१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

जयद्रथको कथा र नेपाली राजनीति

नेपाली राजनीतिमा पाण्डवहरू छैनन् । यहाँ यस्तो महाभारत छ, जहाँ कौरवहरूबीच मात्र सत्तासंघर्ष चलिरहन्छ ।

केही महिनाअघि, कांग्रेस नेता प्रदीप गिरिले मन्त्री पदका जिम्मेवारी र अप्ठ्याराको सन्दर्भलाई लिएर नेकपा नेता घनश्याम भुसाललाई ‘महाभारतको युद्धमा चक्रव्यूहमा प्रवेश गरेका अभिमन्यु’ सँग तुलना गरेका थिए । प्रत्युत्तरमा भुसालले आफू ‘अभिमन्युजस्तै चक्रव्यूहमा प्रवेश गरेको भए पनि’ सुरक्षित बाहिर निस्कन सक्षम रहेको, किनकि ‘यहाँ जयद्रथ छैनन्’ भनेका थिए । अभिमन्यु र चक्रव्यूहसँग जोडिएर आएका जयद्रथबारे पहिले संक्षिप्त चर्चा गरौं ।

जयद्रथको कथा र नेपाली राजनीति

कौरवसँगको जुवामा सर्वस्व हारेपछि पाण्डवहरू वनवासमा थिए । त्यसै समयमा जयद्रथले पाण्डवपत्नी द्रौपदी अपहरणको प्रयास गरे । ज्ञात होस्, दुर्योधनकी बहिनी दुःशलासँग बिहे गरेका सिन्धु नरेश जयद्रथ पाण्डवहरूका पनि ज्वाइँ पर्थे । द्रौपदी अपहरण गरी लैजाँदै गर्दा पाण्डवहरूले उनलाई रोके । लडाइँ भयो, पाण्डवहरूको विजय भयो । पाण्डवहरूले जयद्रथको केश मुण्डन गरी छाडिदिए । हारपछि जयद्रथले महादेवको तपस्या गर्न थाले । खुसी भएका महादेवले उनलाई मागेअनुसार पाँचै पाण्डवमाथि विजयको नभई अर्जुनबाहेकका चारभाइलाई एक दिन युद्धमा रोक्न सक्ने वरदान दिए ।

पछि महाभारत युद्धमा जयद्रथ कौरवको पक्षबाट लडाइँमा थिए । गुरु द्रोणाचार्यले नेतृत्व गरेको लडाइँको एक दिन धनुर्धारी अर्जुन सुशर्मासँगको लडाइँमा युद्धमोर्चाभन्दा टाढा गएका थिए । त्यसै दिन गुरु द्रोणाचार्यले बनाएको चक्रव्यूहमा अर्जुनपुत्र अभिमन्यु प्रवेश गरे, चारभाइ पाण्डवसहित अन्य सेनालाई भने जयद्रथ लगायतले बाहिरै रोकिदिए । त्यसै चक्रव्यूहमा एक्ला अभिमन्यु कौरव सेनाबाट मारिए । कथाअनुसार, चक्रव्यूहभित्र युद्धको आधारभूत नियम पनि उल्लंघन गरिएको थियो । यसै प्रसंगलाई खराबहरूको घेराबन्दीमा इमानदार व्यक्तिको संघर्ष र दयनीय हारसँग जोडेर अभिमन्यु र चक्रव्यूहको कथा भन्ने गरिन्छ ।

अहिलेसम्मको सार्वजनिक छविका आधारमा घनश्याम भुसालसँग अपेक्षा र विश्वास गर्ने मानिस प्रशस्त छन् । लामो समयदेखि सत्तामा जानेहरूको इतिहासका आधारमा मन्त्री बनिसकेपछि भुसालको समाजवादी सिद्धान्त व्यवहारमा खरो उत्रन नसक्ने हो कि वा उनको क्रान्तिकारी चिन्तन भुत्ते बन्ने हो कि भन्ने चिन्ता उनीप्रति अपेक्षा र विश्वास गर्नेहरूमा आउनु स्वाभाविक हो । सायद कांग्रेस नेता गिरिको त्यो अभिव्यक्तिको चासो पनि यही हो । भुसाल मन्त्री बनेको झन्डै एक वर्ष भैसकेको छ । मन्त्रीका रूपमा उनको कार्यसम्पादन मूल्यांकन गरिहाल्ने समय भैसकेको छैन । तर सुरुआती लक्षणहरूका आधारमा उनी, गिरीले भनेझैं, चक्रव्यूहमा फस्दै गएझैं लाग्छ । यसका संकेतहरू सञ्चारमाध्यममा आइसकेकै छन् । भुसाल चक्रव्यूहको रहस्य बुझेर र यसलाई स्विकारेर नै गएका थिए वा यसलाई तोडेर बाहिर निस्कने हैसियत राख्छन् र मौका कुरेर बसेका छन् वा उनी स्वयंलाई चक्रव्यूहमा फसेको आभास नै भएको छैन, त्यसको सबैभन्दा वस्तुगत उत्तर उनैले दिन सक्छन् ।

