कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

कलेजोलाई रक्सी मन पर्छ ?

राजेन्द्र कोजु

‘रक्सी खानुहुन्छ ?’ मैले सोधें ।

‘अँ, खान्छु ।’ अलि अप्ठेरो मान्दै उहाँले भन्नुभयो ।

‘कहिलेदेखि खानुभा’ ?’

‘धेरै भयो । ’

कलेजोलाई रक्सी मन पर्छ ?

‘अनि सधैं ?’

‘सधैं नै त होइन । बेलुका यस्सो ।’

‘ए, त्यसैले यस्तो भा’ हुन सक्छ ।’

२०५५ सालतिरको एउटा शनिबार । धुलिखेल अस्पतालको आकस्मिक कक्षमा म देखभेट भए पनि बोलचाल नभएका छिमेकी दाइलाई हेर्दै थिएँ । पेट डम्मै फुलेको । त्यसकै कारण सास फेर्न पनि गाह्रो भएको । राति राम्रोसँग सुत्न नसकेर, उहाँ बिहानै अस्पताल आइपुग्नुभएको थियो । जाँचेर हेर्दा पेटभित्र पानी थियो । हल्का जन्डिस पनि । म उहाँको मद्यपान आदतबारे सोध्दै थिएँ ।

उहाँले जिज्ञासा राख्नुभयो, ‘अनि रक्सीले पेट किन फुल्नु नि ?’

‘पेटमा पानी जम्मा भा’ छ, दाइ ।’

‘पानी ? रक्सी पनि पानी भएर जम्मा हुन्छ त ?’ बीचबीचमा सास रोकेर उहाँले सोध्नुभयो ।

अलिअलि, बुझाउन गाह्रो लागे पनि मैले कुराकानी गरिरहें । उहाँलाई पल्टिनै गाह्रो भएकाले पेटको पानी झिक्न आवश्यक सामग्री पनि तयार गर्दै थिएँ ।

‘हुन्छ नि दाइ, रक्सीले कलेजो बिग्रिन्छ । कलेजो बिग्रेपछि पेटमा पानी पनि भरिन्छ ।’

‘अब यो पानी के गर्ने नि ?’

‘अहिलेलाई झिकिदिन्छु । ’

‘अनि रक्सी खाएपछि पिसाब पो धेरै आउँछ त, पेटमा किन भरिन्छ नि ? पेटमा भरिए पखाला लाग्नुपर्ने होइन ?’

मैले नसोचेको प्रश्न तेर्सियो । एक छिन अकमक्क परें ।

‘रक्सी खाएको बेलामा पिसाब लाग्ने बेग्लै कारण हो । धेरै रक्सी खाएपछि कलेजो बिग्रिन्छ र पेटमा पानी जम्मा हुन्छ । पेटमा भनेको आन्द्राभित्र होइन नि, पखाला लाग्नलाई । आन्द्राबाहिर, पेटभित्र हो नि ।’ बुझेजस्तै गर्नुभयो दाइले ।

पेटको तल्लो भागमा पानी टन्नै भरिएको ठाउँमा सियो पसाई मैले पानी निकाल्ने तयारी गरें । सबै कुरा बुझाएपछि दाइ सहमत हुनुभयो ।

सलाइनको खाली बोतल भुइँमा राखें । सलाइन दिने आईभी सेट पनि तयार गरें । दुइटा ठूला सिरिन्ज पनि ठिक्क पारें, पानी जाँच्न पठाउन । सिरिन्जसहितको सियो घुसाउनासाथ, कहाँ निस्कूँ कहाँ निस्कूँ भएको पानी सरर सिरिन्जमा आयो । पानी जाँच्न दुइटामा तानेपछि, आईभी सेटमा जोडेर सलाइन बोतलमा जोडिदिएँ । दाइ सहन सक्ने हो कि टनटन पेटको अप्ठेरोले हो, सियोले घोच्दा ऐया–आत्था केही थिएन । पानी सरर तल झरेको हेर्न मैले नै अनुरोध गरें । हुन त दाइले पेटका लागि अन्त पनि देखाई उपचार गर्दै आउनुभएको थियो तर पानीचाहिँ निकाल्नुभएको थिएन । उहाँले पानी हेर्दै भन्नुभयो, ‘ओहो, यो त पिसाबजस्तै पो छ !’

