मानविकी पढ्ने हो ?- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मानविकी पढ्ने हो ?

वर्षमा चार–पाँचवटा किताब पनि छिचोल्न नसकी गेसपेपर घोक्ने, थेसिस अरूलाई लेख्न लगाउने र कुनै कुरा सिक्न नचाहनेका लागि मानविकी गाह्रै विषय हो ।
नारायणी देवकोटा

उच्च माध्यमिक तहको भर्ना सुरु भएपछि यति बेला धेरै विद्यार्थीलाई के विषय पढ्ने भन्ने चिन्ताले सताइरहेको छ । अभिभावकलाई भने आफ्ना छोराछोरीलाई के पढाउने, उक्त विषय पढाउनका लागि आफ्नो आर्थिक क्षमताले भ्याउला–नभ्याउला, उक्त विषयमा छोराछोरीले गरेको समय, श्रम र पुँजी लगानीको प्रतिफल के हुने भने कुराले सताइरहेको छ ।

मानविकीमा आउने धेरै विद्यार्थीको भनाइ ‘अहिलेसम्मको पढाइ त्यति राम्रो नभएको र अभिभावकको आर्थिक हैसियत पनि राम्रो नभएको कारण मानविकी पढ्ने’ भन्ने पाइन्छ । केही विद्यार्थी राम्रो अंक र परिवारको बलियो आर्थिक अवस्था हुँदा पनि आफ्नो गहन रुचिका कारण वा विज्ञान र गणितप्रतिको झर्कोका कारण मानविकी पढ्न लालायित भएको भन्ने बुझिन्छ । यो लेख मानविकीको पढाइ, त्यसमा चाहिने लगानी र त्यसबाट आउने प्रतिफलमा केन्द्रित छ ।

मानविकी सजिलो छ ?

सजिलो वा अप्ठेरो भन्ने कुरा आफैंमा द्विविधाग्रस्त छ । कुनै पनि विषय सजिलो हो कि होइन भन्नेबारे कुरा गर्दा हामीले केका लागि पढ्दै छौं, त्यो मुख्य हुन्छ । उल्लेख गर्नैपर्ने कुरा के हो भने, सामुदायिक विद्यालयमा उत्कृष्टताको मापन गर्ने तीन विषयमध्ये विज्ञान र गणित उच्च माध्यमिक तहमा पुगेपछि नचाहेमा फर्केर पनि हेर्नुपर्दैन । र, अंग्रेजी आफ्नो राम्रो भनेर जसले जति फुर्ती लगाए पनि यो अरूको भाषा हो । आफ्नै भाषाजस्तो गरी कसैलाई नआउने हुँदा त्यसको पनि त्यति ठूलो पीर मानिहाल्नुपर्दैन । यसले गर्दा प्रमाणपत्र बटुल्ने, जीवनमा राम्रो नम्बर ल्याएर पास गरेको फुर्ती लगाउने लाइनमा लाग्ने हो भने पनि स्नातकसम्मको मानविकी संकायको पढाइ सजिलै हुन्छ भन्दा अत्युक्ति हुँदैन ।

त्यसमाथि आफ्नै वरिपरिका घटनासँग जोडिएका विषयसँग सम्बन्धित भएको हुँदा मानविकी बुझ्न सजिलो र पढ्न रमाइलो पनि छ । अंग्रेजी बाध्यात्मक रूपमा पढ्न नपर्ने हुँदा, नियमित रूपमा कक्षामा गएको भर वा घरमै बसेर मिहिनेतसाथ किताब पढेका भरमा पनि पास गर्न सकिन्छ । अहिलेसम्म धेरै विद्यार्थीले त्यसै गरेका पनि छन् । यसरी हासिल गरेको डिग्री यत्ति नम्बर ल्याएर पास गरेको भनेर गफ दिनका लागि वा जागिरमा प्रवेश गर्नका लागि मात्रै काम लाग्छ । तर स्नातकभन्दा माथि पढ्ने र आफूलाई कुनै विषयको विज्ञ बनाउने हो भने मानविकी अप्ठेरो विषय बन्दै जान्छ । यसरी अप्ठेरो हुनुको कारण हो– नेपालीमा लेखिएका सामग्रीहरू पर्याप्त नहुनु । नेपाली भाषामा भएका कतिपय किताब निकै कमसल र दुई अर्थ लाग्ने गरी लेखिएका छन् । त्यसैले अंग्रेजी कमजोर हुनेका लागि स्नातकभन्दा माथिको मानविकी पढाइ गाह्रो हुन्छ र पढ्दै जाँदा अंग्रेजी बाध्यकारी भएर आउँछ । त्यसैले मानविकी सजिलो पनि छ र गाह्रो पनि छ ।

