जयद्रथको कथा र नेपाली राजनीति- विचार - कान्तिपुर समाचार

जयद्रथको कथा र नेपाली राजनीति

नेपाली राजनीतिमा पाण्डवहरू छैनन् । यहाँ यस्तो महाभारत छ, जहाँ कौरवहरूबीच मात्र सत्तासंघर्ष चलिरहन्छ ।
सम्झना वाग्ले भट्टराई

केही महिनाअघि, कांग्रेस नेता प्रदीप गिरिले मन्त्री पदका जिम्मेवारी र अप्ठ्याराको सन्दर्भलाई लिएर नेकपा नेता घनश्याम भुसाललाई ‘महाभारतको युद्धमा चक्रव्यूहमा प्रवेश गरेका अभिमन्यु’ सँग तुलना गरेका थिए । प्रत्युत्तरमा भुसालले आफू ‘अभिमन्युजस्तै चक्रव्यूहमा प्रवेश गरेको भए पनि’ सुरक्षित बाहिर निस्कन सक्षम रहेको, किनकि ‘यहाँ जयद्रथ छैनन्’ भनेका थिए । अभिमन्यु र चक्रव्यूहसँग जोडिएर आएका जयद्रथबारे पहिले संक्षिप्त चर्चा गरौं ।

कौरवसँगको जुवामा सर्वस्व हारेपछि पाण्डवहरू वनवासमा थिए । त्यसै समयमा जयद्रथले पाण्डवपत्नी द्रौपदी अपहरणको प्रयास गरे । ज्ञात होस्, दुर्योधनकी बहिनी दुःशलासँग बिहे गरेका सिन्धु नरेश जयद्रथ पाण्डवहरूका पनि ज्वाइँ पर्थे । द्रौपदी अपहरण गरी लैजाँदै गर्दा पाण्डवहरूले उनलाई रोके । लडाइँ भयो, पाण्डवहरूको विजय भयो । पाण्डवहरूले जयद्रथको केश मुण्डन गरी छाडिदिए । हारपछि जयद्रथले महादेवको तपस्या गर्न थाले । खुसी भएका महादेवले उनलाई मागेअनुसार पाँचै पाण्डवमाथि विजयको नभई अर्जुनबाहेकका चारभाइलाई एक दिन युद्धमा रोक्न सक्ने वरदान दिए ।

पछि महाभारत युद्धमा जयद्रथ कौरवको पक्षबाट लडाइँमा थिए । गुरु द्रोणाचार्यले नेतृत्व गरेको लडाइँको एक दिन धनुर्धारी अर्जुन सुशर्मासँगको लडाइँमा युद्धमोर्चाभन्दा टाढा गएका थिए । त्यसै दिन गुरु द्रोणाचार्यले बनाएको चक्रव्यूहमा अर्जुनपुत्र अभिमन्यु प्रवेश गरे, चारभाइ पाण्डवसहित अन्य सेनालाई भने जयद्रथ लगायतले बाहिरै रोकिदिए । त्यसै चक्रव्यूहमा एक्ला अभिमन्यु कौरव सेनाबाट मारिए । कथाअनुसार, चक्रव्यूहभित्र युद्धको आधारभूत नियम पनि उल्लंघन गरिएको थियो । यसै प्रसंगलाई खराबहरूको घेराबन्दीमा इमानदार व्यक्तिको संघर्ष र दयनीय हारसँग जोडेर अभिमन्यु र चक्रव्यूहको कथा भन्ने गरिन्छ ।

