‘संयोगवश’ बाँचेकाहरूको क्रान्ति 

सामन्ती संरचनामा अडिएको धर्मसत्ता, जात व्यवस्था र पितृसत्तात्मक अहंकारको बोलवाला रहुन्जेल समाज संरचनात्मक हिंसाको आदतबाट बाहिर निस्कन सम्भव छैन ।
सरिता तिवारी

काठमाडौँ — यो ‘समाजवाद–उन्मुख’ भनिएको लोकतन्त्रमा कहिलेकाहीँ लाग्छ— यस्तो समाज जहाँ आत्मसम्मानले बाँच्ने हक ‘उच्च’ जातका अति सीमित पुरुष मात्रलाई छ, त्यहाँ कोही महिला भएरै पनि या दलित र सीमान्त समुदायको भएरै पनि बाँचिरहेको, सास फेरिरहेको छ भने त्यो केवल संयोग मात्रै हो ।

‘संयोगवश’ बाँचेकाहरूको क्रान्ति 

हामी हिंस्रक घटनाका सिकार हुनु वा मारिनु सामान्य कुरा हो । जो मारिएका छैनौं र अझै पनि बोल्दै छौं, लेख्दै छौं या वैचारिक मुठभेडका लागि तयार भएका छौं, यो केवल प्रायोजित दुर्घटनाहरूबाट छलिँदै संयोगवश बाँच्न सक्नुको परिणाम हो ।

संयोगवश ! केवल संयोगवश ।

संयोगवश नमिता–सुनिता, निर्मला पन्त या माया विक (कञ्चनपुर) बन्नबाट कसोकसो जोगिएर । संयोगवश दीपिका–दीपशीला सुनार (चितवन), श्रेया सुनार (कास्की), अंगिरा पासी (रुपन्देही) या सुनिता यादव (पर्सा) बन्ने नियतिबाट छलिएर । संयोगवश अजित मिजार (काभ्रे), शम्भु सदा (धनुषा) या नवराज विक र उनका साथीहरू (रुकुम) ले जस्तो मरणान्त आक्रमण भोग्नबाट बचेर ।

यस्ता नाम र क्रूर हिंसाको शृंखला लामो छ र सम्भवतः त्यसैले पनि होला, हाम्रो सामूहिक स्मृतिलाई लाग्न सक्छ— यस्ता घटना सामान्य हुन्, भैरहन्छन् । यतिखेरै बझाङको मस्टा गाउँपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकामा दुई नाबालकले ज्यान गुमाए । दुवैको उमेर १२ वर्ष । आफूभन्दा निकै बलियो हिंसामत्त पुरुषपन्जाबाट ज्यान फुत्काउने कठोर संघर्षपछि ती कलिला नानीहरूको बलात्कार र त्यसपछिको बर्बर हत्या ! के यो सजिलै बिर्सन सकिने या बिर्सन मिल्ने विषय हो ?

०० ००

व्यक्तिगत संवादका क्रममा रुकुम हत्याकाण्डपछिको तनाव साझा गर्दा एक लेखक मित्रले भनेको सम्झन्छु, ‘यस्ता घटनाहरू त दिनदिनै हुन्छन्, साथी ! लेखकले अलि व्यापक वृत्तमा उभिएर सोच्नुपर्छ । हामी मान्छे मात्रैको होइन, पृथ्वीकै अस्तित्व संकटमा छ भनेर कहिल्यै कन्भिन्स छैनौं !...’

