कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोरोनाको अत्यासमा रमिते सरकार

ओली सरकार ‘शक्तिशाली राष्ट्रले त गर्न सकेनन्, हामी के सक्थ्यौं’ भन्ने हीनताले ग्रस्त छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता दिनहुँ संख्या थपिएको जानकारी दिन उपस्थित त हुन्छन्, तर कोरोना नियन्त्रण र रोकथाममा सरकार कहाँ छ, खोज्दा भेटिँदैन ।
राजाराम गौतम

काठमाडौँ — घर–आँगनमा दसैंले चियाइसक्दा पनि कसैमा उल्लास छैन, न त कुनै उमंग छ । अनौठो बेचैनी र भयग्रस्त मनोविज्ञानमा छ सिङ्गो समाज । रोग, भोक र भविष्यको चिन्तामा पिरोलिँदै अनिश्चयको भुमरीमा पिङ खेलिरहेको छ । दस महिनाअघिको चीनको औद्योगिक सहर वुहानको मनोदशामा छ नेपाली समाज, यो बेला । 

कोरोनाको अत्यासमा रमिते सरकार

३१ डिसेम्बर २०१९ । वुहानसहित पूरै चीन ‘वसन्तोत्सव पर्व’ को तयारीमा उत्साहित हुँदै जुटिरहेको थियो । पारिवारिक पुनर्मिलन र जमघटका तयारी हुँदै थिए । एउटा ‘अदृश्य शत्रु’ को प्रवेशसँगै उत्साह निराशामा बदलियो । वुहानमा नयाँ रोग फैलियो भनेर सामाजिक सञ्जालमा भएको हल्ला सत्य साबित भएको थियो । त्यही रोगको त्रासले दसैंको मुखमा हामी पनि लखेटिएका छौं ।

डिसेम्बरको अन्त्यतिर वुहानको मासु बजार क्षेत्रमा सामान्य रुघाखोकी हुँदै निमोनिया भएका बिरामीको संख्या बढ्न थाल्यो । सामान्य भाइरल भन्ठानेर सुरुमा वुहानवासीले हलुका ढंगले लिए । तर, संक्रमितको संख्या बढ्न थालेपछि सार्स, मर्सको महामारी खेपेका उनीहरूले ‘सेन्स’ गरिहाले— नयाँ महामारी भित्रिँदै छ ।

७ जनवरी २०२० मा वुहान पुगेको विशेषज्ञ टोलीले भन्यो, ‘भाइरल इन्फ्लुएन्जा रोगका जीवाणुहरू नोभल कोरोना भाइरस हुन् ।’ थप अध्ययनमा चिनियाँ विज्ञले पत्ता लगाए र २० जनवरीमा भने, ‘यो भाइरस मान्छेबाट मान्छेमा सर्न थालेको छ ।’

विशेषज्ञ समूहले त्यस्तो निर्क्योल निकालेपछि चिनियाँ सरकारले यसको रोकथाम र नियन्त्रणतर्फ ढिलो नगरी पाइला चाल्यो । २३ जनवरीमा वुहानमा लकडाउन घोषणा गरियो । छोटो–लामो दूरीका सबै यातायात बन्द भए । अत्यावश्यकबाहेक वुहान छोड्न निषेध गरियो ।

तर दुर्भाग्य, त्यतिन्जेल वुहानको कोरोनाले चीनबाहिर यात्रा थालिसकेको थियो । १३ जनवरीमै वुहानबाट आएका एक कोरोना संक्रमित पुरुष बैंकक विमानस्थलमा भेटिए भने, चीनभित्रै बेइजिङ र सांघाईमा फाट्टफुट्ट संक्रमति भेटिन थाले । चीनबाहिर अमेरिका, जापान, दक्षिण कोरियामा वुहानबाट गएका संक्रमित भेटिए । त्यस बखत नेपालमै पनि वुहानबाट आएका एक विद्यार्थीमा संक्रमण देखियो । ती विद्यार्थीको स्वाब परीक्षण गर्न हङकङको प्रयोगशाला पठाइयो । २४ जनवरीमा आएको रिपोर्टमा उनी कोरोना संक्रमित भएको पुष्टि भएको थियो ।

एकाध संक्रमित देखिएको नेपाल मात्रै होइन, पश्चिमा मुलुकहरूले समेत कोरोनालाई गम्भीर रूपमा लिएनन् । चीन ‘अदृश्य शत्रु’ सँग लड्दै गर्दा बाँकी विश्व रमितेजस्तै बन्यो । संक्रमणको दस महिना नाघिसक्दा दृश्य फरक छ । सबैजसो मुलुक कोरोना संक्रमणको चपेटामा छन् । अमेरिकाका राष्ट्रपतिदेखि सामान्यजनसम्म प्रभावित छन् । विश्वभरका ३ करोड ८१ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने, झन्डै एघार लाखले ज्यान गुमाएका छन् ।

