बलात्कारीलाई सजाय

नमिता पौडेल

कक्षा ५ मा पढ्ने मेरो छोरी बाल अधिकारसम्बन्धी पाठ पढ्दै थिइन् । एकै छिनपछि ‘बाल अधिकारभित्र केके पर्छ ?’ भनेर सोधिन् । कान्तिपुर दैनिककै ‘छोरीहरू कतिन्जेल असुरक्षित ?’ शीर्षक सम्पादकीय पढ्दै गरेकी मैले बुझेअनुसार भनें– पढ्न पाउनु, स्वतन्त्र भएर हाँस्न, खेल्न र डुल्न पाउनु नै बाल अधिकार हो ।

बलात्कारीलाई सजाय

नेपाली भाषा मज्जाले पढ्न जानिसकेकी छोरीले त्यो शीर्षक पनि पढिन्, म कालोनीलो भएँ । सधैंजसो बलात्कारका समाचारले पत्रिका भरिएको हुन्छ । एकातिर छोराछोरी समान हुन् भनेर वकालत गर्दै हिँड्नुपरेको छ, अर्कातिर छोरीलाई साङ्लो बाँध्न समाजले बाध्य पारेको छ । कतिन्जेल भन्नु– छोरी, तिमी पल्लो घरको दाइको काखमा नबस, त्यो अंकलको छेउमा नजाऊ, पसलको दाइले बोलाउँदा नसुनेझैं गर, टाइट लुगा नलगाऊ ... ! हिँड्न, बोल्न र हाँस्न पाउने उसको स्वतन्त्रतालाई मैले नै बाँध्दै छु ।

बलात्कारलाई समाजले एक प्रकारले मलजल गरिरह्यो । कानुनले पानी हाल्यो । अहिले यो ठूलो वृक्ष भएको छ । तीन महिनाको अन्तरालमा ६४२ करणी मुद्दा दर्ता हुनुले यसको जरा झन् गहिरिँदै गएको देखिन्छ । उस बेला रेडियोमा पोखरामा नमिता–सुनिताको बलात्कारपछि हत्या भएको घटनाबारे समाचार धेरै बजिरहन्थ्यो रे ! मेरा बुबाले अब आउने नमिताले यस्तो घटना भोग्न/सुन्न नपरोस् भनेर मेरो नामै नमिता राखिदिनुभएको रे ! तर त्यसको साढे तीन दशकपछि पनि त्यस्ता अमानवीय घटना भइरहेका छन् । निर्मूल हुने कुनै संकेत देखिँदैन । दिनहुँजसो मारिन बाध्य छन् दिदीबहिनी । यस्ता घटना सुन्न नपरोस् भन्ने बुबाहरू आज पनि छोरी जन्मिँदा त्रस्त छन् । यति धेरै बलात्कार भइरहँदा समाज, कानुन र राज्य यिनलाई रोक्न किन असफल भएका हुन् ? यो कस्तो सामाजिक संरचना हो जसले बालिका/महिलालाई असुरक्षित बनाइरहेको छ ? सामाजिकीकरण शोषण, हत्या, हिंसा र बलात्कारको प्रमुख कारक तत्त्व हो । मेरो छोरो कुनै अप्रिय घटनामा सामेल हुन्छ भने यहाँ दोषी समाज हुन्छ, मेरो संस्कार हैन । किनकि मेरो छोराको बढी समय मसँग भन्दा साथी, विद्यालय र अरू सामाजिक एजेन्टसँग बितिरहेको हुन्छ ।

अहिले बलात्कारको अभियुक्तलाई मृत्युदण्डको सजायको माग भइरहेछ । तर एउटालाई मृत्युदण्ड दिएर बलात्कार कम हुने होइन । घटना किन हुन्छ भनेर ‘रुट कज’ खोज्न जरुरी छ । माया–प्रेम, रिस–आवेग पनि व्यक्तिगत हैन । माया र आवेग कसरी उत्पन्न हुन्छ भन्ने कुरा हामी कस्तो समाजमा हुर्किएका छौं भन्नेले निर्धारण गर्छ । पुरुषले महिलालाई एक्लै भेटे बाटो छेकेर बलात्कारको प्रयास गर्ने र महिलालाई बचाउन हिरो आउने सिनेमा हेरेर हामी हुर्कियौं । धर्म, मिडिया र पाठ्यपुस्तकमा पनि यसरी नै महिलालाई कमजोर र पुरुषलाई बलियो बनाइएको छ ।

