फ्लाइओभर हुन्न जामको विकल्प

आशिष गजुरेल

सामान्य अवस्थामा करिब १२ लाख सवारी साधन गुड्ने काठमाडौं उपत्यकामा हालका वर्षमा सवारी व्यवस्थापन निकै ठूलो चुनौती बन्दै आएको छ । बढ्दो सवारीका कारण उत्पन्न समस्या तत्काल समाधान हुने देखिँदैन । हुन त अहिले जोर–बिजोर आदिका कारण सवारी अव्यवस्थापन अनुभव गरिएको छैन, तर सामान्य अवस्थामा आएपछि यो समस्या ज्यूँका त्यूँ रहनेछ ।

फ्लाइओभर हुन्न जामको विकल्प

कोटेश्वर, बानेश्वर, चाबहिल, गौशाला, कलंकी, जडीबुटी, महाराजगन्ज, सिंहदरबार लगायत उपत्यकाका प्रमुख चोकहरूमा जाम अत्यधिक हुने गर्छ । कलंकीमा सुरुङ निर्माण भएपछि तत्कालका लागि केही सहजता आएको छ । अन्य स्थानमा भने समस्या उस्तै छ ।

सामान्यतः चौडा सडक, सुरुङ, फ्लाइओभर वा थप लेन निर्माणबाट सवारी जामको समस्या हटाउन सकिने आम बुझाइ छ । तर धेरै देशको अनुभव हेर्दा यस्ता संरचना मात्र समाधानका उपाय होइनन् । दीर्घकालीन समस्या समाधानका लागि गहिरो बहस र विश्लेषण हुनु जरुरी छ । हालै नेपाल सरकारले कोटेश्वरको जाम व्यवस्थापन गर्न भक्तपुर जाने सडकमा लेन थप्ने र सात–आठवटा चोकमा फ्लाइओभर बनाउने तयारी गरेको छ । तीमध्ये एकान्तकुना, ग्वार्को र सातदोबाटोमा नेपाल सरकारको स्रोतबाट निर्माण प्रक्रिया अगाडि बढेको पनि छ ।

तर कोलम्बियाको बोगोटाका पूर्वमेयर तथा ट्राफिक योजनाकार एनरिके पेनालोजाकाको ‘ट्राफिक समस्या समाधानका लागि सडक चौडा बनाउनु भनेको आगो निभाउन मट्टीतेल प्रयोग गर्नुजस्तै हो’ भन्ने भनाइ हेर्दा, त्यो मात्र सडक व्यवस्थापनको उपाय होइन । चौडा सडकका कारण सवारी साधनको संख्या बढेर ट्राफिक जाम उस्तै हुन थाल्छ । सवारी साधनको संख्या नबढ्ने हो भने अहिलेकै सडकले दीर्घकालीन रूपमा ट्राफिक व्यवस्थापन गर्न सक्छ । तर यो सम्भव छैन । गाडी आयातमा रोक लगाउने अवस्था पनि छैन । दिन–प्रतिदिन सवारी साधनको संख्यामा वृद्धि हुने भएकाले ट्राफिक समस्या फेरि आउने निश्चित छ ।

त्यसो भए उपाय के त ? संसारमै ट्राफिक व्यवस्थापनका लागि सडक विस्तारका साथसाथै सार्वजनिक सवारी साधनको राम्रो विकास र यसको क्षमता वृद्धि नै उपयुक्त माध्यम मानिएको छ । हालसालै काठमाडौंका सडकहरू चौडा गरिनुलाई ठूलो उपलब्धि मान्नुपर्छ । अब यस्तो निकाय चाहिएको छ जसले सार्वजनिक यातायातको विकास र यसको क्षमता वृद्धिमा ठोस कार्यक्रम ल्याउन सकोस् । आज संसारभरि नै ट्राफिक जाम हटाउन निजी गाडीको नियन्त्रण प्राथमिकतामा परेको छ । विकसित राष्ट्रमा सवारी साधनको राम्रो व्यवस्था हुँदा त्यहाँको ट्राफिक समस्या हल नै भएको देखिन्छ । सडक आउजाउको माध्यम हो । सडक भनेको सवारी साधन, पैदलयात्री, साइकलयात्री सबैको साझा थलो हो । निजी सवारी साधन हुनेहरूले निकै थोरै जनसंख्याको प्रतिनिधित्व गर्छन् । तर राजनीतिक शक्तिहरू उनीहरूकै हितमा निर्णय गर्छन्, किनकि उनीहरूसँग पहुँच र प्रभाव छ । त्यसैले सडकको विकास निजी सवारीलाई प्राथमिकतामा राखेर गर्ने गरिन्छ । तिनकै लागि सडक चिल्लो र चौडा बनाइन्छ तर पैदलमार्ग साँघुरा र सडक बनाएपछि मात्र बनाउन सुरु गरिन्छ । सुरक्षाका दृष्टिले पनि पहिले पैदलमार्ग बनाउनुपर्ने हो ।

