खाँचो बिरुवा बैंकको

मधु राई

नौ महिनाअघि खोटाङको दिक्तेल बजारनजिकको जनजागृति आवासीय विद्यालयले अवलोकन भ्रमणमा गएका हामीलाई कोसेलीस्वरूप अकबरे खुर्सानी दिएको थियो, जुन अहिले कौसीमा फलेको दुई महिना भयो । एउटा फुटेको प्लास्टिकको डस्टबिन र तीनवटा प्लास्टिकको जारमा फलेका अकबरे खुर्सानी र आफैंले जोहो गरेको बीउबाट फलेको आकाशे खुर्सानीले आंशिक रूपमा भए पनि आयातित खुर्सानीलाई विस्थापित गर्दै छन् ।

खाँचो बिरुवा बैंकको

दोस्रोपटक पाकेको करेलाको बीउबाट आफैं उम्रिएका तीनवटा बोटले यति बेला भान्साको परिकार बढाउँदै छन् भने, कौसी र भुइँमा गरी दोस्रोपटक रोपेको फर्सीको बिरुवाले मुन्टा दिन छाडेको छैन । हिउँदमा रोपेको रायो सागको स्वादजस्तो नभए पनि असारमा छरेको बर्खे रायो सागले विषादीयुक्त सागलाई विस्थापित गरेको छ ।

लकडाउनपछि प्रतिकूल हावापानीका बावजुद खोटाङे अकबरे खुर्सानी विराटनगरजस्तो ठाउँमा साउन–भदौमा फल्नु भनेको भुइँफुट्टा कृषिकर्म गर्न चाहने मजस्ता धेरैका लागि खुसीको कुरा हो । आकारमा केही सानो भए पनि पिरो उस्तै हुने खोटाङे खुर्सानी भुइँमा भन्दा कौसीमा सप्रेको देखेर यसपालि झन्डै सयवटा बेर्ना ट्रे र ससाना गमलामा उमार्न थालेकी छु । आफैंले जोहो गरेको आकाशे, भुइँतिर फल्ने लामो र कालो खुर्सानीको बीउबाट सयभन्दा बढी बिरुवा हुर्काउँदै छु । कौसी र करेसाबारीमा विषादीमुक्त तरकारी फलाउन चाहने छिमेकी र अभिभावकहरूलाई लौका, फर्सी, हिउँदे बोडी र बर्खे रायोको बिरुवा बाँड्दै पनि आएकी छु । कतिपय छिमेकीले कौसी र करेसाबारीमा राम्ररी बिरुवा उमार्न नसकेको गुनासो गर्न थालेपछि यसपटक कृषक समूहका दिदीबहिनीहरूसँग मिलेर व्यावसायिक रूपमा बिरुवा उत्पादन गर्न भर्चुअल कुराकानी थालेकी छु ।

बीउबाट स्वस्थ बिरुवा उत्पादन गर्न माटोलाई निर्मलीकरण गर्न जरुरी छ । यसका लागि सातादिन जति पुरानो माटो घाममा सुकाएपछि चाल्नुपर्छ । यसरी तयार गरेको पचास प्रतिशत माटोमा पच्चीस प्रतिशत गोबर मल वा जैविक मल र पच्चीस प्रतिशत पुराना पातपतिंगर मिसाएर बिरुवा उमार्ने ट्रे वा कम गहिरा र चौडा मुख भएका ससाना गमलामा बीउ राख्नुपर्छ । यसरी बीउ राखेपछि चिस्यान हुने गरी दिन बिराएर पानी छर्कनुपर्छ । बीउ राखेको ट्रे वा गमलालाई केही दिन छायामा राख्नुपर्छ ।