भुसालको ‘यहाँ जयद्रथ छैनन्’ भन्ने भनाइमा विश्वास गर्न गाह्रो हुन्छ । आम मान्छेका आँखाबाट हेर्दा त किनकिन अहिलेसम्मका अधिकांश शासकका चरित्रहरू महाभारतका धृतराष्ट्र, दुर्योधन, दुःशासन आदिकै जस्तै लाग्छन् । हालै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल थप्ने सन्दर्भमा जे देखियो त्यसमा पनि ‘जयद्रथ’ प्रवृत्ति नै हावी लाग्छ । आम मान्छेले देख्ने यत्रतत्र सलबलाएका ‘जयद्रथ’ लाई भुसालले किन देख्दैनन् ? कि उनलाई ‘अभिमन्यु’ देख्नु आम मानिसको दृष्टिदोष हो ?

पूर्वीय सभ्यता तथा संकथनहरूमा राजनीतिलाई महाभारतसँग तुलना गर्ने गरिन्छ । महाभारत कथाका पाण्डवहरू सत्य र इमानदारीको पर्यायका रूपमा अर्थात् विधिको शासनमा विश्वास गर्ने एवं कौरवहरूलाई झुट र छलको पर्यायका रूपमा अर्थात् स्वार्थवश विधिको उल्लंघन गर्ने पात्रका रूपमा व्याख्या गर्ने गरिन्छ । यद्यपि महाभारत कथालाई मिहिन ढंगले र विविध दृष्टिले विश्लेषण गर्दा निष्कर्षहरू धेरै फरक देखिन सक्छन् । त्यसो त नेपाली राजनीतिमा पाण्डवहरू छैनन् । यहाँ यस्तो महाभारत छ, जहाँ कौरवहरूबीच मात्र सत्तासंघर्ष चलिरहन्छ ।

दृष्टान्तहरू छरपस्ट छन् । राष्ट्रिय सभा सदस्यको चयनमा पार्टीहरूले सुरुआती चरणदेखि नै संविधानको धज्जी उडाए । चुनावी घोषणापत्रमा गरिएका वाचालाई पनि मजाक बनाए । घोषणापत्रमा संविधानले व्यवस्था गरेअनुरूप जनप्रतिनिधित्वका क्षेत्रमा महिला सहभागिता कम्तीमा ३३ प्रतिशत गरिने उल्लेख छ, तर संघीय मन्त्रिपरिषद्मै त्यो १५ प्रतिशत पनि छैन । काठमाडौं उपत्यकामा तीन वर्षभित्र विद्युतीय सवारी साधन मात्रै चलाउने कुरा गरेको पार्टीका मन्त्रीले व्यवहारमा तिनैमा कर बढाइदिए । नेपाललाई दुई वर्षभित्र आधारभूत खाद्यान्नमा आत्मनिर्भर बनाउने भनियो, तर दुई वर्षयता मकै र धान क्रमशः ४५ अर्ब र ५० अर्ब रुपैयाँभन्दा बढीको आयात भयो । चालु आर्थिक वर्षको साउन महिनामा मात्र झन्डै ५ अर्ब रुपैयाँको धान तथा मकै आयात भएको तथ्यांक छ । देशभित्रै उत्पादन थाल्ने भनिएको मलको कथा त सबैसामु ताजा र छर्लंग छ ।

