जनसेवाको सम्मान

पूजा पराजुली वाग्ले

‘ल , दिदीलाई बधाई !’ बहिनीको मेसेजले मलाई अचम्ममा पार्‍यो । सोधें, ‘केको बधाई होला ?’ ‘भिनाजुले पदक पाउने हुनुभएछ नि !’ उनको जवाफले मलाई फेरि आश्चर्यमा पार्‍यो, ‘को भिनाजुले होला पदक पाउने ? फेरि मलाई किन बधाई भन्या होला, अचम्म !’ उनले लेखिन्, ‘डाक्टर चित्र वाग्ले क्या ! संविधान दिवसको अवसरमा प्रदेश ५ सरकारले उहाँलाई पनि सम्मान गर्ने भएछ ।’

जनसेवाको सम्मान

यो पढेपछि चाहिँ म निःशब्द भएँ । आँखा रसाए । एकाएक अतीतमा डुब्न पुगें । मेरा पति डाक्टर वाग्लेले लोकसेवा पास गरेपछि पहिलो नियुक्ति अर्घाखाँची जिल्ला अस्पतालको लिएर आउनुभएको थियो । मलाई अचम्म लागेको थियो, यतिका धेरै सुगम ठाउँहरू छन्, किन अर्घाखाँची नै रोज्नुभएको होला ! बाबु भर्खरै जन्मेको थियो । जन्मिँदै बिरामी ऊ बेलाबेला बेहोस भइरहन्थ्यो । तुरुन्तै डाइजेपाम दिएर अक्सिजन लगाउनुपर्थ्यो । बिरामी बच्चा लिएर अर्घाखाँचीमा कसरी होला बसाइ ?

उहाँले भन्नुभयो, ‘सुगममा त धेरै डाक्टर हुन्छन् नि ! गाउँमा कति छन् कति जसले सामान्य बिरामी हुँदा पनि डाक्टरको मुख देख्न नपाई मृत्युको मुखमा जानुपर्ने बाध्यता छ ! मलाई त्यस्तै बिरामीहरूको घाउमा मल्हम लगाउनु छ । दीनदुःखीको सेवामा लाग्ने मन छ ।’ उहाँको कुराले मलाई गर्व महसुस गरायो ।

उहाँ पहिलोपटक एक्लै अर्घाखाँची गई सबै बन्दोबस्त मिलाएर फर्किनुभयो र बुटवल माइतीमा बसेका म र बाबुलाई उतै लैजानुभयो । जिल्ला अस्पतालमा त्यसताका बेडहरू लगभग खाली हुन्थे । बिरामी चार–पाँच जना भर्ना भएका हुन्थे । बिरामीप्रतिको उहाँको मायाले गर्दा जनमानसमा बेग्लै छाप पर्दै गयो । समयसँगै अस्पतालका बेडहरू भरिभराउ हुन थाले । बिरामीको चापका कारण भुइँमै राखेर पनि उपचार गर्नुपर्ने हुन थाल्यो । अस्पतालप्रति उहाँको लगाव कस्तो थियो भने, शौचालयसमेत कहिलेकाहीँ आफैं सफा गर्नुहुन्थ्यो ।

इमर्जेन्सी बिरामी आउँदा उहाँ जति बेला पनि हेर्न गइहाल्नुहुन्थ्यो । रात होस् कि साप्ताहिक वा पर्व बिदा, कहिल्यै खाली बस्नुभएन । कुनैकुनै बेला त खाना खान बसेको मात्रै होइन्थ्यो, ‘डाक्टर साहेब’ भन्दै ढोका ढकढक्याउन आइपुग्थे इमर्जेन्सी बिरामीका आफन्तहरू । उहाँ कत्ति झर्को नमानी तुरुन्तै हात धोएर क्वाटरबाट निस्किहाल्नुहुन्थ्यो । बिरामीलाई नर्मल अवस्थामा ल्याएपछि फेरि आएर उही छोडेको चिसो खाना, तताउन पनि नदिई, कपाकप खानुहुन्थ्यो । बिरामी हेर्दाहेर्दै यतिसम्म एकोहोरिनुहुन्थ्यो कि, आफूले खाना खाएको छैन भन्ने पनि याद नगर्ने । खाना तयार भएपछि म बारम्बार फोन गरिरहन्थें । उहाँ भने ‘यहाँ बिरामी सिरियस छ, तिमीलाई भने खानाकै चिन्ता !’ भन्दै फोन राखिदिनुहुन्थ्यो । उहाँले दीनदुःखीहरूका मनमा छुट्टै स्थान बनाइसक्नुभएको थियो । ‘डाक्टर वाग्लेलाई भेटेपछि आधा रोग आफैं निको हुन्छ’ भन्ने छाप परेको थियो जनमानसमा । जनमानसको त्यही प्रेमले गर्दा पनि, दुई वर्षका लागि गएका हामीलाई अर्घाखाँचीमा तेह्र वर्ष बितेको पत्तै भएन ! उहाँ एमपीएच पढ्न थाइल्यान्ड जानुपर्ने भएपछि मात्र हामीले अर्घाखाँचीको बसाइलाई बिट मार्नुपरेको थियो ।

तर, नियतिले हामीमाथि ठूलो वज्रपात गर्‍यो ! भविष्यलाई लिएर देखेका अनेकौं सुन्दर सपनाहरू क्षणभरिमै खरानी भए । थाइल्यान्ड पुगेको एक महिना नहुँदै उहाँमा क्यान्सर, त्यो पनि लास्ट स्टेजको, रहेको डाइग्नोसिस भयो । धेरै कोसिस गरियो उहाँलाई बचाउन । अफसोस, घरपरिवार, साथीभाइ, इष्टमित्र, देश–विदेशमा रहेबसेका मनकारीहरू कसैको पुकारालाई पनि भगवान्ले सुनेनन् । रोग पत्ता लागेको अठार महिनापछि उहाँले यो संसारबाट बिदा लिनुभयो ।

त्यसको सात वर्षपछि, अर्घाखाँचीमा उहाँले गरेको जनसेवाले सम्मान प्राप्त गरेको छ । प्रदेश ५ सरकारले समाजसेवाश्री पदक (ख) उहाँलाई प्रदान गर्ने समाचार पढ्न पाउँदा मैले हर्षको आँसु रोक्न सकिनँ । उहाँको त्याग र तपस्याको, ढिलै भए पनि, सम्मान हुनुभन्दा खुसीको क्षण अर्को के होला र हाम्रा लागि !

प्रकाशित : आश्विन ९, २०७७ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?