कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कांग्रेसमा क्रियाशील सदस्यता

सदस्यता प्रणालीअनुसार न कांग्रेस ‘मास बेस्ड’ रह्यो न त ‘क्याडर बेस्ड’ हुनेछ ।
रञ्जित कर्ण

नेपाली कांग्रेस चौधौं महाधिवेशनको संघारमा छ । हामी कांग्रेसीहरूका लागि महाधिवेशन केवल नेतृत्व–चयन गर्ने अवसर मात्र होइन, पछिल्लो कार्यकालमा हामीले लिएको राजनीतिक बाटो, रणनीति, संगठन, देशी–विदेशी सबै राजनीतिको सामूहिक समीक्षा गर्ने थलो पनि हो ।

कांग्रेसमा क्रियाशील सदस्यता

कांग्रेसजस्तो पार्टीका लागि नीति र नेतृत्व दुवै तय गर्ने महाधिवेशन लोकतन्त्रको महाकुम्भ हो, जुन चार वर्षमा गरिनुपर्ने हो तर परिस्थिति यति प्रतिकूल हुँदै छ, पाँच वर्षमा पनि हुन्छ कि हुँदैन भन्ने आशंका बलियो बन्दै गएको छ ।

महाधिवेशनमा हामीले छलफल गर्नुपर्ने विषय धेरै छन् । तर महाधिवेशन नेता छान्ने मात्र होइन, विचार मन्थन गर्ने थलो पनि बन्नुपर्छ । हालै हामीले पार्टीजीवनमा दीर्घकालीन प्रभाव पर्ने तर जोखिमपूर्ण निर्णय गर्‍यौं– क्रियाशील सदस्यता दोब्बर गर्ने । यसपछि देशभरका इमानदार कांग्रेसजनले साझा प्रश्न गरिरहेका छन्– यति बेला किन क्रियाशील सदस्यता बढाउनुपरेको हो ? कांग्रेसमा अरूलाई सदस्यता दिनु हुन्न भन्ने होइन, तर यसबीच त्यस्तो के पर्‍यो, महाधिवेशनको मुखमा क्रियाशील सदस्यता दोब्बर गर्नुपर्ने भयो ? पहिलेदेखि हाम्रो क्रियाशील सदस्यता प्रणालीमै प्रश्न उठिरहेका बेला त्यही गल्ती किन दोहोर्‍याउनुपरेको हो ? यही निर्णयले गर्दा नीति र चरित्र दुवै समाप्त भई कांग्रेस अमुक शक्तिकेन्द्रको कब्जामा परे के हुन्छ ?

नेपाली समाजले यति बेला नेकपा सरकारबाट मुक्ति खोजिरहेको छ । तर यसको अर्को पाटोबारे इमानदारीपूर्वक भन्नुपर्छ– जनतामा सत्तारूढ दलप्रति यति विघ्न वितृष्णा भए पनि कांग्रेसप्रति पनि आकर्षण बढेको छैन । जनता यति बेला कम्युनिस्टभन्दा त कांग्रेस नै ठीक भनेर सोची मात्र रहेका छन्, कांग्रेस नै चाहियो भनिहालेका छैनन् । यस्तो बेला सदस्यता दोब्बर कसका लागि र किन ? यसबीच हामीले कुनै सांगठनिक गतिविधि गरेकाले कांग्रेसप्रति आम मान्छेको आकर्षण बढ्न गई सदस्यता थप्नुपरेको हो त ? उत्तर कसैसँग छैन । तर पनि पार्टीको शीर्ष नेतृत्वको यसमा एउटै बोली देखियो, जुन कांग्रेसका लागि दुर्भाग्यपूर्ण साबित हुने खतरा छ ।

गत निर्वाचनमा शीर्षनेताहरूकै क्षेत्रका कतिपय वडामा क्रियाशील सदस्यताभन्दा कम भोट पार्टीले पाएको छ । यो तीतो यथार्थको समीक्षा गर्न छोडेर सदस्यता थप गर्ने निणर्यले पार्टीलाई बलियो होइन, थप कमजोर बनाउँदै चरम गुटबन्दीमा लैजाने निश्चित छ । तसर्थ क्रियाशील सदस्यता शतप्रतिशत थप गर्ने निर्णयमा पार्टी पद कब्जा गर्ने बदनियत बढी देखिन्छ । यसो भनेर मैले उपल्लो तहमा रहेका कुनै नेताको मानमर्दन गर्न खोजेको होइन । पार्टी कमजोर बनाएर भए पनि आफू बलियो बन्न खोज्नु कांग्रेस नेतृत्वलाई सुहाउने प्रवृत्ति पटक्कै होइन ।