ट्राफिक इन्जिनियरिङको सामान्य सिद्घान्तअनुसार जब सवारीसाधनका लागि सडक साँघुरा हुन्छन् तब सडकमा थोरै संख्यामा सवारी साधनको उपस्थिति हुन्छ । चौडा सडक भयो भने मानिसहरू निजी सवारी लिन उत्प्रेरित हुन्छन् किनभने ट्राफिक जाम कम हुन्छ र मानिसहरू आनन्दका साथ ड्राइभिङ गर्छन् । यसरी फेरि ट्राफिक जाम सुरु हुन्छ । त्यसपछि फेरि सडक चौडा गर्न सम्भव हुन्छ त ? जमिन सीमित हुन्छ । त्यसैले चौडा गर्ने कार्य पनि केही समयपछि टुंगिन्छ । व्यवस्थित र वैज्ञानिक ट्राफिक व्यवस्थापन र सडक चौडा गर्ने कार्य सँगै लैजानुपर्छ । यी विषयहरूमा जिम्मेवार निकायले बेलैमा ध्यान दिनुपर्छ । ट्राफिक इन्जिनियरिङका दृष्टिले यस्तो नीति विकास गर्नुपर्छ जसले निजी गाडी किन्नलाई निरुत्साहित र सार्वजनिक यातायातको प्रयोगलाई प्रोत्साहित गरोस् । सडकमा सवारी साधन कम भए भने व्यवस्थापनमा निकै सजिलो हुन्छ । नेपाल यस्तो देश हो, एक्काइसौं शताब्दीमा पनि जहाँका ट्राफिक प्रहरीले हात र सिटीका भरमा ट्राफिक व्यवस्थापन गर्छन् । यस्तो देशमा चौडा सडकले झन् ट्राफिक समस्या मात्रै होइन, दुर्घटना पनि बढाउने सम्भावना हुन्छ ।

अचेल मोटरसाइकलको बढ्दो संख्या पनि अर्को चुनौती बनेको छ । मोटरसाइकल भएकाहरूलाई सार्वजनिक यातायात प्रयोग गर्न उत्प्रेरित गर्न सक्नुपर्छ । मोटरसाइकल चढ्दा बर्खामा झरी, गर्मीमा पसिना र जाडोमा सिरेटो सहनुपर्ने भए पनि विश्वासिलो सार्वजनिक यातायातको अभावमा त्यो बाध्यता त्याग्न चाहँदैनन् कोही । सार्वजनिक यातायात भरपर्दो भए उनीहरूले माध्यम परिवर्तन गर्न सक्छन् । विकसित देशहरूको उदाहरण यस्तै छ । सडक योजनाहरू पुरानै संरचनामा केन्द्रित हुनुले हामी समयको गतिबमोजिम चल्न नसकेको देखाउँछ । हामीले निकै प्राथमिकता दिएको फ्लाइओभर अवधारणासमेत अहिले पुरानो भइसकेको छ । ग्लोबल रिसर्च इन्स्टिच्युटका रेजित म्याथ्युजका अनुसार, फ्लाइओभरहरूले समस्यालाई केवल अर्को ट्राफिक चोकमा धकेल्छन् अनि फ्लाइओभर बनाइए केही वर्षभित्रै सवारी र मानिसको भीड हुन थाल्छ, त्यसपछि अर्को फ्लाइओभरको योजना बनाउनुपर्ने हुनेछ ।

त्यसैले कोटेश्वरमा फ्लाइओभर बन्नु भनेको त्यहाँको समस्या उत्तरतिरको तीनकुने र पूर्वतिरको बालकुमारीमा सार्नुजस्तै हो । कुनै बेला फ्लाइओभर निर्माणको अभियानै चलाएको दक्षिण कोरियालाई अहिले ती बोझ साबित भएका छन् । सोलमा फ्लाइओभरहरू भत्काउन थालिएको छ । यसबाट फ्लाइओभर यातायात व्यवस्थाको दीर्घकालीन समाधान नरहेको बुझिन्छ । पूर्वाधारको विकास (जस्तै : लेन थप्ने वा चौडा बनाउने) र सार्वजनिक यातायातको विकासलाई सँगै अघि लानु आवश्यक छ । आर्थिक स्रोतका कारण यी दुवै उपाय अपनाउन नसकिए सार्वजनिक यातायातको विकास पहिलो रोजाइ हुनुपर्छ । सरकारका योजनाहरूमा काठमाडौंमा मेट्रो रेल प्रणाली निर्माण रहेको पनि ख्याल गर्नुपर्छ ।

(गजुरेल यातायातविज्ञ हुन् ।)

प्रकाशित : आश्विन १८, २०७७ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?