धर्मले मानव समुदायलाई बाँधेर राख्छ । सामाजिक मूल्यको निर्धारण धर्मले गरेको हुन्छ । हिन्दु धर्ममा श्रीमती–श्रीमान् सम्बन्धलाई भगवान् र दासका रूपमा व्याख्या गरेको पाइन्छ । पुरुषजति नै शिक्षित भए पनि महिला धर्ममा बाँधिन बाध्य छन् । गरुड पुराणले भन्छ– परिवारको हरेक क्रियाकलापमा छोराको आवश्यकता पर्छ न कि छोरीको । त्यस्तै मनुस्मृतिमा भनिएको छ– महिलाहरू केटाकेटीमा बाबुको बन्धनमा हुन्छन्, युवती अवस्थामा श्रीमान्को नियन्त्रणमा र बुढ्यौलीमा छोरामा निर्भर । हाम्रो समाजको ऐना यही हो । हरेक समय पुरुषले महिलालाई नियन्त्रण गर्ने भएपछि उसले लगाउने लुगा, बोल्ने भाषा अनि खास गरी शरीरलाई पुरुषहरूले पेवा ठान्न थाले । फलस्वरूप बालिकादेखि वृद्ध आमासम्मको लुगा, भाषा, योनि र प्राणमाथि हस्तक्षेप भइरहेको छ । हिन्दु धर्ममा महिलालाई शुद्ध–अशुद्ध अर्थात् देवी–बोक्सीको दोहोरो रूपमा हेरिन्छ । यी दुवै पाटामा महिलाहरू निकै दमित छन् । जस्तो कि, महिलालाई शुद्ध राख्न यौनाभ्यासलाई नियन्त्रण गरिन्छ अनि यो भंग हुँदा अशुद्ध ठानिन्छ ।

महिला देखेपछि आवेगमा आउनुपर्ने, नमाने एसिड छ्याप्ने, बलात्कार अनि हत्या गर्ने पुरुषको मानसिकता समाजले नै सेट गर्छ । जब माया र आवेग नै सामाजिकीकरणबाट निर्धारण हुन्छ, व्यक्तिविशेषलाई कुनै सजाय तोक्दा त्यो क्षणिक हुन पुग्छ । जरामा बिस्तारै विष हाल्न जरुरी छ र त्यो विष हो– विद्यालयका पाठ्यपुस्तक । यस्ता पाठ्यपुस्तक लैंगिक विभेदका विषयहरूले भरिएको हुनुपर्छ । नानी च्यापेको मात्र नभएर प्लेन उडाउँदै गरेका आमाको फोटो पनि राख्नुपर्छ । यसले हरेक छोरीलाई घरबाहेकको दुनियाँको कल्पना गर्न सिकाउँछ । खाना पकाउँदै गरेका बुबाको फोटो पनि राख्नुपर्छ, ताकि हरेक छोराले बुझून् खाना पकाउनु भनेको साझा काम हो । हरेक घटनाको पछि कामको बाँडफाँट र लैंगिक विभेदले पनि उत्तिकै भूमिका खेलेको हुन्छ ।

अब धर्मका शब्दहरूको पुनर्व्याख्या जरुरी छ । सिंगो समाज परिवर्तन हुनुपर्छ । आर्थिक, सामाजिक, राजनीतिक हरेक क्षेत्रले मुहार फेरे मात्र बालिकादेखि वृद्धासम्म सुरक्षित हुनेछन् । यसमा राज्यको भूमिका सबैभन्दा बढी छ । राज्यले मेरी छोरीलाई साँझमा घरबाहिर निस्केर खुला आकाश हेर्दै सपनाहरू बुन्न पाउने वातावरण र सुरक्षा दिनुपर्छ ।

प्रकाशित : आश्विन २०, २०७७ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?