१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

महामारीमा भोजन शिक्षा

शिक्षालाई जीवन र जगत्‌का बारेमा बुझ्ने प्रक्रियाका रूपमा पैसा कमाउनुभन्दा पर र फरक बुझ्ने हो भने खाद्य शिक्षा अपरिहार्य नै हो ।
टीका भट्टराई

‘बढी मोटाउने समस्या र भोकमरी एउटै सिक्काका दुई पाटा हुन् ।’ राष्ट्रसंघीय पूर्व खाद्य अधिकार प्रतिवेदक ओलिभिएर सुटरले भने । सुन्दा पहेलीजस्तो लाग्ने यो भनाइ वर्तमान खाद्य समस्याको लहरो तान्दा गर्जिने पहरो हो । मानिस किनेर खाने भएदेखि नै यो समस्याको सुरुआत भएको हो ।

महामारीमा भोजन शिक्षा

पैसा कमाएपछि मानिसले ऊर्जा–सघन खाना खान थाल्यो । अर्थात्, हिजो दालभात, ढिँडो, आलु, रोटी खाने मानिस थप दूध–दही, विशेष गरी मासु धेरै खाने भयो । यसले गर्दा लगाइएका अन्नबाली मानिसले खानेभन्दा जनावरलाई खुवाउने र जनावर वा त्यसका उत्पादन मानिसले खाने भयो । सीमान्त जग्गामा उमारिएको मानिसको अन्न जनावरले खाने भए । जनावरका मासु, दूध आदि मानिसले खायो । किनेर खाने मानिसले शारीरिक श्रम पनि गरेन र मानिस झन् मोटाउने भयो ।

हामी यो कुरा बृहत् चित्रमा अलि सजिलोसँग देख्छौं । युरोप र अमेरिकामा गाईवस्तुलाई खुवाउन उष्णदेशीय (ट्रपिकल) जंगल मासेर भटमास वा यस्तै नगदेबाली लगाइयो । साना किसान, आदिवासीहरू विकासका नाममा भूमिहीन हुन थाले । उनीहरू राजनीतिक तथा आर्थिक बलमा धपाइए । उनीहरूसँग लगानी गरेर प्रतिफल आउन सक्ने आकारको पुँजी (भाएबल क्यापिटल) थिएन । अनि जमिनको अभावमा उनीहरू भोकमरीको सिकार हुन थाले । मासु वा दूधजन्य पदार्थ मात्र होइन, उखु, कफीजस्ता नगदेबालीका कारण पनि जंगलको विनाश र साना किसान विस्थापित भएका छन् । आज कति धनी देशहरूले आफ्नो देशको जग्गा नपुगेर दक्षिण अमेरिका, अफ्रिका तथा पूर्वी युरोपीय देशका ठूला भूभागहरू पनि किन्न थालेका छन्, जसलाई जमिन कब्जा वा जमिन हत्याउने भनेर बुझिन्छ । यो भोजन शिक्षाको दीर्घकालीन र बृहत्तर पक्ष हो । सामान्यतः जनसंख्या बढ्ने र जमिन नबढ्ने माल्थसको सिद्धान्त भोकमरीको एउटा व्याख्या हो, समग्र व्याख्या होइन । विश्वमा सन् ’६० को दशकदेखि नै खाना बढेको जनसंख्यालाई समेत पुग्ने गरी उत्पादन भएको हो । अर्थराजनीतिक कारणले मानिस भोका रहेका हुन् । उत्पादन बढे पनि आम्दानी वा खाद्यवस्तु उत्पादनका साधनको न्यायोचित वितरण नभएसम्म भोकमरी कायम रहन्छ ।

नेपालमा पनि यसको विडम्बनापूर्ण सानो चित्र देखिएको छ । अन्न उम्रिने ठाउँमा घर उमारिरहेछौं । अनि विप्रेषणको मूल्यमा खाद्यवस्तु आयात गरिरहेछौं । देशमा धेरै ‘रातो भाले’ रेस्टुरेन्टहरू खुलेका छन् । पहिलेपहिले उच्चवर्गीय मानिसहरू मोटाउने जस्तो अरूहरू पनि नै मोटाइरहेछौं । अनि उच्च रक्तचाप, मधुमेहजस्ता रोग कमाएर अस्पताल धाइरहेछौं । नेपालमा पनि अब झाडापखालाजस्ता सर्ने रोगभन्दा नसर्ने रोग बढी हुन थालेका छन् ।

