जनपक्षीय लडाकु- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनपक्षीय लडाकु

केसीले जस्तै सबैले गर्न सक्दैनन् तर उनले उठ्नै पर्ने सवाल उठाएका छन् भनेर स्वीकार गर्न त सक्छन् नि ! उनको मनोबल गिराउने कामबाट आफूलाई जोगाउन सक्छन् । उनले त्यस्तो लडाइँ लडिरहेका छन्, जुन खासमा आमजनले लड्नुपर्ने थियो।
चन्द्रकिशोर

डाक्टर गोविन्द केसीको आमरण अनशन फेरि एकपटक चर्चामा छ । उनको यस्तै अनशनको प्रतिफल थियो– सरकारद्वारा चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्न उच्चस्तरीय कार्यदलको गठन । उक्त कार्यदलका संयोजक प्रा. केदारभक्त माथेमाले भनेका छन्, ‘केसीले चन्द्रमा मागिरहनुभएको छैन, यही धर्तीकै एकदमै सम्भव र सहज कुरा मागिरहनुभएको छ ।’

अहिले पनि सुनुवाइ भएको छैन, केसीको यति सानो मागको । ठूलो बदलाव जहिले आउला–आउला, तर के ठूलो बदलाव सानो बदलावबिना सम्भव हुन्छ ? अहिले त सुनिहालौं उनका कुरा । सबैको नजर सरकारले लिने निर्णयतिर छ । तर सरकारले आफैंलाई हेर्न सकिरहेको छैन । यो त्यसैले मतदान गर्नेहरूका लागि विपत्काल भएको छ । मतदाताहरूले ठूलै सपना देखेका थिए । कुनै पनि विपत् बाजा बजाएर आउँदैन, तर आइसकेपछि त्यसको तुमुल कोलाहलले आगमनको अनुभूति दिइहाल्छ ।

कुनै नागरिकले केही गर्न, बोल्न र लेख्न चाहेको छ, तर सरकार त्यसप्रति असहमत छ र बलमिच्याइँमा उत्रिन्छ भने सरकारको अनुकूलको काम गर्ने कि आफ्नो विवेकले भनेअनुसार गर्ने ? सरकारको मनसाय हेरेर मन बनाउने कि सरकार जसरी प्रस्तुत भइरहेको छ, त्यसै गरी जवाफ दिने ?

लोकतन्त्रमा हुने बहस वा विमर्श, असहमति वा तर्क–वितर्कबाट झिल्को प्रकट हुन्छ । तर लोकतन्त्र भनेको भुसको थुप्रो होइन, न त बारुदको भकारी नै हो जुन झिल्को निस्किँदैमा दनदनी बल्न थाल्छ । प्रकट भएको झिल्कोबाटै मसाल बल्छ अनि उज्यालो फैलिन्छ भनी विश्वास गरिन्छ लोकतन्त्रमा । झिल्को निस्किनुअघि हुने घर्षणबाट ताप पनि निस्किन्छ, जुन जन–मनका लागि लाभकारी हुन्छ । यसै कारण घर्षणहरू हुन दिनुपर्छ, झिल्काहरू निस्किन दिनुपर्छ ।

डाक्टर केसी विपत्कालका झिल्का हुन्, निर्वाचित निशाकालको जूनकिरी हुन् । महात्मा गान्धीले जीवनकालमा अनेकौं मुद्दा लडे । तीमध्ये एउटामा उनले भनेका थिए रे, ‘यो मेरो सत्य हो र म यसमा अडिग रहन्छु ।’ न्यायाधीशले भने, ‘अर्काको सत्य फरक पनि हुन सक्छ र ऊ पनि त्यसमा टिकिरह्यो भने छिनोफानो कसरी हुन्छ ?’ गान्धी जवाफिएछन्, ‘यसै कारण त म अहिंसामा जोड दिन्छु । यदि हामी अहिंस्रक ढंगले आ–आफ्नो सत्यको दिशामा लम्कियौं भने अन्ततोगत्वा सबै अन्तिम सत्यतिरै बढ्न सक्छन् ।’ यसैले लोकतान्त्रिक र खुला समाजमा बहस–विमर्शबाट पन्छिने होइन, भाग्ने पनि होइन । यसलाई नै आदर्श अवस्था मानिन्छ ।