समयको लगानी

सजिलो वा अप्ठेरो भन्ने कुरा विद्यार्थीले उक्त विषयमा कति समयको लगानी गर्न सक्छ, त्यसमा पनि भर पर्छ । सामान्यतया प्राविधिक शिक्षाभन्दा मानविकीको शिक्षा हासिल गर्न प्रणालीगत रूपमै लामो समय लाग्छ । कुनै विषयको विज्ञ बन्न र आफू विज्ञ बनेको समाजले स्विकारोस् भन्नका लागि, अपवादहरूलाई छोड्ने हो भने, अब एमएको डिग्रीले मात्रै पुग्दैन । न त एउटा विषयमा एकपटक पीएचडी सकेर नै हुन्छ । त्यसमाथि समाज आफैं परिवर्तनशील हुने हुँदा नयाँनयाँ परिभाषा र वस्तुस्थिति बुझ्नका लागि यो कामलाई जीवनभरि निरन्तरता दिनुपर्ने हुन्छ । यसका लागि व्यक्तिविशेषका साथसाथै परिवारको लगानीले पनि उत्तिकै महत्त्व राख्छ ।

समाजशास्त्रका प्राध्यापक मधुसूदन सुवेदी भन्नुहुन्छ, ‘परिवारको बलियो सहयोग नभएको मान्छेले मानविकी पढेर केही गर्छु भनेर सोच्ने होइन रहेछ ।’ मधु सरले भनेको परिवारको बलियो सहयोग आर्थिक मात्रै होइन, नैतिक, बौद्धिक र समयको पनि हो । धेरै समाजविज्ञहरूले राम्ररी काम गर्न नसक्नुको कारण परिवारभित्रैबाट नैतिक, बौद्धिक र समयको लगानी हुन नसक्नु पनि हो भन्न सकिन्छ । तर नेपालमा घरपरिवारको विविध सहयोग त परको कुरा, धेरैका लागि आफ्नै समय व्यवस्थापन गर्न पनि निकै गाह्रो हुन्छ । समाज र परम्पराले तोकेको लैंगिक भूमिकाका कारण धेरै विवाहित महिलाका लागि चाहेर पनि आफूलाई विज्ञ बनाउने गरी पढ्न र अभ्यास गर्न गाह्रो भइरहेको छ । यिनै गाह्रोका बीच जबरजस्ती अगाडि बढेका महिलालाई पनि समाजविज्ञानभित्रै भएको विभेदकारी सोचका कारण क्षमताअनुसारको ठाउँ र जिम्मेवारी दिइँदैन, दिइएको छैन । मध्यमवर्गका विद्यार्थीहरूलाई केही कमाउने, केही पढ्नेजस्तो बाध्यता छ । त्यसैले उच्च–मध्यम वर्गका मान्छे, जसले नकमाए पनि भोकै बस्नुपर्दैन, परिवारको सहयोग सजिलै पाउँछन्, उनीहरूलाई स्नातकमाथिको मानविकी सजिलै विषय हो । तर जो आफ्नै रहरमा, आफ्नै बुतामा परिवारको असहयोग र आर्थिक अभावका बीच पनि मानविकी पढेर केही गर्न खोजिरहेका छन्, उनीहरूका लागि यो गाह्रो विषय हो ।