यसरी बिरुवा उत्पादन गर्न सके सातादिनमै ससाना बिरुवा उम्रन्छन् र तिनलाई अझ स्वस्थ रूपमा उत्पादन गर्न पाँच–छ पात भएपछि बिरुवालाई आधा केजीको दहीको खाली बट्टा वा आधा लिटर दूधको पोकामा ससाना दुला बनाई सार्नुपर्छ । अनि केही दिनपछि कौसी वा करेसाबारीमा पाँच–छ इन्च गहिरो र पाँच इन्चको वर्गाकार खाल्डो बनाई रोप्नुपर्छ । खाल्डोमा बिरुवा रोप्नुअघि पातपतिंगर वा परालको खरानी हाल्न जरुरी छ, जसले रोग लाग्नबाट बचाउँछ । मल उपलब्ध नभए पिनाको पानी लगाउनुपर्छ । यसरी रोपेका अधिकांश बिरुवाको स्वास्थ्य राम्रो हुन्छ । यसरी उमार्न नसक्दा बीउ कुहिने हुन्छ ।

गत चैतमा लकडाउन सुरु भएयता दैनिक उपभोग्य वस्तुमध्ये तरकारीको मूल्य अकासिँदै गएको छ । विशेषगरी सहरी क्षेत्रमा दैनिकजसो तरकारी किनेरै खानुपर्ने बाध्यता छ । त्यस्ता तरकारी विषादीयुक्त हुन्छन् । जीवनशैलीका कारण सहरी क्षेत्रमा सबैजसोले आफैं तरकारी उत्पादन गर्नेबारे सोच्नसम्म सक्दैनन् । करेसाबारी र कौसी हुनेहरूलाई पनि कुन मौसममा कुन तरकारी र कसरी उमार्ने भन्ने आधारभूत ज्ञान नहुन सक्छ ।

पछिल्लो समय स्थानीय सरकारहरूले सहरवासीलाई करेसाबारी र कौसीखेती गर्न प्रोत्साहित गर्दै आएको छ । कतिपय पालिकाले वडा र टोलहरूमा कृषक समूह बनाई गमला र बीउबीजन वितरण गर्दै आएका छन् । विराटनगर महानगरपालिकाले पनि गत वर्षदेखि वर्षको दुईपटक बीउबीजन र गमला वितरण गर्दै आएको छ । तर, महानगरपालिकाबाट वितरित बीउ केहीले उमारे भने केहीको उम्रेन । स्थानीय सरकारले यसका लागि अभिमुखीकरण कार्यक्रम गर्न जरुरी छ । वितरणअघि बीउ कसरी उमार्ने भनेर कृषक समूहहरूलाई सम्बन्धित निकायले अभिमुखीकरण गर्न नसक्दा सहरी कृषिले व्यापकता पाउन सकेको छैन । बीउलाई चाहिने माटो र मल, उमार्ने विधिबारे ज्ञान नहुँदा सदस्यहरूमा नैराश्य छाउनु स्वाभाविक हो ।

त्यस्तो नहोस् भन्न सम्बन्धित निकायका पदाधिकारीले वितरित बीउ उम्रे–नउम्रेको अनुगमन गर्नुपर्छ । स्थानीय तहहरूले कृषक समूहलाई जस्तो पायो त्यस्तो होइन, स्वस्थ बिरुवा दिनुपर्छ । यसका लागि समूहगत रूपमा मौसमी तरकारीको बिरुवा उत्पादन गर्न समूहलाई बीउपुँजीसमेत उपलब्ध गराउन जरुरी छ । यसरी उत्पादित बिरुवा बिक्री–वितरण गरी आयआर्जन पनि गर्न सकिन्छ भनेर समूहलाई स्थानीय तहहरूले अभिमुखीकरण गर्न सके तरकारीमा परनिर्भरता घट्दै जान्छ । सहरी कृषिलाई प्रवर्द्धन गर्न स्थानीय सरकारले कृषक समूहहरूलाई बिरुवा बैंक सञ्चालन गर्न प्रोत्साहित गर्नुपर्छ । स्थानीय सरकारले कृषक समूहलाई सबलीकरण गर्न वार्षिक रूपमै रणनीतिक योजनासहित बजेट विनियोजन गर्नु समयोचित हुन्छ ।

प्रकाशित : आश्विन १५, २०७७ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?