२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

‘तिमी भाग्यमानी, छोरी त छैनन् !’

‘छोरी भएर जन्मिनु अभिशापै हो भने, बरिलै नजन्माइदेऊ सृष्टिले !’ साँच्चै मार्मिक लाग्छ मलाई यो गीतिपंक्ति । हुन पनि कस्तो यौनजन्य विकृति बढिरहेको हो हाम्रो समाजमा ! पाँच वर्ष पुग्न नपाउँदै बलात्कृत हुँदै छन् बालिकाहरू । प्रायः प्रत्येक दिन समाचारमा पढ्नै/सुन्नै नसकिने घटनाहरू हुन्छन् ।

‘तिमी भाग्यमानी, छोरी त छैनन् !’

पाँच वर्ष, सात वर्ष, दस वर्ष, बाह्र वर्षका बालिकाहरूलाई नरपिचासहरूले निमोठिरहेका छन् । कतिपय आफ्नै परिवारकै सदस्यबाट बलात्कृत भइरहेका छन् । कतिलाई प्रलोभनमा पारेर त धेरैजसोलाई जबरजस्ती नै गरेको देखिन्छ । अझ दुःखलाग्दो कुरा, पहिले घटनालाई ढाकछोप गरिन्छ । हुँदै नभए धम्की र त्यो पनि नभए आर्थिक प्रलोभन देखाइन्छ । गाउँमै मिल्न नसकेका घटना प्रहरीसमक्ष पुग्दा कहिलेकहिले प्रहरीले नै उजुरी लिन मान्दैन । कतै पञ्चायत बोलाएर पनि मिल्न दबाब दिइन्छ । पञ्च बसेर मिलापत्र गराउँदा कतिपय त पीडित परिवारका सदस्य नै मिल्न खोज्दा रहेछन् । उनीहरूलाई इज्जतको सवाल हुने रहेछ यो ।

मैले हेरेको एउटा भिडियोमा बलात्कृत बालिकाकी आमा भन्दै थिइन्, ‘अहिले मिलापत्र नगरेर के गर्नु, भोलि ऊ छुटिहाल्छ ! खुलेआम हिँड्छ । बदनाम गर्छ । हाम्री छोरीको बाटो छेक्छ । छोरीलाई बाँच्नै गाह्रो बनाइदिन्छ । त्यस्तो अवस्थामा हाम्री छोरीसँग कसले बिहे गर्छ ? हामीले गुपचुप नमिलाए त सुखै छैन ।’ प्रायः घटना यसरी नै मिलाइन्छन्, यो पीडितको बाध्यता हो । पीडित पीडकसँगै मिल्न किन बाध्य भए त ? किनकि कानुन फितलो छ । बलात्कारीलाई जन्मकैद वा मृत्युदण्ड हुने हो भने कोही पनि उजुरी गर्न र सजाय दिलाउन पछि पर्दैनथ्यो । गुपचुप नमिलाए पीडितलाई भोलिका दिनमा झनै पीडा हुन्छ । बलात्कारी छुटेर आएपछि गाउँमै छाती फुकाएर हिँड्ने, दागा धर्ने, बदनाम गराउनेजस्ता सम्भावनाका कारण पीडितहरू डराउँछन् । यसरी बलाकात्कारीलाई प्रोत्साहन मिल्दै जान्छ ।

सुनसरी बस्ने एक साथीका दुई छोरी छन् । मेसेन्जरमा एक दिन कुरा हुँदै गर्दा मैले सोधें, ‘के छ नानीहरूको खबर ? अनलाइन क्लासमा कत्तिको रमाउँदै छन् कि दिक्क छन् ?’