अहिलेसम्मको सार्वजनिक छविका आधारमा घनश्याम भुसालसँग अपेक्षा र विश्वास गर्ने मानिस प्रशस्त छन् । लामो समयदेखि सत्तामा जानेहरूको इतिहासका आधारमा मन्त्री बनिसकेपछि भुसालको समाजवादी सिद्धान्त व्यवहारमा खरो उत्रन नसक्ने हो कि वा उनको क्रान्तिकारी चिन्तन भुत्ते बन्ने हो कि भन्ने चिन्ता उनीप्रति अपेक्षा र विश्वास गर्नेहरूमा आउनु स्वाभाविक हो । सायद कांग्रेस नेता गिरिको त्यो अभिव्यक्तिको चासो पनि यही हो । भुसाल मन्त्री बनेको झन्डै एक वर्ष भैसकेको छ । मन्त्रीका रूपमा उनको कार्यसम्पादन मूल्यांकन गरिहाल्ने समय भैसकेको छैन । तर सुरुआती लक्षणहरूका आधारमा उनी, गिरीले भनेझैं, चक्रव्यूहमा फस्दै गएझैं लाग्छ । यसका संकेतहरू सञ्चारमाध्यममा आइसकेकै छन् । भुसाल चक्रव्यूहको रहस्य बुझेर र यसलाई स्विकारेर नै गएका थिए वा यसलाई तोडेर बाहिर निस्कने हैसियत राख्छन् र मौका कुरेर बसेका छन् वा उनी स्वयंलाई चक्रव्यूहमा फसेको आभास नै भएको छैन, त्यसको सबैभन्दा वस्तुगत उत्तर उनैले दिन सक्छन् ।

भुसालको ‘यहाँ जयद्रथ छैनन्’ भन्ने भनाइमा विश्वास गर्न गाह्रो हुन्छ । आम मान्छेका आँखाबाट हेर्दा त किनकिन अहिलेसम्मका अधिकांश शासकका चरित्रहरू महाभारतका धृतराष्ट्र, दुर्योधन, दुःशासन आदिकै जस्तै लाग्छन् । हालै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल थप्ने सन्दर्भमा जे देखियो त्यसमा पनि ‘जयद्रथ’ प्रवृत्ति नै हावी लाग्छ । आम मान्छेले देख्ने यत्रतत्र सलबलाएका ‘जयद्रथ’ लाई भुसालले किन देख्दैनन् ? कि उनलाई ‘अभिमन्यु’ देख्नु आम मानिसको दृष्टिदोष हो ?

पूर्वीय सभ्यता तथा संकथनहरूमा राजनीतिलाई महाभारतसँग तुलना गर्ने गरिन्छ । महाभारत कथाका पाण्डवहरू सत्य र इमानदारीको पर्यायका रूपमा अर्थात् विधिको शासनमा विश्वास गर्ने एवं कौरवहरूलाई झुट र छलको पर्यायका रूपमा अर्थात् स्वार्थवश विधिको उल्लंघन गर्ने पात्रका रूपमा व्याख्या गर्ने गरिन्छ । यद्यपि महाभारत कथालाई मिहिन ढंगले र विविध दृष्टिले विश्लेषण गर्दा निष्कर्षहरू धेरै फरक देखिन सक्छन् । त्यसो त नेपाली राजनीतिमा पाण्डवहरू छैनन् । यहाँ यस्तो महाभारत छ, जहाँ कौरवहरूबीच मात्र सत्तासंघर्ष चलिरहन्छ ।

दृष्टान्तहरू छरपस्ट छन् । राष्ट्रिय सभा सदस्यको चयनमा पार्टीहरूले सुरुआती चरणदेखि नै संविधानको धज्जी उडाए । चुनावी घोषणापत्रमा गरिएका वाचालाई पनि मजाक बनाए । घोषणापत्रमा संविधानले व्यवस्था गरेअनुरूप जनप्रतिनिधित्वका क्षेत्रमा महिला सहभागिता कम्तीमा ३३ प्रतिशत गरिने उल्लेख छ, तर संघीय मन्त्रिपरिषद्मै त्यो १५ प्रतिशत पनि छैन । काठमाडौं उपत्यकामा तीन वर्षभित्र विद्युतीय सवारी साधन मात्रै चलाउने कुरा गरेको पार्टीका मन्त्रीले व्यवहारमा तिनैमा कर बढाइदिए । नेपाललाई दुई वर्षभित्र आधारभूत खाद्यान्नमा आत्मनिर्भर बनाउने भनियो, तर दुई वर्षयता मकै र धान क्रमशः ४५ अर्ब र ५० अर्ब रुपैयाँभन्दा बढीको आयात भयो । चालु आर्थिक वर्षको साउन महिनामा मात्र झन्डै ५ अर्ब रुपैयाँको धान तथा मकै आयात भएको तथ्यांक छ । देशभित्रै उत्पादन थाल्ने भनिएको मलको कथा त सबैसामु ताजा र छर्लंग छ ।