आर्थिक लगानी र उपार्जनको बाटो

चर्को शुल्कका कारण धेरै विद्यार्थीले विज्ञान वा प्राविधिक विषय पढ्न चाहँदैनन्, चाहेर पनि सक्दैनन् । त्यसैले पनि केही विद्यार्थी व्यवस्थापन, केही मानविकी र केही शिक्षा संकायमा भर्ना हुन्छन् । मानविकी अरूभन्दा सस्तो विषय हुँदैमा यसबाट आम्दानी पनि कम हुने हो त ? आर्थिक उपार्जनको विषय चल्दा म प्रायः हाम्रा गुरु चैतन्य मिश्रलाई सम्झन्छु । उहाँ एमए र एमफिलको पहिलो कक्षामा विद्यार्थीलाई ‘जीवनमा पैसा कमाएर रातारात धनी हुने सपना देखेका विद्यार्थीले यो विषयमा हात नहाले हुन्छ’ भन्नुहुन्थ्यो । अर्कातिर, ‘काम पाइएन एमए पास गरे पनि’ वा ‘एमए पास गरेर पनि खाडीको लाइनमा’ वा ‘शैक्षिक बेरोजगारको कोरिया जान लागेको लाइन’ वा ‘एमएको प्रमाणपत्र सिरानीमा राखेर’ जस्ता गीत, उखान र भनाइ पनि हाम्रै वरिपरि छन् ।

तर, पढाइको सर्टिफिकेट देखाएर जस्तोतस्तो काममा हात नहाल्ने, एकैपटक सर्टिफिकेटकै भरमा ठूलो जागिर नपाउने समस्याका कारण धेरै विद्यार्थीले आफ्ना सपनाको सान्दर्भिकता एमएको सर्टिफिकेटमा देख्न छोड्छन् । यसरी सपना र प्रमाणपत्रको तादात्म्य नमिल्ने कुरा धेरैजसो तिनैको हकमा लागू हुन्छ जो मानविकीलाई सजिलो भनेर भर्ना भएका हुन्छन् । भर्ना गरे पनि वर्षभरि भएका कक्षामा गएर पढेका हुँदैनन् र बजारमा पाइने गेसपेपरको भरमा परीक्षा दिएका हुन्छन् ।

आफूले पढेको विषयमा चासो दिने विद्यार्थीका लागि माध्यमिक विद्यालय पास गर्दा उसले प्राप्त गरेको नम्बरले लामो समयमा खासै ठूलो महत्त्व राख्दैन । र, कुनै एक क्षेत्रमा आफूलाई केन्द्रित गरेर काम गर्ने हो भने नेपालमा मध्यम वर्गको जीवन गुजार्न पुग्ने काम पाउन गाह्रो पनि पर्दैन । तर, वर्षमा चार–पाँचवटा किताब पनि छिचोल्न नसकेर गेसपेपर घोकेर पास गर्ने, अरूलाई लेख्न लगाएर थेसिस बुझाउने र कुनै कुरा सिक्न नचाहनेका लागि मानविकी पढे पनि बेरोजगार हुने विषयचाहिँ हो । यो कुरा अरू प्राविधिक विषयमा पनि लागू हुन्छ ।

अन्त्यमा, किन पढ्ने त मानविकी ? मानविकीले संसार र मानवजीवन बुझ्न–बुझाउन एवं त्यसलाई निर्देशित गर्नका लागि नीतिनियम बनाउन, आवश्यक ज्ञानको दायरा फराकिलो बनाउन सघाउँछ । त्यसमाथि आफ्नै जिन्दगीसँग जोडिएका तमाम कुरा बुझ्नसमेत सघाउँछ । ज्ञानको दायरा फराकिलो बनाउनका लागि मानविकी महासागर हो ।

त्यसबाट ज्ञानको पानी कति पिउने वा अरूलाई पिलाउने वा समुद्रमा आफ्नो ज्ञानका कति बुँदा थप गर्ने भन्ने कुरा व्यक्तिमा भएको ज्ञानको भोक, उक्त भोकले खारेको ज्ञान र त्यो ज्ञानको वितरणले निर्धारण गर्छ । त्यति टाढा नगई सामान्य जागिर खानका लागि पनि यो काम लाग्छ । तर, आफ्नै वरिपरिको दुनियाँको कुरा रमाइलो भए पनि मानविकी सजिलो छ भनेर मिहिनेतै गर्न नपर्ने विषय होइन । अप्ठेरो भनेर छिर्नै नहुने विषय पनि होइन ।

प्रकाशित : आश्विन १२, २०७७ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्

बोल्न कुनै ‘वादी’ हुनु पर्दैन

समाजमा केही महिला ‘ एक्कै लुम भए पनि पोते लगाऊ न’ वा ‘ एक्कै धर्को भए पनि सिन्दूर लगाऊ न’ भन्ने आग्रहबाट दिक्क भएका छन् भने केही महिला शारीरिक रुपमा महिलासँगै आकर्षित भएको कुरा व्यक्त गर्न नपाएर छटपटाइरहेका छन् ।
नारायणी देवकोटा