चीनमा छिटफुटबाहेक करिब–करिब कोरोना नियन्त्रणमा छ भने, बाँकी विश्व अझै आक्रान्त छ । संक्रमितको संख्यामा नेपालले चीनलाई उछिनेको छ । चीनमा ८५ हजार संक्रिमत देखिए भने, नेपालमा १ लाख १० हजार नाघिसकेको छ । दिनहुँ ४–५ हजारको संख्यामा संक्रमित थपिएका छन् । मृत्यु हुने संख्या बढ्दो छ । नौ महिनाअघि नै कोरोनाको छिटाले छोइसकेका हामीले किन यसको रोकथाम र नियन्त्रण गर्न सकेनौं ? किन क्षति न्यून गर्न सकेनौं ? समीक्षा आवश्यक छ ।

निश्चय पनि कोरोना महामारी भोग्ने हामी मात्रै होइनौं । विश्व मानवसमाजले नै एउटा अति दुर्लभ र दुःखद क्षणको सामना गरिरहेको छ । संसारभर एकैपटक उस्तै विपत्ति आइपरेको अनौठो र विशेष अवस्था हो यो । विश्वका अति विकसित, शक्तिशाली र सुविधासम्पन्न भनिएका देशहरू पनि कोरोना चुनौतीबाट मुक्त छैनन् । तर यसो भनी चित्त बुझाएर बस्न मिल्छ ?

विडम्बना, ओली सरकार ‘शक्तिशाली राष्ट्रले त गर्न सकेनन्, हामी के सक्थ्यौं’ भन्ने हीनताले ग्रस्त छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम दिनहुँ संख्या थपिएको जानकारी दिन उपस्थित त हुन्छन्, तर कोरोना नियन्त्रण र रोकथाममा सरकार कहाँ छ, खोज्दा भेटिँदैन । विपत्का बेला नागरिक जोगाउने दायित्व बोकेको बलियो भनिएको सरकार सर्वत्र चुकेको छ । कहाँ चुक्यौं हामी ? अगाडिको बाटो तय गर्न अब ढिलो गर्नु हुन्न । कोरोना मुद्दामा जनताले सरकार भएको अनुभूति गर्न नसक्नुका पछाडि केही कारण छन् ।

१. यति बेला मुख्य राजनीतिक नेतृत्व प्रधानमन्त्री केपी ओलीको हातमा छ । कोभिड–१९ मा सरकार चुक्नुमा मुख्य दोष उनकै हो । उनमा कोभिड–१९ लाई बुझ्ने सवालमै समस्या देखियो । कोभिड–१९ लाई लिएर दिएका अभिव्यक्तिकै कारण उनी पटक–पटक विवाद र हास्यको पात्र बन्न पुगे ।

गत असार ४ गते उनले राष्ट्रिय सभामा सम्बोधन गर्दै भने, ‘कोरोना भाइरस एउटा रुघाखोकीजस्तै हो । लागिहाल्यो भने हाच्छिउँ–साच्छिउँ गर्नुपर्छ, तातो पानी खानुपर्छ, उडाइदिनुपर्छ ।’ त्यसअघि जेठ ६ गते प्रतिनिधिसभामा बोल्दै ‘वुहान, इटली, दुबई आदिबाट आएको भाइरस नरम, भारतबाट आएको कडा’ भनेका कारण आलोचित भए । कहिले तातो पानी त कहिले बेसार–पानीले कोरोना ठीक गर्छ भन्दै विज्ञशैलीमा उनले गरेका टिप्पणीको खुब आलोचना भयो ।

तातो पानी वा बेसार–पानीको महत्त्व नभएको होइन, तर जसरी विश्वकै लागि चुनौती बनेको कोरोना हराउन ‘यिनै काफी छन्’ भन्ने आशयले प्रधानमन्त्रीका हलुका टिप्पणी आए, त्यसबाट सरकारको असंवेदनशीलता दर्सियो । कोभिडको रोकथाम, नियन्त्रणमा प्रधानमन्त्रीले राजनीतिक नेतृत्व दिने हो । जनस्वास्थ्यसँग जोडिएको विषयमा उनले आफ्नो बुझाइ प्रस्ट पार्न, यससम्बन्धी अध्ययन गर्न विज्ञहरू परिचालन गर्दै सहायता लिनुपर्थ्यो । तर, उनी आफैं विज्ञ बनेर प्रस्तुत भए । यो ‘उटपट्याङ शैली’ का कारण सरकार चुक्यो ।