त्यसमाथि हाम्रो खाना विषले भरमार छ । आयातित र औद्योगिक व्यावसायिक रूपमा पोको पारिएका (प्याकेज्ड) खानाहरू सड्न वा कीरा लाग्न नदिन अनेकौं हानिकारक रसायन प्रयोग गरिएका हुन्छन् । रसायनयुक्त गुलिया पेयको त कुरै नगरौं । हाम्रो खाद्य शिक्षाले दिनुपर्ने यो अर्को ठूलो सन्देश हो । जति विषादीले मानिसको शारीरिक स्वास्थ्यमा असर पार्दै छ, खेतीले माटो र पानीको स्वास्थ्य त्यति नै बिगार्दै छ । खाद्यका जानकारहरू भन्छन्, अब विश्वमा पानी र मल थपेर उत्पादन बढाउँला भन्ने ठाउँ बाँकी छैन । सघन रूपमा अन्न खेती गरिने जापान (धान), अमेरिका र रुस (गहुँ) को उत्पादन गएका केही दशकदेखि बढेको छैन । कृषिभन्दा अहिलेसम्म हरितगृह ग्यास उब्जाउने अरू क्षेत्र नै छन् तर यसले माटोलाई निर्जीव बनाइरहेको छ र पानीसमेत प्रदूषित गरिरहेको छ । रसायन प्रयोग गरेर तीव्र उत्पादनको प्रतिरक्षा भोकमरीका नाममा हुने गर्छ । माथि नै भनिसकियो, भोकमरी उत्पादनको भन्दा वितरणको समस्या हो । जे भए पनि प्रदूषित माटो कालान्तरमा ठूलो खाद्य समस्या हो जसप्रति हरेक नागरिक सचेत र सचेष्ट हुनु जरुरी छ । अब यो खाद्य वा कृषि विभागहरूको प्राविधिक विषय मात्र रहेन ।

तर खाद्यवस्तु उत्पादनका प्रविधि र सवालमा जनसाधारणको चासो र ज्ञान घट्दै गएको छ । यो खाद्य शिक्षाको ठूलो सरोकारको विषय हो । प्राचीन मेसोपोटामियादेखि नै शिक्षा र खाद्यान्न उब्जाउने, प्रशोधन गर्ने कामलाई विपरीत ध्रुवका गतिविधिका रूपमा लिइँदै आएको पाइन्छ । जहिले पनि बृहत् परिदृश्यमा विश्व हेर्न सक्ने मानिसहरू खेतीपातीप्रति निरपेक्ष रहने र खेतीपातीमा लाग्ने मानिसहरू टाउको उठाएर हेर्न नपाउने अवस्था छ । खेती क्रमशः प्रकृतिसँग अन्तरक्रिया गरिने गतिविधिभन्दा विश्वका शक्तिशाली केही कम्पनीले आफ्नो नाफा कमाउन र नाफा सुनिश्चित गर्न गरिने गतिविधि भएको छ । यस्तो प्रणालीले हाम्रो खेतीपाती जुनसुकै बेला दुर्घटनामा पार्न सक्छ । खेतीपातीको आधारभूत ज्ञान जिउने वा मानव अस्तित्व कायम राख्ने अपरिहार्य सीपका रूपमा लिइनुपर्छ । कोभिड–१९ को महामारीले यो कुराको निकै स्पष्ट संकेत गरेको छ । हामी यसलाई पाठका रूपमा कति लिन्छौं, त्यसमै हाम्रो भविष्य निहित हुनेछ । यथार्थमा स्थानीय तहमा खाद्यवस्तु उब्जाउने सीपलाई हामीले यस्ता प्रलयजस्ता महामारीको पूर्वतयारीका रूपमा हेर्नु जरुरी छ । खानेकुरामा कति ध्यान दिने भन्ने कुरा हामी यसलाई कति गम्भीरतापूर्वक लिन्छौं भन्नेमै भर पर्छ ।

अर्को पक्ष हामी शिक्षाको प्रयोजन कसरी बुझ्छौं भन्ने हो । शिक्षालाई जीवन र जगत्का बारेमा बुझ्ने प्रक्रियाका रूपमा पैसा कमाउनुभन्दा पर र फरक बुझ्ने हो भने खाद्य शिक्षा अपरिहार्य नै हो । विद्यालय तहमा गृह विज्ञान, पाक शिक्षा र उच्च तहमा खाद्य प्रविधिजस्ता विषय पाठ्यक्रममा रहे पनि समग्र खाद्य शिक्षा अझ बृहत् र गम्भीर विषय हो । यो कृषि, वातावरण विज्ञान र समाजशास्त्र विषयहरूमा खप्टिएर आउँछ । यथार्थमा खानेकुरा उमार्नेदेखि पकाउनेसम्मको चक्र हेर्न हो भने यसले प्रकृति र संस्कृतिलाई एक ठाउँमा ल्याएर हेर्छ । भोजन शिक्षालाई यो खाकामा हेर्न पाइयो र सकियो भने अभिभावकसमेत समग्र गृहस्थी सिकाइ प्रक्रियामा संलग्न हुने अवसर र आवश्यकता प्रकट हुन्छ । बेलायतमा सन् २००८ देखि विद्यालयमा पाक शिक्षा पुनःस्थापित गरियो । यसलाई उमार्ने कामसँग जोड्न अभियानहरू चलिरहेका छन् । वैकल्पिक मानिएका स्टाइनर वा फ्रेनेजस्ता शिक्षा प्रणालीहरूको उमार्ने र पकाउने मूल विषयवस्तु र विधि हो । शिक्षामा खाना उमार्ने र पकाउने गतिविधि अनुभवमा आधारित सिकाइको प्रभावकारी माध्यम हो । यसले जनज्ञानलाई स्थानीय तहदेखि नै विकसित गराउन पनि मद्दत गर्छ ।