साउन पहिलो साता सोफिया थापाले गाएको ‘तीजमा हुने विभेदलाई बहिष्कार गरौं’ भन्ने आशयको गीत हिन्दु अतिवादीका धम्कीका कारण युट्युबबाट हटाइँदै गर्दा श्रीमती मारेर जन्मकैद भुक्तान गरिरहेका एक अपराधी लोकतन्त्रको योद्धाको जस्तो आत्मविश्वासका साथ हात हल्लाउँदै जेलबाट बाहिरिँदै थिए ।

लगत्तै ‘राम्री भएको घमण्ड गरेको’ आरोप लगाउँदै पवित्रा कार्कीलाई एक पुरुषले अनुहारमा एसिड छ्यापे । त्यसैबेला कसैको नाम उल्लेख नगरी आफू यौन दुर्व्यवहारमा परेको भनाइ सार्वजनिक गरेकी एक नायिकामाथि ‘शक्तिशाली’ नायक–निर्माता क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै मुद्दा दायर गर्दै थिए ।

यस्ता घटना सार्वजनिक भइरहँदा मानिसहरू फलानो विषयमा महिलावादी बोले कि बोलेनन् ? फलानो विषयमा मात्रै किन बोले ? कुन विषयमा किन बोले, कुन विषयमा किन बोलेनन् ? के फन्टासी हो ? के रियालिटी हो ? कुनचाहिँ प्राथमिक हो ? कुनचाहिँ द्वितीयक हो ? भनेर सार्वजनिक बहसमा उत्रिरहन्छन् । के हरेकले हरेक विषयमा बोल्नु जरुरी छ ?

महिलाका रहर, अप्ठेरा, सपना अनि महिलामाथि भएका दुर्व्यवहार, शोषण र हिंसाको विरुद्धमा बोल्ने मानिसलाई महिलावादी करार गरिदिन्छन् केही पढे–लेखेका मानिसहरू । महिलावादी (नारीवादी) हुनु भनेको पुरुषका हरेक कदमको विरोध गर्नु र महिलाका जस्तासुकै कुरामा पनि आँखा चिम्लेर समर्थन गर्नु हो भन्ने मानक स्थापित छ । यस्तो नजरले घरमा श्रीमान्लाई बस्न—खान पनि नदिने र पारपाचुके पनि नगर्ने महिलालाई पनि र वर्षौंसम्म कैयौं विभेद एवं दमनका चाङमुनि पिसिएर बल्लबल्ल आफूले भोगेका विभेदबारे बोल्न साहस जुटाउने महिलालाई पनि एकसाथ महिलावादी देखिदिन्छ । यसरी देख्ने नजर पुरुषका मात्रै छैनन् । ‘महिलाको विषयमा महिला नै बोल्नुपर्छ’ भन्ने महिलाहरूको पंक्ति अझ अगाडि सर्छ ।

यस्तो पंक्तिमा रहेकाहरू नै फेरि सामाजिक सञ्जालमा ‘म यति पढेकी मान्छे, श्रीमान् मर्दा सती जान्छु’ भनेर लेखिदिन्छन् वा यसरी लेखेको कुरा सहमतिसहित सेयर गर्छन् । सती नै जान तयार भएपछि त छाउगोठमा बस्नु, बलात्कारमा पर्नु, एसिड छ्यापिनु, घरेलु हिंसाको सिकार हुनु ठाउँअनुसार अनौठो हुने नै भएन । र, श्रीमान्ले गरेको मानसिक हिंसालाई ‘ऊ डिप्रेसनमा परेको, ऊ त्यस्तै सन्की भएको, उसको बानी नै त्यस्तै (कचकचे, छुच्चो मुख, छाडा बोलिहाल्ने, कसैको शरीरमा हात लगाइहाल्ने) भएको’ आधारमा हिंसा नै नगनिने भयो ।