२. जनवरीमै वुहानबाट आएका विद्यार्थीमा कोरोना संक्रमण देखिनु हाम्रा लागि खतराको घण्टी थियो । सजग रहन र रोकथामको पूर्वतयारी गर्न ‘अलार्म’ थियो त्यो, सरकारका लागि । तर, सरकारले प्रभावकारी पूर्वतयारी गर्न सकेन । कति बेला लकडाउन गर्ने, कति बेला नगर्ने प्रस्ट हुन सकेन । न क्वारेन्टिन व्यवस्थित गर्न सक्यो, न त स्थानीय सरकारको गतिलो परिचालन हुन सक्यो । भारतसँगको सीमा क्षेत्रमा व्यवस्थित क्वारेन्टिन बनाउन सकेको भए नियन्त्रण र रोकथाम प्रभावकारी हुन सक्थ्यो । त्यो गर्न सकेन । बढ्दो महामारी ‘ट्याकल’ गर्न सरकारसँग अहिले पनि कुनै उपाय, योजना छैन ।

३. महामारी अनियमित अवस्था हो । यस्तो विशेष परिस्थितिमा जुनकुनै सरकारले नियमकानुनको सीमाबाहिर आएर निर्णय गर्न सक्छ, सेवा छिटो र सहज बनाउने सर्तमा । तर, कतिपयका लागि यो विषम परिस्थिति कुशासनको अवसर बन्यो । स्वास्थ्य मन्त्रालयले नियमित खरिद गर्ने सामग्रीमा प्रधानमन्त्री कार्यालयको संलग्नता मात्रै रहेन, सेनालाई समेत संलग्न गराइयो । कोभिडका नाममा अर्बौं खर्च भएको छ । स्थानीय तहदेखि माथिसम्म अनियमितता भएका कैयौं नजिर बाहिर आएका छन् । यी खर्चको छानबिन गरी चित्तबुझ्दो र प्रस्ट हिसाब सरकारले सार्वजनिक गर्न सकेको छैन । महामारीलाई सरकारका जिम्मेवार व्यक्तिहरूले ‘कमाउने अस्त्र’ बनाएका कारण रोकथाम प्राथमिकतामा परेन, चुक्यो ।

४. कोभिड–१९ सँग जोडिएको तालुकदार निकाय स्वास्थ्य मन्त्रालय हो । यत्रो महामारी फैलँदा स्वास्थ्य मन्त्रालयको नेतृत्व कहाँ छ ? प्रश्न गर्नुपर्ने अवस्था आयो । मन्त्रालयको नेतृत्व गतिलो भएको भए अरू प्रतिकूलता चिर्न सक्थ्यो । कोभिड–१९ व्यवस्थापन गर्न बनेको केन्द्र (सीसीएमसी) पनि प्रधानमन्त्रीकै लाचार छायाझैं देखियो । यसले प्रधानमन्त्रीलाई सहयोग गर्नेदेखि उनका कतिपय हठी र उटपट्याङ शैलीलाई ‘करेक्सन’ गर्न सक्ने हैसियत राख्न सक्नुपर्थ्यो । तर, यो पनि ‘कुहिरोको काग’ बन्यो ।

सीसीएमसीका संयोजक तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल यो आरोपको खण्डन गर्छन् । ‘प्रवक्ताका हिसाबले प्रदीप ज्ञवालीजी बोलिरहनुभएको छ । जागेश्वर गौतम नियमित अपडेट गराइरहनुभएकै छ । नियमित बैठक गर्ने, मन्त्रिपरिषद् आवश्यक प्रस्ताव लैजाने काम सीसीएमसीले गरिरहेकै छ’, उनी भन्छन्, ‘जुन खालको भौतिक र मानसिक अवस्थाबाट यहाँसम्म आइयो, यसलाई पनि गरेन भन्न मिल्छ र ? अरू मुलुकको अवस्था र हाम्रो हेर्‍यो भने प्रस्ट हुँदैन ?’

