कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

‘न्यु नर्मल’ मा निःस्वार्थी अभियन्ता खोज्दा

कामको प्रकृति फरक भए पनि हुतराम वैद्य र महावीर पुनमा एउटै समानता पाइन्छ– निष्फल समाजसेवा ।
गौरव केसी

अनुस्मरण
पाठ्यपुस्तकमार्फत तिनलाई चिनाइन्छ । औपचारिक मन्तव्य र अनौपचारिक कुराकानीमा तिनलाई सम्झिइन्छ । दार्शनिक विमर्शमा तिनको चित्रण गरिन्छ । नैतिक र आध्यात्मिक प्रसंगमा ती प्रेरणादायी बन्छन् । बहुसंख्यकले तिनलाई सम्झिरहन्छन् । तात्पर्य, बिनाआर्थिक प्रलोभन र निःस्वार्थ भावले आफूलाई मानव समाजप्रति समर्पित गर्ने व्यक्तिको लोकप्रियता सधैं रहिरहन्छ ।

‘न्यु नर्मल’ मा निःस्वार्थी अभियन्ता खोज्दा

यिनका संघर्षका कथाले आउने पिँढीहरूलाई केही गर्न उत्प्रेरित गर्छन् । यस्ता व्यक्तिहरू प्रत्येक काल र समाजमा देख्न पाइन्छन् । अहिलेको असहज परिस्थितिमा सम्झनैपर्ने लोकोपकारी नेपाली को हुन सक्लान् ? नेपालभरि खोज्दै जाने हो भने लामै सूची बन्न सक्ला (यसका लागि म पाठकवर्गलाई पनि अनुरोध गर्दछु) ।

मेरो दिमागमा भने तत्काल सम्झनलायकका दुई व्यक्ति आए– हुतराम वैद्य र महावीर पुन । व्यक्तिगत रूपमा मैले हुतरामलाई भेट्न पाइनँ, न महावीरलाई भेटेको छु । तिनका जोस, अभियान र कार्यले तिनलाई जसरी चिनाए, त्यसबाट म निकै प्रभावित भएँ र छु । तसर्थ, तिनको योगदानमाथि कलम चलाएर तीप्रति पुनः सार्वजनिक वृत्तको ध्यानाकर्षण गर्न मन लाग्यो । साथै, वर्तमानको मानवीय संकट, निराशाजनक परिस्थितिको सामना गरिरहेको यस तथाकथित ‘न्यु नर्मल’ मा तिनको कर्मको अनुस्मरण गर्दै सन्तोष लिन मन लाग्यो । यस आलेखमा यी दुवै व्यक्ति र यिनको व्यक्तित्वलाई पारस्परिकतामा हेर्ने प्रयत्न गरिएको छ ।

व्यक्ति दुई, मनोभाव एक

कामको प्रकृति फरक भए पनि हुतराम र महावीरमा एउटै समानता पाइन्छ । त्यो हो– चिन्तनको प्रक्रिया र स्वभाव । अर्थात्, दुवैको अठोट रह्यो– निष्फल समाजसेवा । दुवैको मनोभावलाई एउटा प्रबल उत्कण्ठाले निर्देशित गर्‍यो । स्पष्ट र दृढ उद्देश्य बोकी यी आआफ्ना निर्दिष्ट लक्ष्यमा निरन्तर अघि बढे, बढिरहेका छन् । यिनका अन्तर्वार्ताहरू पढ्दा र हेर्दा दुवै सरल, निष्कपट र स्पष्ट लाग्छन् । यिनको मनोविज्ञान बुझ्ने प्रयत्न गर्ने हो भने यी लिनेभन्दा पनि बढी दिने स्वभाव र मिजासका देखिन्छन् । साथै, कुनै पनि समस्याको समाधान छ र त्यसका लागि निरन्तर लागिरहनुपर्छ भन्ने भावनाबाट यी दुवै प्रेरित देखिन्छन् । यी दुवै गतिशील समाजका अग्रज अभियन्ता हुन् । तसर्थ, यिनको उद्देश्य सामूहिकतामा छ । स्रोत र साधनहरूको पहुँच र उपभोग सबैले गर्न पाऊन् र कोही पनि यसबाट वञ्चित भई पछि नपरून् भन्ने भावनाबाट यी दुवै प्रेरित छन् । यसर्थ यी दुवै निश्चयात्मक र प्रोत्साहन प्रवर्तक व्यक्तित्व हुन् ।