घोषणापत्रले समेटेका विकास–निर्माण, सुशासन, जनस्वास्थ्य, शिक्षा लगायतको अवस्था त फैलँदो महामारीले झनै उजागर गरिदिएको छ । निर्वाचन घोषणापत्र कुनै स्वच्छन्दतावादी साहित्यकारले कल्पनाको उडान भर्दै सिर्जिएको रचना होइन, यो त मतदातासँग गरिएको प्रतिबद्धता हो, वाचा हो । यी झुटा वाचाहरूको सन्दर्भ ७० वर्षदेखिको हरेक सरकारले जोगाएको तथा अझ समृद्ध बनाउँदै गएको शासकीय विरासत हो । अप्ठ्यारो समयमा सरकारसँग जनताको अपेक्षा पनि बढी हुन्छ । कोभिड–१९ महामारीका कारण त्रस्त, रोजगारी गुमाएका तथा सहारा नभएकाहरूका आवश्यकताहरू समयमै सम्बोधन हुन नसक्दा कति भोकै मर्दै छन् भने, अनिश्चित रोजगारीको खोजीमा देश छाड्नेहरूको संख्या दैनिक बढ्दै छ । रोजगारीको खोजीमा भारततर्फ लाग्नेहरू पहिले पनि हुन्थे र अहिले पनि छन्, तर यी दुईमा आधारभूत फरक छ । महामारीअघि जानेहरूमा अनिश्चयबीच पनि आशा हुन्थ्यो तर अहिलेको अनिश्चयमा निराशा मात्र छ ।

यस्ता जनतालाई सम्बोधन गर्न सरकारी कार्यक्रमहरू नै नभएका होइनन् । त्यस्ता कार्यक्रमहरू कति कर्मकाण्डी मात्र भएका छन् भने, कति लक्षित समूहसम्म पुग्न सकेका छैनन् । सरकारको मूल्यांकन ‘जनताले के पाए’ भन्नेबाटै हुन सक्छ । जनतालाई सरकारी योजना र कार्यान्वयन प्रक्रियाको लम्बेतान विधिबारे खासै चासो हुँदैन ।

उनीहरूले अनुभूति गर्ने भनेको नतिजा नै हो । यो कठिन समयमा जनतामाझ सरकारको उपस्थितिको बोध गराउन तत्कालका लागि नगरी नहुने धेरै विषय छन् । अपेक्षा गरिएका नेताहरू सार्वजनिक संवाद र अखबारका पृष्ठहरूमा मात्र प्रिय सुनिए/लेखिए । तर हाम्रा अगुवाहरू ‘भर्चुअल प्लेटफर्म’ हरूमा समाजवादसम्मको ‘रोडम्याप’ फलाकिरहेका छन् । वर्तमानमा अभाव र भोकले छटपटिएकालाई सुदूर भविष्यको समाजवादको सपना देखाउनु आशावादको बीजारोपण हुँदै होइन, बरु अश्लील हर्कत हो । के हाम्रो देशमा राजनीति गर्नेहरूको स्तर कहिल्यै कोरा गफभन्दा माथि उक्लन सक्दैन ?