लोकतन्त्र र अधिनायकको अर्थ पनि यही मन्थनको अवस्थाबाट फरक हुन्छ । यतिखेर केसी अहिंस्रक तरिकाले सत्यको प्रयोगमा समर्पित छन् । यता सत्तावृत्तले उनलाई गलाउने, दबाउने, छल्ने, आक्षेप लगाउने, उनको छवि धूमिल पार्ने अनेकौं सूत्र र सञ्जाल प्रयोग गरिरहेको छ । भयानक हिंसाको अवस्था हो यो । यता बहुसंख्यक जनतालाई के लागेको छ कुन्नि, उनीहरू प्रतिक्रियाविहीन नै छन्, जसका कारण शासकहरूको हौसला बढ्दै गएको छ । कोही त छ, जसले जनसरोकारलाई अनाथ हुन दिएको छैन । केसीले जस्तै सबैले गर्न सक्दैनन्, तर सबैले उनले उठ्नैपर्ने सवाल उठाएका छन् भनेर स्वीकार गर्न त सक्छन् नि ! ती सवालहरूप्रति ऐक्यबद्धता त प्रकट गर्न सकिन्छ नि ! सार्वजनिक विमर्शमा उनका पक्षमा कुरा राख्न सकिन्छ । त्यति पनि गर्न नसके उनको मनोबल गिराउने कामबाट आफूलाई जोगाउन सकिन्छ । किनभने, उनले त्यस्तो लडाइँ लडिरहेका छन्, जुन खासमा आमजनले लड्नुपर्ने थियो ।

अहिंसा शब्दको व्युत्पत्ति ‘हिंसा’ सँग जोडिएको हुनाले सोझो बुझाइमा यसलाई निषेधात्मक मानिन्छ । यस अर्थमा अहिंसाको तात्पर्य हो– हिंसा नगर्नु । तर शब्द रूपमा निषेधात्मक हुँदा पनि ‘अहिंसा’ भावात्मक अथवा मूल्यको स्तरमा सकारात्मक भावको द्योतक हो । अहिंसालाई एउटा मूल्यका रूपमा स्वीकार गर्नुको निहितार्थ जीवनका सबै पक्ष, वैयक्तिक–सामाजिक जीवनका सबै रूपमा अहिंसाको बोध हुनु हो; निजी व्यवहारमा मात्र नभएर आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक क्रियाशीलताहरूमा पनि अहिंसाको भाव देखिनु हो । अहिंसा नै नैतिकताको मूल जरो हो । जीवनको विकासवादी सिद्धान्तअनुसार मानिस विकासको श्रेष्ठतम स्तर हो । दार्शनिकहरूले मानिसबाट चेतनाको चरम अभिव्यक्ति खोज्छन् र सृष्टिमा उसको हैसियतलाई केन्द्रीय मान्छन् । यसर्थ कुनै पनि सामाजिक व्यवस्थामा मान्छेलाई बहुआयामी उन्नतिका लागि कुन सीमासम्म उचित वातावरण र सुविधाहरू प्राप्त भएका छन् भन्ने हेरिन्छ । मान्छेको जैविक श्रेष्ठतालाई स्वीकार गरेपछि यो श्रेष्ठत्वले उसको अधिकार वृद्धि गर्छ कि उसैलाई अधिक उत्तरदायी पनि बनाउँछ भन्ने ख्याल गरिन्छ । मान्छेको श्रेष्ठताको अर्थ सबै थोक उसले स्वेच्छाचारी ढंगले उपभोग गर्न पाउँछ भन्ने होइन । श्रेष्ठ भएकैले उसलाई प्रकृतिको शोषण र दोहन अनि दमन र उत्पीडन गर्ने छुट छ ?

