूर्वक मारिइरहेका छन् । यस्ता त्रासद समाचार सुन्दा अनलाइन कक्षामा पढिरहेका अबोध छोरीहरूले ‘गुगल सर्च’ गर्दै लिङ्ग परिवर्तनको सम्भावना खोज्न थालेको देख्दा आमामनहरू नराम्ररी चोइटिइरहेका छन् । जिम्मेवार निकायमा रहेका व्यक्तिहरू भने ‘विषम परिस्थितिमा यस्ता घटनाहरू भइरहन्छन्’ तथा ‘अन्य मुलुकका तुलनामा हामीकहाँ यस्ता घटना कमै देखिन्छन्’ भन्ने जस्ता उपहासात्मक अभिव्यक्ति दिन्छन् । त्यसैले सक्छौँ भने निर्मला र सम्झनाजस्ता निर्दोष किशोरीहरूले बलात्कारको सिकार भएर ज्यानसमेत गुमाउनुपर्ने अवस्था तथा त्यसको कारक बनेको दण्डहीनताको अन्त्यका लागि अनि हरेक छोरीले निर्बाध रूपमा बाँच्न पाउने अधिकारको प्रत्याभूतिका लागि जागरणको च्यालेन्ज गरौँ । लैङ्गिक विभेद तथा घरेलु हिंसाका कारण असंख्य महिलाले नारकीय जीवन बिताउनु परिरहेको सन्दर्भमा हरेक परिवार तथा समाजलाई विभेदमुक्त बनाउने अभियानमा को अघि पुग्ने भनेर पनि च्यालेन्ज गरौँ ।

गरिबका छोराछोरीले पनि प्राविधिक शिक्षाको अवसर पाउनुपर्दछ अनि दुर्गम क्षेत्रका विपन्न वर्ग तथा सीमान्तीकृत समुदायले समेत गुणस्तरीय स्वास्थ्य सेवाको अधिकार पाउनुपर्ने माग राखेर एक्लै लडिरहेका डाक्टर गोविन्द केसीसँग ऐक्यबद्धता गर्दै शैक्षिक माफियाहरूको जरो उखेल्ने च्यालेन्ज गरौँ ! विश्वविद्यालयहरूलाई राजनीतिक भागबन्डा र कमिसनको चक्रव्यूहमा फसाएर बेरोजगार उत्पादनको केन्द्र बनाइँदै छ । त्यसैले विश्वविद्यालयहरूमा तालाबन्दी र गुन्डागर्दीको संस्कृति स्थापित हुँदै छ । प्राज्ञिक मर्यादा र मूल्यलाई किनारा लगाउँदै गैरप्राज्ञिक गतिविधिलाई प्रोत्साहित गरेको, गुटबन्दी तथा अस्वस्थ प्रतिस्पर्धा र गलत मूल्याङ्कन प्रणालीका कारण वास्तविक बौद्धिक एवम् स्वाभिमानी वर्गको तेजोवध गरेको एवं अनुसन्धान केन्द्रहरूलाई गौशाला र माकुराको घर बनाएको यथार्थ पनि घामजस्तै छर्लङ्ग भइसकेको छ । त्यसैले प्राज्ञिक क्षेत्रलाई स्वच्छ बनाउन अनि विश्वविद्यालयहरूलाई शिक्षा, प्रविधि, ज्ञान र विवेक उत्पादन र प्रसारणकै थलो बनाउने च्यालेन्ज गरौँ न त !