खेदको कुरा के मात्रै हो भने, मेरा ती मित्रले मारिनेहरूका नाममा एउटा सामान्य संवेदनाको भावसम्म प्रकट गरेनन् । उनको मनभित्र त्यस्तो संवेदनाको भाव थियो भने उनै जानून्, तर उनका विचारमा त्यसको कुनै संकेत थिएन ।

देशमा त्यति ठूला भनिएका परिवर्तनपछि पनि मान्छे जातकै अहंकार तुष्टि गर्न जिउँदाजाग्दा, हाँस्दाखेल्दा फूलजस्ता युवकहरूलाई निर्मम रूपले कुटीकुटी मार्न सक्छ र यत्रो रक्तपातपूर्ण हिंसा मेरो मित्रलाई सामान्य र दैनन्दिनको घटना लाग्छ । एउटै समाजमा उनैउनै घटनाक्रमबीच बाँचिरहेका दुई व्यक्ति (त्यसमाथि पनि लेखक) लाई एउटै घटनाले तनावग्रस्त बनाउने र बाल नछुने कसरी हुन सक्छ भन्ने कुराको जवाफ असजिलो भने छैन ।

राजनीतिभन्दा निकै पर छ भन्ने दाबी गरिने ‘मानवीय संवेदना’ जस्तो ‘अमूर्त’ पदार्थ पनि कसरी घोर राजनीतिक भएर व्यक्त वा ‘अव्यक्त’ हुन्छ ? यसको उत्तर सामाजिक संरचनाको सोपानक्रममा छ । दुःख, संवेदना, तनाव र त्यसविरुद्धको मानसिक संघर्ष पनि कसरी सजातीय, सवर्गीय, सलैंगिक हुन्छन् भन्ने थाहा पाउन सामाजिक भिन्नताको चरित्र थाहा पाउनुपर्ने रहेछ । जब भिन्नताहरूले उभिएको समाजमा उभिनु छ, यहीँ बाँच्नु छ भने यहाँ किन मानवीय संवेदनासमेत साझा (कमन) छैन भन्ने कुराको जरो बुझ्नु नितान्त जरुरी रहेछ ।

‘प्रिभ्लेज्ड’ जात, वर्ग वा लिङ्गको व्यक्तिले दलन, शोषण र हिंसा बुझ्नै सक्दैन भन्ने होइन, तर त्यसरी बुझ्ने बन्नका लागि घटनाक्रमहरूबारे सोच्ने प्रक्रियामा व्यक्ति आफ्नो ‘स्पेस–निरपेक्ष’ बन्न सक्नुपर्ने रहेछ । जस्तो कि, तपाईं आफू बाहुन, क्षत्री वा कथित पानी चल्ने जातको पुरुष नभई यदि दलित या महिला हुनुहुन्थ्यो भने दलित या महिलामाथि भएको हिंसात्मक घटनाविशेषबारे तपाईंको प्रतिक्रिया के हुन सक्थ्यो ? पक्कै पनि तपाईंको विचार ‘उच्च’ जातको पुरुष–परिवेश र अनुभवले निर्धारण गरेकोभन्दा फरक नै हुन्थ्यो । व्यक्तिभित्र धारणाहरू, विचारहरू कसरी बन्छन् भन्ने कुरा वास्तवमा व्यक्तिको परिवेश, स्थान, जात, वर्ग र लैंगिक स्थिति (स्टाटस) ले तय गर्दा रहेछन् । जब कुनै ‘उच्च जात’ को व्यक्ति आफ्नो ‘स्पेस–निरपेक्ष’ विवेकको अधिकतम उपयोग गर्न थाल्छ र सार्वभौम, साझा मनुष्यताका बारेमा विचार गर्न थाल्छ, त्यही क्षणदेखि नै उसको दिमागभित्र बसेको तहगत संरचना भत्कन सुरु गर्छ । आफूसँग जोडिएको उच्च जात र सुविधाजनक स्पेसका सबै परिसीमाहरू नाघेर समग्र र साझा मानवताको हितमा हात फैलाउने उदात्त चेतना विकसित हुन थाल्छ ।