श्रेष्ठताको तात्पर्य हो– शेष जीवन र जगत्को संरक्षण र पोषण मान्छेको दायित्व हो । अहिंसाको गोरेटो समाउनु कमजोरी होइन । हिंसा बाध्यता हो । हिंसाले दृढताको अभिव्यक्ति दिँदैन । बन्दुक समाउने जोकोहीले भनेको सुनिन्छ– अर्को विकल्प थिएन । यो विकल्पहीनताको बोध नै कमजोर मानसको द्योतक हो । राज्यलाई त संगठित हिंसाको स्वरूप नै भनिन्छ । त्यही भएर उसले शान्तिपूर्ण प्रदर्शनमाथिको दमनलाई पनि औचित्यपूर्ण मान्छ । कमजोरी छोप्ने पारम्परिक तरिका हो यो । त्यस्तै, जनताका पक्षमा लड्ने भनेर बन्दुक बोक्ने/बोकेकाहरूले जहीँतहीँ दिने तर्क हो– राज्यले बाध्य पार्‍यो । यसले के देखाउँछ भने, हिंसा मजबुती होइन कमजोरीले उत्पन्न हुन्छ, तर अहिंसाको गोरेटो समाउने सत्याग्रही असलमा साहसी, निडर र निर्भय हुन्छ । ऊ ज्यान जोगाउन लुक्दै, छिप्दै हिँड्दैन । एक सत्याग्रहीको प्रतिबद्धता र प्रस्तुति सार्वजनिक हुन्छ । उसले सर्वजन हिताय आफूलाई अर्पण गरिरहेको हुन्छ । त्यसैले त गान्धी–गोरेटोलाई असम्भव सम्भावना भनिन्छ । तर निर्वाचित अधिनायकसँग जुध्न अहिंसा–अभ्यासबाहेक अर्को तरिका आत्मघाती हुन पुग्छ । हेराल्ड जे. लास्कीले पनि भनेका छन्, ‘राज्यको लक्ष्य जेसुकै होस्, यथार्थमा राज्य एक शक्ति संगठन हो, जो आफ्नो इच्छापूर्तिका लागि बल प्रयोग गर्ने वैध अधिकार राख्छ ।’ अहिलेको नेपालमा जनताका पक्षमा लड्न खोज्नेहरूले यस्ता विषयलाई हृदयंगम गर्नैपर्छ । विडम्बना, आज दुनियाँ गान्धीतिर आकर्षित हुँदै छ, तर उनीतिर चियाउनसमेत हामीलाई आफ्नै राष्ट्रवादले दिँदैन । हो, महात्मा गान्धी भारतीय भूमिमा जन्मे, जसरी सिद्धार्थ लुम्बिनीमा । तर गान्धी–दृष्टि अहिलेको नेपाली संकट छिचोल्न सही औषधि हो । सर्त एउटै छ– उनका प्रयोगहरूलाई हामीले रैथाने ज्ञानसँग जोड्ने उदारता देखाउनुपर्छ ।