पार्टीको अधिनायकत्वले राज्यसञ्चालन प्रणालीलाई पंगु बनाएको छ । राज्यका कतिपय महत्त्वपूर्ण निर्णयहरूमा कानुनहरू पनि बेवारिस बनेका छन् र पार्टी हावी बनेको छ । पार्टीहरू पनि विधानसम्मत रूपमा होइन, शक्तिशाली नेताका लहडमा चलेका छन् । त्यस्ता शक्तिशाली नेताहरू बिचौलियाको इसारामा चल्छन् र बिचौलियाहरू जुनसुकै स्वार्थ समूहसँगको गठजोडमा राज्यस्रोत दोहनमा केन्द्रित छन् । यस्तो परिस्थितिको पृष्ठभूमिमा विधिको शासन स्थापनाका लागि लामो समय संघर्ष गरेका नेताहरू नै प्रमुख छन् । सार्वजनिक मञ्चहरूमा मीठो बोल्ने, सुललित भाषामा लेख्ने र इमानदारीको अपेक्षा गरिएका नेताहरू पनि सत्यको पक्षमा दह्रोसँग उभिएका देखिँदैनन् । उनीहरू आफ्नो भनेको आफ्नै हो भन्ने मान्यतामा रहेको देखिन्छ ।

महाभारत कथाले न्याय र अन्यायबीच द्वन्द्वको कथा भन्छ । सम्मानित पात्रका रूपमा चित्रित कृपाचार्य, द्रोणाचार्यजस्ता गुरुहरू र भीष्म पितामहजस्ता व्यक्तित्वहरू पनि ‘नुनको सोझो’ गर्ने नाममा कौरव पक्षमा देखिए । वर्तमानमा विधि स्थापनार्थ वर्षौं संघर्ष गरेका नेताहरू पनि दुर्योधन र धृतराष्ट्रकै भूमिकामा छन्, केही थान द्रोणाचार्यहरू पनि चक्रव्यूह निर्माणमा तल्लीन छन् र जयद्रथहरू चक्रव्यूहका हर्ताकर्ता बनिरहेकै छन् ।

wagle.samjhana@gmail.com

प्रकाशित : आश्विन १८, २०७७ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्

अस्वीकृत महिलाका पक्षमा

कतिपय भलादमीहरु कतिपय अवस्थामा अष्टबक्रले भनेका ‘ मासुका व्यापारी’ जस्ता लाग्छन् भने कतिपय अवस्थामा ‘ छाना खोतल्ने ऋषि’ जस्ता ।
सम्झना वाग्ले भट्टराई

एउटा कथा - व्यास गुरुका एक शिष्य थिए । एकाध वर्ष गुरुकुलमा रहेर शिक्षा पाएपछि शिष्यले गुरुसँग भनेछन्, ‘म सम्पूर्ण सांसारिक माया–मोहबाट मुक्त भएँ । अब काम, क्रोध, लोभ, मोह आदि सबैलाई नियन्त्रण गर्न सक्ने भएको छु । अब तपस्याका लागि जंगल जान्छु, गुरु ।’

‘सांसारिक माया–मोहबाट मुक्त हुनु त सारै राम्रो । तर यो ज्यादै कठिन कुरा हो, त्यति सहज त नहुनुपर्ने,’ गुरुको प्रतिक्रिया ।

‘कठिन होला तर असम्भव त होइन नि !’– शिष्यको उत्तर ।

शिष्य तपस्याका लागि घना जंगलमा गए र एकाग्र भएर तपस्या गरे । कठोर तपस्यासँगै बिस्तारै उनले आत्मिक शान्ति पाउन सुरु गरे ।

एक दिन झमक्क साँझ पर्दै थियो, ठूलो झरी परिरहेको थियो । खोला खहरेहरू बढेर गड्गडाइरहेका थिए । त्यस्तैमा उनको दृष्टि नजिकैको खोलामा बाढीको बहावले झन्डै बगाउनै लागेको एक युवतीमा परेछ । ‘कष्टमा परेको मानिसको उद्धार गर्नु धर्म हो,’ उनी झट्पट खोलाको बाढीमा हेलिए र ती युवतीको उद्धार गरे ।

खोलाबाट उद्धार गर्नु मात्र समाधान थिएन । रात पर्दै गएको समय, त्यो निर्जन जंगल, हिंस्रक जंगली जनावर तथा हिंस्रक मान्छेहरूको पनि भय । उनको सुरक्षा गर्नु पनि थियो । तर, त्यहाँ एउटै मात्र कुटी थियो, त्यो पनि सानो, एक जनाका लागि पनि साँघुरो । कहाँ राख्ने ?