मान्नुस्, तपाईं ‘प्रिभ्लेज्ड’ भनिएको समुदायको व्यक्ति हुनुहुन्छ र समाजको असमान संरचनात्मक निर्मिति देखेर आफैंसँग समेत द्वन्द्व र अन्तरक्रिया गर्न थाल्नुहुन्छ भने निश्चितै रूपमा तपाईं सदियौंदेखि समाजले अभ्यास गरेको संरचनात्मक हिंसाविरुद्ध लड्ने संकल्पको चरणमा प्रवेश गर्नुहुन्छ । तपाईंभित्र बिस्तारै आफ्नै पूर्वजले गरेका या आफैंले जानी–नजानी गरेका छुवाछुत र हिंसाप्रति ग्लानि र क्षमायाचनाको भाव जागृत हुन थाल्छ । महिलामाथि हुने प्रत्येक हिंसाका घटनामा आफू पुरुष हुनुको लज्जाबोध हुन थाल्छ । व्यक्तिगत रूपमा तपाईं दोषी होइन तर त्यो दोषको अंशियार म पनि हुँ भन्ने अपराधबोधले छटपटिनुहुन्छ ।

त्यसै बेलादेखि तपाईंलाई आफ्ना जातीय, लैंगिक लगायतका सबै परिचय छुद्र लाग्छन्Ù गौण लाग्छन् । तपाईंलाई मान्छेको ‘पहिचान र आत्मसम्मान’ को संघर्ष सबभन्दा प्यारो र जरुरी विषय लाग्छ । उत्पीडित र सीमान्त छेउकुनाका आवाज आफ्नै लाग्छन् । यसलाई समानुभूति (इम्प्याथी) भन्छन् । तपाईंभित्र पलाउँदै गरेको समानुभूति जब व्यवहारमा, सार्वजनिक अभिव्यक्तिमा, रचनाहरूमा प्रकट हुने क्रम थालिन्छ, तपाईंका कतिपय सजातीय मित्रहरू त्यसलाई ‘नक्कली र भावुक कन्फेसन’ को लेबल लगाउन हतारिनेछन् । जात व्यवस्था र पितृसत्ताको अन्यायी दलदललाई नै सही ठहर्‍याइरहेका मान्छेहरू तपाईंलाई अनेक किसिमका गाली र अपशब्दले विभूषित गर्न थाल्नेछन् । युरो, डलर र भारुमा बिकेको कथित बौद्धिक भन्दै बरबराउन थाल्नेछन् ।

दलित, महिला र सीमान्तहरूको ‘मान्छे’ बन्ने संघर्षमा आफ्नो बोली र उपस्थिति कुनै पनि हालतमा अनिवार्य छ भन्ने ठहर गरेको दिनदेखि तपाईं सहुलियत र अनुकूलताको ‘स्वर्ग’ मा बाँचिरहेको सबैभन्दा बलियो सत्ताको स्थायी दुस्मन बन्नुहुन्छ । तपाईं आफ्ना पुराना साथीहरूबाट छुट्टिँदै जानुहुन्छ तर नयाँ मानिसहरूसँग जोडिँदै जानुहुन्छ । तपाईं अब काव्यिक रोमाञ्च, किताबी गफ र बौद्धिक विलासमा होइन, आन्दोलनहरूमा भेटिनुहुन्छ । व्यापक छलफल र विमर्शहरूमा भेटिनुहुन्छ । तपाईं म होइन, हामी भएर सोच्ने बन्नुहुन्छ । स्वतन्त्रताको वृत्त व्यक्तिमा होइन, समूह र समाजमा खोज्ने बन्नुहुन्छ ।

आफ्नै परिचय, मित्रमण्डली र पुराना विश्वासबाट विच्छेद हुँदै गएपछि जसरी नयाँ मान्छे बन्ने प्रक्रिया थालिन्छ, त्यसपछि तपाईंले सबैभन्दा पहिले देख्ने दृश्य हो— जात (लिंगसमेत) व्यवस्थाले गाडेको हिंसाको मौलो । यो मौलो अन्त कहीँ छैन, हरेक मान्छेका दिमागभित्र छ । यो मौलो गाड्ने हाम्रो समाजले अभ्यास गरेको विभेदकारी, शोषणकारी धर्म होÙ धर्मकै टेकोमा अडिएका संस्कार र कथित संस्कृति हुन् । बाहुन–क्षत्री शासक पुरुषका अनुकूल हुने गरी निर्माण गरिएका कानुन हुन् । शिक्षा र राज्यका नीतिनियम हुन् ।