उसो त अन्यत्रजस्तै नेपालमा यो ठम्याइ जीवितै छ– समानता, स्वतन्त्रता र बन्धुत्वका लागि युद्ध जरुरी छ; गरिबी, भोकमरी, गैरबराबरी, पर्यावरण असन्तुलन, बिनायुद्ध खत्तम हुन सक्दैनन्; युद्ध समाप्त गर्नका लागि युद्ध जरुरी छ । तर विश्वभरिकै आन्दोलनहरूको अनुभवले के सिकाएका छन् भने, समानता र गैरबराबरीका लागि मान्छेलाई युद्धतर्फ धकेल्नु सही होइन । मनोवैज्ञानिक स्तरमा हिंसा स्विकार्नेहरूको मानस जहिले पनि बन्दुके नै हुन्छ । हिंस्रक प्रक्रियामा परिवर्तन र नवनिर्माण सँगसँगै हिँड्न सक्दैनन्, जबकि तुलनात्मक रूपमा अहिंस्रक प्रक्रियाको स्वरूप र संगठनको मूल उद्देश्यसँग तालमेल रहिरहन्छ । गान्धीले साध्यसँगै साधनलाई पनि महत्त्व दिन्थे । बन्दुकबाट हृदय परिवर्तन हुँदैन । बन्दुकबाट हृदय परिवर्तन हुन्छ भन्नु फगत भूलभुलैया हो । र, बिनाहृदय परिवर्तन आन्दोलनले सही दिशा समाउन सक्दैन । नेपालमा हुने गरेका हिंस्रक संघर्षहरू प्रतिरोधभन्दा कसैको प्रतिशोधको उपज देखिएका छन् ।

नेपालमा मात्र होइन, आज दुनियाँमै के समझदारी विकसित हुनुपर्छ भने, सत्याग्रह र अहिंसाको माध्यमबाट राज्यको चरित्रमा सुधार ल्याउन सकिन्छ । हार्वर्ड केनेडी स्कुलका प्रोफेसर एरिका चेनोवेथ र मारिया जे स्टिफनको एउटा अध्ययनअनुसार बीसौं शताब्दीमा हिंस्रक आन्दोलन २६ प्रतिशत सफल र ६४ प्रतिशत असफल रहे, जबकि यसै अवधिमा ५४ प्रतिशत अहिंस्रक अभियान सफल रहे । नेपालमा शासकीय चरित्र मात्र फेर्नु छैन; त्योभन्दा जब्बर त सामाजिक, धार्मिक, आर्थिक सत्ताहरू छन्, जसलाई फेर्न हामीले असुविधाजनक गान्धीको सम्झना गर्नुपर्ने भएको छ । आज नेपालमा सत्यको प्रयोग गर्न चाहनेहरूले असुविधाजनक गान्धीको पुनः आविष्कार गर्नुपरेको छ, जसले कटुसत्य बताओस् स्वयंलाई पनि र अरूलाई पनि ।

गान्धी भन्थे– दण्डबाट डराउनु हुन्न; मृत्युबाट भयभीत हुनु हुन्न; विफलताको हेक्का राख्नु हुन्न; बहुसंख्यकले खोजेको बदलावका निम्ति पटकपटकको संघर्षको खाँचो छ; प्रतिरोधको बाटोमा हिँड्दा कहीँ–कतै कसैले ‘मूर्ख, अव्यावहारिक’ भन्ला भनी संकोच मान्नु हुन्न, किनभने यथास्थितिमा अनेकौं तात्कालिक लाभ देखिन सक्छन्; आफ्नो गल्तीलाई स्वीकार गर्दा कुनै भय हुनु हुन्न । अहिलेको निर्वाचित निशाकालमा जनताका पक्षमा लड्नेहरूले गान्धीका यी कुरा आत्मवरण नगरेसम्म माइतीघर मण्डलाको नाराबाजी मात्रले केही हुँदैन । यस्तै अभियन्ताहरूले नेपालमा गान्धीलाई बाँच्न सक्छन् र निर्वाचित निशाकालमा उज्यालोलाई स्थायी मार्गचित्रमा फेर्न सक्छन् । विगतका आन्दोलनहरू अपूर्ण किन भए भने तिनले प्राकृतिक सम्पदाहरूको दोहनलाई बढाए । नेपालको लोकतन्त्रले प्राकृतिक लोकतन्त्रलाई समानान्तर रूपमा अगाडि बढाएर नै भुइँमान्छेलाई पनि सम्मान दिन सक्छ ।