नेताहरूले बुझ्नुपर्‍यो, बलियो पार्टीको लोकप्रिय नेता हुने कि कमजोर पार्टीको बलियो नेता ? क्रियाशील सदस्यता बढाउने नेतृत्वको चाहनालाई सकारात्मक रूपले बुझ्न खोजौं भन्दा पनि ठाउँ देखिँदैन । बहुदलीय व्यवस्थापछि हामी औपचारिक रूपमा क्रियाशील सदस्यतामा गयौं, हरेक महाधिवेशनमा क्रियाशील बढायौं तर त्यस आधारमा आम निर्वाचनमा भोट बढेको देखिँदैन । लोकतान्त्रिक पार्टीलाई क्रियाशील सदस्यता वृद्धिले होइन, विचार, नीति, कार्यक्रम र राजनीतिक सक्रियताले जीवन्त र बलियो बनाउने हो । अझ हाम्रोजस्तो ‘मास बेस्ड’ पार्टीले विचार र कार्यक्रमलाई छोडेर क्रियाशील सदस्य मात्र बढाउनु भनेको एक हिसाबले कांग्रेसलाई विसर्जनतिर लैजानु हो । सबैलाई थाहा छ, महाधिवेशनको मुखमा बाँडिने क्रियाशील सदस्यता कांग्रेसप्रति आस्था र विश्वास भएर राजनीतिमा आउन चाहने र पार्टीमा सक्रिय भएकाहरूलाई होइन, गाउँ तहदेखि गुटका आधारमा पार्टी संगठन आफूअनुकूल बनाउन भाइ, भतिजा, काका, मामा र सालासालीलाई वितरण गरिनेछ । अझ खतरनाक कुरा, कांग्रेसको चरित्र नभएकाहरूले साम–दामको प्रयोग गरेर गाउँदेखि नै पार्टी कब्जा गरे भने परिणाम के हुन्छ ? कांग्रेस बाहुबल वा धनको प्रयोग गरेर बनेको पार्टी होइन; यो त विचारको त्रिवेणी हो, सिद्धान्तको धाम हो । यसरी बोरामा बोकेर बाँडिएका क्रियाशील सदस्यता पाउने कतिले कांग्रेसको विचार र सिद्धान्त बुझेर सदस्यता लिएका होलान् ? प्रश्न गम्भीर छ ।

कांग्रेसको तेह्रौं महाधिवेशनका लागि स्वीकृत कुल क्रियाशील सदस्यको संख्या ४ लाख ७० हजार ६ सय ५५ थियो । बाह्रौं महाधिवेशनका ३ लाख १३ हजार ८ सय ३६ क्रियाशील सदस्यमध्ये २ लाख ५७ हजार ४ सय २ जनाले नवीकरण गरेका थिए भने तेह्रौं महाधिवेशनका लागि कुल २ लाख २ हजार १ सय ७९ जनाको नयाँ क्रियाशील सदस्यता स्वीकृत भएको थियो । पार्टीको आधिकारिक तथ्यांक हेर्ने हो भने, अहिले नवीकरण नगर्ने क्रियाशील सदस्यको संख्या ५९ हजार ४ सय ६४ छ । तेह्रौं महाधिवेशनमा ४ लाख ७० हजारभन्दा बढी रहेको क्रियाशील सदस्यता अब दोब्बर कसका लागि बनाइँदै छ ? यसरी क्रियाशील सदस्यता दिनुपर्ने गरी ती कांग्रेसको कुन अभियानमा सक्रिय भए ? यसबीच पार्टी स्वयं निदाएका बेला सदस्यता लिन चाहनेहरू सक्रिय भए भनेर कसरी विश्वास गर्ने ?

हामीले हाल साधारण र क्रियाशील गरी दुई प्रकारका सदस्यताको व्यवस्था गरेका छौं । यस्तो सदस्यता प्रणालीअनुसार न हामी ‘मास बेस्ड’ रह्यौं, न त ‘क्याडर बेस्ड’ हुनेछौं । संघर्षकालमा बनाएको सदस्यता संरचनाले अब काम गर्दैन । समाज र अर्थ राजनीतिमा आएको परिवर्तनले गर्दा संगठनात्मक संरचनामा ठूलो फेरबदल चाहिएको छ । अर्कातर्फ, २०४८ सालपछिको ढोका बन्द गरेर संगठन गर्ने प्रवृत्तिबाट मुक्ति चाहिएको छ । केही साथीहरूको राय क्रियाशील सदस्यतालाई अझ फिल्टर गरौं भन्ने छ । अर्को उपयुक्त विकल्प हुन सक्छ– दुई प्रकारका सदस्यता खारेज गर्नु, पार्टी सदस्यता खुला गर्नु र यसरी बनेका सदस्यहरूले पार्टीको तल्लो तहका समितिहरू तथा महाधिवेशन प्रतिनिधिहरूलाई चुन्ने व्यवस्था गर्नु । यसबारे छलफल आवश्यक छ ।