अनुरक्ति

अब, हाम्रोजस्तो समाजमा यिनको प्रक्षेपपथलाई नियाल्दा यिनले धेरै हन्डर र ठक्कर खाए होलान् भनी सहजै अनुमान लगाउन सकिन्छ । तर पनि, यी दुवै आफ्नो उद्देश्यबाट विमुख हुँदै पछि हटेको पाइएन । यस्तै अथक प्रयत्न र प्रयासले यिनलाई जनमानसमाझ सुपरिचित बनायो । यी दुवैले आआफ्ना क्षेत्रमा स्तरीय औपचारिक शिक्षा हासिल गरेका थिए । तर, यिनको अनुराग किताबी ज्ञानभन्दा बाहिर थियो । सैद्धान्तिक ज्ञानलाई आत्मसात् नगरी समाजसेवाबाट यी दुवैले आत्मसन्तुष्टि लिए । अर्थात्, हुतरामले वाग्मती बचाउ र सफाइ अभियानलाई लामो समयदेखि एक्लैले निरन्तरता दिँदै वाग्मतीलाई ‘सभ्यता’ को मानक दिए ।

परिणामतः पछिल्ला पुस्ताका धेरै नेपालीले यिनको संरक्षण–उत्साहलाई पछ्याउँदै वाग्मतीको सफाइ अभियानमा आफूलाई समयअनुकूल आबद्ध गराएको देख्न पाइयो । अर्कातिर, महावीरले भने प्रविधिलाई सहरबाट गाउँमा विस्तार गर्ने अभियानमा आफूलाई कटिबद्ध बनाए । दुर्गम गाउँमा इन्टरनेटको सञ्जाल फैलाउँदै सर्वसाधारणलाई यसमा सहजै पहुँच दिलाउने कार्यमा उनले आफूलाई अविरल समर्पित गरे । अन्ततोगत्वा उनी सफल भए र नेपालभित्र मात्र होइन, बाहिर पनि सुपरिचित भए ।

मानवप्रेम र समाजसेवा

मानव सभ्यतामा नदीले मान्छेलाई धेरै कुरा सिकाएको छ । सबै खाले आगन्तुक र प्रवासीलाई नदीले आकर्षित गरेको इतिहास छ । प्रत्येक युगका मानिस नदीमा निर्भर थिए र छन् । नदीवरपर नै बस्तीको पुनरागमन भयो र सहरको निर्माण भयो । नदीले नै मानिसलाई सृजनशील बनायो । परिणामस्वरूप, दिनानुदिनको प्रयोगमा आउने विभिन्न सामग्रीको निर्माण मानिसले गरे । यस अर्थमा, नदी जीवन हो । जीवनदाता हो । प्रशिक्षक हो । र, सभ्यता हो । अतः नदी कुनै व्यक्तिको होइन, सबैको साझा हो । यसको संरक्षण गर्नु मानवीय दायित्व हो ।

कुनै समयमा कलकल बग्ने सफा वाग्मतीमा समयसँगै बढ्दो कुरूपताले हुतरामलाई निकै पिरोल्यो । उनले एउटा कुरा बुझेका थिए, वाग्मती प्रदूषित हैन केवल मलिन मात्र छ । यसमा औद्योगिक विषाक्तता मिसिएको छैन । मिसिएको छ त केवल मानव मलमूत्र । नदीमा आश्रित जलचर र मानव उपयोगितामा नदीलाई पुनः जीवन्तता दिन सकिने आत्मविश्वास हुतराममा पलायो । भारतको इलाहावाद विश्वविद्यालयबाट शिक्षा हासिल गरेका नेपालका पहिलो कृषि इन्जिनियरले वाग्मतीको सुधारको सफलतामै समग्र नेपालको परिवर्तनको सूचक देखे । यसैअनुरूप सरोकारवालाको ध्यानाकर्षण गर्न उनी एक्लै साबेल लिएर वाग्मती सफाइ अभियानमा जुटे । सुरुआती लामो समय उनलाई खासै कसैले साथ दिएन । हितैषीहरू उनीप्रति सहानुभूति राख्थे तर उनले गर्न खोजेको काम भने तिनका लागि सनक थियो । यसले उनलाई खासै फरक पारेन । दिनहुँ उनी घरबाट साबेल लिएर एक्लै वाग्मती धाउँथे र काम सकी आफ्नो घर त्रिपुरेश्वर फर्कन्थे । यो प्रक्रिया २५ वर्षसम्म चल्यो । यस दौरान, उनी मिडियाकर्मीको नजरमा परे र उनको कामलाई विभिन्न सञ्चारमाध्यमले प्रचार गर्न थाले । यसरी हुतराम सहरवासीसामु परिचित भए । दुर्भाग्य, २०७० साल पुस ९ मा हुतरामको देहान्त भयो, तब बल्ल काठमाडौंवासीले उनको अभियानको मर्म बुझे । तत्पश्चात्, विविध पेसाकर्मीहरूले शनिबार एक दिन भए पनि वाग्मती सफा गर्ने परिपाटी बसाले, जसको निरन्तरता अहिलेसम्म पनि देख्न पाइन्छ ।