प्रकाशित : आश्विन १५, २०७७ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्

खाँचो बिरुवा बैंकको

मधु राई

नौ महिनाअघि खोटाङको दिक्तेल बजारनजिकको जनजागृति आवासीय विद्यालयले अवलोकन भ्रमणमा गएका हामीलाई कोसेलीस्वरूप अकबरे खुर्सानी दिएको थियो, जुन अहिले कौसीमा फलेको दुई महिना भयो । एउटा फुटेको प्लास्टिकको डस्टबिन र तीनवटा प्लास्टिकको जारमा फलेका अकबरे खुर्सानी र आफैंले जोहो गरेको बीउबाट फलेको आकाशे खुर्सानीले आंशिक रूपमा भए पनि आयातित खुर्सानीलाई विस्थापित गर्दै छन् ।

दोस्रोपटक पाकेको करेलाको बीउबाट आफैं उम्रिएका तीनवटा बोटले यति बेला भान्साको परिकार बढाउँदै छन् भने, कौसी र भुइँमा गरी दोस्रोपटक रोपेको फर्सीको बिरुवाले मुन्टा दिन छाडेको छैन । हिउँदमा रोपेको रायो सागको स्वादजस्तो नभए पनि असारमा छरेको बर्खे रायो सागले विषादीयुक्त सागलाई विस्थापित गरेको छ ।

लकडाउनपछि प्रतिकूल हावापानीका बावजुद खोटाङे अकबरे खुर्सानी विराटनगरजस्तो ठाउँमा साउन–भदौमा फल्नु भनेको भुइँफुट्टा कृषिकर्म गर्न चाहने मजस्ता धेरैका लागि खुसीको कुरा हो । आकारमा केही सानो भए पनि पिरो उस्तै हुने खोटाङे खुर्सानी भुइँमा भन्दा कौसीमा सप्रेको देखेर यसपालि झन्डै सयवटा बेर्ना ट्रे र ससाना गमलामा उमार्न थालेकी छु । आफैंले जोहो गरेको आकाशे, भुइँतिर फल्ने लामो र कालो खुर्सानीको बीउबाट सयभन्दा बढी बिरुवा हुर्काउँदै छु । कौसी र करेसाबारीमा विषादीमुक्त तरकारी फलाउन चाहने छिमेकी र अभिभावकहरूलाई लौका, फर्सी, हिउँदे बोडी र बर्खे रायोको बिरुवा बाँड्दै पनि आएकी छु । कतिपय छिमेकीले कौसी र करेसाबारीमा राम्ररी बिरुवा उमार्न नसकेको गुनासो गर्न थालेपछि यसपटक कृषक समूहका दिदीबहिनीहरूसँग मिलेर व्यावसायिक रूपमा बिरुवा उत्पादन गर्न भर्चुअल कुराकानी थालेकी छु ।

बीउबाट स्वस्थ बिरुवा उत्पादन गर्न माटोलाई निर्मलीकरण गर्न जरुरी छ । यसका लागि सातादिन जति पुरानो माटो घाममा सुकाएपछि चाल्नुपर्छ । यसरी तयार गरेको पचास प्रतिशत माटोमा पच्चीस प्रतिशत गोबर मल वा जैविक मल र पच्चीस प्रतिशत पुराना पातपतिंगर मिसाएर बिरुवा उमार्ने ट्रे वा कम गहिरा र चौडा मुख भएका ससाना गमलामा बीउ राख्नुपर्छ । यसरी बीउ राखेपछि चिस्यान हुने गरी दिन बिराएर पानी छर्कनुपर्छ । बीउ राखेको ट्रे वा गमलालाई केही दिन छायामा राख्नुपर्छ ।

