खाँचो बिरुवा बैंकको- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खाँचो बिरुवा बैंकको

मधु राई

नौ महिनाअघि खोटाङको दिक्तेल बजारनजिकको जनजागृति आवासीय विद्यालयले अवलोकन भ्रमणमा गएका हामीलाई कोसेलीस्वरूप अकबरे खुर्सानी दिएको थियो, जुन अहिले कौसीमा फलेको दुई महिना भयो । एउटा फुटेको प्लास्टिकको डस्टबिन र तीनवटा प्लास्टिकको जारमा फलेका अकबरे खुर्सानी र आफैंले जोहो गरेको बीउबाट फलेको आकाशे खुर्सानीले आंशिक रूपमा भए पनि आयातित खुर्सानीलाई विस्थापित गर्दै छन् ।

दोस्रोपटक पाकेको करेलाको बीउबाट आफैं उम्रिएका तीनवटा बोटले यति बेला भान्साको परिकार बढाउँदै छन् भने, कौसी र भुइँमा गरी दोस्रोपटक रोपेको फर्सीको बिरुवाले मुन्टा दिन छाडेको छैन । हिउँदमा रोपेको रायो सागको स्वादजस्तो नभए पनि असारमा छरेको बर्खे रायो सागले विषादीयुक्त सागलाई विस्थापित गरेको छ ।

लकडाउनपछि प्रतिकूल हावापानीका बावजुद खोटाङे अकबरे खुर्सानी विराटनगरजस्तो ठाउँमा साउन–भदौमा फल्नु भनेको भुइँफुट्टा कृषिकर्म गर्न चाहने मजस्ता धेरैका लागि खुसीको कुरा हो । आकारमा केही सानो भए पनि पिरो उस्तै हुने खोटाङे खुर्सानी भुइँमा भन्दा कौसीमा सप्रेको देखेर यसपालि झन्डै सयवटा बेर्ना ट्रे र ससाना गमलामा उमार्न थालेकी छु । आफैंले जोहो गरेको आकाशे, भुइँतिर फल्ने लामो र कालो खुर्सानीको बीउबाट सयभन्दा बढी बिरुवा हुर्काउँदै छु । कौसी र करेसाबारीमा विषादीमुक्त तरकारी फलाउन चाहने छिमेकी र अभिभावकहरूलाई लौका, फर्सी, हिउँदे बोडी र बर्खे रायोको बिरुवा बाँड्दै पनि आएकी छु । कतिपय छिमेकीले कौसी र करेसाबारीमा राम्ररी बिरुवा उमार्न नसकेको गुनासो गर्न थालेपछि यसपटक कृषक समूहका दिदीबहिनीहरूसँग मिलेर व्यावसायिक रूपमा बिरुवा उत्पादन गर्न भर्चुअल कुराकानी थालेकी छु ।

बीउबाट स्वस्थ बिरुवा उत्पादन गर्न माटोलाई निर्मलीकरण गर्न जरुरी छ । यसका लागि सातादिन जति पुरानो माटो घाममा सुकाएपछि चाल्नुपर्छ । यसरी तयार गरेको पचास प्रतिशत माटोमा पच्चीस प्रतिशत गोबर मल वा जैविक मल र पच्चीस प्रतिशत पुराना पातपतिंगर मिसाएर बिरुवा उमार्ने ट्रे वा कम गहिरा र चौडा मुख भएका ससाना गमलामा बीउ राख्नुपर्छ । यसरी बीउ राखेपछि चिस्यान हुने गरी दिन बिराएर पानी छर्कनुपर्छ । बीउ राखेको ट्रे वा गमलालाई केही दिन छायामा राख्नुपर्छ ।

यसरी बिरुवा उत्पादन गर्न सके सातादिनमै ससाना बिरुवा उम्रन्छन् र तिनलाई अझ स्वस्थ रूपमा उत्पादन गर्न पाँच–छ पात भएपछि बिरुवालाई आधा केजीको दहीको खाली बट्टा वा आधा लिटर दूधको पोकामा ससाना दुला बनाई सार्नुपर्छ । अनि केही दिनपछि कौसी वा करेसाबारीमा पाँच–छ इन्च गहिरो र पाँच इन्चको वर्गाकार खाल्डो बनाई रोप्नुपर्छ । खाल्डोमा बिरुवा रोप्नुअघि पातपतिंगर वा परालको खरानी हाल्न जरुरी छ, जसले रोग लाग्नबाट बचाउँछ । मल उपलब्ध नभए पिनाको पानी लगाउनुपर्छ । यसरी रोपेका अधिकांश बिरुवाको स्वास्थ्य राम्रो हुन्छ । यसरी उमार्न नसक्दा बीउ कुहिने हुन्छ ।