ऋषिले युवतीलाई कुटीमा राम्रोसँग ढोका बन्द गरी सुत्न र होसियार रहन सुझाव दिई आफू भने बाहिरै बसे । सुनसान समय, झरीपछिको चिसो रात । स्वच्छ हावामा जंगली फूलका मधुर बासना । समय आफैँमा मादक बनेको थियो । कुटीभित्र सुन्दर युवती थिइन् । त्यो निर्जन एकान्त र उत्ताउलो वातावरण । ऋषिमा कामभावना जागृत भयो । ती युवतीसँगको एकान्तपलको आकांक्षाले उनलाई तड्पाउन थाल्यो ।

र, उनले ती युवतीलाई ढोका खोल्न आग्रह गरे । ‘अघि साँझमा बाढीबाट उद्धार गरी ल्याउने ऋषि मै हुँ । हे सुन्दरी ! कृपया ढोका खोल,’ ऋषि लगातार पुकार्न थाले ।

केही समयअघि मात्र ऋषिले सम्झाएका थिए, ‘समय खराब छ । राति कुनै पनि हालतमा ढोका नखोल्नू । फटाहाहरूले मेरै नाम लिएर पनि ढोका खोल्न आग्रह गर्न सक्छन् । जसले जति नै आग्रह, अनुनय–विनय गरे पनि ढोका नखोल्नू ।’

ढोका खुलेन । उनका सारा आग्रह, अनुनय, विनय बेकार भयो ।

ऋषिलाई औडाहा हुन थाल्यो । कामाग्निको रापले उनले होस गुमाउन पुगे । ढोका नखुलेपछि कुटीको छानामा चढे र खरको छाना भत्काउन थाले, किनकि कुटीको भित्ताभन्दा छाना कमजोर थियो । भत्काउँदै गरेको छानाको प्वालबाट उनले भित्र देखे– सुन्दर युवती टुकीको मधुरो उज्यालोमा पल्टिरहेकी छन् । त्यो पनि सर्वाङ्ग नग्न । दृश्यले ऋषि उत्तेजनाको चरम अवस्थामा पुगे । अनि हत्तपत्त आफूले लगाएको एकधरो लुगा पनि खोलेर कुटीभित्र हाम्फाले र निमेषभर पनि नरोकिई युवतीलाई अँगाल्न पुगे ।

तर आश्चर्य, त्यहाँ कुनै युवती थिइनन् । थिए त सेताम्मे फुलेका व्यास गुरु ।

कामातुर शिष्यलाई त्यो अवस्थामा देखेर व्यास भन्छन्, ‘के भयो बाबु ? किन यसरी हड्बडाएको ? तिमी त सारा सांसारिकताबाट मुक्त भइसकेका होइनौ र ?’

***

संवैधानिक व्यवस्था र उपलब्धि सूचकांकहरूका आधारमा हेर्ने हो भने नेपालको लैंगिक समानतावादी आन्दोलनले लिएको गति र दिशालाई सन्तोषजनक मान्न सकिन्छ । शताब्दीभन्दा लामो अनवरत संघर्षपछि नेपालको संविधानमा मौलिक हक र कर्तव्यअन्तर्गत नै ‘महिलाको हक’ प्रत्याभूत गरिएको छ । संघीय संसद् र प्रदेशसभामा संवैधानिक प्रावधानअनुसार ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरिएको छ । अहिले प्रतिनिधिसभामा ३२.७३ प्रतिशत, राष्ट्रिय सभामा ३७.२९ प्रतिशत र स्थानीय तहमा ४०.९३ प्रतिशत महिला प्रतिनिधित्व छ । राष्ट्रपति वा उपराष्ट्रपतिमध्ये एक जना, प्रतिनिधिसभाको सभामुख वा उपसभामुखमध्ये एक जना र राष्ट्रिय सभाको अध्यक्ष वा उपाध्यक्षमध्ये एक जना, प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एक जना महिला हुने व्यवस्था छ । त्यस्तै गाउँ कार्यपालिकामा चार जना तथा नगर कार्यपालिकामा पाँच जना महिला सदस्य रहने, जिल्ला समन्वय समितिमा कम्तीमा तीन जना महिला रहने, गाउँपालिका र नगरपालिकाको प्रत्येक वडाबाट कम्तीमा दुई जना महिलाको प्रतिनिधित्व हुनेगरी गाउँसभा र नगरसभाको गठन हुने व्यवस्था गरिएको छ । यससाथै, राष्ट्रिय महिला आयोग संवैधानिक निकायको रूपमा रहने र सोका अध्यक्ष र सदस्यहरू महिला मात्र रहने तथा निजामती सेवामा दशकअघिबाट लागू भएको आरक्षणको व्यवस्था आदिले पनि सार्वजनिक क्षेत्रमा महिला प्रतिनिधित्व बढाएको देखिन्छ ।