‘अँ, रङ त्यस्तै छ ।’ फेरि मैले जिस्क्याएर थपें, ‘रक्सी निस्केको दाइ ।’

अलि बेरको हाम्रो कुराकानीले गर्दा वातावरण केही फरासिलो भैसकेको थियो । दाइले पनि जिस्केरै भन्नुभयो, ‘लानुपर्छ कि के हो ? भरे खान हुन्छ ।’

‘अहिले जिस्किहाल्नु भो, दाइ । अबदेखि चाहिँ रक्सी खानै हुन्न है ।’

यस्तो कुरा दाइले पहिले पनि सुन्नुभएको थियो होला, केही बोल्नुभएन । नसुनेझैं गरिरहनुभयो ।

एउटा बोतल भरिएपछि मैले अर्को बोतल थापें । कहिले सिस्टरसँग, कहिले दाइसँग अरू कुरा पनि गर्दै गरें । शनिबार बिहान खासै भीडभाड थिएन । राउन्ड पहिल्यै गरिसकेको थिएँ ।

‘दाइ, तपाईं रक्सीचाहिँ कति खानुहुन्छ ?’ उहाँले त्यति जवाफ दिन चाहनुभएन ।

फेरि सोधेपछि भन्नुभयो, ‘धेरै खान्नँ, एक–दुई गिलास ।’

‘कुन गिलास ?’ फेरि चुप लाग्नुभयो ।

‘स्टिलको कि सिसाको ?’

‘स्टिलको ।’

‘स्टिलको दुई गिलास भनेको माना एक भएन ?’

‘कहिलेकाहीँ त माना दुएक पनि हुन्छ नि,’ उहाँले खुल्दै भन्नुभयो ।

‘अनि त्यत्रो खान हुन्छ त ?’

‘खोइ, बानी लाग्यो ।’

‘अब नखानुस् है ? खाइराख्नुभयो भने त अहिले पेटमा पानी मात्र जम्यो, भोलि मुखबाट रगत’नि आउँछ, खुट्टा’नि सुन्निन्छ, जीउ’नि सुन्निन्छ, बेहोस’नि हुन्छ । पछि केही गर्न सकिन्न नि ।’ बुझेजस्तै गरेर उहाँले सुनिराख्नुभयो ।

त्यतिन्जेल तीनवटा सिसी भरिइसकेका थिए । दाइको पेट पनि घटिसकेको थियो । र, आउँदाभन्दा निकै आराम महसुस गरिराख्नुभएको थियो ।

‘ल दाइ, आजलाई यत्ति झिकें । फेरि बढेर गाह्रो भयो भने झिकौंला ।’ यसो भन्दै मैले सियो निकालेर राम्रोसँग टेप राखिदिएँ । सबैतिर सरसफाइ गरी हात धोएर आवश्यक औषधि र सुझाव लेखिदिएँ ।

बिदा हुने बेला फेरि अनुरोध गरें, ‘रक्सी नखानुस् है ?’ उहाँ हाँस्दै जानुभयो ।

पछि उहाँ नियमित फलोअपमा आउँदा थाहा पाएँ, रक्सी ठ्याम्मै छोडिदिनुभएछ । पछि पानी नै निकाल्नुनपर्ने गरी स्वस्थ भएर हिँड्न थाल्नुभएको थियो ।

०००

अहिले २०७७ साल । अझै पनि थुप्रै यस्तै बिरामी भर्ना भइरहन्छन् । चिकित्सक मित्रहरू सधैं सल्लाह दिइरहनुहुन्छ । कतिले मान्नुहुन्छ, कतिले मान्नुहुन्न, थाहा छैन । मद्यपान यथावत् छ । थोरै खाँदा तुरुन्तै कलेजो खराब नगर्ला । तर कलेजो बिग्रेका यति धेरै बिरामी अस्पताल आइराखेको देख्दा भने थोरै खाने बानी भएजस्तो बुझिँदैन । मद्यपानको मात्रा बढिरहेकै छ । रक्सी बजारमा झन् धेरै थरीका छन् । कसैले भन्नुहोला– ती दाइले लोकल खाएका थिए, हामी ब्रान्डेड खाइरहेका छौं ।तर रक्सी त रक्सी नै हो, लोकल खाऊँ कि ब्रान्डेड । कलेजोका लागि खराबै हो । रक्सी र सिरोसिस (कलेजोको खराबी) को सम्बन्ध गहिरो भएकाले मद्यपान सकेसम्म नियन्त्रण गरौं ।

(कोजु मुटुरोग विशेषज्ञ हुन् ।)

प्रकाशित : आश्विन २१, २०७७ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?