यसरी बिरुवा उत्पादन गर्न सके सातादिनमै ससाना बिरुवा उम्रन्छन् र तिनलाई अझ स्वस्थ रूपमा उत्पादन गर्न पाँच–छ पात भएपछि बिरुवालाई आधा केजीको दहीको खाली बट्टा वा आधा लिटर दूधको पोकामा ससाना दुला बनाई सार्नुपर्छ । अनि केही दिनपछि कौसी वा करेसाबारीमा पाँच–छ इन्च गहिरो र पाँच इन्चको वर्गाकार खाल्डो बनाई रोप्नुपर्छ । खाल्डोमा बिरुवा रोप्नुअघि पातपतिंगर वा परालको खरानी हाल्न जरुरी छ, जसले रोग लाग्नबाट बचाउँछ । मल उपलब्ध नभए पिनाको पानी लगाउनुपर्छ । यसरी रोपेका अधिकांश बिरुवाको स्वास्थ्य राम्रो हुन्छ । यसरी उमार्न नसक्दा बीउ कुहिने हुन्छ ।

गत चैतमा लकडाउन सुरु भएयता दैनिक उपभोग्य वस्तुमध्ये तरकारीको मूल्य अकासिँदै गएको छ । विशेषगरी सहरी क्षेत्रमा दैनिकजसो तरकारी किनेरै खानुपर्ने बाध्यता छ । त्यस्ता तरकारी विषादीयुक्त हुन्छन् । जीवनशैलीका कारण सहरी क्षेत्रमा सबैजसोले आफैं तरकारी उत्पादन गर्नेबारे सोच्नसम्म सक्दैनन् । करेसाबारी र कौसी हुनेहरूलाई पनि कुन मौसममा कुन तरकारी र कसरी उमार्ने भन्ने आधारभूत ज्ञान नहुन सक्छ ।

पछिल्लो समय स्थानीय सरकारहरूले सहरवासीलाई करेसाबारी र कौसीखेती गर्न प्रोत्साहित गर्दै आएको छ । कतिपय पालिकाले वडा र टोलहरूमा कृषक समूह बनाई गमला र बीउबीजन वितरण गर्दै आएका छन् । विराटनगर महानगरपालिकाले पनि गत वर्षदेखि वर्षको दुईपटक बीउबीजन र गमला वितरण गर्दै आएको छ । तर, महानगरपालिकाबाट वितरित बीउ केहीले उमारे भने केहीको उम्रेन । स्थानीय सरकारले यसका लागि अभिमुखीकरण कार्यक्रम गर्न जरुरी छ । वितरणअघि बीउ कसरी उमार्ने भनेर कृषक समूहहरूलाई सम्बन्धित निकायले अभिमुखीकरण गर्न नसक्दा सहरी कृषिले व्यापकता पाउन सकेको छैन । बीउलाई चाहिने माटो र मल, उमार्ने विधिबारे ज्ञान नहुँदा सदस्यहरूमा नैराश्य छाउनु स्वाभाविक हो ।

त्यस्तो नहोस् भन्न सम्बन्धित निकायका पदाधिकारीले वितरित बीउ उम्रे–नउम्रेको अनुगमन गर्नुपर्छ । स्थानीय तहहरूले कृषक समूहलाई जस्तो पायो त्यस्तो होइन, स्वस्थ बिरुवा दिनुपर्छ । यसका लागि समूहगत रूपमा मौसमी तरकारीको बिरुवा उत्पादन गर्न समूहलाई बीउपुँजीसमेत उपलब्ध गराउन जरुरी छ । यसरी उत्पादित बिरुवा बिक्री–वितरण गरी आयआर्जन पनि गर्न सकिन्छ भनेर समूहलाई स्थानीय तहहरूले अभिमुखीकरण गर्न सके तरकारीमा परनिर्भरता घट्दै जान्छ । सहरी कृषिलाई प्रवर्द्धन गर्न स्थानीय सरकारले कृषक समूहहरूलाई बिरुवा बैंक सञ्चालन गर्न प्रोत्साहित गर्नुपर्छ । स्थानीय सरकारले कृषक समूहलाई सबलीकरण गर्न वार्षिक रूपमै रणनीतिक योजनासहित बजेट विनियोजन गर्नु समयोचित हुन्छ ।

प्रकाशित : आश्विन १५, २०७७ ०८:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×