यो पंक्तिमा प्रसिद्ध छ, शेरा तामाङले नेपालको पूरै महिला आन्दोलनलाई लेबल लगाएर लेखेको ‘विकासे नारीवाद’ लेख । अहिले उक्त बहस ‘महिलामाथिको दुर्व्यवहार, हिंसा र शोषण पुँजीवादले गरेको छ र पितृसत्तालाई मुख्य शत्रु देख्नु फेन्टासी हो’ भन्नेमा पुगेको छ । तर, मानव समाजका पाँच प्रकारका संरचनात्मक विभेदमध्ये जात/वर्ण व्यवस्था, वर्ग व्यवस्था र लैंगिक विभेद विशेष छन् भनेर समाजशास्त्रमा अहिले आम रूपमा स्वीकार गरिएको छ ।

यस्ता विभेद कसैको जिन्दगीमा एक्लाएक्लै त कसैको जिन्दगीमा अन्तरसम्बन्धित भएर प्रकट भएका हुन्छन् । उदाहरणका लागि उच्च जात वा गोरा सामुदायिक धनी महिला, महिला भएकै कारण हिंसामा पर्छिन् भने त्यो विभेद लैंगिकताका आधारमा मात्रै हुने भयो । कुनै धनी दलित वा काला जातिकी महिला घरमा महिला भएकै कारण हिंसामा पर्छिन् र समाजमा दलित वा काली भएकै कारण विभेदमा पर्छिन् भने त्यो लैंगिकता र जातीय विभेद दुवै भयो । यदि अर्की महिला, जो दलित वा काला जातीय परिवारकी हुन् र गरिब पनि छिन् भने उनी महिला भएकै कारणले पनि, दलित भएका कारणले पनि र गरिब भएका कारणले पनि तीन तहको विभेदमा पर्ने अवस्था हुन्छ ।

यी तमाम विभेदसँग लड्न ठाउँ वा परिस्थितिअनुसार, फरक–फरक आन्दोलन, अभियान वा कार्यक्रम बन्ने गरेका छन् । जस्तै, केही वर्षअगाडि रातो टीका, रातो पहिरन अभियान सुरु भयो । उक्त अभियानसँग जोडिएको गीत ‘लाऊ चेली सिन्दूर लाऊ, निको पार हृदयको घाउ’ निकै चर्चित भयो । विशेषगरी हिन्दु धर्ममा विश्वास राख्ने ‘विधवा’ महिलाले रंगहीन जीवन बिताउनुपरेको आफ्नैजस्तो अवस्था भोगेका साथीहरू मिलेर सञ्चालन गरेको अभियान थियो त्यो । ठीक त्यति नै बेला हिन्दु परिवारमा हुर्केका कामकाजी (घर र कार्यालय दुवैमा काम गर्ने) महिलाहरूले सिन्दूर–चुरा–पोते कम लगाउन, साडी–चोलोभन्दा कुर्ता–सुरुवाल लगाउन र छोटो कपाल पाल्न थालेका थिए ।

त्यही समय काठमाडौंका सोही वर्गका कतिपय महिलाहरू सांस्कृतिक रूपमा महिलामाथि थोपरिएका बोझविरुद्ध ‘वुमन इन ब्ल्याक’ अभियान चलाएर हप्तामा एक दिन भए पनि कालो कपडा लगाउँदै थिए । समाजमा केही महिलाले आफ्नो नाक–कानमा भएका सुनका गहना धितो राखेर सानातिना व्यापार–व्यवसाय सुरुआत गर्दै गर्दा, नक्कली नै भए पनि आफ्ना परम्परागत गहनाहरूको संरक्षण गर्न जनजाति महिलाहरू सजिएर टुँडिखेलमा भेला हुँदै थिए ।

आज ७० भन्दा बढी देशका महिला गर्भपतन गर्न पाउनुपर्ने कानुनी अधिकारका लागि लडिरहेका छन् भने त्यस्तो कानुन भएका कतिपय देशका महिला गर्भपतनको अधिकारको दुरुपयोगका कारण शारीरिक हिंसा भोग्न बाध्य छन् । यौन बजारमा बेचिएर नारकीय जीवन गुजारेपछि उम्कन सफल महिलाहरू मानव बेचबिखनविरुद्ध काम गरिरहेका छन् भने कति महिला ‘यौन व्यापार आफ्नो रोजीरोटीको माध्यम भएको हुँदा यौनकर्मलाई कानुनी मान्यता दिइनुपर्छ’ भनेर पैरवी गरिरहेका छन् । यही समाजमा केही महिला ‘एक्कै लुम भए पनि पोते लगाऊ न’ वा ‘एक्कै धर्को भए पनि सिन्दूर लगाऊ न’ भन्ने आग्रहबाट दिक्क भएका छन् भने केही महिला शारीरिक रूपमा महिलासँगै आकर्षित भएको कुरा व्यक्त गर्न नपाएर छटपटाइरहेका छन् ।