अर्कातिर, ‘म मूर्ख हुँ’ भन्न रुचाउने महावीरको आफ्नै संघर्ष छ । म्याग्दीको सानो गाउँ नागीबाट चितवन झरेका महावीरले चितवनमा १२ वर्ष विद्यालय पढाए । सोही दौरान उनले अमेरिकामा उच्च शिक्षा हासिल गर्ने छात्रवृत्ति पाए । पढाइ सकिएलगत्तै उनी आफ्नो मुलुक फर्के र जन्मगाउँलाई कर्मथलो बनाए । सुरुमा उनले गाउँमा देखिएका समस्या र चुनौतीहरूलाई नजिकबाट पहिल्याए । त्यसपछि गाउँमा बिजुली निकाल्ने, विद्यालय भवन निर्माण गर्ने र सोही विद्यालयमै पठनपाठन गर्ने कार्यमा आबद्ध भए । दूरदराजमा रहेकाहरूबीच एकअर्कासँग सम्पर्क गर्न कठिनाइ देखे र गाउँलेको आय आर्जन बढाउन प्रविधिको विकास नगरी सम्भव नहुने निर्क्योलमा पुगे । अनि, यसै कार्यमा उनी अनवरत लागिपरे । उनले कम्प्युटरको प्रयोग र यसको महत्त्व राम्रैसँग बुझेका थिए । स्थानीयवासीले यो चलाउने सीप नजानेसम्म गाउँ अगाडि बढ्न सक्दैन भन्ने विशिष्ट परिकल्पनाको बीजारोपण उनले गरे । यसका लागि उनले केन्द्र वा सरकारको मुख ताकेनन् । उनलाई थाहा थियो, यो गर्दा केही पनि हुँदैन भनेर । त्यसैले उनले आफ्नो सम्पर्कमा रहेका विदेशी मित्रहरूलाई कम्प्युटर दान गर्न निरन्तर पत्राचार गर्न थाले । पहिलो चरणको यस कार्यमा उनी सफल भए । गाउँमा कम्प्युटर आयो । कम्प्युटर त आयो, तर इन्टरनेटबिनाको कम्प्युटर उपयोगी नहुने भनी उनले दोस्रो चरणमा वाईफाईको सम्भाव्यताको खोजीमा पूरै समर्पित भए । उनले कुनै बडेमानको काम गरेका होइनन्, तर उनको प्रयास र अभिप्राय निकै प्रशंसायोग्य रह्यो ।

दुइटा डाँडालाई जोड्न महावीरले सामान्य खाले, लामो दूरीलाई कनेक्ट गर्ने बिनातारे राउटर गाउँमा भित्र्याए । उनको यो प्रयासबाट इन्टरनेट चल्न थाल्यो । गाउँवासीले सीप सिक्ने मौका पाए । यसले उनलाई चर्चामा ल्यायो । यही योगदानको कदरस्वरूप सन् २००७ मा उनलाई म्यागासेसे पुरस्कारबाट सम्मानित गरियो । हाल आएर, नेपालमा रहेका वैज्ञानिक र अनुसन्धानकर्मीहरूलाई एकजुट पार्नका लागि उनी राष्ट्रिय अनुसन्धान केन्द्र स्थापना गर्न लागिपरेका छन् । सरकारी सहायताबिना हालसम्म यिनले दस करोड रकम जम्मा गरिसकेका छन् । कामको सवालमा उनी ‘मैले खासै केही गरेको छैन, आँट गर्न सिकाएको मात्रै हो’ भन्छन् ।