शिक्षालाई पैसा कमाएर जीवन धान्न सिक्ने एक मात्र प्रयोजनका रूपमा लिनेबाहेक जीवनका समस्या समाधान गर्ने उपायका रूपमा लिनेहरू वर्तमान शिक्षाका प्रक्रिया एवं विषयवस्तुप्रति आलोचनात्मक नै देखिन्छन् । नेपालसहित कति देशमा त यो पैसा कमाउन पनि नसक्ने माध्यम भएको छ । तैपनि औद्योगिक देशका शिक्षाकर्मी, शिक्षाविद् एवं शिक्षकहरू बिस्तारै शिक्षाले व्यक्ति र विश्वका वर्तमान समस्या समाधानमा योगदान गर्नुपर्छ भन्नेमा सहमत हुँदै आउँदै छन् । युरोप, अमेरिका र अस्ट्रेलियाका प्राथमिक विद्यालयहरूमा पनि शिक्षणकै एक भागका रूपमा करेसाबारी स्थापना गर्न थालिएको छ । हाम्रो देशमा पनि यदाकदा यस्ता कुरा हुने गर्छन् । ‘एक विद्यालय एक बगैंचा’ को अवधारणा नीतिगत रूपमा समावेश पनि भएको छ जसको जस अरू धेरै पक्षमा आलोचित रहेका शिक्षामन्त्रीले पनि लिन सक्छन् ।

कृषि विषयमै प्राविधिक तथा उच्च वा व्यावसायिक शिक्षाको चर्चा नगरौं । उत्तरी अमेरिकाका एकाध विश्वविद्यालयमा खाना र लुगा याने ‘फुड एन्ड फाइबर’ जस्ता विषयको पढाइ हुन थालेको देखिन्छ । हाम्रो कृषिको उच्च शिक्षा पनि यति फराकिलो बनाउन आवश्यक भइसकेको छ । कृषिको उपयुक्त ज्ञान नहुनुको परिणाम त धनीले भन्दा गरिबले धेरै भोग्नुपर्छ । काठमाडौंकै सम्भ्रान्तका सन्तान अध्ययन गर्ने युलेन्सजस्ता विद्यालयले यस दिशामा अग्रणी भूमिका खेलेका छन् । सार्वजनिक तहमा मदन राईको प्रयत्नमा गरिएको खोटाङमा रहेको विद्यालय पनि यसको उदाहरण हो । सुर्खेतको जनज्योति मावि पनि कृषि व्यवस्थाका रूपमा शिक्षण गराउन उदाहरणीय विद्यालयमा गनिन्छ । लगानी उच्च भए पनि सुर्खेतकै कोपिला भ्याली विद्यालय यस दिशातर्फको अर्को बलियो पाइला हो । यस पंक्तिकारको जानकारीमा नआएका अरू प्रयत्न पनि होलान् ।

नेपालमा खाडी तथा इजरायलजस्ता देशमा काम गरेर आएका केही युवा व्यावसायिक कृषि गर्न थालेका देखिन्छन् । तिनीहरू अझ समग्र भोजन शिक्षाका दृष्टिले अभिमुख हुन बाँकी नै छ । औद्योगिक देशहरूमा अरू क्षेत्रका युवा व्यवसायीहरू आफ्ना नगदी कर्पोरेट पदहरू छाडेर विशेष गरी वातावरणीय खेतीमा आउन थालेका छन् । त्यस्ता अरू विषयका विज्ञ युवा नयाँ कृषकहरूलाई सहयोग पुग्ने शिक्षाको अर्को खाँचो छ ।

(भट्टराई शिक्षानीति तथा अभ्यास केन्द्र तथा खाद्यका लागि कृषि अभियानसँग सम्बन्धित छन् ।)

प्रकाशित : आश्विन २६, २०७७ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?