यति कुरो बुझेपछि तपाईं सजिलै बुझ्नुहुन्छ, गृहमन्त्री रहेकै अवस्थामा वामदेव गौतम भन्ने कम्युनिस्ट बिल्लाधारी नेता ‘संक्रमणकालमा बलात्कारहरू भैहाल्छन् नि’ किन भन्छन् ! उही कम्युनिस्ट मार्काका बहालवाला गृहमन्त्री जातीय हिंसा यहाँ मात्रै छैन भन्दै ६/६ जनाको नृशंस नरसंहारलाई किन सामान्यीकरण गर्न खोज्छन् ! बहालवाला महान्यायाधिवक्ता उक्त घटनालाई मिडियाले बढाइचढाइ गरेको, ‘असामान्य बनाइदिएको’ किन देख्छन् !

तपाईं बुझ्नुहुन्छ, जनताकै प्रतिनिधित्व गर्ने ठाउँमा बसिरहेका र अझ रूपचन्द्र विष्ट स्कुलिङका कुनै रामनारायण बिडारी भन्ने व्यक्ति ९० प्रतिशत बलात्कार भनिएका केस बलात्कारै होइनन्, सम्पत्ति कुम्ल्याउने माध्यम हुन् भन्दै किन अन्टसन्ट फलाक्छन् ! व्यापक फ्यान फलोअर्स भएका, यो देशको उच्च प्रशासनिक नेतृत्व गरिसकेका कुनै व्यक्ति सामाजिक सञ्जालमा आफ्ना स्त्रीद्वेषी विचारको प्रतिकार गर्न आउने युवा महिलालाई ‘कुकुर्नी’ भन्दै तह किन लगाउन खोज्छन् !

०० ००

सामन्ती र अर्धसामन्ती आर्थिक–राजनीतिक प्रणाली ढालेर राजाबिनाको लोकतन्त्र ल्याउने संघर्षमा आधार तहबाटै जनतालाई संगठित गर्न जातीय र लैंगिक प्रभुत्वविरोधी ‘इमोसन’ को खुबै उपयोग गरिएको हो । तर अहिले आएर त्यो राजनीतिक क्रान्तिको साध्य उच्चजातीय पुरुष शासनकै चङ्गुलमा अड्केको छ । त्यत्रो बलिदानपछि ल्याइएको संविधान, कानुन र पद्धति उत्पीडित समुदाय, वर्ग, क्षेत्र र लिंगलगायत जनताको साझा होइन, पहुँचवालाको मात्रै पोल्टाको फल भएको छ ।

सिंहदरबारदेखि गाउँ–ठाउँसम्म लोकतन्त्रका लागि लडेका कांग्रेस–कम्युनिस्टकै ‘राज’ छ तर अझै पनि सामन्ती र विभेदकारी संरचनाका कथित ‘पञ्चायती’ बसेर महिला र दलितविरोधी, पीडितपक्षीय निर्णय गर्ने क्रम रोकिएको छैन । यस्ता पञ्चायती र कचहरीहरू बलात्कारीविरुद्ध उजुरी दिन नहुने निर्णय गर्छन् । पैसा लिएर मिलापत्र गर्न पीडित पक्षलाई दबाब दिन्छन् । परिणामतः अपमानले पासो लगाउने र पीडकको डरले थरहरी हुँदै बाँच्ने पीडितको ‘रेकर्डेड’ वा ‘अफ द रेकर्ड’ संख्या कति छ ? अनुमानबाहिर छ । यी हत्यारा पञ्चायती र कचहरीहरूको प्रवर्द्धन गर्ने प्रहरी र स्थानीय सरकार नै हुन् जसले मुद्दा सकेसम्म गाउँमै मिलाउनू भन्छन् । पछिल्ला कतिपय परिणामले स्थानीय सरकार अन्तर्गतका न्यायिक समितिमाथि प्रश्न उठाउने स्थिति बनाएका छन् ।