घोषणापत्रले समेटेका विकास–निर्माण, सुशासन, जनस्वास्थ्य, शिक्षा लगायतको अवस्था त फैलँदो महामारीले झनै उजागर गरिदिएको छ । निर्वाचन घोषणापत्र कुनै स्वच्छन्दतावादी साहित्यकारले कल्पनाको उडान भर्दै सिर्जिएको रचना होइन, यो त मतदातासँग गरिएको प्रतिबद्धता हो, वाचा हो । यी झुटा वाचाहरूको सन्दर्भ ७० वर्षदेखिको हरेक सरकारले जोगाएको तथा अझ समृद्ध बनाउँदै गएको शासकीय विरासत हो । अप्ठ्यारो समयमा सरकारसँग जनताको अपेक्षा पनि बढी हुन्छ । कोभिड–१९ महामारीका कारण त्रस्त, रोजगारी गुमाएका तथा सहारा नभएकाहरूका आवश्यकताहरू समयमै सम्बोधन हुन नसक्दा कति भोकै मर्दै छन् भने, अनिश्चित रोजगारीको खोजीमा देश छाड्नेहरूको संख्या दैनिक बढ्दै छ । रोजगारीको खोजीमा भारततर्फ लाग्नेहरू पहिले पनि हुन्थे र अहिले पनि छन्, तर यी दुईमा आधारभूत फरक छ । महामारीअघि जानेहरूमा अनिश्चयबीच पनि आशा हुन्थ्यो तर अहिलेको अनिश्चयमा निराशा मात्र छ ।

यस्ता जनतालाई सम्बोधन गर्न सरकारी कार्यक्रमहरू नै नभएका होइनन् । त्यस्ता कार्यक्रमहरू कति कर्मकाण्डी मात्र भएका छन् भने, कति लक्षित समूहसम्म पुग्न सकेका छैनन् । सरकारको मूल्यांकन ‘जनताले के पाए’ भन्नेबाटै हुन सक्छ । जनतालाई सरकारी योजना र कार्यान्वयन प्रक्रियाको लम्बेतान विधिबारे खासै चासो हुँदैन ।

उनीहरूले अनुभूति गर्ने भनेको नतिजा नै हो । यो कठिन समयमा जनतामाझ सरकारको उपस्थितिको बोध गराउन तत्कालका लागि नगरी नहुने धेरै विषय छन् । अपेक्षा गरिएका नेताहरू सार्वजनिक संवाद र अखबारका पृष्ठहरूमा मात्र प्रिय सुनिए/लेखिए । तर हाम्रा अगुवाहरू ‘भर्चुअल प्लेटफर्म’ हरूमा समाजवादसम्मको ‘रोडम्याप’ फलाकिरहेका छन् । वर्तमानमा अभाव र भोकले छटपटिएकालाई सुदूर भविष्यको समाजवादको सपना देखाउनु आशावादको बीजारोपण हुँदै होइन, बरु अश्लील हर्कत हो । के हाम्रो देशमा राजनीति गर्नेहरूको स्तर कहिल्यै कोरा गफभन्दा माथि उक्लन सक्दैन ?

पार्टीको अधिनायकत्वले राज्यसञ्चालन प्रणालीलाई पंगु बनाएको छ । राज्यका कतिपय महत्त्वपूर्ण निर्णयहरूमा कानुनहरू पनि बेवारिस बनेका छन् र पार्टी हावी बनेको छ । पार्टीहरू पनि विधानसम्मत रूपमा होइन, शक्तिशाली नेताका लहडमा चलेका छन् । त्यस्ता शक्तिशाली नेताहरू बिचौलियाको इसारामा चल्छन् र बिचौलियाहरू जुनसुकै स्वार्थ समूहसँगको गठजोडमा राज्यस्रोत दोहनमा केन्द्रित छन् । यस्तो परिस्थितिको पृष्ठभूमिमा विधिको शासन स्थापनाका लागि लामो समय संघर्ष गरेका नेताहरू नै प्रमुख छन् । सार्वजनिक मञ्चहरूमा मीठो बोल्ने, सुललित भाषामा लेख्ने र इमानदारीको अपेक्षा गरिएका नेताहरू पनि सत्यको पक्षमा दह्रोसँग उभिएका देखिँदैनन् । उनीहरू आफ्नो भनेको आफ्नै हो भन्ने मान्यतामा रहेको देखिन्छ ।

महाभारत कथाले न्याय र अन्यायबीच द्वन्द्वको कथा भन्छ । सम्मानित पात्रका रूपमा चित्रित कृपाचार्य, द्रोणाचार्यजस्ता गुरुहरू र भीष्म पितामहजस्ता व्यक्तित्वहरू पनि ‘नुनको सोझो’ गर्ने नाममा कौरव पक्षमा देखिए । वर्तमानमा विधि स्थापनार्थ वर्षौं संघर्ष गरेका नेताहरू पनि दुर्योधन र धृतराष्ट्रकै भूमिकामा छन्, केही थान द्रोणाचार्यहरू पनि चक्रव्यूह निर्माणमा तल्लीन छन् र जयद्रथहरू चक्रव्यूहका हर्ताकर्ता बनिरहेकै छन् ।

[email protected]

प्रकाशित : आश्विन १८, २०७७ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?