‘न्यु नर्मल’ मा सन्देश

समाजसेवामा हुतराम वैद्य र महावीर पुनको समर्पण निकै महत्त्वपूर्ण छ । नेपाली समाजमा यसको उपयोगिता र प्रभाव अनन्तकालसम्म परिरहनेछ । अहिलेको हताश र निराश परिस्थितिमा यी दुई अभियन्ता र यिनका कामलाई सम्झेर आशावादी माहोल फर्काउन सकिन्छ । नागरिकको तिरोबाट सञ्चालित वातावरण मन्त्रालय र विज्ञान तथा प्रविधि मन्त्रालयले लामो समयदेखि कुन चाहिँ प्रभावकारी र उल्लेखनीय काम गरे, त्यो जनतासामु छर्लंग छ । वाग्मतीको खासै रूप फेरिएको छैन । नदीको दोहन दिनहुँ भइरहेको छ । मिचाहाहरूले नदी आसपासको भूमि मिचिरहेकै छन् । बालुवा, गिट्टी र क्रसरमा आधिपत्य तिनकै छ । हुतरामको वाग्मती सफाइको उद्देश्य हाम्रासामु आफूलाई देशभरिको स्रोत र सम्पदालाई संरक्षण र संवर्द्धनमा अभ्यस्त गराउनका लागि राम्रो पाठ हुन सक्छ । वाग्मती त एउटा प्रतिनिधित्व मात्र हो । आउँदा पुस्ताहरूका लागि हामीले यो मूल्य र संस्कृतिलाई हस्तान्तरण गर्दै लैजानुपर्छ ।

अर्कातिर, अहिलेको संकटमा धेरैले नयाँ शैक्षिक योजनाले नयाँ स्वरूप लेला भन्ठानेका थिए । तर, माहोल बुझ्दा त्यो सम्भव देखिन छोडिसकेको छ । सर्वसाधारणले, एकातिर अनलाइन कक्षा लिँदा चर्को शुल्क तिरी नै रहेका छन्, अर्कातिर सबै जना यस प्रक्रियामा समेटिन सकेका छैनन् । हुतराम वैद्य हामीमाझ नरहे पनि महावीर पुन जीवितै छन् । तिनको कामलाई हामीले समयमा नबुझे पनि उनले त्यस समय थालनी गरेको कामको पूर्ण प्रासंगिकता अहिलेको अनलाइन कक्षामा टड्कारो रूपमा देखिँदै छ । अनलाइन कक्षाको उपयोगिता र अनुपयोगिताको बहस देशभरिका मानिसको इन्टरनेटमाथिको प्रयोग, पहुँच र उपलब्धतासँग जोडिन्छ । जेजस्तो भए पनि अहिलेको समयमा इन्टरनेट प्रयोगविहीन हुँदा कुनै पनि व्यक्ति समाजबाट पछि पर्छ ।

समयमा महावीर पुनलाई नबुझेर हामीले गल्ती गरिसकेका छौं । अब भने, यो गल्ती नदोहोर्‍याऔं । म्यागासेसे पुरस्कार ग्रहण गर्दा उनले दिएको मन्तव्यको भिडियो हेरौं त एकपटक । १३ वर्षअघि उनले त्यस समारोहमा सबै नेपालीलाई निःशुल्क इन्टरनेटको सेवा उपलब्ध गराउने भनी आश्वस्त पारेका थिए । किन उनको आश्वासन यथार्थमा परिणत हुन सकेन ? आजका मितिसम्म पनि हामी यो सेवाका लागि किन चर्को शुल्क तिरिरहेका छौं ? यस पृष्ठभूमिमा, सरकारलाई काम गरेर देखाउने एउटा राम्रो अवसर छ । तुरुन्तै महावीर पुनको खोजी गर र उनको परामर्शअनुरूप काम अघि बढाऊ । निःसन्देह, यसले राम्रै परिणाम ल्याउनेछ । हैन भने के न्यु, केको नर्मल ?

प्रकाशित : आश्विन १६, २०७७ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?