गत चैतमा लकडाउन सुरु भएयता दैनिक उपभोग्य वस्तुमध्ये तरकारीको मूल्य अकासिँदै गएको छ । विशेषगरी सहरी क्षेत्रमा दैनिकजसो तरकारी किनेरै खानुपर्ने बाध्यता छ । त्यस्ता तरकारी विषादीयुक्त हुन्छन् । जीवनशैलीका कारण सहरी क्षेत्रमा सबैजसोले आफैं तरकारी उत्पादन गर्नेबारे सोच्नसम्म सक्दैनन् । करेसाबारी र कौसी हुनेहरूलाई पनि कुन मौसममा कुन तरकारी र कसरी उमार्ने भन्ने आधारभूत ज्ञान नहुन सक्छ ।

पछिल्लो समय स्थानीय सरकारहरूले सहरवासीलाई करेसाबारी र कौसीखेती गर्न प्रोत्साहित गर्दै आएको छ । कतिपय पालिकाले वडा र टोलहरूमा कृषक समूह बनाई गमला र बीउबीजन वितरण गर्दै आएका छन् । विराटनगर महानगरपालिकाले पनि गत वर्षदेखि वर्षको दुईपटक बीउबीजन र गमला वितरण गर्दै आएको छ । तर, महानगरपालिकाबाट वितरित बीउ केहीले उमारे भने केहीको उम्रेन । स्थानीय सरकारले यसका लागि अभिमुखीकरण कार्यक्रम गर्न जरुरी छ । वितरणअघि बीउ कसरी उमार्ने भनेर कृषक समूहहरूलाई सम्बन्धित निकायले अभिमुखीकरण गर्न नसक्दा सहरी कृषिले व्यापकता पाउन सकेको छैन । बीउलाई चाहिने माटो र मल, उमार्ने विधिबारे ज्ञान नहुँदा सदस्यहरूमा नैराश्य छाउनु स्वाभाविक हो ।

त्यस्तो नहोस् भन्न सम्बन्धित निकायका पदाधिकारीले वितरित बीउ उम्रे–नउम्रेको अनुगमन गर्नुपर्छ । स्थानीय तहहरूले कृषक समूहलाई जस्तो पायो त्यस्तो होइन, स्वस्थ बिरुवा दिनुपर्छ । यसका लागि समूहगत रूपमा मौसमी तरकारीको बिरुवा उत्पादन गर्न समूहलाई बीउपुँजीसमेत उपलब्ध गराउन जरुरी छ । यसरी उत्पादित बिरुवा बिक्री–वितरण गरी आयआर्जन पनि गर्न सकिन्छ भनेर समूहलाई स्थानीय तहहरूले अभिमुखीकरण गर्न सके तरकारीमा परनिर्भरता घट्दै जान्छ । सहरी कृषिलाई प्रवर्द्धन गर्न स्थानीय सरकारले कृषक समूहहरूलाई बिरुवा बैंक सञ्चालन गर्न प्रोत्साहित गर्नुपर्छ । स्थानीय सरकारले कृषक समूहलाई सबलीकरण गर्न वार्षिक रूपमै रणनीतिक योजनासहित बजेट विनियोजन गर्नु समयोचित हुन्छ ।

प्रकाशित : आश्विन १५, २०७७ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्

बुटवल कोरोना अस्पतालमा थप एक संक्रमितको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ 

गत असोज १२ गते स्वास्थ्यमा समस्या भई पीसीआर जाँच गराउँदा पोजिटिभ देखिएका बुटवल ८, सुख्खानगरका ८० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति ११:३५ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । मृतक १२ गते पोजिटिभ देखिएपछि होम आइसोलेसनमा बसेका थिए ।

उनको स्वास्थ्यमा थप समस्या आएपछि बुधबार कोरोना अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । मृतकमा मुटु रोग र उच्च रक्तचापको समस्या थियो । योसँगै अस्पतालमा मृत्यु हुनेको संख्या २१ पुगेको छ । हाल अस्पतालको आईसीयूमा १५ र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ ।

प्रकाशित : आश्विन १५, २०७७ ०८:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×