समाज र राष्ट्रको माथिल्लो तहदेखि तल्लो तहसम्म आकाशेबेली जस्तै जेलिएको भ्रष्टाचार फँडानी गरेर सुशासनको बिरुवा हुर्काउन च्यालेन्ज गर्नुपर्ने बेला आएको छ । दलगत हित र व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुबेर देशलाई खोक्रो पार्ने, आपसी समझदारीबाट राज्य सञ्चालन गरेर निहित स्वार्थका लागि विदेशी शक्तिसामु घुँडा टेक्ने लम्पसारवादी राजनीतिक संस्कृतिको अन्त्यका लागि पनि च्यालेन्ज गरौँ । देशलाई राजनीतिक खिचातानीको मैदान बनाएर जनतालाई भकुन्डोसरि खेलाउने नेताहरूका विरुद्ध कसले आवाज बुलन्द गर्ने भनेर च्यालेन्ज गरौँ । युवाशक्ति परिचालन गर्दै आफ्नै माटोमा सुन फलाएर, कलकारखाना चलाएर आत्मनिर्भर हुनेभन्दा त्यस्ता सम्भावनाप्रति आँखा चिम्लने अनि देशलाई युवाविहीन बनाएर रेमिट्यान्सले समृद्ध बनाउने सपना देख्ने अदूरदर्शी र दिशाविहीन नेतृत्वको उछित्तो काढी नयाँ सोच र दूरगामी योजनासहितको नेतृत्व स्थापित गर्न च्यालेन्ज गर्न पनि त बाँकी नै छ !

डेन्ड्राइट सुँघेर लट्ठिँदै भुस्याहा कुकुरसँगै सडक–पेटीमा गुडुल्किएर रात गुजार्ने अनि फोहोरका थुप्रा खोतलेर भोक मेटाउने सडक बालबालिका एवं जीवनको उत्तरार्द्धमा आफ्नै परिवारभित्र अवहेलित र असहाय बन्दै मृत्यु कुरिरहेका तथा वृद्धाश्रमहरूमा आँसु झारिरहेका ज्येष्ठ नागरिकहरूलाई सम्मानजनक जीवनयापनको व्यवस्था गराउनु पनि च्यालेन्जकै कुरा हो ! सत्ता र शक्तिको आडमा सार्वजनिक जग्गा रातारात व्यक्तिका नाममा दर्ता गरेर सम्पन्न बन्ने भू–माफियाविरुद्ध, राष्ट्रको ढुकुटी रित्त्याएर आफ्नो महल ठड्याउने कमिसनखोरहरूका विरुद्ध, गरिब किसानको पसिना अनि आम उपभोक्ताको रगत चुसेर मालामाल बन्ने बिचौलिया तथा कालो बजारियाहरूका विरुद्ध एकजुट भएर उभिने वातावरण बनाउन कसले पहल गर्ने भनेर च्यालेन्ज गरौँ न त ! लोडसेडिङका नाममा वर्षौंदेखि अँध्यारिएको मुलुकलाई उजिल्याउन सक्ने कुलमान घिसिङको प्रतिबद्धताजस्तै आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न अनि राष्ट्रलाई वैज्ञानिक तथा प्राविधिक उन्नयनतर्फ अग्रसर गराउन दिलोज्यानले लागिपरेका महावीर पुनको आविष्कार केन्द्रजस्तै नवीन चिन्तनका साथ उपस्थित हुन पनि च्यालेन्ज गरौँ ।

यस्तो विषम परिस्थितिमा भोकाहरूलाई भोजन गराइरहेका, नाङ्गाहरूलाई लुगा ओढाइरहेका, स्वास्थ्य सामग्री वितरण गरिरहेका अनि ‘फुड बैङ्क’ सञ्चालन गरेर ‘हुनेले दिएर जाने, नहुनेले लिएर जाने’ भन्दै सङ्कटापन्न अवस्थामा जीवनरक्षाको पुण्य कर्ममा लागेका, विपन्न वर्गकालाई घरभाडा छुट गरिरहेका दाता तथा समाजसेवीहरूसँग प्रतिस्पर्धा गर्दै कसले बढी सेवा दिने भनेर च्यालेन्ज गरौँ । विपत्को यस घडीमा हरेक वर्ग तथा उमेरसमूहका व्यक्तिहरूले आ–आफ्ना क्षमता अनुसार परिवार, समाज तथा समग्र राष्ट्रका लागि योगदान हुन सक्ने रचनात्मक कार्य गर्ने च्यालेन्ज गरौँ न त !

प्रकाशित : आश्विन २८, २०७७ ०७:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×