हामीसँग कानुन छ तर कानुनमाथि पहुँचवालाको रजगज छ । न्यायालयलाई नै घोर अन्यायी, बिकाउ र सत्ताको चरणदास बनाइएको छ । गीता ढकाल हत्याकाण्डका दोषी रञ्जन कोइरालाको रिहाइमा सर्वोच्च अदालतको फैसला अहिलेको सबैभन्दा नांगो दृष्टान्त हो ।

सप्रसंग, यतिखेर एक जना पूर्ववामपन्थी नेता र लेखकले गरेको चरम यौन हिंसाको आरोपका कारण एउटा पुरस्कार दिने संस्थाको निर्णय ठूलो विवादमा छ । आरोप लागेका राजनीतिकर्मी/साहित्यकार मोदनाथ प्रश्रितले आरोप लगाउने शारदा भुसालको किताब ‘धरातल’ को तथ्यसंगत प्रतिकार गरेका छैनन् । रोचक के छ भने, प्र्रश्रित ‘नारीबन्धन र मुक्ति’ जस्ता अनेक विद्रोही किताबका लेखक हुन् । यो त एउटा प्रकरण मात्रै हो । कम्युनिस्ट पार्टीभित्र यस्ता अनेकौं विरोधाभासहरूको खात छ ।

कम्युनिस्ट आन्दोलनका नेतृत्वकर्ताले उत्पीडनको भाष्यबाट जति धेरै चुनावी लाभ उठाएका छन्, त्यसको अंशभर पनि उत्पीडनको अनुभूति सहवरण गर्ने उदात्तता र त्यसविरुद्ध लड्ने व्यावहारिक संकल्प देखाएका भए शारदा भुसालदेखि निर्मला पन्त या अजित मिजारसम्मले उहिल्यै न्याय पाउँथे । न्यायको लडाइँ यति पेचिलो र संघर्षपूर्ण हुने थिएन । सम्भवतः बलात्कार र हत्याका यति क्रूर घटना थपिने पनि थिएनन् ।

आफूलाई आम नागरिक मात्रै ठान्नेदेखि लेखक, राजनीतिकर्मी र समाजका सबै क्षेत्रका अगुवासम्मले एउटा कुरा मान्नैपर्ने हुन्छ— जतिसुकै ठूलो राजनीतिक क्रान्ति गरे पनि त्यसले समाजको आधारभूत तहलाई सम्मानजनक रूपान्तरण गर्न सक्दैन भने, त्यस्तो कुनै पनि क्रान्ति कालान्तरमा अर्थहीन हुन्छ । सामन्ती संरचनामा अडिएको धर्मसत्ता, जात व्यवस्था र पितृसत्तात्मक अहंकारको बोलवाला रहुन्जेल समाज संरचनात्मक हिंसाको आदतबाट बाहिर निस्कन सम्भव छैन ।

संरचनात्मक हिंसाको प्रतिरोधमा दलितविरोधी, स्त्रीविरोधी, अल्पसंख्यकविरोधी विषाक्त वातावरण र नाम मात्रको लोकतन्त्रमा हामीलाई एउटा व्यापक र साझा सामाजिक क्रान्तिको कार्यक्रम चाहिएको छ । त्यसको तयारी गर्ने इच्छाशक्ति चाहिएको छ । उत्पीडित समुदायमाथिको सदियौंको अन्याय, दलन र पीडा सहवरण गर्ने आन्दोलन चाहिएको छ । कुरा यत्ति मात्रै हो, तपाईं–हामी त्यस्तो आन्दोलनको, त्यस्तो क्रान्तिको सिपाही बन्न तयार हुने कि नहुने ? किनभने, निश्चित छ, अबको क्रान्ति ‘संयोगवश’ मर्नबाट जोगिएकाले नै गर्नुपर्छ ।

(मंगलबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : आश्विन १२, २०७७ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?