‘दिक्क त भैहाल्छ नि ! हामीलाई त दिक्क भैसक्यो । केटाकेटी झनै बन्दी अवस्थामा छन् । डरैडर छ जताततै । छोरीको लागि त झनै केही गर्दा सुख छैन । छोरी सम्झेर त मलाई जहिलेसुकै डरै मात्र लाग्छ ।’

मलाई कताकता चस्स बिझ्यो । मैले उनको भनाइको तात्पर्य बुझिसकेकी थिएँ । उनले अगाडि भनिन्, ‘तिमी भाग्यमानी, तिम्रा त छोरी छैनन् ।’ म केही बोल्नै सकिनँ । के उत्तर दिनु ? केही समयअगाडिसम्म बाबुआमा छोरी चाहँदैनथे । हजुरबुबा र हजुरआमा नातिनी चाहँदैनथे । छोरी जन्मिँदा ‘ए छोरी पो !’ भनेर ओठ लेप्र्याउनेहरू प्रशस्त हुन्थे । छोरैको आशामा छ–सात छोरी जन्मिइरहँदा पनि उनीहरू कोसिसैमा लागिरहन्थे । अझ त्यति गर्दा पनि छोरा नजन्मे दोस्र्रो विवाह गर्थे । गर्भवती आमालाई सधैं डर हुन्थ्यो, आफ्नो गर्भमा छोरी त छैन भनेर । छोरी भए श्रीमान्ले सौता ल्याउने र सासू–ससुराको टोकसो सुन्नुपर्ने, समाजले लाञ्छना लगाउने डर । अझ कति त छोरा नजन्मे स्वर्गको ढोका नखुल्ने कुरा गरेर मानसिक तनाव थपिदिन्थे । तर अब त्यो जमाना छैन, छोरा नजन्मँदैमा स्वर्गको बाटो नखुल्ने, श्रीमान्‌ले सौता हाल्ने र समाजले लाञ्छना लगाउने कुरा सायदै कसैको मनमा आउँछ । तैपनि छोरी जन्मिँदा त्रस्त हुनुपर्ने किन ? मेरी साथीले भनेजस्तै, छोरीहरू भएकै कारण त्यति धेरै त्रस्त हुनुपर्ने हो त ? अहिलेको परिस्थिति हेर्दा उनको चिन्ता जायज छ । दुई घर पर्तिर रहेको किरानापसलमा ललिपप किन्न गएकी छोरी सकुशल फर्किन्छे कि फर्किन्न ? डिग्री हासिल गरेर उत्साहका साथ सर्टिफिकेट लिन गएकी छोरी च्यातिएका लुगा सम्हाल्दै घर आइपुग्छे या कतै नालीमा फालिएकी भेटिन्छे कि ? गल्लीगल्लीमा ब्वाँसाहरू बसेका हुन्छन् । अनि उनी चिन्तित किन नहोऊन् ?

अहिले फेरि गर्भवती महिलाले डराउनुपर्ने अवस्था फर्केको छ । कतै पेटमा छोरी त छैन ? तर यो डर पति, सासू–ससुराको या समाजको होइन, भोलि ऊ बलात्कृत होली कि भन्ने कुराको हो । निर्मला पन्तको हत्यारा यतिका समयसम्म पत्ता लाग्न सकेको छैन । यसैबीच कैयौं बालिका बलात्कृत भए । फेरि अहिले मुटु नै काम्ने अर्को बलात्कार र हत्याको घटना सुनिँदै छ । बाह्र वर्षकी सम्झनाका बारेमा आएका समाचारहरू पढ्न/सुन्न सकिने खालका छैनन् । कुनै बलात्कारी पक्राउ परे र छुटे, कोही राजनीतिक संरक्षणमा खुलेआम घुमिरहेछन् । यस्तो अवस्थामा हामीले आफ्ना छोरीलाई कसरी सुरक्षित राख्ने ? सम्झनाको बलात्कारी र हत्यारा पक्राउ परेको समाचार पढ्न पाइएको छ । ऊ पनि अरू बलात्कारीझैं नछुटोस् । राजनीतिक संरक्षण नपाओस् । आखिर बलात्कारीलाई संरक्षण नै किन गरिन्छ ? एउटा बलात्कारी कसको र केका लागि आवश्यक हुन्छ र छुट्छ ? कडाभन्दा कडा कानुन किन बनाइँदैन ? कानुन कडा बनाउने हो भने निर्मला र सम्झनाजस्ता कैयौं कोपिला चुँडिनबाट जोगिने थिए कि ?

[email protected]

प्रकाशित : आश्विन १९, २०७७ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?