विचार लोकतान्त्रिक तर सांगठनिक संरचना कम्युनिस्टको जस्तो बनाएर न कांग्रेस रहन्छ, न त कांग्रेस रहनुको अर्थ । कांग्रेस केवल पार्टी होइन, लोकतान्त्रिक आन्दोलनको नाम पनि हो । यी सबै विषयबारे बहस गर्ने उपयुक्त थलो महाधिवेशन नै हो । को सभापति बन्ने, को महामन्त्री बन्ने गौण विषय हो । कांग्रेसको सांगठनिक संरचना, हाम्रो विचार र कार्यक्रम अनि कार्यशैली जनताले खोजेजस्तो लोकतान्त्रिक बनाउन सक्यौं भने मात्र नयाँ नेतृत्वले पनि काम गर्न सक्छ । अहिलेकै अवस्थामा जो सभापति भए पनि सानेपाको भित्तामा एउटा अर्को फोटो थप्ने काम मात्र हुनेछ ।

हामी महाधिवेशन आउनुभन्दा महिनौंअगाडिदेखि को नेता बन्ने भन्ने दौडमा लाग्छौं, तर कस्तो नीति, कार्यक्रम र संगठन भनेर बहस गर्नमा रुचि नै छैन । विचारशून्य लोकतान्त्रिक पार्टी हुनु र नहुनुले समाज र देशका लागि के अर्थ राख्छ र ? क्रियाशील सदस्य बढी बनाएर पार्टीको चुनाव जित्न कसैलाई सजिलो त होला, तर के त्यसले राजनीति जिताउँछ ? आफ्नै इतिहास हेरौं । सदस्य कम भएका बेला चुनाव जितेका छौं, कतिपय बेला चुनाव हारेर पनि राजनीति जितेका छौं । अहिले हामीसँग लाखौं सदस्य छन्, ठूलठूला नेता छन् तर न चुनाव जित्यौं न त राजनीति । यस्तो कसरी भयो ? बहस गर्ने कि नगर्ने ?

२०१५ सालको चुनामा कांग्रेसका कति क्रियाशील थिए होलान् ? तर जनताले दुईतिहाइ मत दिएका थिए । जनमतसंग्रहमा हारियो तर राजनीतिमा कांग्रेसको हार भएन, बरु बिस्तारै प्रजातन्त्रले जित्ने र राजा झुक्ने माहोल बन्दै गयो । हामीले २०६४ को पहिलो संविधानसभा निर्वाचनमा पनि नमिठो पराजय भोग्यौं, तर हाम्रो राजनीति हारेन, शान्ति प्रक्रियाको लक्ष्य हारेन । पछिल्लो आम चुनाव हामीले नै गराएका हौं, संविधानको कार्यान्वयन हामीले नै गरेका हौं, तर पनि किन पराजित भयौं ? चुनावमा हामीले नाम र झन्डा त कांग्रेसको बोक्यौं तर केहाम्रो विचार, सिद्धान्त र चरित्र कांग्रेसको जस्तो देखायौं ? सबैले छातीमा हात राखेर समीक्षा गरौं, के हाम्रो कार्यशैली कांग्रेस भन्नलायक छ ? कि हामी नेपालमा बदनाम भएका कम्युनिस्टभन्दा पनि एक कदम पछि छौं ?

देशलाई होस् वा कांग्रेसलाई, अहिले ठूलो कार्यकर्ता समूह चाहिएको छैन । कांग्रेसले ठीक नीति लिए कांग्रेसको सदस्यता नलिएका जनताले पनि यसलाई मत र मन दिन्छन् । नीति नै खराब र अस्पष्ट बोकेर हिँडिरहे जनता त के, पार्टी सदस्यता लिएकैले पनि भोट हाल्दैनन् । भोट पनि नहाल्ने क्रियाशील सदस्यताको भीड बोकेर हामी कस्तो पार्टी, कस्तो समाज निर्माण गर्न खोजिरहेका छौं ? छलफलका लागि पार्टी तयार हुनुपर्छ ।

(कर्ण नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष हुन् ।)

प्रकाशित : आश्विन २०, २०७७ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?