५. कमीकमजोरी ढाकछोप गर्नु, रचनात्मक सुझाव र सहयोग नलिनु सरकारको अर्को कमजोरी हो । नागरिक समाज, अरू दल वा मिडियामा आएका रचनात्मक सुझाव ग्रहण गर्नेभन्दा आलोचना भयो भनेर चिढिने प्रवृत्ति सरकारमा देखियो । कांग्रेस नेता गगन थापा, थोरै नेतामध्ये पर्छन्, जो कोरोना रोकथाममा नागरिकलाई सचेत गर्न देखिने तहमा लागिपरे । कहिले मेयर भेटेर र त कहिले शिक्षामन्त्री भेटेर सुझाव दिए । प्रधानमन्त्री, स्वास्थ्यमन्त्री, सीसीएमसी आदिलाई सुझावसहितका पत्र लेखेर घचघच्याइरहे । कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसिरहेका उनी भन्छन्, ‘त्रुटि–कमजोरीको समीक्षा गर्ने, सबैतिर छलफल चलाउने, सुझाव लिनेभन्दा पनि सरकारको आलोचना गर्नेलाई खेद्ने, सुन्दै नसुन्ने प्रवृत्ति देखियो ।’

६. कोभिड–१९ रोकथाममा सरकार मात्रै चुकेन, सत्तारूढ नेकपा पनि चुक्यो । यसबीच सत्तारूढ दल र सरकारबीच सत्ताको छिनाझपटी मात्रै चल्यो । राजदूत नियुक्ति, अरू लाभका पदमा नियुक्ति, मन्त्री को बन्ने, पार्टीमा कसको पोर्टफोलियो के हुने — सत्तारूढ दलभित्रका शीर्ष नेताहरूबीच हुने दर्जनौं बैठकका एजेन्डा यिनै मात्र रहे । कोभिड–१९ रोकथाम र नियन्त्रणको मुद्दा कुनै नेताले उठाएनन् । एक मन्त्री गुनासो गर्छन्, ‘कोरोना संक्रमणमा नाङ्गो पोलिटिक्स पसेपछि सरकार चुक्यो ।’

७. २०७२ को भूकम्पका बेला घरटहरा पुनर्निर्माण गर्न तत्कालीन एमालेले आफ्ना कार्यकर्तालाई स्वयंसेवक बनाएर परिचलान गरेको थियो । अहिले कहाँ छन् ती कार्यकर्ता ? दसौं लाख ‘क्याडर’ भएको दाबी गर्ने पार्टीमा कोरोना नियन्त्रण र रोकथामको विषय किन कुनै मुद्दा बन्दैन, न शीर्ष तहमा न त तल्लो स्तरका कार्यकर्तामा ?

चिनियाँ कम्युनिस्ट पार्टीबाट प्रशिक्षण लिएका ‘कमरेड’ हरूले कम्तीमा वुहानको कोरोना नियन्त्रणबाट पाठ त सिक्नुपर्ने होइन ? कोरोनाले महामारीको रूप लिएपछि चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वदेखि तल्लो तहको संरचनासम्म वुहानमा परिचालित भएकाले त्यो रोकथाम हुन सकेको हो । कोरोना जित्न वुहान सफल हुनुमा केही कारण छन् । एक, राजनीतिक नेतृत्वले कोरोना नियन्त्रणको मुद्दालाई अति गम्भीरतासाथ लियो । हाम्रोमा जस्तो ठट्यौलीको विषय बनाएन । जब महामारी हुँदै गरेको संकेत चीनले पायो, राष्ट्रपति सी चिनफिङ आफैं डटे । दोस्रो, चीनले कोरोनालाई यसअघिको जस्तो सामान्य भाइरसका रूपमा मात्रै लिएन । हतियार र गोलाबारुद्धविहीन ‘युद्ध’ कै रूपमा बुझ्यो । र, जित्यो ।

साधनस्रोत, विज्ञताका हाम्रा आफ्नै सीमितता छन् । नौ महिनाअघि स्वाब परीक्षण गर्न हङकङ लानुपर्ने अवस्था थियो । अहिले मुलुकभर कम्तीमा पाँच दर्जन ल्याब छन् । पीसीआर परीक्षण नै सुरु गर्न सकिएको थिएन, अहिले त्यसको दायरा बढेको छ । देशभर कोभिडलक्षित गरेर डेढ सय अस्पताल छन् । झन्डै ७० हजार संक्रमितले उपचार पाए । के यो पर्याप्त हो ? कोरोनाको बुझाइमा जुन गाम्भीर्य चाहिन्थ्यो, जुन जवाफदेही हुनुपर्थ्यो अनि जुन इच्छाशक्ति र पारदर्शिता कायम गर्न सक्नुपर्थ्यो, त्यसमा सरकार चुकेको छ । तर सधैं चुक्ने छुट छैन । सरकारकै तालका कारण पनि आम नागरिकलाई त यस्तो छुट झनै छैन । सबै सचेत र सगज भई कोरोना जित्न सावधान हुनु अनिवार्य छ ।

(बुधबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : आश्विन २७, २०७७ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?