महिला विकासका सूचकांकहरूले सकारात्मक संकेत देखाए पनि व्यावहारिक जीवनका जटिलतामा भने खासै सुधार आउन सकेको छैन । स्थानीय निर्वाचनमा महिलालाई दिइएको स्थान होस् वा संघीय तथा प्रदेशका मन्त्रालयमा महिला प्रतिनिधित्वको अवस्था उदेकलाग्दो छ । राजनीतिक तथा प्रशासनिक क्षेत्रमा महिलाका उपस्थितिलाई कर्मकाण्डी मात्र बनाउने गरिएको तथा कतिपय अवस्थामा उपयोगको मोहोरा बनाउने गरिएको स्पष्ट देखिन्छ । पछिल्लोपटक सभामुख चयन प्रक्रियामा सतहमा देखाइएको क्रियाप्रतिक्रियाको शृंखला तथा घटित यथार्थले नेपाली महिला आन्दोलनको नेतृत्वको अन्तर्मनको वास्तविकता प्रस्ट्याउँछ । हालै नागरिकता विधेयक सम्बन्धमा केही महिला नेतृहरूको विचार सुन्दा आन्दोलनका महारथी दाबी गर्नेहरूको बुझाइको स्तर पनि प्रमाणित भएको छ ।

महिला अधिकारलाई मानवअधिकारको अविभाज्य अधिकारको रूपमा, महिला जीवनका जटिलतालाई मानव जीवनको साझा जटिलताको रूपमा बुझ्ने र त्यहीअनुरूप व्यवहार गर्ने सामाजिक दृष्टिकोण बन्न सकेको छैन । राजनीतिक रूपमा उच्च स्थानमा पुगेका महिलालाई मात्र होइन, मध्यम तहमा कार्यरत कामकाजी महिलाले पनि महिला भएकै कारण विभिन्न अप्ठ्यारा भोग्नुपरेको छ । शाब्दिक रूपमा प्रत्यक्ष नभने पनि काममा असहयोग गर्ने, निर्णय प्रक्रियामा सहभागी नगराउने, द्विअर्थी संवाद गर्ने तथा उस्तै मात्र होइन, ठ्याक्कै एउटै प्रस्ताव पनि पुरुष कर्मचारीले लगे सहजै स्वीकृत हुने तथा महिला कर्मचारीले लैजाँदा अस्वीकृत हुनेजस्तो व्यवहार म आफैँले भोगेकी छु । मसँगै कार्यरत कतिपय महिला साथीहरू पनि समान अनुभव बताउने गर्छन् ।