यस्ता फरक–फरक अभियान किन सञ्चालन हुन्छन् भन्ने विषय आउँदा उक्त अभियानको नेतृत्वकर्ता को हो भन्ने कुरा सबैभन्दा महत्त्वपूर्ण हुन्छ । कुनै पनि व्यक्तिको जीवनदर्शन, उसले निर्माण गर्ने सामाजिक कार्यक्रम, अभियान, योजना वा नीतिहरू वस्तुगतभन्दा विषयगत बढी हुन्छन् । आफू बाँचेको जीवन, आफूले हासिल गरेको ज्ञान र बुझाइको दायरामा नै रहेर उसले काम गरेको हुन्छ, जसलाई हामी ‘स्व’ भन्ने गर्छौं । यसको उदाहरणमा पत्रपत्रिकामा बन्ने स्केचहरूलाई पनि लिन सकिन्छ, जहाँ नेतृत्वदायी पदको चित्रण गर्दा टोपी लगाएको पुरुष बनाइएको हुन्छ ।

स्केच बनाउनेले महिलालाई हेपेर त्यसो गरेका हुँदैनन्, बरु दैनिक जीवनमा देख्दादेख्दै उनीहरूको ‘स्व’ मा ‘पुरुष मात्रै नेतृत्वदायी पदमा हुन्छन्’ भन्ने छाप बसेका कारण त्यसो भएको हुन्छ । राजनीतिक नेतृत्वको मुखबाट निस्कने ‘चौरजहारी हत्या काण्ड दलितका कारण घटेको’, ‘बलात्कार र हत्या संसारभरि जहाँ पनि हुने’ वा ‘चेपाङ बस्तीमा जलेको घर नभएर छाप्रो र गुन्द्री मात्रै जलेको’ जस्ता अभिव्यक्ति पनि यसकै उदाहरण हुन् । मानिसले जति नै क्रान्तिकारी गफ गरे पनि उसको ‘स्व’ बेला–बेलामा छल्किएर निस्किहाल्छ ।

के गर्ने, के नगर्ने ?

असहयोगी सामाजिक संरचना (आर्थिक, सांस्कृतिक, कानुनी र राजनीति) का कारण धेरै महिला आफूले लिएका निर्णय तथा उठाएका मुद्दा फिर्ता लिन र राखिएको लक्ष्य छोडेर बीच बाटोमै अलमलिन बाध्य छन् । त्यसैले कुनै दिन कुनै महिलाको पीडामा ‘ऐया’ भनेबापत हरेक महिलामाथि भएको हिंसामा बोलिदिनैपर्ने, आन्दोलन गरिदिनैपर्ने बाध्यता कसैलाई छैन । कुनै पनि मानिस आफूलाई अप्ठेरो पर्दा बोल्न स्वतन्त्र छ । साथै अरूलाई अप्ठेरो पर्दा बोलिदिन वा कानुनअनुसार अगाडि बढ्न वा कानुन नै परिवर्तन गर्ने अभियान सञ्चालन गर्नसमेत स्वतन्त्र छ ।

तर, यसरी बोलेकै कारण संसारभरिका विभेदबारे जानकारी राखिदिनुपर्छ वा पुँजीवाद, समाजवादजस्ता अमूर्त अवधारणालाई धानिदिनुपर्छ भन्ने बाध्यता कसैलाई छैन । धानिदिनुपर्ने आग्रह वा अपेक्षा पनि महिला हिंसाकै रूप हुन्, चाहे त्यो आग्रह बौद्धिक वर्गले गरोस् वा अरू कसैले । त्यसैले, आफूलाई वा अरूलाई अप्ठेरो हुँदा सकेसम्म बोल्ने हो । नबोल्न पनि सकिन्छ । तर, यसरी बोल्नका लागि कुनै ‘वादी’ हुनु पर्दैन ।

प्रकाशित : भाद्र २०, २०७७ १२:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×