समाजमा स्त्रीद्वेशी भावना विद्यमान रहेसम्म नीतिगत तथा कानुनी व्यवस्था मात्र अपर्याप्त हुने रहेछ । यसको ज्वलन्त उदाहरण रूपन्देहीकी अंगिरा पासीको दुःखद घटनाबाट पनि बुझ्न सकिन्छ । कानुनले विवाह गर्ने न्यूनतम उमेर बीस वर्ष मानेको छ । बलात्कृतको उमेरअनुसार बलात्कारीलाई दिइने सजायको व्यवस्था गरेको छ । तर, समाज तेह्रवर्षे बालिकालाई बलात्कारीको पछि लगाएर पठाइदिन्छ भने महिलाप्रति समाजको संवेदना कति कहालीलाग्दो छ बुझ्न अरू कुनै दृष्टान्त खोज्नु पर्दैन । यसै वर्षको अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौँमा सञ्चालन भएको एक कार्यक्रमबारेको कुराकानीमा ‘बेढंगको शरीर भएकी महिलाको कार्यपत्र के ढंगको होला र ?’ भन्ने टिप्पणी गरे एक जना प्रगतिशील भनिने भलादमीले र उनी आयोजकमध्येकै थिए । केही महिनाअघि मात्र महिला आन्दोलनबारे लेख प्रकाशित गराएका एक पुरुषले महिलासँग कस्तो व्यवहार गर्दा रहेछन् भन्ने कुरा तथा एक जना स्थापित लेखकको स्त्रीद्वेशी टिप्पणी पनि सामाजिक सञ्जालमार्फत बाहिरिएको थियो । यी हाम्रो समाजमा गढेर रहेको स्त्रीद्वेशी चरित्रका केही दृष्टान्त हुन् ।

समाज विचारका आधारमा विभक्त छ । विचारमा सहमत/असहमत हुन सकिन्छ, तर्क/वितर्क हुन सक्छन् । तर, मनुस्मृति, गीता तथा ऋग्वेदजस्ता पुस्तकको केस्राकेस्रा केलाएर आलोचना गर्ने र आफूलाई प्रगतिशील दाबी गर्ने व्यक्तिले पनि ‘बेढंगको शरीर भएकी महिलाको कार्यपत्र के ढंगको होला र ?’ भन्ने तथा सार्वजनिक खपतका लागि समानताको लेख लेख्ने तर निजी संवादमा स्त्रीद्वेशी कुण्ठा पोखिन्छ, समाजको चेतनाको स्तर भयावह भएको पुष्टि हुन्छ ।

एउटा प्रसंग सम्झन्छु । राजा जनकको विद्वत्सभामा धेरै विद्वान् जम्मा भएका रहेछन् । त्यस्तैमा त्यहाँ अष्टबक्रको प्रवेश भएछ । शरीर नै आठ ठाउँमा बांगिएर नाम नै अष्टबक्र भएका उनको कुरूप शरीर देखेर सभामा उपस्थित अधिकांश मानिस हाँसेछन् । त्यो सुनेर अष्टबक्रले सभातर्फ हेर्दै सोधेछन्— ‘के म गलत ठाउँमा त आइपुगिनँ ?’

‘यो त राजा जनकको विद्वत्सभा हो, तपाईं कता जान लाग्दै हुनुहुन्थ्यो कुन्नि ?’ एक जनाले उत्तर दिएछन् ।

‘ए ठीकै छ त्यसो भए, तर मलाई त लाग्यो, म विद्वत्सभामा जान्छु भनेर आएको कतै भूलवश मासुका व्यापारीको सम्मेलनमा त आइपुगिनँ भन्ने महसुस भयो ।’ अष्टबक्रले अझ थपेछन्, ‘मासुका व्यापारी, जो शरीर र त्यसमा भएको हाड र मासुको आधारमा मूल्यांकन गर्छन् ।’

पछि राजा जनक सभामा प्रवेश गरेछन् । उनले अष्टबक्रलाई स्वागत गर्दै सबैलाई उनको परिचय दिई अष्टबक्रको उपस्थितिले सभाको गरिमा बढाएको बताएका थिए ।

र अन्त्यमा, लैंगिक समानताको यो संघर्षमा प्रशस्त पुरुषको साथ छ । समान अधिकार र सम्मानपूर्ण जीवनको माग गरेका नारी आवाजलाई बुलन्द पार्न कुममा कुम जोडेर अगाडि बढ्ने कतिपय भलादमीहरू कतिपय अवस्थामा अष्टबक्रले भनेका ‘मासुका व्यापारी’ जस्ता लाग्छन् भने कतिपय अवस्थामा ‘छाना खोतल्ने ऋषि’ जस्ता । यस्ता प्रवृत्तिले नै समानताको आन्दोलनलाई पछि धकेलेको छ ।

प्रकाशित : श्रावण १०, २०७७ १०:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×